
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सारिएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक नेताहरूको व्यस्तता र तयारी नपुगेको भन्दै सारिएको हो । बैठक अपराह्न ४ बजे बस्ने माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बिहीवारको बैठकले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाउनेछ । यस्तै पदाधिकारीको पनि टुंगो लगाउने नेताहरूको भनाइ छ ।
यसअघि बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा रहने नेताहरूको नाम करिब टुंगो लगाएको छ ।
त्यसमा थप छलफल गरेर कमिटीलाई पूर्णता दिइने नेता कृष्ण बहादुर महराले जानकारी दिए । उनका अनुसार अब माओवादी केन्द्रको स्थायी समिति ४३ जनाको हुनेछ । त्यसैगरी पोलिटब्युरोमा १२५ जना सदस्य रहनेछन् भने २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य रहने भएका छन् ।
माओवादी केन्द्रले ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको पनि उनको भनाइ छ ।