२२ असार २०८३, सोमबार
सत्तारुढ दलभित्रै २ धार

स्थानीय चुनावको मिति घोषणामा अलमल, सत्ता गठबन्धनले संविधानविद्सँग छलफल गर्ने

स्थानीय चुनावको मिति घोषणामा अलमल, सत्ता गठबन्धनले संविधानविद्सँग छलफल गर्ने

सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव कहिले गर्ने भन्ने विषयमा संविधानविद्हरूसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संवैधानिक अस्पष्टताबारे संविधानविद्सँग छलफल गर्ने निष्कर्ष निकालेको हो ।

स्थानीय तहको कार्यकालबारे संविधान र ऐनमा फरक व्यवस्था भएकाले निर्वाचन आयोग र संविधानविद्सँग छलफल गर्ने निर्णय भएको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । संविधानमा जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था रहेको तर कानूनमा कार्यकाल सकिनुअगावै गर्नुपर्ने व्यवस्था रहेकोमा केलाई आधार मान्ने भन्ने विषयमा संविधानविद्सँग परामर्श गरिने उनले बताइन् । 

‘संविधान र स्थानीय तह सम्बन्धी ऐन बाझिएकाले संविधानविद् र कानूनविदहरूसँग १–२ दिनमै छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भयो,’ पौडेलले लोकान्तरसँग भनिन् ।

बैठकमा अधिकांशको धारणा संविधानको व्यवस्थालाई ऐनले काट्न नसक्ने भन्ने थियो ।

स्थानीय तहका पदाधिकारीको ५ वर्षे कार्यकाल आगामी वर्षको जेठमा सकिने भएकाले त्यसअगावै चुनाव गर्नुपर्ने प्रतिपक्षी दलको माग छ । सत्ता गठबन्धनले २०७४ सालमा स्थानीय तहको चुनाव ३ चरणमा भएकाले पछिल्लो मितिलाई आधार मानेर कार्यकाल निर्धारण गर्नुपर्ने तर्क गर्दै आएको छ । 

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको चुनावको मिति घोषणाबारे संविधानविद्हरूसँग छलफल गर्ने सहमति भएको जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत सहभागी थिए । 

राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल बैठकमा सहभागी थिए । 

निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्न प्रस्ताव गर्दै माघ पहिलो हप्ताभित्र मिति घोषणा गर्न सरकारसँग आग्रह गरेको थियो ।

सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनाव पछि सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेका छन् । 

उपाध्यक्ष पौडेलले संविधानविद्सँग छलफल गरेर मात्र चुनावको मितिको टुंगो लाग्ने बताइन् । संविधानविद्हरूसँग परामर्श गरेर सरकारले चुनावको मिति घोषणा गर्ने मन्त्री कार्कीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्