×

NMB BANK
NIC ASIA

२०४६ पछि दल विभाजनको शृङ्खला

कांग्रेस, एमालेदेखि माओवादी विभाजनको इतिहास- फुटेर जानेको पत्तासाफ !

भदौ ४, २०७८

NTC
Premier Steels

नेपालमा बहुदलीय व्यवस्थाको शुरूआतदेखि नै दल विभाजनको अभ्यास हुँदै आएको छ । यसबीच थुप्रै दल खुले, फुटे र जुटे । 

Muktinath Bank

पछिल्लोपटक सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भएका छन् । यससँगै नेपालमा दल विभाजनको इतिहास र अवस्थाबारे चासो देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक छुट्टै दल दर्ता गर्नका लागि निर्वाचन आयोगमा २०७८ भदौ २ गते निवेदन दर्ता गराएका छन् ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दल विभाजन गर्न संघीय संसद वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने अध्यादेश जारी भएपछि राजनीतिक दलहरू फेरि विभाजन हुन लागेका छन् । यसअघि राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा दल विभाजनको लागि संघीय संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या हुनुपर्ने प्रावधान थियो ।

Vianet communication

 २०४६ सालपछि राजनीतिक दलहरू पटक–पटक विभाजित भएका छन् ।

यस्तो छ २०४६ सालपछि विभिन्न राजनीतिक दल विभाजन भएको इतिहास-

नेपाली कांग्रेस विभाजनको इतिहास

२०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । संविधान जारी भएपछि संसदीय निर्वाचन गराएका तत्कालीन प्रधानमन्त्री भट्टराई काठमाडौं–१ बाट पराजित भएका थिए ।

तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीसँग उनी पराजित भएका थिए । मदन भण्डारीको हत्या भएपछि उपनिर्वाचनमा पनि उनकी पत्नी विद्यादेवी भण्डारीसँग भट्टराई पराजित भएका थिए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका भट्टराईलाई पराजित गराउनका लागि गिरिजाप्रसाद कोइरालाले भूमिका निर्वाह गरेको नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा बताउँछन् । ‘पराजित भएपछि सभापतिबाट हटाउनका लागि गिरिजाबाबुले प्रज्ञा भवन कमलादीमा एउटा भेला डाक्नुभएको थियो,’ खतिवडाले भने, ‘भूविक्रम नेम्वाङको अध्यक्षतामा खुमबहादुर खड्का लगायतका नेताको उपस्थितिमा आयोजना गरिएको त्यो भेलाबाट किसुनजीलाई हटाउने तयारी गरेको बुझेर पनि किसुनजी भेलामा सरिक हुनुभएको थियो ।’

‘मलाई पराजित गराउन अन्तर्घात गर्ने सबै नेता तथा कार्यकर्ताको अन्तर्घातलाई विस्मृतिमा राखेर मैले आममाफी दिन्छु’ भनेर किसुनजीले भेलामा भनेको खतिवडा स्मरण गर्छन् । निर्वाचनमा लोकप्रिय मत कांग्रेसलाई नै बढी आए पनि कांग्रेस दोस्रो दल बनेको थियो भने नेकपा एमाले संसदको पहिलो ठूलो दल बनेको थियो । 

पार्टी भित्रको घात, अन्तर्घात र गुटको राजनीतिका कारण कांग्रेस कमजोर बनेपछि २०५६ सालको आमनिर्वाचनमा गिरिजाप्रसाद कोइरालाले भावी सरकारको नेतृत्व भट्टराईले नै गर्ने घोषणा गर्दै आमसभामा प्रचार गरेका थिए । भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेर पर्सा–१ बाट उम्मेदवार बनाइएको थियो । भट्टराई निर्वाचित पनि भए । भट्टराईको नेतृत्वमा सरकार पनि बन्यो ।

‘भट्टराईकै नाउँमा बहुमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई गिरिजाबाबुले १० महिना पनि चल्न दिनुभएन,’ खतिवडाले भने, ‘१ सातापछि हुने फ्रान्सको भ्रमण गरेर राजीनामा दिने किसुनजीको वाचा समेत गिरिजाबाबुले पूरा हुन नदिएपछि बाध्य भएर प्रतिनिधि सभामा आफ्नो मन्तव्य राखेर राजीनामा दिनुपरेको थियो ।’ उनले २०५६ चैत्र ३ गते संसदमा राजीनामा दिएका थिए । 

भट्टराईपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले पनि कोइरालाको सरकार ढालेका थिए । प्रधानमन्त्री भएको १ वर्ष ५ महिनापछि कोइरालाले पनि राजीनामा गर्नुपरेको थियो । कोइरालाको पक्षमा ३६ जना सांसद र देउवाको पक्षमा ७४ जना सांसद भएपछि पार्टीभित्र नै अल्पमतमा परेका कोइरालाले राजीनामा गरेका थिए । त्यतिबेला पार्टी नफुटे पनि २ चिरामा विभाजन भएको थियो । 

त्यसपछि राजा ज्ञानेन्द्रको शासनकालमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संकटकाल लगाउने वा नलगाउने विषयमा कोइराला र देउवाबीच मतान्तर भएको थियो । ‘माओवादी सशस्त्र द्वन्द्वका कारण संकटकाल लगाउने विषयमा प्रधानमन्त्री देउवा र गिरिजाबाबुबीच मत भिन्नता भयो,’ खतिवडाले स्मरण गरे, ‘देउवा संकटकाल लगाउने पक्षमा हुनुहुन्थ्यो र गिरिजाबाबु त्यसको विपक्षमा हुनुहुन्थ्यो ।’

अन्त्यमा संकटकाल लगाएपछि देउवा नेपाली कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । २०६२/०६३ सालको जनआन्दोलनपछि नेपाली कांग्रेसमा कांग्रेस प्रजातन्त्रिक गाभिएर पार्टी एकता भएको थियो ।

 एमाले विभाजनको इतिहास

२०४७ सालमा तत्कालीन नेकपा माले र मार्क्सवादीबीच पार्टी एकता भएर नेकपा एमाले बनेको थियो । मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनेका थिए । त्यसपछि दोस्रो संसदीय निर्वाचनमा नेकपा एमालेले ६९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बन्न सफल भएको थियो तर २०५३ सालमा महाकाली सन्धीका विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।

सन्धीलाई सदनबाट पारित गर्ने वा नगर्ने विषयमा एमाले २ भागमा विभाजित बन्न पुगेको थियो ।

केपी शर्मा ओली, माधवकुमार नेपाल लगायतका नेता पारित गर्नुपर्ने पक्षमा थिए भने वामदेव गौतम, सीपी मैनाली लगायतका नेता पारित गर्न नहुने पक्षमा विभाजित भएका थिए । महाकाली सन्धी राष्ट्रघात भएको भन्दै साहना प्रधान, वामदेव गौतम, सीपी मैनाली लगायतका नेताहरूले नयाँ पार्टी नेकपा माले बनाए । साहना प्रधान अध्यक्ष रहेको नेकपा मालेमा सहभागी भएका वामदेव गौतम २०५८ सालमा नेकपा एमालेमा फर्किएका थिए । सीपी मैनाली हालसम्म पनि नेकपा मालेमा छन् । उनले नै त्यो पार्टीको नेतृत्व गरिरहेका छन् । 

अहिले फेरि नेकपा एमाले २ भागमा विभाजित भएको छ । केपी शर्मा ओली संस्थापन रहेको एमालेबाट माधवकुमार नेपाल समूह अलग भएको छ । नेपालकै अध्यक्षतामा नेकपा एमाले (समाजवादी) पार्टी नयाँ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ ।

माओवादी पार्टी विभाजनको इतिहास

२०४७ साउनमा ने.क.पा.(मशाल), प्रचण्ड, ने.क.पा.(चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक संगठन, रुपलाल विश्वकर्मा बीचमा एकता भई पार्टी नाम ने.क.पा. (एकता केन्द्र) राखिएको थियो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा.(मसाल)बाट विद्रोह गरी हरिबोल गजुरेल (शितलकुमार) को नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम ने.क.पा. (एकता केन्द्र)मा प्रवेश गर्‍यो ।

तत्कालीन ने.क.पा. (एकता केन्द्र) आवद्ध संयुक्त जनमोर्चाले दोस्रो संसदीय निर्वाचनमा ९ सिट ल्याएको थियो । त्यसपछि २०५१ सालमा माओवादी र एकता केन्द्र विभाजन भयो । विभाजन भएपछि जनमोर्चाले संसदीय चुनावमा १ सिट पनि जित्न सकेन । फुटेको माओवादीले २०५१ फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध शुरू गर्‍यो । १२ वर्षे जनयुद्धपछि माओवादी शान्ति प्रक्रियामा आएको थियो । 

२०६२/०६३ सालको जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता गरेर शान्ति प्रक्रियामा आएको नेकपा माओवादी पनि पटक–पटक विभाजित भएको छ । २०६४ सालको पहिलो संविधान सभाको चुनावपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको थियो । पछि २०६९ असार ४ गते माओवादी केन्द्रका दोस्रो वरियताका नेता मोहन वैद्य ‘किरण’ले पार्टीबाट अलग भएर छुट्टै पार्टी दर्ता गरेका थिए । नेकपा माओवादी वैद्य समूहको नामले चिनिएको पार्टीमा पनि पछि फुट भयो । वैद्य नेतृत्वको पार्टीमा रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, देव गुरुङ, पम्फा भुसाल लगायतका नेताहरू थिए ।

२०७३ जेठ १ गते नेत्रबहादुर चन्द ‘विप्लव’ वैद्यबाट पनि छुट्टिए । पछि बादल, भुसाल, गुरुङ पनि प्रचण्ड अध्यक्ष रहेको एकीकृत माओवादी केन्द्रमा फर्किएका थिए ।

वैद्यले माओवादी छाडेर गएपछि माओवादीमा दोस्रो नेता बनेका डा. बाबुराम भट्टराईले पनि २०७२ असोज ३ गते संविधान जारी भएपछि पार्टी छाडेका थिए । २०७२ असोज ९ गते भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

पछि नेकपा एमाले र नेकपा माओवादीबीच २०७५ जेठ ३ गते एकता भएर नेकपा दर्ता भएको थियो तर नेकपा फेरि विभाजन भएको छ । सर्वोच्च अदालतको फैसलापछि साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग–अलग पार्टीको रूपमा कायम भएका हुन् । 

उता मातृका यादव, मणि थापा, गोपाल किराँतीले पनि छुट्टाछुट्टै पार्टी चलाएका थिए । तर, यादव मूल माओवादीमा फर्किएका छन् भने थापा मूल माओवादी हुँदै अहिले नेकपा एमालेमा छन् । 

राप्रपा विभाजनको इतिहास

२०४६ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पटक–पटक विभाजन भएको छ । २०४७ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि बहुदलीय व्यवस्था अन्तर्गत पूर्व पञ्चहरूले राजनीतिक दल गठनको प्रयास गरेका थिए । पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द तथा पटक–पटक मन्त्री बनेकाहरू प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पदमसुन्दर लावती, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायतले पार्टी गठनको प्रयास गरेका थिए ।

 राष्ट्रिय प्रजातन्त्र पार्टी नाम राख्ने कुरामा ती नेताहरूबीच सहमति भएपनि नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । २०४७ जेठमा सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा (थापा) र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा (चन्द) समूहको छुट्टाछुट्टै पार्टी घोषणा भएको थियो ।

छुट्टाछुट्टै चुनाव लडेका राप्रपाका नेताहरूले चुनावपछि २०४८ सालको माघ महिनामा पार्टी एकता गरेर राप्रपा गठन गरेका थिए । सूर्यबहादुर थापाको नेतृत्वमा एकता भएको राप्रपाले २०५१ सालको मध्यावधि चुनावमा पछिल्लो चुनावभन्दा बढी सिट हात पारेको थियो । १९ सिट जितेको राप्रपा संसदमा तेस्रो शक्ति बन्न सफल भएको थियो । मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपा सहभागी भएको थियो । 

फेरि देउवा सरकार ढाल्न तथा देउवा सरकार बचाउनका लागि राप्रपा विभाजित हुन पुग्यो । लोकेन्द्रबहादुर चन्द एमालेको सहयोगमा २०५४ सालमा प्रधानमन्त्री बन्न सफल भए । चन्द प्रधानमन्त्री भएपछि सूर्यबहादुर थापाले आफ्नै पार्टीको सरकार ढालेको थियो । फेरि देउवा नेतृत्वको सरकार बनाएर थापा आफैं पनि स्थानीय विकास मन्त्री बने । फेरि देउवा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदा थापा अविश्वासको प्रस्तावको पक्षमा उभिए ।

सूर्यबहादुर थापा प्रधानमन्त्री बनेको बेलामा राप्रपा एकता भएको ६ वर्षपछि विभाजित भएको थियो । फेरि राप्रपा (चन्द) र राप्रपा (थापा) समूहमा पार्टी विभाजित भयो ।

पार्टी विभाजनको ३ वर्षपछि २०५७ सालमा फेरि पार्टी एकीकरण भयो । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार बर्खास्त गरेपछि राप्रपा फेरि विभाजन भयो । थापा अलग्गिएपछि चन्द फेरि प्रधानमन्त्री बने । २०६२ सालमा कमल थापाले छुट्टै राप्रपा नेपाल गठन गरे । फेरि राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी ३ छुट्टै पार्टी बने । 

२०७० सालमा फेरि राप्रपा र राजपाबीच एकीकरण भयो । त्यसपछि फेरि पार्टी विभाजन भयो । यसरी पार्टी टुटफुट हुने क्रम चल्दै गर्दा अहिले सबै पक्ष एकताबद्ध भएर राप्रपा बनेको छ । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी गरी ३ जना अध्यक्ष छन् ।

सदभावना पार्टी विभाजनको इतिहास 

गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् नामक सामाजिक संस्था खोलेका थिए । पछि २०४७ वैशाख ३ गते राजनीतिक दलको रूपमा नेपाल सद्भावना पार्टी गठन गरेका थिए । सिंह अध्यक्ष रहेको पार्टी ३ वर्षपछि विभाजित भएको थियो ।

रामजनम तिवारीको अध्यक्षतामा नेपाल सद्भावना पार्टी (आर) गठन भएको थियो । त्यसको २ वर्षपछि २०५२ सालमा रामेश्वरराय यादवले विद्रोह गरेर समाजवादी जनता दल गठन गरेका थिए । यादवको अध्यक्षतामा गठित दलमा हृदयेश त्रिपाठी उपाध्यक्ष थिए भने राजेन्द्र महतो प्रवक्ता थिए । 

टुक्राटुक्रामा रहेको सद्भावना पार्टीका विभिन्न घटकबीच २०५४ चैत्रमा विराटनगरको महाधिवेशनबाट पुनः एकीकरण गरिएको थियो । एकीकरण भएको पार्टीको नाम नेपाल सदभावना पार्टी राखिएको थियो । 

एकीकृत भएको पार्टी २०५९ सालमा फेरि विभाजन हुन पुग्यो । २०५९ चैत्र ११ गते सप्तरीको राजविराजस्थित महाधिवेशनबाट गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवी सिंहले पार्टी फुटाएकी थिइन् । महाधिवेशनबाट नेपाल सदभावना पार्टीको नेतृत्व बद्री मण्डलले गरेका थिए भने अर्को नेपाल सदभावना पार्टी (आनन्दीदेवी) को नेतृत्व आनन्दीदेवीले गरेकी थिइन् ।

बद्री मण्डल पार्टीमा निष्क्रिय भएपछि लक्ष्मण लाल कर्णले पार्टीको नेतृत्व गरिरहेका थिए । २०६४ जेठ २५ गते कर्ण र आनन्दीदेवीबीच समेत पार्टी एकता भएर नेपाल सद्भावना पार्टी बनेको थियो । एकीकृत भएको पार्टीको अध्यक्षता आनन्दीदेवीले गरिरहेकी थिइन् । फेरि उनको पार्टी ३ टुक्रामा विभाजित हुन पुग्यो ।

२०६५ मंसिर २४ गते राजेन्द्र महतोले आफ्नो नेतृत्वमा सद्भावना पार्टी गठन गरे । अर्कोतर्फ श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल र सरिता गिरीले समेत छुट्टाछुट्टै समूह बनाएर पार्टी विभाजन गरेका थिए । तीनै जनाको पार्टीको नाम नेपाल सदभावना पार्टी (आनन्दीदेवी) नै थियो तर समूह भने फरक–फरक थियो । श्याम सुन्दर गुप्ता पछि जेल गए । सरिता गिरी पछि उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीमा गएपनि उनलाई पार्टीले कारवाही गरेर निष्काशन गरेपछि अहिले उनी कुनै पार्टीमा आवद्ध छैनन् ।

राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी पनि २ टुक्रामा विभाजित भयो । अनिलकुमार झा र सरिता गिरीले मिलेर संघीय सदभावना पार्टी गठन गरेका थिए भने रामनरेश रायले समेत अर्को पार्टी गठन गरेका थिए ।

राम नरेश पछि महिन्द्र राय यादवले खोलेको तराई मधेश सद्भावना पार्टीमा लागेका थिए भने महतो र झाले नेतृत्व गरेको पार्टी पछि राष्ट्रिय जनता दलमा एकीकृत भएको थियो ।

फोरम विभाजनको इतिहास 

उपेन्द्र यादवको नेतृत्वमा गठित मधेशी जनअधिकार फोरम मधेश आन्दोलनपछि राजनीतिक दलको रूपमा दर्ता भएको थियो । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानको विरोध गर्दै मधेशमा आन्दोलन गरेका यादवले सरकारसँग २२ बुँदे सम्झौता गरेको थियो । सम्झौतापछि २०६४ वैशाखमा यादवले दल नै दर्ता गरेका थिए । 

उनले दल दर्ता गरेर सरकारसँग सम्झौता गरेपछि यादवसँगै लागेका अन्य आन्दोलनकारीले पार्टी विभाजन गरेका थिए । २०६४ भदौमा भाग्यनाथ गुप्ताको अध्यक्षतामा मधेशी जनअधिकार फोरम (मधेश) नामक अर्को दल विभाजित भएर दर्ता गरिएको थियो । 

उपेन्द्र यादवको पार्टीमा लागेका विजयकुमार गच्छदारले पनि फोरमबाट अलग भएर मधेशी जनअधिकार पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेका थिए । शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता लगायतका नेताहरू गच्छदारसँग आएका थिए तर रक्षामन्त्री बनेका भण्डारीले दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई मन्त्रीबाट बर्खास्त गरिँदा पार्टीले बचाउ नगरेको भन्दै उनी पार्टीबाट अलग्गिए । 

भण्डारीले आफ्नो नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरेका थिए । गच्छदारतिर लागेका गुप्ताले पनि मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) नामक पार्टी दर्ता गरेका थिए । सञ्चारमन्त्री बनेकै बेला भ्रष्टाचार आरोपमा उनी जेल जाँदा राजकिशोर यादवले पार्टीबाट कारवाही गर्दै यादव आफैं अध्यक्ष बनेका थिए । 

गच्छदार पछि कांग्रेसमा फर्किए । राज किशोर र भण्डारी दुवै पछि पार्टी एकता गर्दा राजपामा आएका थिए । त्यसबाहेक पनि विभिन्न स–साना समूहले फोरमबाट अलग भएर छुट्टै पार्टी दर्ता गरेका थिए ।

तमलोपा विभाजनको इतिहास 

२०६३ सालको मधेश आन्दोलनका क्रममा उपेन्द्र यादवले सरकारसँग पहिलोपटक सम्झौता गरेपछि नेपाली कांग्रेसमा रहेका महन्थ ठाकुरले कांग्रेस परित्याग गरेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका थिए । दोस्रो मधेश आन्दोलनका बेला उपेन्द्र यादवले नेतृत्व गरेको फोरम, ठाकुरले नेतृत्व गरेको तमलोपा र राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका थिए ।

मोर्चाको ब्यानरमा भएको संयुक्त आन्दोलनपछि २०६४ फागुन १६ गते सरकारसँग ८ बुँदे सम्झौता भएको थियो ।

महन्थ ठाकुरको नेतृत्वमा रहेको तमलोपा पनि पछि विभाजित भएको थियो । महिन्द्र राय यादवले तराई मधेश सदभावना पार्टी (तमसपा) गठन गरेको थियो । पछि राजपा गठन हुँदा साविकका ६ वटा पार्टीहरू एक ठाउँमा आएका थिए ।

उपेन्द्र यादवले नेकपा एमालेबाट अलग भएका अशोक राई, राजेन्द्र श्रेष्ठ सहितसँग एकता गरेर संघीय समाजवादी फोरम पार्टी गठन गरेका थिए । त्यसपछि एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसँग एकता गरेर समाजवादी पार्टी गठन गरिएको थियो । 

पछि आएर सपा र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको थियो । भट्टराई, ठाकुर र यादव ३ जना अध्यक्ष रहेको जसपा अहिले फेरि फुटेको छ । जसपाको नेतृत्व उपेन्द्र यादवले गरेका छन् भने ठाकुरले निर्वाचन आयोगमा नयाँ दल जसपा (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दर्ता गराएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x