
आइतवार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये आइतवार बिहानसम्म १५४ वटा सिटको टुंगो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।
हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।
नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ७/७ क्षेत्रमा विजयी भएका छन् । साथै जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा ५ जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना शुरू हुन सकेको छैन । साथै बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको छ ।
हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।
दोलखा–१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना शुरू हुन सकेको छैन । राजनीतिक दलहरूबीच सहमति नजुट्दा मतगणना शुरू हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरूबीच मतगणनाका लागि सहमति जुटेको छैन ।
सुनसरी–१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई जनता समाजवादी पार्टीका अशोककुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् ।
सुनसरी–३ मा एमालेकी भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् ।
सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् ।
बाजुराको बूढीनन्दा नगरपालिका–५ मा शनिवार पुनः मतदान भएकाले मतगणनाको काम शुरू हुन सकेको छैन । इलाम–१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।
उदयपुर–१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छिन् ।
महोत्तरी–१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुंगेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् ।