काठमाडौं, ३१ असार– चाउरी परिसकेको तर उज्यालो अनुहार । मदनकृष्ण श्रेष्ठको हँसिलो स्वभावले त्यही चाउरी परेको अनुहारमा पनि हसिला धर्काहरु कोरिदिए जस्तो लाग्छ । आजभोलि भने प्यान्क्रियाजको रोगले उनलाई त्यति राम्रोसँग बोल्न पनि दिन्न । जीवनको एउटा आयामलाई हँसाएरै बिताइसकेका मदनकृष्ण श्रेष्ठ अब भने ‘हास्य व्यङ्ग्य अभिनेता’ मात्र रहेनन् ।
अबको केही महिनामा उनले लेखकको भूमिकामा ल्याउँदैछन् ‘महको म’ शीर्षकको अटो वायोग्राफी ।
कुनै कार्यक्रममा मदनकृष्ण श्रेष्ठ पुग्दा वरिपरिका उनका फ्यानहरु सेल्फी लिन झुम्मिहाल्छन् । वरिपरिबाट फ्यानहरुले घेरिहाल्छन् । कति फ्यान त तस्वीर खिच्नका लागि घरै आउँछन् । तर, अहँ उनलाई कहिल्यै दिक्क लाग्दैन । मुर्ति झैं अडिएर मुसुक्क हाँसिदिन्छन् । क्यामेरामा हेर्छन् । ‘कुनै कार्यक्रममा जाँदा त कार्यक्रमका लागि होइन, फोटो खिच्न आएजस्तो लाग्छ’, मदनकृष्ण आफूलाई अझ हँसिलो पार्दै भन्छन्, ‘दर्शकको माया पाइरहेको छु ।’
उनले यति भन्दै गार्दा पनि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँग सेल्फी खिच्नका लागि दुई युवाले आग्रह गर्दै थिए ।
अभिनय क्षेत्रमा मात्र होइन, अब साहित्यिक पाठकले पनि मदनकृष्ण श्रेष्ठको कृति पढ्न पाउनेछन् । त्यसो त हरिवंश आचार्यले आफ्नो कृति ‘चिना हराएको मान्छे’ बजारमा ल्याएपछि साहित्यकारले ‘मह जोडी’ लाई साहित्यकारका रूपमा पनि स्वीकारेको मदनकृष्ण श्रेष्ठ बताउँछन् । ‘हामीलाई त स्थापित लेखकरुले साहित्यकार पनि मान्नुहुन्थेन, श्रेष्ठ भन्छन्, ‘अहिले भने हामी साहित्यकार पनि भयौं ।’
मह जोडी आत्मकथामा मात्र सीमित नहुने योजनामा छ । छिट्टै नै आफ्ना विभिन्न टेलिफिल्म तथा नाटक सङ्ग्रह गरेर कृति बजारमा ल्याउने विचारमा छन् । आखिर किन त कृति? ‘किताबको आयु लामो हुन्छ ।’ उनले चोटिलो जवाफ फर्काए, ‘भोलि पुराना नहोऊन् भनेर पनि हामीले सृजनालाई जीवन दिन खोजेका हौं ।’
चालीस वर्षअघि नेपालमा अहिलजस्तो प्रविधि भित्रिएको अवस्था पनि थिएन । निर्देशन, फिल्म र अभिनयबारे धेरैलाई थाहै थिएन । मह जोडी पनि निर्देशनबारे अनभिज्ञ थिए । दर्शकले रुचाएका कैयन सामाजिक चेतनामूलक टेलिफिल्म तथा प्रहसन गरेका महका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठले शुरुमा सिनेमा हेरेरै निर्देशन सिकेको बताउँछन् । ‘त्यतिबेला एउटा अङ्ग्रेजी सिनेमा ‘द फक्स’ आउँथ्यो । हामीले निर्देशन सिक्नका लागि त्यो सिनेमालाई धेरैपटक हेरेका छौं ।’ उनी भन्छन्, ‘सिनेमाको हाउभाउदेखि शैलीसम्मलाई फिल्मबाटै सिकेका थियौं, त्यतिबेला हामीलाई फिल्म कसरी बन्छ भन्ने पनि थाहा थिएन ।’
त्यो प्रविधिदेखि यो प्रविधिसम्म आउँदा अहिलेको पुस्ता भने मदनकृष्णको बुझाइमा धेरै ‘एडभान्स’ भइसकेको छ । समाजको संरचना र सोच उस्तै हुन सक्छ । चालीस वर्ष पुराना आफ्ना कथा अहिले पनि समाजसापेक्ष छन् नै । यही कुरालाई स्वीकार्दै ‘मह जोडी’ ले आफ्ना केही टेलिचलचित्रलाई पुस्तकमार्फत ल्याउन खोजेको मदनकृष्ण श्रेष्ठ बताउँछन् । ‘कुनै बेला ती हिट थिए, कालान्तरमा उनै नाटकमा केही गरौं भन्ने लाग्ला भनेर हामीले त्यो सोच बनाएका हौं ।’, उनी थप्छन्, ‘भनिहालें नि, किताबको आयु लामो हुन्छ ।’
मदनकृष्ण र हरिवंशको जोडी बाहुन र नेवारबीचको समावेशी छ । तर, लगभग चार दशक लामो सहकार्यमा मदनकृष्ण र हरिवंशको जोडी अन्य कलाकारका लागि पनि आदर्श जोडी बन्न पुगेको छ । हुन त बेलाबेलामा यी दुईबीच ठाकठुक नपरेको होइन । अहिले पनि बेलाबेलामा झगडा परिरहने मदनकृष्ण बताउँछन् । तर, -याङठ्याङ नमिल्नुलाई उनले सकारात्मक रुपमा लिन्छन् । अझै राम्रो गर्नका लागि हामीबीच कहिलेकाहीं कुरा मिल्दैन भन्छन् मदनकृष्ण । ‘बाहुन र नेवारबीचको मित्रतालाई मैले आत्मकथामा पनि लेखेको छु । उखानजस्तो होइन, तर उखानले उठाएको कुरा हो ।’, उनी भन्छन् ।
आत्मकथा लेख्दा शुरुमा मदनकृष्णलाई कसरी लेखेर सक्ने भन्ने थियो । श्रीमती यशोदालाई क्यान्सरले च्यापेपछि भने उनले आत्मकथा लेख्नलाई समेत समय पाएका थिएनन् । तर लेख्दै जाँदा आत्मकथा चाहिने भन्दा पनि बढी लामो भएको रहेछ । ‘नब्बे हजार लेखे पनि पुग्ने रैछ, लेख्दालेख्दै एक लाख चालीस हजार शब्द पुगिसकेछ ।’ उनी थप्छन्, ‘पछि काँटछाँट गरेर एक लाख पाँच हजारमा सीमित गरेको छु, केही कुरा चाहेर पनि आत्मकथामा अटाउन सकिन ।’
किताब धेरै मोटो नहोस् भनेर पनि उनलाई साथीहरुले झक्झकाइरहेका थिए । यो कुरालाई पनि मदनकृष्णले ख्याल गर्नुपर्ने थियो । अझै आफ्ना बाँकी कथा लेख्ने हो भने दोस्रो आत्मकथा पनि लेखिनेमा उनी ढुक्क छन् । लेखन त उनको शुरुवाती दिनदेखि नै सँगै जोडिएर आएको कुरा भइहाल्यो । पुस्तक लेखनमा भने उनी उनका लागि नयाँ अनुभव नै हुनुपर्छ ।
हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ प्रकाशन गरिसकेपछि मदनकृष्णलाई लेख्नका लागि यति दबाब आयो कि, उनले आफ्नो आत्मकथा नसकी धरै पाएनन् ।
तर, उनका लागि लेख्न सहज थिएन । श्रीमतीलाई पनि समय दिनुपर्ने थियो । उमेर ढल्केसँगै उनलाई उनलाई रोगले पनि च्याप्दै गयो । पहिलको जस्तो जोश अब कहाँ छ र ! तर पनि उनलाई आत्मकथा लेख्नु नै थियो । ‘यो रोग कस्तो रहेछ भने कहिले हात चलाउन गाह्रो हुने, कहिले घाँटी, कहिले बोल्न पनि गाह्रो ।’
उनी बिस्तारै बोलिरहेका हुन्थे ।
आत्मकथाका माध्यमबाट पाठकले तत्कालीन समाज, बाल्यकाल, संस्कृति, महंगी, दुःख, खुशी, सफलता, प्रभावजस्ता सामाजिक कुरालाई पढ्न पाउनेछन् पाठकले । उनले आत्मकथामार्फत नेवारी समुदायलाई चिनाउन पनि खोजेका छन् ।
२०२२ सालदेखि नेवारी गीत गाउँदै आए पनि आम नेपाली दर्शक भने उनको गीती यात्रालाई नजिकबाट नियाल्न पाएका छैनन् । मदनकृष्णले आफ्नो ‘नेवारी संस्कृति’ लाई भने सधै काँधमा बोकेर हिड्छन् । ‘नेवारी गीत गाएर नै ‘म’ मदनकृष्ण श्रेष्ठ भएको हुँ ।’ उनी भन्छन्, ‘त्यतिबेला गीत सिक्ने वातावरण त थियो, तर गाह्रो थियो ।’
नेवारी समुदायले उनलाई हास्य कलाकारका रुपमा भन्दा पनि गायकका रुपमा चिन्ने मदनकृष्ण बताउँछन् । आफ्नो लामो अभिनय यात्रामा टेलिफिल्मले नै उनलाई ठूलो जमातसँग चिनजान गराएपनि अब भने ‘मह जोडी’ टेलिफिल्म बनाउने योजनामा छैनन् । बरु दीपक र दीपासँग मिलेर नयाँ चलचित्रमा काम गर्ने योजना बनिरहेको उनी बताउँछन् ।
भदौ २० मा विमोचन हुने उनको कृति ‘महको म’ मा मदनकृष्ण श्रेष्ठका उकाली ओरालीबारे धेरै कुरा पढन पाइने छ । त्यसबाहेक उनलाई पुस्तक र सिनेमामा पनि भेटिनेछ । ‘सुनाउन पर्ने कुरा धेरै छन् । मैले आत्मकथामा पनि पूरै कुरा समेट्न सकिन ।
Advertisment
Advertisment