बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
भदौ ९, २०७८
अफगानिस्तानका सबै भागमा तालिबानले कब्जा गरिसकेको छ तर एउटा प्रान्त अझै पनि उसको नियन्त्रणमा आएको छैन ।
काबुलबाट १५० किलोमिटर उत्तरमा रहेको पंजशिर प्रान्त, विशेषगरी पंजशिर उपत्यकामा तालिबानविरोधी समूहको पकड कायम छ । उक्त समूहले तालिबानसँग वार्ता गर्ने तर वार्ता सफल नभएमा अन्तिम सास रहुन्जेल हिंस्रक प्रतिकार गर्ने बताएको छ ।
नेसनल रेजिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) नामक यस तालिबानविरोधी समूहले आफूसँग हजारौं लडाकूहरू रहेको र तिनले तालिबानको कुनै पनि आक्रामकतालाई नसहने बताएको छ ।
उता तालिबानले पंजशिर उपत्यकालाई घेराबन्दी गरिसकेको र एनआरएफका लडाकूहरूलाई दबाबमा राखेको दाबी गरेको छ । यससँगै जोडिएको बागलान प्रान्तका तीन जिल्लामा एनआरएफ लडाकूहरूले केही समय नियन्त्रण कायम गरेको भए पनि त्यसलाई फिर्ता लिइसकिएको तालिबानले बताएको छ ।
पंजशिरको दुर्गम भूगोल नै यसको शक्ति हो । हिउँले वर्षैभरि ढाकिने तीनतिरबाट अग्ला पहाडले घेरिएको पंजशिर पुग्नका लागि एउटा साँघुरो सडक मात्र उपलब्ध छ । त्यसैले यसलाई नियन्त्रणमा लिन निकै कठिन छ ।
अफगानिस्तानको रक्तरञ्जित इतिहासमा पंजशिर क्षेत्रको गौरवशाली उपस्थिति छ । सन् १९७९ देखि १९८९ सम्म सोभियत अतिक्रमणमा परेको अफगानिस्तानमा समेत सोभियतहरूको पकडमा आउन नसकेको एउटा मात्र क्षेत्र पंजशिर नै थियो ।
पंजशिरका मुजाहिद्दीन नेता अहमद शाह मसूदलाई पंजशिरका सिंह भनी चिनिन्थ्यो । माओ चतोङ र चे ग्वेभाराबाट प्रभावित मसूदले गुरिल्लाहरूको समूहलाई सोभियत सैनिकविरुद्धको प्रतिकारमा उतारेका थिए ।
सोभियत सैनिकहरू अफगानिस्तानबाट हटेपछि गृहयुद्ध शुरू भएको थियो । त्यसै क्रममा सोभियतविरुद्धको प्रतिकार सहभागी रहेका तर इस्लामको कट्टर व्याख्या गर्ने तालिबानको उदयपछि मसूदले नर्दन अलायन्स बनाएर त्यसका विरुद्ध प्रतिकार गरे ।
तालिबानले उक्त स्थानमा विजय हासिल गर्न सकेको थिएन । त्यसपछि तालिबानले अलकायदाको साथ लिएर मसूदको हत्या गरेको थियो ।
सेप्टेम्बर ११ को घटनाभन्दा दुई दिनअघि अलकायदाका आत्मघाती लडाकूहरू पत्रकारको भेष धरेर मसूदको अन्तर्वार्ता लिन गएका थिए । अन्तर्वार्ता चल्दै गर्दा उनीहरूले क्यामरामा फिट गरिएको बम विस्फोट गरेर मसूदको हत्या गरे ।
सेप्टेम्बर ११ पछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा तालिबानलाई सत्ताच्युत गर्न मसूदले बनाएको नर्दन अलायन्सले पनि प्रमुख भूमिका निर्वाह गरेको थियो । तालिबानको पतनपछि नर्दन अलायन्सका नेताहरू काबुल सरकारमा सार्थक रूपमा सहभागी भए ।
अफगानिस्तानका उपराष्ट्रपति (अहिले आफूलाई कार्यकारी राष्ट्रपति घोषणा गरेका) अमरुल्लाह सालेह पनि मसूदका चेला हुन् र पंजशिर उपत्यकामै बसेर शासन चलाइरहेको बताउँछन् । त्यस्तै गानी सरकारमा रक्षामन्त्री रहेका बिस्मिल्लाह मोहम्मदी पनि पंजशिरमा छन् ।
मसूदको मृत्युपछि उनका छोरा अहमद मसूदले तालिबानको प्रतिकारको मोर्चा सम्हालिरहेका छन् । पंजशिरमा ताजिक समुदायका मानिसको बाहुल्य छ र तालिबानको हालीमुहाली भएको पश्तुन समुदायलाई उनीहरूले प्रतिकार गर्ने गरेका छन् ।
तालिबानको यो प्रतिकार काबुलमा समावेशी सरकार निर्माणका लागि भएको एनआरएफ नेताहरूको कथन छ । एनआरएफको परराष्ट्र सम्बन्ध विभागका प्रमुख अली नजारीले अफगानिस्तान अल्पसंख्यक जातिहरूको मुलुक भएको र यहाँ कोही पनि बहुसंख्यक नरहेको बताएका छन् । त्यसैले सत्ता साझेदारीमा सबैलाई समान हैसियतमा संलग्न गराउनुपर्ने उनको कथन छ ।
तालिबानले सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा पश्तुन जातिलाई प्राथमिकता दिएर अन्यलाई दमन गरेको इतिहास अन्य जातिले भुलेका छैनन् । विशेषगरी हजारा समुदायको त नरसंहार नै गरिएको थियो । त्यसैको स्मरण गर्दै ताजिकहरूले तालिबानको प्रतिकार गरिरहेका हुन् ।
तर तालिबानका लडाकूहरू यसपालि दृढनिश्चयका साथ पंजशिर जित्नका लागि डटेका छन् । उनीहरूसँग अत्याधुनिक अमेरिकी हतियार तथा वाहन छ ।
उता एनआरएफ सोभियतकालका पुराना हतियारहरूमा निर्भर छ । अहमद मसूदले लामो समयदेखि हतियार जम्मा गरिरहेको भने पनि ती पुराना हतियार हुन् । अत्याधुनिक हतियार उपलब्ध गराउनका लागि उनले अमेरिका र युरोपलाई अनुरोध गर्दै द वाशिङटन पोस्टमा लेख प्रकाशन गरेका छन् । तर पश्चिमी मुलुकहरूले उनलाई हतियार पठाएका छैनन् । अफगानिस्तानको चिरकालीन युद्धदेखि उनीहरू पनि अघाइसकेको हुनुपर्छ ।
सीआईएका बहालवाला निर्देशक विलियम बर्न्सले यसै साता काबुलमा तालिबानका दोस्रा शक्तिशाली नेता अब्दुल गानी बारादरलाई गोप्य रूपमा भेटेर अमेरिकाको राजनीतिक तथा कूटनीतिक झमेला अन्त्य गर्न खोजेको कुरा आइरहेको छ । यस्तो अवस्थामा पंजशिरमा बसेर तालिबानको प्रतिकार गरिरहेका अमरुल्लाह सालेहलाई सीआईएले सहयोग नगर्ने संकेत पाइएको छ । सालेहलाई सीआईएले नै प्रशिक्षण दिएर गुप्तचर बनाएको अनि देशको उच्च पदमा पुर्याएको एमके भद्रकुमार लेख्छन् ।
अनि एनआरएफसँग वाहनहरू पनि सबै सोभियतकालकै छन् । रोयटर्स समाचार संस्थाले दिएको खबरअनुसार, मसूदका लडाकूहरूले ती पुराना वाहनको मर्मत गरिरहेका छन् ।
त्यसो त तालिबानले शान्तिपूर्ण तरिकाले यस विषयलाई हल गर्नुपर्ने बताएको छ । तालिबानका प्रवक्ता सुहेल शाहीनले चिनियाँ सञ्चारमाध्यम सीजीटीएनसँग कुरा गर्दै शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्न आफूहरूले प्रयास गरिरहेको तर यसमा सफल नभएमा कारवाही गर्ने बताएका छन् ।
एनआरएफले सरकारमा सार्थक उपस्थिति चाहेकोमा तालिबानले समावेशी सरकार बनाउने भनेकै छ भनी शाहीनले दाबी गरे । अफगान जनता अब लडाइँबाट बिरक्तिसकेकाले प्रतिकारका नाममा लडाइँ गर्न नहुने उनले बताए ।
यस्तो लडाइँ नहोस् भनी रुसले पनि कोशिश गरिरहेको देखिन्छ । तालिबान र एनआरएफबीच लडाइँ भएको खण्डमा रुसको प्रभावक्षेत्रका रूपमा रहेको मध्य एसियाली मुलुकहरूमा आतंकवादी गतिविधि बढ्न सक्ने डर रुसलाई छ ।
इस्लामिक स्टेट इन खोरासान त्यस क्षेत्रमा आफ्नो गतिविधि चर्काउन तयार बसेको कुरा रुसलाई थाहा छ । त्यसैले एनआरएफका नरमपन्थी नेताहरूलाई तालिबानसँग वार्ता गरेर काबुलको समावेशी सरकारमा सहभागी बन्नका लागि रुसले फकाइरहेको भनी उक्त क्षेत्रका जानकार भारतका पूर्व राजदूत एम भद्रकुमारले लेखेका छन् ।
कथंकदाचित् वार्ता मिलेन र युद्ध भएछ भने मसूदका लडाकूहरू तालिबानका अगाडि टिक्न गाह्रो देखिएको छ । तालिबान लडाकूको संख्या धेरै छ र हातहतियार पनि निकै बढी तथा अत्याधुनिक छ । त्यसैले तालिबानसँग भिडन्तमा जाँदा एनआरएफ ध्वस्त हुन्छ भनी अफगानिस्तानका लागि रुसी राजदूत दिमित्री झिर्नोभले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।
झिर्नोभका अनुसार, एनआरएफसँग जम्मा सात हजार लडाकू छन् । अनि उनीहरूसँग हेलिकप्टर उडाउनका लागि इन्धन पनि छैन । माथि नै उल्लेख गरिएबमोजिम उनीहरूको हातहतियार पनि पुरानो छ ।
अनि पंजशिरको भूगोलले गर्दा एनआरएफ हावी हुन सक्ने भए पनि त्यहाँ हातहतियार र बन्दोबस्तीका सामान पुर्याउन त्यही भूगोलले अप्ठ्यारो पारेको छ । पश्चिमी मुलुकहरूले हातहतियार दिने प्रतिबद्धता गर्न नसकेको अवस्थामा आफूसँग भएका पुराना हतियारको भरमा कतिन्जेल एनआरएफ टिक्ला भन्ने प्रश्न ज्वलन्त छ ।
रुसी राजदूत झिर्नोभले अफगानिस्तानमा तालिबान नै वस्तुगत अधिकारी भएको र उनीहरूको विकल्प नरहेको बताएका छन् । अमेरिकाले तालिबानविरोधी गतिविधिलाई उचाल्न अनिच्छा देखाइरहेको अनि चीन र रुसले पनि तालिबान नेतृत्वको समावेशी सरकार काबुलमा यथाशीघ्र देख्न चाहिरहेको वर्तमान अवस्थामा एनआरएफको प्रतिकार लामो समयसम्म जाने देखिँदैन ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...