निर्वाचन आयोगले केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थाकै मान्यता दिँदै पछि ती नाममा दर्ता भएका दललाई नयाँ नाम प्रस्ताव गर्न आग्रह गरेको छ ।
आयोगको मंगलवार बसेको बैठकले पछि दर्ता भएको माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँती र एमालेकी अध्यक्ष सन्ध्या तिवारीलाई १५ दिनभित्र नयाँ नाम प्रस्ताव गरी सुधारसहितको विवरण आयोगमा पेश गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
साथै आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) अध्यक्ष रहेको नेकपा सर्वोच्चको फैसला बमोजिम खारेज गरिदिएको छ । यससँगै नेकपा नामको दल अब निर्वाचन आयोगमा एउटा मात्र रहने छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै आइतवार एमाले र माओवादी ब्युँताइदिएको थियो ।
आयोगले पुन: एकता गर्ने भए निवेदनसहित १५ दिनभित्र आयोगमा उपस्थित हुन पनि भनेको छ ।
साथै आयोगले एमाले र माओवादी पूर्ववत् अवस्थामा नै कायम रहेको जानकारी संसद् सचिवालयलाई गराउने निर्णय पनि गरेको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
लोकान्तर संवाददाता