
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् ।
पार्टीका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औं स्मृति सभाका अवसरमा शुक्रवार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ,’ उनले भने ।
नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताए । आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो ।
‘स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ,’ उनले भने ।