
गत बिहीवार (असार १७ गते) हुलाकी राजमार्गअन्तर्गत कमला नदीको पुल भासियो ।
सामान्य वर्षा हुँदा पनि सो पुल भासिएपछि यसमा धेरैको ध्यान गयो ।
धनुषा र सिराहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको पिलर सामान्य बाढीमा नै भासिएको हो ।
२०६८ सालमा शिलान्यास गरिएको सो पुल निर्माण सम्पन्न गरेर यसै महिना हस्तान्तरण गर्ने तयारी थियो ।
तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री उमाशंकर अरगरियाले सो पुलको निरीक्षण गर्दै यसै महिना पुल उद्घाटन गर्ने बताएका थिए ।
उनको दावी थियो, ‘निर्माणमा संलग्न कम्पनीले गुणस्तरीय काम गरेको छ ।’
तर सामान्य बाढीमा नै पुलको पिलर भासिएपछि धेरैले पुल निर्माणका क्रममा कमजोरी भएको लख काटेका छन् ।
स्थानीयहरूले त पुल निर्माणमा गम्भीर त्रुटि भएको बताएका छन् ।
सो पुलको ठेक्का विवादित ठेकेदार पप्पु कन्स्ट्रक्सनलाई दिइएको थियो ।
सम्झौतामा तीन वर्षभित्र पुल निर्माण भइसक्नुपर्ने उल्लेख थियो ।
करीब २५ करोडको लागतमा निर्माण हुन लागेको पुलको ठेक्का लिने पप्पु कालोसूचीमा परेपछि लुम्बिनी कन्स्ट्रक्सनले कामलाई निरन्तरता दिएको थियो । यद्यपि
निर्माण सकिनै लाग्दा सामान्य बाढीमा यो पुल भत्किएको छ ।
पुल के कारण भत्कियो ? सडक विभागसँग पनि यसको जवाफ छैन ।
पुल भत्किनुको कारणबारे अध्ययन तथा अनुगमन गर्न एउटा कमिटी बनेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले लोकान्तरसँग बताए ।
संघीय सडक तथा सुपरीवेक्षण कार्यालयका इटहरिका नविनमान श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अनुगमन कमिटी बनेको छ ।
कमिटीले स्थलगत अनुगमन गरेपछि यसबारे थप भन्न सकिने प्रवक्ता नेपाल बताउँछन् ।
पुल भासिएसँगै जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको एक टोली अनुगमनमा निस्किएको थियो ।
‘करीब ९८ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको अवस्था थियो । साउन महिनामा नै उद्घाटन गर्ने तयारी थियो,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले लोकान्तरलाई जानकारी दिए ।
‘निर्माणका क्रममा केही न केही प्राविधिक कमजोरी रहेको भन्ने बुझिन्छ,’ उनले भने ।
‘बाढीका कारण पुल भत्कियो भन्ने अवस्था छैन, किनकी बाढी सामान्य थियो,’ उनले थपे, ‘सामान्य बाढी थेग्न नसक्ने पुलले कमलाको ठूलो बाढी थेग्ने आँकलन कसरी गरियो र पुल कसरी बनाइयो यही अचम्म छ ।’
उनले अहिले नै यस पुलबारे थप भन्न सक्ने अवस्था नभएपनि ठेकेदार कम्पनीले गरेको प्राविधिक त्रुटिका कारण पुल भत्किएको प्रस्ट पारे ।
उनले भने, ‘पुल भत्किनुका पछाडि मुख्य कारण प्राविधिक कमजोरी नै हो ।’
****
गत असार १८ गते आएको बाढीले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ र ११ जोड्ने निर्माणाधीन पुल भाँचियो ।
निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुलमा महेश खोलाबाट आएको बाढीले क्षति पुर्याएको हो । ढलान भएको ४ दिनमा नै बाढीले भत्काइदियो ।
यो पुल भत्किएपछि स्थानीयले ठेकेदारले लापरवाही गरेको आरोप लगाए ।
वडा नम्बर ११ का वडाध्यक्ष रविप्रकाश ओझाले समयमै ठेकेदारले काम नसक्दा पुल भत्किएको गुनासो गरे ।
लोकान्तरसँग उनले भने, ‘वर्षाको समयमा काम असहज हुने भन्दै हामीले पटक–पटक ताकेता गरेका थियौं, तर उनीहरूले काम सकेनन्, पछि भत्कियो ।’
ठेकेदार कम्पनीले केही कमजोरी गरेको भेटिँदा खबरदारी गर्ने र सामान नै बदल्न लगाएको स्मरण गर्दै उनले अहिले लापरवाहीले नै पुल भत्किएको पनि शंका गरे ।
उनले भने, ‘हामीले बेलाबखत त सम्झाउने, खबरदारी गर्ने र गल्ती हुँदा सच्च्याउन लगाउने गरेका थियौँ । तर प्राविधिक विषयमा जानकारी भएन, केही कमजोरी त भयो पनि होला ।’
****
गत चैतमा धादिङको मासटारस्थित त्रिशुली नदीमा बन्दै गरेको पक्की पुल निर्माणाधीन अवस्थामै हावाहुरीले उडायो भने नवलपुर घाटस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल पनि बगाएको सडक विभागले जनाएको छ ।
यस्तो घटना अहिले मात्रै हैन अघिल्ला वर्षहरूमा पनि भएका छन् । अघिल्लो वर्ष (२०७६) को चैत अन्तिममा आएको वर्षाका कारण तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने गरी त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्कियो ।
पिलरको काम समेत सकिएको सो पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको थियो ।
सो पुल इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी मिलेर बनाउँदै गरेका थिए । शुरूमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको सो पुलको डिजाइन रिभ्यू गरेर पछि २१ करोड ६८ लाख बनाइएको थियो । भूकम्प, रिभ्यू लगायतका विभिन्न कारण देखाउँदै सो पुल समयमै बन्न सकेको थिएन ।
स्थानीयले पुलमा ठेकेदार कम्पनीहरूको लापरवाही रहेको बताउँदै आइरहे पनि सुनुवाई भएको थिएन । पछि वर्षामा पुल नै भत्कियो ।
समयमा काम नसकिएपछि महालेखा परीक्षकको कार्यालयले समेत यसबारेमा चासो देखाएको थियो ।
यी त केही ठाउँका प्रतिनिधि घटना मात्र हुन् ।
यस वर्ष वर्षा शुरू भएयता निर्माणाधीन र निर्माण सम्पन्न भएका गरी १४ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।
गत वर्ष मात्रै ५५ रणनैतिक पुलमा क्षति
सडक विभागका अनुसार गतवर्ष यस्तो घटना निकै भएको थियो । विभागअन्तर्गत पुल महाशाखाको तथ्यांकमा आर्थिक वर्ष २०७६/७७ मा बाढीबाट क्षति भएका रणनैतिक सडक पुलहरूको संख्या ५५ छ ।
यी पुलहरू मर्मतका लागि ५६ करोड ४४ लाख ८८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो ।
यस्तै २३ स्थानीय सडक पुलहरू गत आर्थिक वर्षमा क्षतिग्रस्त बनेको थियो ।
महाशाखाले यीमध्ये अधिकांश पुलहरू मर्मत पछि सञ्चालनमा ल्याइएको बताएको छ ।
कतिपय भने निर्माणकै क्रममा रहेका छन् ।
महाशाखाका अनुसार यी पुलहरू मर्मतका लागि थप ८ करोड ६ लाख ३५ हजार रुपैयाँ खर्च अनुमान छ ।
दुवै जोड्दा एकै वर्ष साढे ६४ करोडभन्दा बढी अतिरिक्त भार थपिएको देखिन्छ ।
यो त हस्तान्तरण भइसकेका र राज्यको दायित्वमा पुगेका पुलहरूको क्षतिको विवरण हो, हस्तान्तरण हुन बाँकी पुलहरूको क्षति ठेकेदारले नै बेहोर्ने भएकाले त्यसको तथ्यांक यसमा समावेश छैन ।
यी मध्ये अधिकांशमा समस्या उस्तै र उही प्रकृतिको पाइएको विभागका कर्मचारीहरू बताउँछन् ।
पुल किन भत्किएको रहेछ ? भन्ने प्रश्नमा सडक डिभिजन कार्यालयहरूले पनि उस्तै उत्तर दिन्छन्- तलबाट नदीले कटान गर्यो, माथिबाट हावा वा बाढी वा पहिरोले धक्का दियो, यसपछि भत्किएको रहेछ ।
किन दोहोरिन्छन् घटना ?
कतिपय ठाउँमा ठेकदारको प्रत्यक्ष लापरवाहीका कारण पुल भत्किएको भन्दै स्थानीयले विरोध जनाइरहेका छन् । यस्तै कतिपयमा पुल बनाउने स्थान छनोट लगायतका काममा नै त्रुटि हुन सक्ने विज्ञहरूले औंल्याउँदै आएका छन् ।
ठेकेदारले समयमै काम नसक्दा र वर्षा समयमै ढलानका काम गरेको हुनाले पनि क्षति बढी हुने गरेको स्थानीय तथा विज्ञहरूले बताएका छन् । तर सडक विभागले भने यस्तो समयमा मानवीयभन्दा प्राकृतिक वा बाह्य कारणले पुलमा क्षति हुने गरेको बताएको छ ।
सडक विभागका पुल डिजाइन तथा अनुगमन शाखाका इञ्जिनीयर कृष्ण अधिकारी प्रिस्ट्रेस प्रविधिमा बनाइने पुल आरसीसीभन्दा केही बढी जोखिम हुने बताउँछन् ।
उनले प्रिस्ट्रेस पुल ढलान गरेको २८ दिनसम्म टेकामा नै अड्याउनुपर्ने र बीचमा टेका हल्लिएमा पुल भत्किने बताए ।
उनले भने, ‘खोला वा नदी धेरै गहिरो भएर त्यसमाथिबाट कहिलेकाहीँ टेका लगाउनुपर्ने हुन सक्छ, पछि यसमा भाइब्रेसन हुँदा यो भाँचिने वा भत्किने हुन्छ ।’
उनले करीब ६० दिन पुललाई निकै सुरक्षित राख्नुपर्ने बताउँदै यस्तो नहुँदा पछिल्ला घटनाहरूमा ढलान गरेको केही दिनमै भत्किएको पाइएको बताए ।
उनले भने, ‘कतिपय ढलान भएको १/२ सातामा भत्किएको पाइएको छ । यसमा प्राविधिक कमजोरी भन्दा पनि सुरक्षित बनाउन नसकेको हो ।’
‘सबै टेकामा नै अडिराखेको हुने हुँदा एउटा मात्रै टेका हल्लियो भने पनि यो बिग्रन्छ,’ उनले थपे, ‘करीब एक महिनादेखि ६० दिनसम्म त निकै सुरक्षित राख्न सक्नुपर्छ, यो निकै जोखिमको समय हो ।’
यसमा मानवीय कमजोरीभन्दा पनि बाह्य कमजोरी बढी हुने उनको भनाइ छ ।
उनले भने, ‘अन्य पुलहरू पनि बनाएकै हो । तर उनीहरू (ठेकदार)ले बिगार्छु नै भनेर बिगारेको जस्तो मलाई लाग्दैन । त्यसकारण यो मानवीयभन्दा पनि अन्य प्रभावको असर हो ।’
लापरवाही भए होला त कारवाही ?
सडक विभागका प्रवक्ता शिवप्रसाद नेपालले पुल वा सडक निर्माणका क्रममा ठेकदार कम्पनी वा कर्मचारीले लापरवाही गरेको पाइए कारवाही हुने बताए ।
यद्यपि कमला नदीमा निर्माणाधीन पुलको विषयमा भने सडक विभागले कारवाही गरिहाल्न नमिल्ने उनको भनाइ छ ।
उनले भने, ‘पुल ठेकदार कम्पनीले नै डिजाइन गरेको हो भने निर्माण पनि उसैले गरेको हो । अनि निर्माण गर्दागर्दै भत्किएकाले सबै जिम्मेवारी ऊ आफैंको हुन्छ ।’
उनले डिजाइनमा कमजोरी भएपनि वा अन्य कमजोरी भएपनि दायित्व उसकै हुने बताए ।
‘विभागलाई पुल हस्तान्तरण नगर्दासम्मको क्षति के कसरी हुन्छ, सो सबै सम्झौताअनुसार उसैले बेहोर्नेछ,’ उनले भने ।
उनले अहिले ठेकेदारसँग गएर कारबाही गरिहाल्ने अवस्था पनि नहुने भन्दै अब नयाँ प्रपोजल पेश गर्नेतर्फ लगाउने बताए ।
उनले भने, ‘सबै खर्च उसैले व्यहोर्नुपर्छ, कारवाही त त्यही भयो ।’
उनले कतिपय अवस्थामा कर्मचारीलाई कारवाही गर्ने गरिएको बताए ।
‘कतिपय अवस्थामा आन्तरिक कर्मचारीहरूलाई स्पष्टीकरण सोधिन्छ, कारवाही गरिन्छ ।’