प्रियंकाको पेट देख्दा तर्सिनेहरूका नाममा

दिलनिशानी मगर
दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

यो लेख लेखिरहनु खासै आवश्यक त थिए, तर नायिका प्रियंका कार्कीको ''बेबी बम्प''माथि चौतर्फी हमला हुँदा मैले मन थाम्न सकिनँ । आँखामा राख्दा पनि नबिझाउने यति चुलबुले सुन्दर नायिकालाई मानिसहरूले ताइ न तुइको आलोचना गरिरहेको देख्दा मेरो हृदय छियाछिया भएको छ ।


Advertisement

'बेबी बम्प' देखाएको हरेक फोटोमा प्रियंका कार्की यति राम्री, यति कन्फिडेन्ट देखिएकी छिन् कि 'अरे वाह' भनेर तारिफ नै गरौं जस्तो । चिल्लो ठूलो पेट अनि त्यो पेटभित्र हुर्किरहेको एउटा मानवसृष्टि… । उनलाई वरिपरि घेरिरहेका अन्य सुन्दरीहरू । आहा! क्या दृश्य छ ।


Advertisement

एक गर्भवती नारीलाई यो भन्दा गौरवान्वित क्षण अरू हुनै सक्दैन । चाँडै आमा बन्न लागेकोमा प्रियंकालाई अग्रिम शुभकामना !

हरेक नारीका लागि गर्भावस्था जीवनको सबैभन्दा महत्त्वपूर्ण परीक्षा हो । यो मान्छेले मान्छेको निर्माण गर्ने परीक्षा हो । यस्तो बेला नारीहरू उद्वेलित हुन्छन् । रोमाञ्चक हुन्छन् । भावुक हुन्छन् । निराश हुन्छन् । अनि कोमल हुन्छन् । 'बेबी बम्प'को फोटो शूटमा प्रियंका कार्कीको अनुहारमा देखिएको खुशी त्यसको एक उदाहरण हो।


Advertisement

गाउँमा बस्ने होस्, सामान्य परिवारको गरीब किन नहोस्, जुनसुकै महिलाहरू गर्भवती अवस्थामा यसैगरी रोमाञ्चक हुने गर्छन्। फरक यति हो, सबै नायिका हुँदैनन् । सबै कलाकार छैनन् । सबै फोटोजेनिक छैनन् । सबै सेलिब्रिटी छैनन्, र सबैका श्रीमान आयुष्मान हुँदैनन् ।

यसकारण हालसालै बिहे गरेका, बिहे गर्ने तरखरमा रहेका अथवा गर्भवती भइसकेका, पेटमा बच्चा हुर्काइरहेका सबै दिदीबहिनीहरू पनि आफ्नो जीवनकालको सबैभन्दा महत्त्वपूर्ण खुशीको क्षण गर्भावस्थामा प्रियंका जस्तै खुलेर खुशी होऊन्, र आफ्नो 'बेबी बम्प'लाई तस्वीरहरूमा कैद गर्न लाज शरम नमानुन् । यसलाई एक प्रकारको जीवन उत्सवको रूपमा अंगिकार गरुन् । उनीहरूलाई पनि शुभकामना दिन चाहन्छु ।

अरूले के भन्ला, समाजले के सोच्ला भनेर आफ्नो मनको इच्छा कुण्ठित गर्नुहुँदैन, किनकी विगतमा हाम्रो आमा, हजुरआमालाई 'बेबी बम्प' देखाउने 'प्रिभिलेज' थिएन। मोबाइल थिएन । सामाजिक सञ्जाल थिएन । मिडिया थिएन । क्यामेरा थिएन । चलचित्र थिएन । इन्टरनेट थिएन । युट्युब थिएन । उनीहरूसँग थियो त केबल पितृसतात्मक व्यवस्था । यो व्यवस्थाले उनीहरूलाई सती जान बाध्य बनाएको थियो। चुलाचौकामा सीमित उनीहरूलाई शिर ठाडो पारेर बोल्ने अधिकार थिएन । सबैभन्दा पहिला खाना खाने अनुमति थिएन। र त्यो कुनै संस्कार थिएन। त्यो दबाब थियो । विभेद थियो । अत्याचार थियो ।

आधुनिक र औद्योगीकरण युगमा तपाईंहरू किन कोही कसैको संस्कारको, संस्कृतिको लागि भनेर सती जाने? जस्तो लुगा लगाउँदा कम्फरटेबल हुन्छ, त्यो लगाउनु पर्छ ।

यहाँ कसैले स्थापित गरेको सामाजिक मानक सधैँभरी अनुकूल हुँदैन । तिनै पितृसतात्मक व्यवस्थाका भूतप्रेतहरू आज प्रियंका कार्कीको 'बेबी बम्प' देखेर तर्सिएका छन्। र सुनियोजित आक्रमण गर्न कस्सिएका छन्, किनकी प्रियंका कार्कीको 'बेबी बम्प'ले आफूहरूको सामाजिक र सांस्कृतिक रितीथिती बिग्रिएको तिनीहरूको कथन छ।

समाजमा यस्ता कन्जरभेटिभ धार जहाँ पनि हुन्छन् । यिनीहरू अरूको स्वतन्त्रतामा आफ्नो संस्कृतिको परिचय समेटिएको छ कि छैन भनेर आँखा टल्काएर हेर्छन्। तिनीहरूले प्रियंका कार्कीको सुन्दर ''बेबी बम्प''लाई आफ्नो कथित संस्कार र संस्कृतिसँग दाँजेर हेरिरहेका छन् । प्रिंयकालाई नानाभाँती भन्ने ती अक्कल नभएका आधुनिक युगका हिपोक्रिटिकल खलपात्रहरूलाई अंग्रेजीमा भन्न चाहन्छु, 'हु द हेल यु आर ?'

धेरैले 'बेबी बम्प'लाई अश्लीलतासँग जोडेर हेरेका छन् ।

नारीको शरीरका केही भाग देख्दैमा केटाहरूलाई कामुक हुने छुट छ? के नारीको पेट संवेदनशील अंग हो ? के गर्भावस्था अश्लील अवस्था हो? नारीको शरीरलाई यौन उत्तेजनासँग दाँजेर हेर्नु आवश्यक छ? नारीले आफ्नो शरीरलाई कतिसम्म छोप्यो भने अश्लीलता हुने हो ? कतिसम्म छोप्यो भने सभ्य हुने हो? यस्तो नियम बनाउने कुन माइकलाल हो ? यस्तो सामाजिक कानून कसले बनाएको हो ? किन बनाएको हो ? अब यसलाई पुनर्भाषित, पुनर्लिखित गर्न कहाँ जानुपर्ने हो ?

जस्तो कि जन्मदिनमा केक काट्ने संस्कार कसको हो ? नेपालको हो र ? आज बिहेका पार्टी भोजहरू जुन पार्टी प्यालेसमा दुलाहा दुलहीसँग नाचगान गरेर हुँदैछन्, ब्याच्लर पार्टीहरू हुँदैछन्, यो कस्तो संस्कृति हो ? बिहेमा किन डोली चढ्न छाडिएको छ ? जग्गेबाटै हाँसीहाँसी टिकटक भिडियो किन बन्दैछन् ? हाम्रो पुरानो संस्कार हराएकोमा संस्कारको कुनै ठेकेदार किन चिन्तित हुँदैन ?

समाज गतिशील छ। सोसल ट्रान्सफरमेसन भनेको यही हो । आज विश्वमा संस्कृति र संस्कारहरू परिस्कृत हुँदै गइरहेका छन् । एक देशबाट अर्को देशमा मानिसहरूसँगै संस्कारहरूले पनि यात्रा गरिरहेका छन्।

प्रियंका कार्की अमेरिका जस्तो देशमा बसेर आइन्, केही नयाँ कुरा सिकिन् होला । आजकल डिजिलाइजेसनको युग छ । धेरैथोरै विदेशी प्रभाव पर्छ । गर्भावस्था महिलाहरूका लागि विशेष अवस्था हो। यो अवस्थालाई प्रियंकाले आफ्नै तरिकाले सेलिब्रेट गरिन् त के अपराध गरिन् ? यो गर, त्यो नगर । यो राम्रो, त्यो नराम्रो भन्ने हामी को हौं ?

मानिसहरूसँग सेवा सुविधा जति बढ्दै जान्छन्, त्यति नै खुशी हुने अभ्यास र आयामहरू समेत फेरिँदै जान्छन् ।

सिभिलाइजेसनको यो मानवीय स्वभाव न समात्न सक्छ, न रोक्न सक्छ, न छेक्न सक्छ । कुनै समय केटीहरूले जिन्सको पाइन्ट लगाउँदा गाउँलेहरू जिब्रो काडेर डराउँथे। बजारमा एकजना जिन्सको पाइन्ट लगाएको केटी हिँड्यो भने बटुवाहरूले फर्की- फर्की हेर्थे, किनकी त्यो समाजले गुन्यु र चोलीबाहेक अरू महिलाको कपडा देखेकै थिएन। तर हाम्रा महान केटीहरूले जिन्सको पाइन्ट लगाउन छाडेनन् । र आफूहरूले इच्छाएको कपडालाई स्थापित गराएरै छाडे ।

हिजोको समाजमा नारीहरूले लिपिस्टिक र गाजल लगाउने कुरा उत्ताउलोपनको प्रतीक थियो। स्किनको पनि केयर गर्नुपर्छ भन्ने थाहै थिएन। आज शहरभरी जताजतै ब्यूटीपार्लरहरू छन्, किनकी 'आर्ट सौन्दर्य' संसारको सबैभन्दा ठूलो व्यापार भएको छ । यसरी आज

सौन्दर्यशास्त्रका मानकहरू फेरिएका छन्। तिनका प्रवृत्तिहरू बदलिएका छन्। कपडा भनेको जे कम्फरटेबल हुन्छ, त्यही लगाउने हो। हिजो चुलाचौकामा धुवाँको आँसु पुछ्दै ससुराका लागि समयमा नै खाना तयार गर्न हतारिने नारीहरू आज विश्व सौन्दर्य प्रतियोगितामा 'क्याटवाक' गर्न तम्तयार छन्। आधुनिक युग र औधोगिक युगका नारीहरू डाक्टर, पाइलट, इन्जिनियर, आर्मी, पुलिस छन् ।

औद्योगीकरणको विश्वव्यापी बजारमा हाम्रा नारीहरू साडी घुमाएर, लुंगी लगाएर प्रतिस्पर्धा गर्न सक्दैनन् । स्विमिङ पुलमा कोट पाइन्ट लगाएर फोटो खिच्ने मानिसहरूले यस्तो कुरा बुझ्न सक्दैनन्। नारी सौन्दर्यलाई फगत 'सेक्स र सन्तान' उत्पादनसँग मात्रै जोडेर हेर्छन्। समाजमा एउटा हिपोक्रिटिकल हाइरारकी छ । त्यस्ता संकीर्ण सोचहरूलाई अंग्रेजीमा 'पार्टीयार्ची' भनिन्छ क्यारे ।

यसकारण प्रियंका कार्कीको 'बेबी बम्प'लाई देखेर हिपोक्रिटिकल सोच राख्नेहरूको मानसिकता नै कमजोर छ । तिनीहरूले समाजको गति बुझ्न सकिरहेका छैनन् । तिनीहरूले पाटन अस्पतालमा पुगेर एकपटक डाक्टरलाई भेटघाट गर्नु आवश्यक देखिन्छ । योगमायादेखि प्रियंका कार्कीसम्म आइपुग्दा नारीहरूले हाम्रो देशको पुरुषप्रधान 'हिपोक्रिटिकल' भाष्यसँग संघर्ष गरिरहेका छन्।

स्वतन्त्रताका निम्ति अरबका रानी हया बिन्त अल हुसेनहरू आज दरबार छाडेर भागिरहेका छन् । यौनको चर्चा गर्न तसलिमा नसरिनहरू बर्जित छन्। यो कुनै अश्लीलता हैन । रुढीवादी समाज र संस्कृतिसँगको छिटपुट विद्रोह हो ।

हाम्रो देशमा सु-संस्कृत नारीहरू कस्ता हुन्छन् भन्ने कुराको एउटा भाष्य निर्माण गरिएको छ। जस्तो कि चर्को-चर्को आवाज निकालेर हाँस्छिन् कि अलिकति मुस्कान मात्रा दिन्छिन् भन्ने कुरामा नारीको चरित्र लुकेको हुन्छ। अरूको अगाडि ठाडो शिर बनाएर हिँड्छिन् कि अलिकति शिर लुकाएर, झुकाएर हिँड्छिन् भन्ने कुरामा पनि नारीको चरित्र लुकेको हुन्छ। कस्तो लुगा लगाउँछिन्, लामो कि छोटो? मेकअप गर्छिन् कि गर्दिनन् ? गाजल लिपिस्टक के कसरी लगाउँछिन् ? भन्ने कुरामा पनि नारीको चरित्र लुकेको हुन्छ ।

तपाईं हाम्रो आमाले परिवारमा सबैले खाना खाइसकेपछि सबैभन्दा अन्तिममा बचेखुचेको खाना खानुभयो । पुरुषप्रधान देशमा त्यस्तो किन भयो भनेर विश्लेषण गर्ने फुर्सद यहाँ कसैलाई छैन । किनकी यहाँ सबैलाई भाले बन्नु छ । चुलाचौकामा अल्झिएका नेपाली नारीहरूको जीवनले कहिल्यै स्वतन्त्र भएन । सती प्रथादेखि आजका आधुनिक युगसम्म आइपुग्दा महिला आन्दोलनका राजनीतिक आयामहरू- सांस्कृतिक आयामहरू धेरै छन्।

नेपालको संस्कार र संस्कृति भनेको के हो? के कस्तो गर्‍यो भने संस्कार र संस्कृति मानेको हुने हो ? पुरुषहरूले पनि दौरा सुरुवाल तथा कछाड लगाएर, ढाका टोपी ढल्काएर, हातमा कालो छाता समातेर हिँडेको छन् त ? पक्कै पनि छैनन्। अनि महिलाहरू ज-जसले 'बेबी बम्प' देखाउने साहस गरेनन् । त्यो प्रिभिलेज पाएनन् ।

जसले श्रीमान, बा र दाजुभाइका लागि आफ्ना खुशीहरूलाई मृत्युदण्ड दिए, तिनीहरूले प्रियंकाको 'बेबी बम्प'लाई सांस्कृतिक क्रान्ति वा उत्सवको रुपमा बुझ्नुपर्दछ। आमा बन्नु एउटा सृष्टिको सिर्जना गर्नु हो । जाबो बच्चा सबैले पाइहाल्छन् नि के नाटक गरेको होला भन्नेहरू, ल तिमीहरूले बच्चा पाएर देखाऊ। बच्चा पाउने बेला भैसक्दा परिवारले सहयोग नगर्दा, श्रीमानले वास्ता नगर्दा आँखाबाट झरेका आँसुहरू पनि देखाऊ अनि दुखेका चित्तहरू पनि देखाऊ ।

प्रिय प्रियंका, वी वान्ट मोर पिक्स !

दिलनिशानी मगर
दिलनिशानी मगर

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्