दाउरा बाइबाइ: गाउँगाउँमा विद्युतीय चुलो ! [भिडियोसहित]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नेपाल जलविद्युतमा आत्मनिर्भर हुने क्रममा छ ।


Advertisement

वर्षायाममा आन्तरिक उत्पादनबाटै माग धान्ने अवस्थामा पुगिसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


Advertisement

विद्युत् उत्पादन बढेसँगै यसको खपत पनि बढाउनुपर्ने चुनौती थपिएको छ ।

पछिल्लो समय देशका अधिकांश सुगम र पहाडी भू-भागमा विद्युतीकरण भएको छ ।


Advertisement

गाउँगाउँमा बिजुली पुगेपछि विद्युतीय उपकरणहरूको प्रयोग पनि बढ्दै जान थालेको छ । यसैक्रममा पछिल्लो समय लोकप्रिय बन्दै गएको विद्युतीय उपकरण हो– इन्डक्सन चुलो ।

मुलुकमा एलपी ग्यासको बढ्दो आयात र व्यापार घाटा कम गर्नका लागि पनि इन्डक्सन चुलोको निकै महत्त्व छ ।

सोही कारण पनि विद्युत् प्राधिकरणसहितका सरकारी निकाय र विभिन्न संघ-संस्थाले इन्डक्सन चुलोमा अनुदान उपलब्ध गराउने तथा चुलो नै उपलब्ध गराएर सहयोग पुर्‍याउने गरिरहेका छन् ।

***

काठमाडौंबाट करीब ४० किलोमिटर दक्षिणमा धादिङको थाक्रे गाउँपालिकास्थित सिम्ले पुग्दा थुप्रै स्थानीयले इन्डक्सन चुलो प्रयोग गर्न थालेको पाइयो ।

उनीहरू दाउरा र ग्यासको विकल्प पाएकोमा निकै खुशी देखिन्थे ।

'मलाई विद्युतीय चुलो निकै सजिलो र उपयोगी लाग्यो,' थाक्रे– १ की शर्मिला अर्यालले लोकान्तरसँग भनिन्, 'पहिला दाउरा बाल्दा आगो फुकिरहनुपर्ने झञ्झट थियो । धूवाँले टाउको दुखेर हैरान हुन्थ्यो । दाउरा खोज्ने हैरानी छुट्टै थियो । अहिले यी सारा झञ्झटबाट मुक्ति मिलेको छ ।'

सोही ठाउँकी उषा अर्यालको अनुभव पनि त्यस्तै छ ।

'एक बटममै खाना पाक्ने, कति सजिलो,' उषाले भनिन्, 'समयको बचत भयो । श्रीमानलाई दाउरा चिरिदिनुस् भनेर कराइरहन पनि परेन ।'

सिम्लेबाट केही माथिको एक गाउँमा पुग्दा स्थानीय कान्छा तामाङले नेपाली समाजमा खाना पकाउने चुलोका सम्बन्धमा आएको फेरबदलका बारेमा कथा नै सुनाए ।

'पहिला–पहिला खाल्डो खनेर ठूलो ढुंगा राखी त्यसमा दाउरा बालेर खाना बनाइन्थ्यो । पछि सुधारिएको चुलो आयो । त्यसबाट पनि धेरै धूवाँ आउने भएपछि खासै प्रभावकारी भएन । विकल्पका रूपमा चिम्निहू भन्ने चुलो आयो । त्यसमा पनि आगोको ठूलो रापले खाना बनाउनेलाई असर पुग्ने रहेछ । त्यसपछि गोबर ग्यासको चलन चल्यो । त्यसले चाहिँ राम्रै काम गरेको थियो, तर गोबर सोहोर्नुपर्ने कुरालाई कतिपयले झञ्झटका रूपमा लिन्थे । एलपी ग्यासका सिलिन्डर पनि आए । तर अहिले विद्युतीय चुलो आएपछि सारा तनाव र झञ्झटबाट मुक्ति मिलेको छ । धेरै नै सजिलो भएको छ ।'

त्यसो त इन्डक्सन चुलो प्रयोग गर्न त्यति सहज भने छैन । शुरूमा घरमा वायरिङ सुधार गर्नुपर्छ । दोस्रो, घरमा विद्युतको क्षमता लोड धान्ने छ कि छैन, त्यो पनि ख्याल गर्नुपर्छ । तेस्रो, यसको सही उपयोगका लागि प्रयोगकर्ताले राम्रोसँग जानकारी लिनु आवश्यक छ ।

विद्युतीय चुलोको प्रवर्द्धनमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघले पनि काम गरिरहेको छ ।

महासंघका अध्यक्ष नारायण ज्ञवालीले राष्ट्रिय अर्थतन्त्रको विकास र स्वदेशी उत्पादन वृद्धि गर्न विद्युतीय चुलोलाई अगाडि बढाउनु आवश्यक रहेको बताए । त्यसका लागि विद्युत वितरणको संरचनामा समेत ध्यान दिनुपर्नेमा उनको जोड छ ।

'नेपालको ग्रामीण भेगमा विद्युतका ट्रान्सफर्मरहरू अन्डरलोड छन् । त्यस्ता ठाउँमा क्रमश: त्यसको सुधार गरी विद्युतीय चुलो प्रवर्द्धन गरी विद्युत खपतलाई वृद्धि गर्नु आवश्यक छ । आयातीय एलपी ग्यासको खपतलाई न्यूनीकरण गरी विद्युतीय चुलो प्रवर्द्धन गर्नु हाम्रो मुख्य लक्ष्य हो,' ज्ञवालीले भने ।

विद्युतीय चुलो राष्ट्रिय अभियानमा नेपाल विद्युत प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ र अजम्बरी विकास फाउन्डेसनले मिलेर काम गरिरहेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण, सामुदायिक ग्रामीण विद्युतीकरणका निर्देशक अनिरुद्रप्रसाद यादवले विद्युत् प्राधिकरणमा आउने समस्यालाई समाधान गर्दै विद्युतीय चुलोको प्रवर्द्धन अभियानलाई सशक्त बनाउँदै लैजाने बताए ।

हेर्नुहोस्, भिडियो :

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्