
थाइल्यान्डसँग जोडिएको म्यान्मारको सीमा नजिक अल्पसंख्यक करेन समुदायका विद्रोहीले सेनाको आउटपोस्टमा आक्रमण गरेपछि युद्ध चर्केको छ ।
फेब्रुअरी १ मा सेनाले कू गरेपछिको यो सबभन्दा चर्को लडाइँ हो ।
इन्डोनेसियामा केही दिनअघि भएको बैठकमा आसियान मुलुकहरूको सुझाव मान्दै म्यान्मारमा तनाव घटाउने भनी सेनाले प्रतिबद्धता व्यक्त गरेकोमा यो लडाइँले त्यसमा धक्का दिएको छ ।
दक्षिणपूर्वी एसियाका नेताहरूले म्यान्मारको सेनालाई हिंसा अन्त्य गर्न र विपक्षीहरूसँग संवाद गराउन सहमति गरेको बताएका थिए ।
करेन नेसनल युनियन म्यानमारको सबभन्दा पुरानो विद्रोही बल हो र उसले थाइल्यान्ड सीमामा पर्ने साल्वीन नदीको पश्चिमी किनारामा रहेको सेनाको शिविरमा कब्जा गरेको जनाएको छ ।
नदीको पारिपट्टिका थाइहरूले मंगलवार एकाबिहानै बेस्सरी गोली चलेको बताए । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा जंगल भएको डाँडामा आगो लागेको र धूवाँ उठेको देखिन्छ ।
विद्रोहीहरूले लगभग ६ बजेतिर आउटपोस्टमा कब्जा गरेको उनीहरूको विदेश मामिला प्रमुख स त नीले रोयटर्स समाचार संस्थालाई बताए ।
म्यान्मारको सेनाले यसमा टिप्पणी गरेको छैन । जातीय विविधता भएको मुलुकलाई एकताबद्ध राख्नका लागि आफू मात्र सक्षम रहेको भनी सेनाले दाबी गर्दै आएको भए पनि सेनाको कूविरुद्ध लगभग सबैजसो आन्दोलनरत छन् ।