२२ असार २०८३, सोमबार

स्थानीय चुनाव जनादेश र परमादेशबीच जनमत संग्रह हो : केपी ओली

चैत १०, २०७८
स्थानीय चुनाव जनादेश र परमादेशबीच जनमत संग्रह हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनलाई ‘जनादेश र परमादेशबीच’ जनमत संग्रहका रूपमा लिनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले बुधवार केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘स्थानीय निर्वाचनलाई सामान्य, नियमित र सहज अवस्थाको’ मान्न नहुने उल्लेख छ । 

‘यो निर्वाचन  सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन । यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रूपमा हुँदैछ,’ प्रतिवेदनमा लेखिएको छ, ‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरूका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबीच हुँदै छ ।’  

निर्वाचनको रणनीति बनाउन एमालेले बैठक बोलाएको हो । ‘समृद्धि कि बर्बादी ?’ ‘लोकतान्त्रिक संस्थाहरूको रक्षा कि मानमर्दनबीचको छनोट’का रूपमा पनि यो निर्वाचन भइरहेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् । ओलीले निर्वाचन २ धुव्रबीच भइरहेको जनाएका छन् ।

‘एकातिर जनताको विश्वासप्राप्त, गत निर्वाचनमा जनादेशप्राप्त, राष्ट्र र जनताका निम्ति असल काम गर्दा गर्दै षड्यन्त्रपूर्वक सरकारबाट विस्थापित गरिएको एमाले छ । अर्कातिर निर्वाचनबाट किनारा लागेर पनि अदालतको जस्केलाबाट छिरेको दक्षिणपन्थी शक्ति तथा तिनका सहयोगी दल छन्,’ ओलीले लेखेका छन् ।

आमनिर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको यो निर्वाचनले राष्ट्रिय राजनीतिको भावी परिदृश्यको संकेत गर्ने ओलीको भनाइ छ । एमालेले सफलता हासिल गर्ने पर्याप्त आधार रहेको उल्लेख गर्दै प्रतिवेदनमा लेखिएको छ, ‘घेराबन्दी, आक्रमण र दुष्प्रचारका बीचमा पनि हाम्रो पार्टीप्रतिको जनविश्वास अखण्डित र अक्षुण्ण रहनु एवं जनविश्वास दिनप्रतिदिन बढ्दै जाने नै त्यो मुख्य आधार हो । जसले एमालेको जितलाई सुनिश्चित गर्नेछ ।’

५ दलीय गठबन्धनका कारण एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको प्रतिवेदनमा उल्लेख छ । 

‘हामी स्पष्ट हुनुपर्छ, गठबन्धन या मोर्चा सामथ्र्यको प्रतीक होइन, कमजोरीको द्योतक हो,’ ओलीले भनेका छन्, ‘वैशाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ ।’ 

ओलीले प्रतिवेदनमार्फत अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय निर्वाचनमा एक्लै ४२ प्रतिशत स्थानमा विजय हासिल गरेको स्मरण गराएका छन् । ‘निर्वाचनमा एमालेको विजयका आधार सुदृढ छन् । जसलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वास स्थापित गर्नु जरुरी छ,’ उनले भनेका छन् । 

गठबन्धनका नाममा भइरहेको एमाले विरुद्धको घेराबन्दीलाई जनअभिमतबाट तोड्नपर्ने प्रतिवेदनमा छ । पार्टी प्रवेशप्रति आकर्षण बढिरहेकाले यसलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको एमालेले जनाएको छ । 

तराई–मधेशमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई बदल्ने एमालेको दाबी छ । यसले राष्ट्रिय राजनीतिबाट जातीय, क्षेत्रीय संक्रियता, दुर्भाव र विखण्डनका प्रवृत्तिलाई निस्तेज पार्न र राष्ट्रिय एकतालाई अझ खँदिलो बनाउने दाबी प्रतिवेदनमा छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्