बैशाख २४, २०८१
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
पुस १३, २०७९
युक्रेन युद्धका कारण थला परेको युरोपमा सर्बिया–कोसोभो तनाव चर्किएपछि थप जोखिम आइलागेको छ ।
कोसोभोसँगको सीमामा सर्बियाले आफ्ना सैनिकहरूलाई उच्च सतर्कताको अवस्थामा तैनाथ गरेको छ । उत्तरी कोसोभोमा सर्बियालीहरूले सडकमा ट्रक तेर्स्याएर अवरोध गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले ती ट्रक हटाउनका लागि माग गरेको भए पनि सर्बियालीहरूले टेरपुच्छर लगाएका छैनन् ।
कोसोभोमा बहुसंख्यक अल्बानियाली मूलका मुसलमानहरूको बसोबास छ । तर उत्तरी भागमा चाहिँ सर्बियाली मूलका मानिसहरू बस्छन् । त्यही उत्तरी भागमा लामो समयदेखि विवाद चलिरहेकोमा अहिले त्यो चर्किएर युद्ध नजिक पुगेको हो ।
सर्बियासँग एकदमै घनिष्ठ सम्बन्ध राख्ने सर्बियाली जातिका अल्पसंख्यक मानिस उत्तरी कोसोभोमा बस्छन् । कोसोभोलाई उनीहरू राज्य नै मान्दैनन् ।
तर कोसोभोको संसदमा उत्तरी कोसोभोका चारवटा नगरपालिकाबाट १० वटा सीट छुट्ट्याइएको छ । कोसोभो सरकारमा सर्बियाली जातिका दुईजना मन्त्री छन् ।
सन् १९९० मा कोसोभो युद्ध अन्त्य भएदेखि नै त्यहाँको सरकारले उत्तरी भाग नियन्त्रणमा लिन सकेको छैन । इबार नदी भन्दा उत्तरतर्फको क्षेत्रमा लगभग ६० हजारजनाको बसोबास छ । त्यहाँको सरकारको नियन्त्रण नभएकाले कानून व्यवस्था राम्रो छैन ।
त्यसैले गर्दा त्यहाँ व्यापक रूपमा अपराध हुने गरेको छ । कोसोभो सरकारले अपराध नियन्त्रणका लागि भन्दै सुरक्षाकर्मीहरू त्यहाँ परिचालन गर्ने गरेको छ ।
सर्बियाली मूलका कोसोभो प्रहरी अधिकृतहरूलाई पक्राउ गरिएपछि अहिलेको तनाव चर्केको हो । पक्राउ परेका एकजना व्यक्तिले उत्तरी कोसोभामा रहेको मित्रोभिचा शहरस्थित निर्वाचन आयोग परिसरमा बम आक्रमण गरेको आरोप कोसोभोको अभियोजन कार्यालयले लगाएको छ । पक्राउ परेका प्रहरीलाई रिहा गर्नुका साथै सरकारले परिचालन गरेको विशेष प्रहरी इकाइ पनि फिर्ता लैजान माग गर्दै सर्बियालीहरूले विरोध गरिरहेका छन् ।
अल्पसंख्यक सर्बियालीहरूले स्थानीय निर्वाचन रोक्नका लागि यो आक्रमण गरेको बताइएको छ । नोभेम्बर महिनामा कोसोभोका विभिन्न निकायबाट सबै सर्बियालीहरूले राजीनामा दिएपछि स्थानीय तथा राष्ट्रिय तहमा निर्वाचन गर्नुपर्ने भएको थियो ।
त्यसक्रममा उत्तरी कोसोभाका सबै चारजना मेयरले राजीनामा दिएका थिए भने सयौं सर्बियाली प्रहरी अधिकृतहरू पनि राजीनामा दिएर निस्केका थिए । सर्बियाली न्यायाधीशहरू पनि अदालत जान छोडेका थिए ।
कोसोभोका प्रधानमन्त्री आल्बिन कुर्तीले उत्तरी कोसोभोमा नयाँ लाइसेन्स प्लेटसम्बन्धी नियम ल्याउन खोजेको विरोधमा सर्बियालीहरूले सामूहिक राजीनामा दिएका थिए । सर्बियाली अधिकारीहरूले जारी गरेको लाइसेन्स प्लेट हटाएर कुर्तीले गाडीहरूमा कोसोभोका प्लेट राख्ने नियम ल्याएपछि त्यसको चर्को विरोध गरिएको थियो ।
कुर्तीले आफ्नो निर्णय सिद्धान्ततः सही भएको तर्क गरेका थिए । सर्बियाले कोसोभोको लाइसेन्स प्लेटलाई स्वीकार नगर्ने हुनाले कोसोभोले पनि सर्बियाको लाइसेन्स प्लेटलाई मान्यता दिन नहुने उनको भनाइ छ । तर सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुचिच र कोसोभामा रहेका सर्बियालीहरूका लागि यो ‘जातिसफाया’ को तयारी थियो ।
नयाँ लाइसेन्स प्लेट जारी गर्ने निर्णय हालका लागि स्थगित गरिएको छ अनि स्थानीय निर्वाचन पनि तत्काल नगर्ने कुर्ती सरकारले निर्णय लिएको छ । यसका लागि उसलाई युरोपेली संघ र अमेरिकाले दबाब दिएका थिए । पश्चिमले सर्बियालाई तनाव घटाउनका लागि आह्वान गरेको छ तर सर्बियाले मानेको छैन ।
सर्बियाले आफ्नो सेनालाई उच्च सतर्कताको स्थितिमा राखेको भए पनि तिनलाई तैनाथ नै गर्ने सम्भावना चाहिँ छैन । हालैका वर्षमा राष्ट्रपति भुचिचले धेरैपटक आफ्ना सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा राखेका छन् ।
डिसेम्बर महिनाको मध्यमा सर्बियाली सरकारले सर्बियाली प्रहरी तथा सैनिकहरू कोसोभार भूभागमा तैनाथ गर्नका लागि केएफओआर अर्थात् नेटोको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय शान्तिसेनालाई आधिकारिक रूपमा अनुरोध गरेको थियो ।
सन् १९९९ मा सर्बियाले नेटोसमक्ष आत्मसमर्पण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ग्रहण गरेको प्रस्ताव १२४४ बमोजिम यस्तो अनुरोध गर्न मिल्छ । उक्त प्रस्तावले केही सय कानून कार्यान्वयन अधिकारीलाई कोसोभो पठाउन पाउने अनुमति दिन्छ तर केएफओआरले त्यसमा सहमति दिनुपर्ने हुन्छ ।
भुचिच स्वयंले पनि आफ्नो यो प्रस्तावलाई अस्वीकार गरिने सम्भावना रहेको बताएका छन् । विश्लेषकहरूका अनुसार, उनी प्रचारबाजी गरिरहेका छन् । उनी आफूलाई सबै सर्बियालीहरूको मसिहाका रूपमा चिनाउन चाहन्छन् ।
उनले सैन्य विकल्पलाई गम्भीर रूपमा विचार गरेका हुन् भने पनि त्यो बेकार छ किनकि त्यसले कोसोभोमा तैनाथ अन्तर्राष्ट्रिय प्रहरी तथा सैन्य इकाइसँग प्रत्यक्ष भिडन्तको स्थिति ल्याउँछ ।
द्वन्द्वको समाधान छ त ?
पश्चिमले बढी दबाब दिए पनि यस द्वन्द्वको समाधानको कमै मात्र आशा गर्न सकिन्छ । दुवै पक्ष आआफ्ना अडानमा दृढ छन् । बेलग्रेड (सर्बियाको राजधानी) ले कोसोभोको स्वतन्त्रतालाई कदापि स्वीकार गर्दैन भने प्रिस्टिना (कोसोभोको राजधानी) ले आफूहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने हो भने मात्र सर्बियालीहरूसँग वार्ता गर्नुको सार्थकता रहने बताउने गरेको छ ।
युरोपेली संघका २२ वटा सदस्य राष्ट्रसहित १०० भन्दा कम मुलुकले कोसोभोलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । संयुक्त राष्ट्रसंघको सदस्य बन्नका लागि कोसोभोलाई सर्बियाले मान्यता दिनुपर्ने हुन्छ किनकि सर्बियाका सहयोगी मुलुक रुस र चीनसँग सुरक्षा परिषदमा भिटो पावर छ ।
फ्रान्स र जर्मनीले कोसोभोको हैसियतका विषयमा सम्झौता गर्ने प्रस्ताव पेश गरेका छन् तर यसको विस्तृत विवरण उपलब्ध छैन । भित्रियाहरूका अनुसार, यो प्रस्ताव सन् १९७२ मा संघीय गणतन्त्र जर्मनी तथा जर्मन लोकतान्त्रिक गणतन्त्रबीचको आधारभूत सन्धिमा आधारित छ ।
त्यसअनुसार, सर्बियाले कोसोभोलाई स्पष्ट रूपमा मान्यता दिनुपर्र्दैन तर उसले कोसोभोको भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई स्वीकार गर्नुपर्छ अनि अन्तर्राष्ट्रिय संगठनहरूमा कोसोभोको सदस्यतालाई रोक्न पाउँदैन ।
दुवैलाई युरोपेली संघमा जोडिनका लागि छुट रहेको भनी फकाउन खोजिएको छ । सर्बियाले ईयूमा जोडिनका लागि आधिकारिक निवेदन दिएको छ तर त्यसको प्रक्रिया सुस्त छ । कोसोभो अहिलेसम्म ईयू सदस्यताको उम्मेदवार हैन तर उसले निवेदन दिन चाहिँ खोजेको छ ।
युक्रेन युद्धको प्रभाव
फेब्रुअरी महिनादेखि नै रुसले सर्बियासँगको निकट सम्बन्धलाई उपयोग गर्दै बाल्कन क्षेत्रमा दोस्रो मोर्चा खोल्ला कि भनी युरोपले चिन्ता लिइरहेको थियो । कोसोभाका प्रधानमन्त्री कुर्तीले रुस जस्तै सर्बिया पनि यस क्षेत्रमा सर्बियाली दुनियाँ बनाउने सपना देख्छ भनेका छन् । सर्बियाका राष्ट्रपति भुचिच चाहिँ कुर्तीले सानो जेलेन्स्की जस्तै व्यवहार गरिरहेको आरोप लगाउँछन् ।
सर्बियाले रुसविरुद्ध कुनै प्रतिबन्ध नलगाएकाले युरोपेली संघलाई रिस उठेको छ । विभिन्न सर्वेक्षणले देखाएअनुसार, ८० प्रतिशत सर्बियालीहरू भ्रातृराज्य रुसमाथि यस्तो प्रतिबन्ध लगाउन नहुने सोच राख्छन् (रुस र सर्बिया दुवैमा समान स्लाभ जातिका मानिस बस्छन्) । सर्बिया रुसी ग्यासमा मात्र निर्भर रहेको नभई कोसोभोको सवालमा पनि उसलाई रुसको सहयोग आवश्यक छ ।
तर सर्बियाली अर्थतन्त्रको अधिकांश भाग पश्चिममुखी छ । सर्बियामा रहेका जर्मन कम्पनीहरूले लगभग ७५ हजार रोजगारी दिएका छन् । जर्मन चान्सलर ओलाफ शोल्ज सहितका पश्चिमी राजनीतिकर्मीहरू बाल्कन क्षेत्रमा रुसी प्रभावलाई खुम्च्याउन चाहन्छन् ।
कुर्तीले आउँदो वसन्त याममा सर्बिया र कोसोभोबीच विस्तृत सम्झौता हुने अपेक्षा गरिएको बताएका छन् । तर अहिलेको परिस्थिति हेर्दा त्यो अति आशावादी सोच मात्र देखिन्छ ।
डीडब्ल्यू डट्कममा प्रकाशित सामग्रीलाई लोकान्तरका लागि विन्देशदहाल अनुवाद गरेका हुन् ।
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...