×

X
Nic Asia
Dabur
Prabhu Bank

स्वास्थ्य सेवा

डा. इमरान, जसले लाख बालबालिकाको धडकन नापे

काठमाडाैं | असोज २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं पुग्न ३२ रुपैयाँ भाडा लाग्ने बसको टिकट किनेर डाक्टर बन्ने अभिलासासहित इमरान अन्सारी सुनसरीबाट काठमाडौं हिँडेका थिए, २०३६ सालमा । सुनसरीबाट काठमाडौं आइपुग्न २ दिन लाग्थ्यो । हेटौँडा आइपुगेपछि राति बसमै बास बसेर, भोलिपल्ट एकाबिहानै टिस्टुङ पालुङको बाटो हुँदै काठमाडौं पुग्नुपर्थ्यो । रात्रि बस सेवा शुरू भइसकेको थिएन । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

एकातर्फ ३ अर्कातर्फ २ सीटको लहर भएको थोत्रो बसमा सुनसरीबाट हेटौंडा आइपुग्दा नै उनी थाकेर लखतरान भइसकेका थिए । पालुङको घुम्ती बाटोमा गाडी लागेर काठमाडौं आइपुग्दा त उनको प्राण मात्र बाँकी थियो । वर्ष दिनपछि २०३७ ताका जब मुग्लिनको बाटो तयार भई नाइट बस चल्न थाले अनि बल्ल घरतिरको यात्रा केही सहज भयो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एक समय यही बाटोमा पनि लगालग बस दुर्घटना भएपछि सडक यात्राको जोखिमका कारण पहिलोपटक जहाजको यात्रा गरेका थिए । त्यो बेला विराटनगरमा नेपाल वायु सेवा निगम (आरएनएसी) को मात्र विमान थियो । काठमाडौं विराटनगर भाडा ३ सय ६० रुपैयाँ थियो । विद्यार्थी सहुलियतमा २ सय ७५ रुपैयाँ तिरेको उनी सम्झन्छन् । 

एसएलसीमा जिल्ला टप गरेका कारण के विषय पढ्ने भन्ने कुनै द्विविधा थिएन, किनभने त्यो बेला प्रथम श्रेणीमा पास हुनेहरू प्राय साइन्स नै पढ्थे । त्यही मनोविज्ञान थियो । काठमाडौं आगमनलगत्तै उनी सिधै लैनचौरस्थित अमृत साइन्स क्याम्पस पुगे । अस्कलमा प्रवीणता प्रमाणपत्र तह (विज्ञान)मा भर्ना भए । अस्कलकै छात्रावासमा बसेर आईएस्सी (औपचारिक रूपले आईएस्सी भनिँदैनथ्यो) पूरा गरे ।   


Advertisment
Saurya island

एसएलसीमा जिल्ला टप र आईएस्सीमा पनि उत्कृष्ट नतिजा ल्याएपछि डाक्टर बन्ने नै उनको लक्ष्य थियो । संयोग, चिकित्सा विज्ञान अध्ययन संस्थान (मेडिसिन क्याम्पस) महाराजगञ्जमा त्यसै वर्षदेखि साइन्सका विद्यार्थीलाई एमबीबीएसमा भर्ना लिन शुरू गरियो । त्यसअघि हेल्थ असिस्टेन्टलाई मात्र डाक्टरी पढाउने गरिएको थियो । त्यो वर्षदेखि १५ जना हेल्थ असिस्टेन्ट र १५ जना साइन्स स्टुडेन्टलाई एमबीबीएस पढाउन शुरू गरियो । त्यो अवसरलाई इमरानले सदुपयोग गरे, इन्ट्रान्समा पहिलोपटकमै नाम निस्कियो । 

‘त्यो बेला इन्ट्रान्समा के प्रश्न थिए भन्ने मलाई अहिले पनि याद छ । सबै आईएस्सीमा पढेका विषय नै थिए,’ ३१ वर्षअघिको त्यो क्षण स्मरण गर्दै इमरानले भने, ‘अहिलेजस्तो इन्ट्रान्स भनेर तयारी गर्ने कुरा पनि हुँदैनथ्यो । तयारी गर्ने अवसर पनि थिएन ।’

Vianet communication
IME BANK INNEWS

महराजगञ्ज क्याम्पसबाट एमबीबीएस सकेपछि सन् १९९२ मा इमरानले पाटन अस्पतालमा काम शुरू गरे, मेडिकल अफिसरको रूपमा । पाटन अस्पतालमा काम गर्ने शिलशिलामा नेपालस्थित बंगलादेशको दूतावासका एक अधिकारीसँग चिनजान भयो । त्यही चिनजानमार्फत उनले बंगलादेशमा एमडी अध्ययनको मौका पाए ।

हाल बीएसएमएमयू रहेको तत्कालीन ढाका युनिभर्सिटी अन्तर्गतको आईपीजीएमआरमा उनले बालरोगमा एमडी अध्ययनको अवसर पाए 

एमडी सकिएपछि उनी सन् २००० मा नेपाल फर्केर फेरि पाटन अस्पतालमा काम शुरू गरे, रजिस्ट्रारको रूपमा । त्यो बेलासम्म पाटन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेको थिएन । जब सन् २००७ मा पाटन अस्पतालले मेडिकल कलेजको रूपमा पठन–पाठन शुरू गर्‍यो तब इमरान असिस्टेन्ट प्रोफेसर हुँदै एसोसिएट प्रोफेसर अनि प्रोफेसरसम्म बन्न पुगे ।

उनले पाटन अस्पतालमा लगातार २२ वर्ष काम गरे । त्यसक्रममा हजारौं बालबालिकाको उपचार गरे । मेडिकल अफिसरको रूपमा पाटन अस्पताल प्रवेश गरेका इमरान अस्पतालको बाल रोग विभागको प्रमुख र अस्पतालको मेडिकल डाइरेक्टरसमेत बन्न सफल भए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रोफेसर बनेर उनले कयौं डाक्टरलाई आफ्नो ज्ञान बाँडे ।

स्कूलमा शिक्षक थिएनन् तर एसएलसीमा जिल्ला टपे 

सुनसरीको हरिनगर गाउँपालिकामा विक्रम संवत् २०२० सालमा जन्मेका इमरानको शुरूआती शिक्षा इस्लामिक मदरसामा भएको थियो । हरिनगरबाट इमरानको परिवार अहिलेको भोक्राहा नरसिंह गाउँपालिकामा सरेको थियो । कक्षा ३ सम्म उनले गाउँकै मदरासामा अध्ययन गरे । कक्षा ४ र ५ सुनसरी जिल्लाकै अर्को मदरसा अनि कक्षा ६ उनले भारतको सीमावर्ती गाउँमा पढे । त्यो पनि मदरसा थियो, तर त्यहाँ अंग्रेजी र गणितको जग बसेको थियो । 

कक्षा ७ उनले पढ्न पाएनन् । ८ कक्षादेखि उनले आफू जन्मेको गाउँको हरिनगरा माविमा पढे । कक्षा ४ र ५ मा नेपाली भाषासँग सामान्य परिचित भएका उनले कक्षा ८ मा पुगेपछि मात्र नेपाली शिक्षा राम्रोसँग पढ्न पाए । कक्षा ९ मा पुगेपछि ऐच्छिक गणित विषयको पढाइ हुन्थ्यो, तर शिक्षक थिएनन् । 

‘हामीले पढेको स्कूल अनुशासित थियो, गणित शिक्षक साह्रै इमान्दार हुनुहुन्थ्यो, तर उहाँलाई ऐच्छिक गणित नआउने ।  शिक्षकलाई नै पढाउन नआएपछि किताब पढेरै अप्सनल म्याथको परीक्षा दिएँ । तैपनि एसएलसीमा जिल्ला टप गरें,’ इमरानले लोकान्तरसँग भने । 

मदरसा, स्कूलदेखि कलेज पढ्दा कहिल्यै पनि उनले अतिरिक्त मेहनत गर्नु परेन । ‘शिक्षा मेरा लागि गड गिफ्ट जस्तो भयो, पढ्न र राम्रो अंक प्राप्त गर्नकै लागि मैले दुःख र परिश्रम गर्नु परेन,’ उनले स्मरण गरे । अस्कलमा आईएससी पढ्दा अन्य सहपाठी विद्यार्थीले उनीसँग अंग्रेजी र अन्य विषय सिक्थे ।

बरु उनले काठमाडौंमा पढ्ने क्रममा अन्य कठिनाइ व्यहोरे । तराईमा जमिन्दारको छोरा भएपनि उनीहरूसँग पर्याप्त नगद पैसा थिएन । ‘बुबाले महिनाको २ सय ५० रुपैयाँको ड्राफ्ट बनाएर पठाउनुहुन्थ्यो । १२५ रुपैयाँ मेसमा बुझाउँथे, बाँकी पैसाले अन्य खर्च टार्थें,’ पुराना दिन सम्झँदै इमरान भन्छन्, ‘एकसुका (२५ पैसा)मा एक कप चिया आउँथ्यो, तीन सुकाको एक पाउन्ड दूध ।’

तराईको लबज, भाषा र पोशाक काठमाडौंमा एडजस्ट गर्न उनलाई कठिन भएको थियो । ‘मैले बिजुलीको स्वीच सर्वप्रथम थिचेकै एसएलसी परीक्षा दिन सदरमुकाम इनरुवामा आएर बसेको बेलामा हो । त्यो पृष्ठभूमिबाट आएकाले काठमाडौंमा एडजस्ट गर्न कठिन भयो,’ इमरान पुराना दिन स्मरण गर्छन् ।

लाखभन्दा बढीको उपचार, अहिले पनि दैनिक १०० 

२२ वर्षदेखि लगातार बालबालिकाको उपचार गरिरहेका प्रोफेसर डा. इमरानले अहिलेसम्म लाखभन्दा बढी बालबालिकाको उपचार गरिसकेका छन् । 

पाटन अस्पतालको ओपीडी, पाटनकै प्राइभेट र आफ्नै घरको क्लिनिकमा गरी उनले दैनिक औसत १०० जनाको उपचार गर्ने गरेका थिए ।

पाटनबाट स्वेच्छिक अवकाश लिएपछि उनले अहिले पनि दैनिक १०० बालबालिकाको उपचार गरिरहेका छन् । ‘अहिलेसम्म कति बालबालिकाको उपचार भयो भनेर संख्या त एकिन गरेको छैन, लाख त पुग्यो होला,’ हालैको एक शनिवार आफ्नै क्लिनिकमा कुराकानीका क्रममा उनले लोकान्तरसँग भने, ‘नयाँ र फलोअप गरी अहिले पनि दैनिक १०० जना जति बालबालिकाको उपचार गरिरहेको छु ।’

लगनखेलमा रहेको मिडाट अस्पताल र आफ्नै निवास इमाडोल ललितपुरमा रहेको क्लिनिकमा उनले बालबालिकाको स्वास्थ्य जाँच गर्ने गरेका छन् । प्रत्येक दिन भीड लागिरहेको हुन्छ । कतिपय बिरामीका अभिभावकले धेरै तिर चहार्दा पनि निको नभएपछि इमरानलाई खोज्दै आएको बताए । ‘एकप्रकारले भन्दा मेरो जीवन नै बालबालिकाका लागि समर्पित भयो । आफ्नो काममा पूरै सन्तुष्ट छु,’ उनले भने । 

कयौं डाक्टर उत्पादन, परिवारमा पनि डाक्टरैडाक्टर !

प्राध्यापकको रूपमा इमरानले आफ्ना धेरै शिष्यलाई ज्ञान र अनुभव बाँडेका छन् । इमरानले पढाएका विद्यार्थी अहिले विभिन्न अस्पतालमा बालरोग विषेशज्ञको रूपमा काम गरिरहेका छन् । 

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. अरुण शर्मा, किष्ट मेकिल कलेजका डा. अजय ढकाल र हेनिश शाक्य, ग्राण्डी अस्पतालका डा. अमृत घिमिरे, कान्ति बाल अस्पतालका डा. वीणा प्रजापति र डा. सुवाना कार्की, पाटन अस्पतालका डा. अनिल ओझा, शहीद गंगालाल अस्पतालका डा. सुवास साह, विराटनगर (नोबेल, विराट अस्पताल) का डा. हेमसागर रिमाल, हेटौंडा अस्पतालका डा. हरि खड्का, वीरगन्ज (नारायणी उपक्षेत्रीय अस्पताल) का डा. शैलेश ठाकुर, भैरहवा मेडिकल कलेजका डा. राजु काफ्लेलगायत उनका विद्यार्थी अहिले नाम चलेका डाक्टर हुन् ।

‘तपाईंले बचाइदिएको भन्दै जब अभिभावक आफ्ना छोराछोरी लिएर आउँछन्, त्यो भन्दा खुशीको क्षण के होला ?’ 

‘अनुहार देखें भने प्रायः सबैलाई चिन्छु, अहिले धेरैको नाम सम्झिन सकिनँ । यो पक्का हो नेपालका नाम चलेका अस्पतालमा सायदै नहोलान् मेरा विद्यार्थी,’ उनले स्मरण गरे । देश विदेशका विभिन्न कार्यक्रममा उनले आफ्नो अनुभव साटेका छन् । पाटन अस्पतालसँग सहकार्य गरिरहेको अक्सफोर्ड युनिभर्सिटीका कार्यक्रममा उनी सहभागी भएका छन् । 

बाहिर मात्र होइन इमरानको परिवारमा पनि डाक्टरै डाक्टर छन् । दुई छोरी डा. शाहीन नाज अन्सारी र डा. आएशा इफ्फत अन्सारीसहित चारजना ज्वाइँ डाक्टर छन् । शाहीन अहिले नै स्त्री रोग विशेषज्ञको रूपमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा कार्यरत छिन् भने आएशा ललितपुरकै एक प्राथमिक स्वास्थ्य केन्द्रमा । एकजना एमबीए छोरी एउटा वित्तीय संस्थाको व्यवस्थापक छिन् भने अर्की छोरी पीएचडी गर्दैछिन्,  अनि कान्छीले एमबीबीएसको तयारी । 

‘मैले डाक्टर बन्नुपर्छ भनेर फोर्स गरेको होइन, उनीहरू आफ्नै रुचिले मेरै पेशामा आउँदा म खुसी छु,’ उनले भने । इमरानका आफ्नै दाजुभाइ भने गाउँमा खेतीकिसानी गर्छन् । दाइको छोरा भतिजो पनि डाक्टर छन् ।

केही अविष्मरणीय क्षण : जब राति २ बजे बच्चाको धडकन रोकिन लाग्यो...

मिति याद नभएपनि केही घटना उनको दिमागमा स्मरणीय छन् । रात्रिकालीन ड्युटी सकेर डा. इमरान ११ बजे पाटन अस्पतालबाट निवास पुगे । खाना खाएर सुतेका मात्र थिए, अस्पतालबाट फोन आयो, भर्खर भर्ना भएको एउटा बच्चा सिरियस भयो । बच्चाको धड्कन रोकिन लागेको भनेर फोनमा जानकारी दिइयो । उनी राति २ बजे घरबाट उठेर फेरि अस्पताल पुगे । 

‘राति २ बजे आफैँले गाडी हाँकेर अस्पताल पुगें, हाम्रो टीमले त्यो बच्चालाई बचायो । थोरै मात्र पनि ढिला भएको भए बचाउन कठिन थियो,’ उनले पुरानो घटना सम्झिए । 

अर्को एउटा घटनालाई पनि उनी बिर्सिन सक्दैनन् । एक १३ वर्षीया बालिका उपचारका लागि पाटन आएकी थिइन् । निकै दिन उपचार गर्दा पनि उनलाई निको हुने लक्षण देखिएन । डाक्टरसहित अभिभावकले पनि आशा मारिसकेका थिए । अस्पतालले घर पठाइदियो । तर केही दिनमा ती बालिका निको भएर आइन् । ‘त्यो घटनापछि मलाइ डाक्टरको ज्ञानको र उपचारमा पनि केही सीमा हुन्छन् जस्तो लाग्यो,’ इमरानले स्मरण गरे । 

उनीसँग सयौं यस्ता घटना र स्मरण छन्, जहाँ अन्तिम अवस्थामा पुगेका बालबालिका पुनर्जीवन लिएर फर्किएका छन् । ‘हुर्केका छोराछोरी लिएर आशा मारेको बच्चा तपाईंले बचाइदिएको हो नि भन्दै अभिभावकहरू आउँदा भावुक बन्छु,’ उनले स्मरण गरे । 

‘मुख बार्नु पर्दैन, खानाले रोगसँग लड्ने शक्ति दिन्छ’

उपचारमा आएका बालबालिकालाई उनले कुनै खाना बार्नु नपर्ने सल्लाह दिन्छन् । उनको कार्यकक्षमा एउटा सूचना छ, जहाँ लेखिएको छ, ‘मुख बार्नु पर्दैन, खानाले रोगसँग लड्ने शक्ति दिन्छ ।’ 

डा. इमरानको अनुभवमा अहिले बालबालिकाको स्वास्थ्यबारे अभिभावकहरूसचेत बनेका छन् । ‘पहिला-पहिला अभिभावकहरू प्रश्न गर्दैनथे, अहिले शिक्षित भए, प्रश्न सोध्छन्,’ उनले भने । 

खानपान, शहरी जीवनशैलीका कारण बालबालिकामा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको उनको अनुभव छ । ‘पहिला बालबालिकामा कुपोषण समस्या थियो, अहिले बालबालिका धेरै मोटाउन थालेका छन्, यो पनि एक प्रकारको स्वास्थ्य समस्या हो,’ उनले भने । 

अहिले पनि हिँडेरै इमाडोलदेखि–रत्नपार्क !

घरमा गाडी छ, घरै अगाडि सार्वजनिक यातायात चल्छन् । तर सामाजिक कामका लागि उनी कहिले काहीँ ललितपुरको इमाडोलबाट रत्नपार्क (झण्डै १० किमी) हिँडेरै पुग्छन् । ‘स्कूल पढ्ने बेला २ घण्टा हिँड्ने बानी परेकाले अहिले मलाई रत्नपार्कसम्म हिँडेर जान कुनै समस्या जस्तो लाग्दैन,’ उनले भने, ‘सानोमा मदरसा र स्कूलको छात्रवासमा त्यस्तै खाएकाले होला मलाई कुनै पनि खाना नमीठो भन्ने लाग्दैन । जस्तो पनि खान सक्छु ।’

कहिलेकाहीँ हिँडेर अस्पताल जाँदै गर्दा मानिसले किन पैदल भनेर प्रश्न सोध्ने गर्छन् । तर उनी हिँड्न मन पराउँछन् । इमाडोल क्षेत्र विकसित नहुँदै उनी त्यो ठाउँमा गएर बसोबास गरे । इमरान त्यो क्षेत्रमा गएर बसोबास गर्न थालेपछि क्षेत्रको विकास भयो । 

‘कहिलेकाहीँ स्थानीयहरूले तपाईं यहाँ आएर यो ठाउँको विकास भयो भन्नुहुन्छ, कहिले काहीँ अविभावक आएर मेरो बच्चा निको पार्नुभयो भनेर खुशी साट्नुहुन्छ,’ आफ्नो जीवनको कर्म सम्झँदै उनले भने, ‘तपाईंजस्तो पत्रकार मेरो स्टोरी गर्न आउनुहुन्छ भने मैले समाजका लागि केही गर्न सकेछु कि भन्ने अनुभूति हुन्छ । मैले कमाएको यही हो ।’ इमाडोलमा उनी बसेको ठाउँको नाम नै अन्सारी चोक रहन गएको छ ।

इमरानसँग नेपाली, हिन्दी, मैथली, उर्दु, अरबिक र बंगाली भाषाको अनुभव छ । उनले कामको शिलशिलामा बेलायत, क्यानडा, सिंगापुर, थाइल्यान्ड, टर्की, श्रीलंका बंगलादेश, भारत, पाकिस्तान साउदी अरेबिया र यूएईको भ्रमण गरेका छन् । 

६० औं वसन्तको स्वागत गर्ने तयारीमा रहेका इमरान शरीरले साथ दिँदासम्म बालबालिकाको उपचारमै  सक्रिय रहने बताउँछन् । ‘सबैले आफ्नो क्षेत्रबाट कर्म र योगदान गर्ने हो । स्वास्थ्यले साथ दिएसम्म बालबालिकाको उपचारमै बाँकी जीवन पनि समर्पित गर्छु,’ उनले कुराको बिट मारे ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
पुस ३०, २०७९

तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो । सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ &ndas...

माघ १४, २०७९

सेवाग्राहीप्रति उत्तरदायी र पेशाप्रति बफादार रञ्जना पण्डित संयोगवश बैंकिङ क्षेत्रमा प्रवेश गरेकी छन् । बुवा कृष्णप्रसाद पौडेल छोरी रञ्जनाले निजामती सेवातर्फ पाइला चालेको चाहन्थे । नेपाल राष्ट्र बैंकको प्रदेश स्तरी...

माघ ७, २०७९

बागलुङको पश्चिम दुर्गम बुर्तिबाङको विपन्न परिवारकी रीमा तेनी अवसरको खोजीमा ३ वर्षअघि बुटवल झरिन् । २ छोराको जिम्मेवारी बोकेकी उनलाई अटो रिक्सा चलाउन धेरैले सुझाए । रिक्सा चलाउने ज्ञान नभएकी उनी काका नाता ...

माघ १४, २०७९

सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ गुमीका हिराबहादुर घर्ती स्वास्थ्य सहायक (एचए) हुन् । गोर्खा वेयलफेयर ट्रस्टमा झण्डै ११ वर्ष काम गरे उनले । ट्रस्टमा उनको आकर्षक तलब थियो । पत्नी बिन्दु लामिछाने रोजगारीका स...

माघ ६, २०७९

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी जंगी अड्‍डामा आयोजना भएको छ। आज प्रधानसेनापति प्रभुराम शर्माले सेना दिवसका अवसरमा विशेष समारोह उद्धाघटन गरेका छन्। प्रदर्शनी मिति माघ ९ गतेसम्म जंगी अड्&z...

माघ २१, २०७९

सावित्रा काफ्लेको आँखामा ‘प्लस’ २४ ‘पावरवाला’ चश्मा छ । न्यून दृष्टियुक्त सावित्रालाई मेडिकलको भाषामा दृष्टिविहीन भनिन्छ । बिहान साढे ८ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ स्...

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

म, तपाईं, उहाँ, हामी सबै भ्रष्टाचारी !

माघ २१, २०७९

सन् २०१२–२०२२ सम्म हेर्दा देशमा निरन्तर भ्रष्टाचार बढेको देखिन्छ । यसैले मान्नुस्, नमान्नुस् हामी सबै भ्रष्टाचार नै हौं । किन, कसरी, कहाँ, कहिले भन्ने प्रश्न मलाई होइन, आफैंलाई सोध्नुस्, छर्लङ्ग हुन्छ । भ्रष्...

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

प्रिय रवि, तिमी सपनाको हत्या गर्दैछौ !

माघ २०, २०७९

मलाई त्यो एउटा पुरानो कुरा याद छ– प्रेम बानियाँ, तिमी (रवि लामिछाने), म र केही साथीहरू काठमाडौंको बाँसबारीस्थित थकाली भान्साघरको एउटा कोठामा बसेर ‘सिधा कुरा प्रधानमन्त्री सँग’को प्रोमोमा ...

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

प्रचण्डकै नेतृत्वमा फर्काउन सम्भव छ माओवादीको पुरानो साख !

माघ १९, २०७९

– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...

ad
x