०४ साउन २०८३, सोमबार

घरभाडा लिन नमिलेपछि मर्मतका नाममा रकम बुझ्छन् प्रदेश सभाका सांसद

माघ २६, २०७७
घरभाडा लिन नमिलेपछि मर्मतका नाममा रकम बुझ्छन् प्रदेश सभाका सांसद

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पाण्डेय रूपन्देहीकै स्थायी बासिन्दा हुन् । उनको रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा घर छ ।

उनले २०७६ असोजदेखि घर मर्मतसम्भारका नाममा मासिक ७ हजार ५०० रूपैयाँका दरले प्रदेश सभाबाट बुझ्छन् । 

घर मर्मत सम्भारको रकम बुझ्नेमा पर्छन्, कपिलवस्तुबाट निर्वाचित नेकपा सांसद् विष्णु पन्थी पनि । कपिलवस्तु क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित पन्थीको बुटवल– २ मा दुईतल्ले घर छ । उनको घर र प्रदेश सभा भवनको दूरी झण्डै दुई किलोमिटर छ । आफ्नै गाडी समेत रहेका पन्थीले प्रदेश सभाबाट घर मर्मतका नाममा मासिक उही ७५ सय रूपैयाँ बुझ्छन् । 

प्रदेश सभाका विपक्षी दल कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान पनि घर मर्मतबाट प्रदेश सभाबाट पैसा लिने सांसदमा पर्छन् ।

रुपन्देहीको क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित खानले प्रदेश सभाबाट घर मर्मत खर्च बुझ्छन् । उनको पनि रूपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ८ मा आफ्नै घर छ । त्यस्तै घर मर्मत खर्च बुझ्नेको सूचीमा नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालको नाम शुरूमै छ ।

रूपन्देही क्षेत्र नम्बर ५ को (क) बाट निर्वाचितको उनको सैनामैना नगरपालिका वडा नम्बर ८ मा घर छ ।

प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने, कांग्रेस सांसद अष्टभुजा पाठक, बसिउद्धिन खाँन तथा रमा अर्याल, भोजप्रसाद श्रेष्ठ, पुष्पा थरुनी, तुलसीप्रसाद चौधरी, डा. कृष्ण न्यौपाने र कमला विकको पनि रूपन्देहीमै घर छ । लुम्बिनी प्रदेश प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७५ जारी भएसँगै रूपन्देही घर भएकाले ७५०० र घर नभएकाहरू तथा अन्य सांसदहरूले १५ हजार पाउने व्यवस्था गरिएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारले रूपन्देहीमा घर हुनेले घरमर्मत सम्भारको रूपमा मासिक ७ हजार ५ सय र रुपन्देहीबाट प्रतिनिधित्व गर्ने तर घर नभएकाहरू र अन्य जिल्लाका सांसदहरूले १५ हजार घरभाडा बुझ्ने बताए । 

‘प्रदेश सभा अवस्थित जिल्लामा घर हुने को–को हुनुहुन्छ भनेर सचिवालयले पत्राचार गरेको थियो,’ अधिकारीले भने, ‘त्यसमध्ये १३ जनाले घर भएको जानकारी पेश गराउनुभयो । उहाँहरूलाई घर मर्मतका नाममा ऐनमा व्यवस्था भएअनुसार ७५ सय र अन्य माननीयहरूलाई १५ हजार घरभाडाको व्यवस्था गरिएको छ ।’ 

८७ सदस्यीय प्रदेश सभामा रूपन्देहीबाट मात्रै प्रदेश सभामा १९ जना सांसदहरूको प्रतिनिधित्व छ । रूपन्देहीमा अलिशान घर भएका आर्थिक हैसियत बलियो भएका सांसदहरूले पनि प्रदेश सभाबाट वार्षिक झण्डै १ लाख घर मर्मतका नाममा राज्यकोषबाट रकम बुझ्दै आएका छन् । 

नलिने घोषणा गरेकाले पनि बुझ्छन् रकम

काठमाडौंमा घर भएका प्रतिनिधि सभाका सांसदहरूले घरभाडा लिएको खबर बाहिर आएपछि रूपन्देहीमा घर भएका नेकपाका प्रदेश सभाका घरभाडा नलिने घोषणा गरे ।

नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेश सभा सचिवालयमा भाडा नलिने जानकारी गराएका थिए । तर, अहिले उनीहरूले समेत घरभाडाको नाम नराखी घर मर्मतका नाममा रकम बुझ्दै आएका छन् ।

‘घरभाडा लिएनौं, मर्मत खर्च लियौं’

सांसदहरूले आफूहरूले घरभाडा नलिएको र मर्मत खर्च मात्र लिएको दाबी गरे ।

नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘हामीले घरभाडा लिँदैनौं भनेका हौँ । लिएका पनि छैनौं । मर्मत सम्भार खर्चचाहिँ लिएका छौं । घर त मर्मत गर्नुपर्‍यो । बिग्रिरहन्छ ।’ 

यसैबीच सुशासनविद्हरू भने यो सांसदले नैतिकता देखाउनुपर्ने विषय भएको बताउँछन् ।

‘लिँदैनौं भनेको प्रतिबद्धतामा पनि नअडेर फेरि मर्मतका नाममा सुविधा लिनु आफ्नै वचनमा अडिन नसक्नुु हो । नैतिकताले लिन नमिल्ने सुविधा पनि लिनेलाई केही भन्न सकिँदैन,’ सुशासनविद् खेमराज रेग्मीले भने । 


 

salt training

कमेन्ट गर्नुहोस्