कृषि कानूनविरुद्ध विगत २ महिनादेखि आन्दोलनरत भारतका किसानले मंगलवार गणतन्त्र दिवसको दिन केन्द्रीय राजधानी नयाँदिल्लीमा गरेको प्रदर्शनका कारण भयंकर घमासान भएको छ ।
निकटवर्ती प्रदेशहरू हरियाणा, पञ्चाब र उत्तर प्रदेशबाट ट्रयाक्टर जुलुससहित आन्दोलनकारीहरू नयाँदिल्ली प्रवेश गर्न खोज्दा घमासान भएको हो ।
प्रहरीले जुलुसलाई रोक्न दिल्लीका मुख्य प्रवेशद्वारहरूमा अवरोधकहरू राखेपनि आन्दोलनकारी त्यसलाई छिचोल्दै लालकिल्लासम्म पुग्न सफल भएका छन् ।
प्रहरीले ट्रयाक्टर जुलुस रोक्न अश्रुग्यास समेत प्रहार गरेको थियो । लालकिल्ला पुग्दासम्म दिल्लीका ठाउँठाउँमा प्रहरी र किसानबीच झडप समेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किसानको र्याली दिल्लीको आईटीओ क्षेत्र पुग्दा तनावग्रस्त भएको थियो ।
विभिन्न माग राख्दै किसानले आन्दोलन गरिराख्दा सरकारसँग पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन । सरकारले किसानका मागलाई गम्भीर रूपमा नलिएको किसानको आरोप छ ।
आफ्ना माग पूरा गर्नुपर्ने भन्दै किसानले लगातार सरकार विरोधी प्रदर्शन गरिरहेका छन् ।
एजेन्सी