
विशेष गरी राजधानी काठमाडौंमा केन्द्रित नेताहरू पछिल्लो समय चुनावका लागि गाउँगाउँमा आइपुगेका छन् ।
राजनीतिक करिअर नै राजधानीमा शुरू गरेकादेखि गाउँ छाडेर शहरमा हुर्के बढेकाहरू समेत चुनावका लागि आफ्नो थातथलो वा अन्य कुनै सहज स्थान खोज्दै आइपुगेका हुन् ।
यसरी आउँदा उनीहरूले टुरिस्ट उम्मेदवार भन्ने आरोप खेप्नु परिरहेको छ । त्यसबाट बच्न कतिपयले घर नै किन्ने, कतिपयले जग्गा लिएर घर बनाउने तथा कतिपयले आफ्नो पुर्ख्यौली घर देखाउने गरेका छन् ।
....
नेकपा एमालेका सचिव योगेश भट्टराई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भए । उनी २०५२ सालमा अखिलको अध्यक्ष बनेका थिए ।
केन्द्रीय अध्यक्ष हुँदै दुई पटकसम्म पार्टी सचिव बनेका योगेश २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजित भए ।
काठमाडौंका जनताले माया नगरेका योगेशलाई जन्मथलो ताप्लेजुङका जनताले भने पहिलोपटकमै माया गरे । आफ्नो जन्मथलो फर्किए पनि उनलाई टुरिस्ट उम्मेदवारको आरोप लाग्ने गरेको छ ।
अघिल्लो चुनावमा भट्टराई २९ हजार ४७९ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए ।
अहिले योगेशलाई फेरि टुरिस्ट उम्मेदवारको आरोप लगाएर एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन् । मेयाङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् ।
आफूलाई पाहुनाको संज्ञा दिएर पार्टीभित्रैबाट चुनौती खडा भएपनि योगेशले त्यसको खण्डन गर्दै आफ्नो पुर्ख्यौली थलो देखाउने गरेका छन् ।
.....
एमालेकै अर्का नेता भानुभक्त ढकाल पनि काठमाडौंकेन्द्रित राजनीति गरेर मोरङमा आएका हुन् । अघिल्लोपटक उनी मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
जिल्लास्तरका केही नेताहरूले उपाध्यक्ष ईश्वर पोख्रेललाई यस क्षेत्रमा ल्याउन खोजेका थिए । ओलीले पहिलोपटक चुनाव लड्ने भन्दै ढकाललाई नै टिकट दिए ।
ढकाललाई रोक्न लबिङ गरेका नेतालाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी समेत गरेको थियो । तर चुनावमा घाटा हुने भन्दै ढकालले नै नेताहरूलाई कारवाही गर्न रोकेका थिए ।
उनलाई अघिल्लो चुनावमा पाहुनाको आरोप लागेको थियो । पाहुनाको आरोप लागेपछि अहिले भने उनले सुन्दरहरैँचामा घर बनाइरहेका छन् ।
उनले अघिल्लो चुनावमा कांग्रेसका सुनिल कुमार शर्मालाई हराएका थिए ।
ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरू दोहोरिने सम्भावना बढी रहेको छ ।
शर्मा र ढकालकै नाम एकल/एकल सिफारिश भएको छ ।
....
नेकपा (माओवादी केन्द्र) ओखलढुंगाले प्रतिनिधि सभाका लागि राम कार्कीको नाम सिफारिश गरेको छ । उनी गत चुनावमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २ हजार ८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका थिए । कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।
अघिल्लोपटक वाम गठबन्धन हुँदा कार्कीले यस क्षेत्र पाए पनि वाम लोकतान्त्रिक गठबन्धन हुँदा शर्माले टिकट पाउने लगभग पक्का जस्तै छ । शर्मा कांग्रेस महामन्त्री बनिसकेका छन् ।
पाहुनाको आरोपबाट बच्न कार्कीले झापाको मेचीनगर ९ मा घर नै बनाएका थिए, तर उनी अहिले जन्मथलो खोज्दै ओखलढुंगा पुग्ने तरखरमा छन् ।
.....
भोजपुरमा तीन पटकसम्म चुनाव हारेर निराश बनेका ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रत्यक्ष निर्वाचित सांसदको स्वाद भने सुनसरीले दिएको थियो ।
पहाडबाट निराश हुँदै तराई झरेका कार्कीलाई फाइदा नै पुग्यो । उनले सुनसरी क्षेत्र नम्बर ४ बाट सजिलै जीत निकाल्न सफल भएका थिए ।
वाम गठबन्धन हुँदा पनि कार्कीको भाग्य खुलेको थियो । सुनसरी ४ मा उनले ३२ हजार ३४७ मत प्राप्त गर्दा एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।
२०५१, २०५६ र २०६४ सालको निर्वाचनमा कार्की भोजपुरबाट पराजित भएका थिए ।
देउवाका विश्वास पात्र रहेका कार्की तीनपटक चुनाव हारेपछि २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए ।
समानुपातिकबाट संसद्मा छिरेका कार्की अर्थमन्त्री बने । त्यसअघि २०६३ सालमा अन्तरिम सरकारको जलस्रोत मन्त्री समेत बनेका थिए ।
सुनसरीबाट चुनाव जितेपछि उनी फेरि मन्त्री बनेका छन् । कार्की सरकारका प्रवक्ता समेत हुन् ।
उनले पाहुनाको आरोपबाट बच्न आफ्नो क्षेत्रमा घर बनाएका छन् ।
....
नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले टिकट लिनका लागि नै घर किनेका छन् । काठमाडौंमा बसेर आफ्नो पहिचान बनाई राजनीतिमा आएका खरेलले बिर्तामोडमा घर किनेका हुन् ।
खरेल केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका महान्यायाधीवक्ता थिए । ओलीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चले बदर गरिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
सक्रिय राजनीतिमा लाग्नकै लागि पदबाट राजीनामा दिएका खरेल पाहुना उम्मेदवारको आरोप लाग्न नदिन पहिलेबाटै सचेत बनेका हुन् ।
....
संखुवासभाबाट एमालेले सिफारिश गरेका अर्जुन कार्की पनि काठमाडौं केन्द्रित राजनीति गरेका व्यक्ति हुन् । खाँदबारीमा घर भएपनि उनी काठमाडौंमा नै बस्दै आएका थिए ।
उनी अमेरिकाका लागि नेपाली पूर्व राजदूत समेत हुन् । कहिले काठमाडौं त कहिले चितवनको राजनीति गरेका कार्की सांसद बन्ने चाहनासहित पुर्ख्यौली थलो खोज्न आइपुगेका छन् ।