३० असार २०८३, मंगलबार
प्रतिनिधि सभा विघटनमाथिको बहस

महान्यायाधिवक्ताको जिकिर– ‘यो बहुदलीय व्यवस्था हो कि निर्दलीय भन्ने निर्क्यौल गर्नुपर्छ’

असार १४, २०७८
महान्यायाधिवक्ताको जिकिर– ‘यो बहुदलीय व्यवस्था हो कि निर्दलीय भन्ने निर्क्यौल गर्नुपर्छ’

महान्यायाधिवक्ता रमेश बडालले यो बहुदलीय व्यवस्था हो कि निर्दलीय व्यवस्था हो त्यसको निर्क्यौल सबैभन्दा पहिला गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमाथि प्रतिवादीका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले संविधानको प्रस्तावनामा नै बहुदलीय व्यवस्था भन्ने उल्लेख रहेको र निर्दलीय व्यवस्थाको कल्पना संविधानले नगरेको बताए ।

‘यो बहुदलीय व्यवस्था हो कि निर्दलीय भन्ने कुरा पहिला निर्क्यौल गर्नुपर्छ । संविधानको प्रस्तावनामा नै बहुदलीय व्यवस्था भन्ने उल्लेख छ । संविधानको धारा ७४ मा पनि बहुलवादको प्रावधान राखिएको छ । बहुदल र बहुलवाद भएपछि निर्दलीयताको कुरै आउँदैन,’ महान्यायाधिवक्ता बडालले भने ।

संविधानको धारा ७४ मा भनिएको छ– 

“नेपालको शासकीय स्वरूप बहुदवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ ।”

उनले रिट निवेदकका तर्फबाट गरिएको ४ दिनको बहस सुन्दा २०४६ ताका पञ्चायती निर्दलीयताका पक्षधरहरूले गरेको बहसको झल्को आएको पनि बताए ।

रिट निवेदकका तर्फबाट बहस गर्ने अधिवक्ताहरूले संविधानको धारा ७६ (५) मा दलीय प्रावधान आकर्षित नहुने र सरकार बनाउन सांसदहरू स्वतन्त्र रहेको जिकिर गरेका थिए ।

साथै महान्यायाधिवक्ता बडालले रिट निवेदक पक्षको बहसलाई गाली पुराणको संज्ञा पनि दिए ।

‘रिट निवेदकका तर्फबाट विद्वान अधिवक्ताहरूको बहस सुनियो । यसअघि १८ पुराण सुनिएको थियो, यहाँ १९ औं पुराण पनि सुनियो, गाली पुराण,’ बडालले भने, ‘गाली पुराण जवाफ त दिइराख्नुपर्छ जस्तो लाग्दैन ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्