काठमाडौं, ८ असार– वर्षात् शुरु भए पनि पोखरामा खलखल पसिना आउने गर्मी छ । साँझपख पोखराको स्थानीय मानिसले 'लेकसाइड' भनेर चिनिने फेवाताल छेउ विदेशी पर्यटक यताउता गरेर सुन्दर प्रकृतिमा विचरण गरिरहेका हुन्छन् । विदेशी पर्यटकझैं कैयन् नेपाली पनि साँझपख विश्राम गर्न र ‘रिफ्रेश’ हुन लेकसाइडमा झुम्मिन पुग्छन् ।
साँझपख मिठो शीतलता लिन फेवाताल वरपर आउनेहरूलाई लमजुङका सुकबहादुर गन्दर्व झोलाभरी सारंगी, मादल र रुद्राक्षको माला बोकेर ग्राहक पर्खिरहेका हुन्छन् ।
दिनभरि सारंगी किन्ने विदेशी तथा स्वदेशी ग्राहक खोज्दै फेवाताल छेउ यताउता गरिरहेका सुकबहादुरले सारंगी बेचेरै आफ्नो सात जनाको परिवार पाल्दै आएको बताए ।
‘आज हजार रुपैयाँ छ, साटेपछि भोलि पैसा नै हुँदैन,’ फेवातालको किनारमा भेटिएका सुकबहादुरले भने । आफूले आजसम्म सारंगी बेचेर जीवन चलाएपनि सम्पत्ति भने जोड्न नसकेको उनले दुखेसो पोखे ।
सुकबहादुरजस्तै दर्जनौं गन्दर्व लेकसाइड वरपर खासगरि विदेशी ग्राहक खोज्दै गरेका भेटिन्छन् । राजमार्गहरूमा बसभित्र चढेर सारंगी रेट्दै 'गाइने दाइको सारंगीले जीवनको कथा भन्छ' भन्दै गीत गाउने गाइने दाइहरू अचेल विरलै भेटिन्छन् ।
कुनै दिन कमाइ नै नभएपनि कुनै दिन भने एउटै सारंगी पनि राम्रो मूल्यमा बेचेर मुनाफा कमाउने सुकबहादुर सुनाउँछन् ।
आफ्नो बाँकी परिवार लमजुङमा बस्दै आएपनि उनी भने पोखरामा डेरा गरी बस्छन् । बिहानदेखि साँझसम्म आफूले जानेको फाटफुट अंग्रेजी बोलेर विभिन्न देशका पर्यटकसँग उनी सारंगी किन्न आग्रह गर्छन् ।

‘खासै धेरै भाषा त जान्दिनँ तर कुन देशको भाषा बोलेको छ भन्ने उनीहरूले बोलेकै आधारमा थाहा पाइन्छ,’ सारंगी समाएको हात हल्लाउँदै उनले सुनाए, ‘मैले त जानेको र गर्न सक्ने काम भन्नु नै यही सारंगी बेच्नु हो ।’
उनका दुई छोराहरूको भने बाबुको पेशा थाम्ने उद्देश्य छैन । बिहे गरेर पनि सगोलमा परिवारसँग बस्दै आएका उनका जेठा छोरा सुजनमा गज्जबका सारंगी बनाउने कला भएपनि बेच्दै हिँड्न भने अप्ठेरो मान्ने सुकबहादुर बताउँछन् । ‘कहिलेकाहीं मनलाग्दा सारंगी बनाइदिन्छ । काम गरेपछि राम्रोसँग काम गरिदिए हुन्थ्यो भन्ने बाबु हुनेलाई लाग्दो रैछ,’ उनी भन्छन् ।
पत्नी, दुई छोरा, बुहारी, नाति लगायत सातजनाको परिवारको खर्च उनी एक्लैले धानेका छन् । त्यो पनि सारंगी बेचेर । आफ्ना छोराहरू यो पेशामा आउन नखोजेकोमा बाबुलाई कुनै गुनासो छैन । ‘यो क्षेत्रबाहेक अरु क्षेत्र खोजिरहेका छन्, त्यसैले छोराहरू बेरोजगार छन् ।’, उनले थपे, ‘आफैंले काम गरेर खाने बनाएको छु । १२ सम्म पढाएकै पनि हुँ ।’
सबै सारंगीको एउटै मूल्य हुने कुरा भएन तर उस्तै गुणस्तरका सारंगीलाई कम्तीमा ८ सय रुपैयाँदेखि बढीमा ८ हजार रुपैयाँसम्म बेचेको सुकबहादुर सुनाउँछन् । ‘सारंगी हेरिकन मूल्य हुन्छ, किन्ने मन भएकाले पनि बार्गेनिङ गर्छन्, अन्तराष्ट्रिय मान्यता नै रैछ,’ झोलाभरि बोकेका सारंगी देखाउँदै उनले भने, ‘कुनै दिन राम्रै कमाइ पनि हुन्छ, कुनै दिन एक पैसो हात लाग्दैन ।’

लेकसाइड वरिपरि घुमिरहने यी गन्दर्वजस्तै अन्य गन्दर्वले पनि आफ्नो भविष्य सधैं यही क्षेत्रमा देखेका छैनन् । लामो समयदेखि यही कर्म गरेर आफूले परिवारको भोक मेट्दै आएका सुकबहादुरलाई कुनै पर्यटकले आफ्नो देश पैसा कमाउन लैजान सिफारिस गर्छन् कि भन्ने आशा पनि छ । ‘नेपालमा त कमाइ गर्ने भन्ने त्यस्तै हो, के थाहा फ्याट्ट विदेश जाने मेसो मिल्छ कि !’ उनले थपे, ‘हाम्रै साथीहरु सारंगी बेच्दाबेच्दै कति त विदेश गएर काम गरेका छन्, भोलि कसले देखेको छ र ?’