चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
पुस १७, २०७९
‘विकसित घटनाक्रम बारेमा बोल्न र कुराकानी गर्न खोज्नुभएको हो भने अहिले त्यो सम्भव छैन,’ शेरबहादुर देउवालाई नै पुनः प्रधानमन्त्री बनाउने सबै प्रयत्न असफल भएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले लोकान्तरलाई दिएको प्रतिक्रिया हो यो ।
‘कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पुस २२ मा बस्ने गरी केन्द्रीय समितिको बैठक डाकिसकेको छ । त्यसैले यो बीचमा कहाँ र कसले के गर्यो वा के भयो भन्ने बारेमा बैठकपूर्व म केही पनि कुरा गर्दिनँ,’ उनले थपे ।
केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डाका विषयमा सभापति र महामन्त्री नै जानकार हुने भन्दै खड्काले सत्ता गुमाएपछिको वादविवादमा आफू पर्न नचाहेको प्रस्ट सन्देश दिए ।
देउवा समूहका जिम्मेवार नेता खड्काको यो भनाइबाट त्यहाँभित्र कति सन्नाटा र उकुसमुकुस छ भन्ने बुझिन्छ । यो सन्नाटाको कारण संसद्मा ठूलो दल भएर पनि कांग्रेस केन्द्र र प्रदेश सबैतिर सत्ताबाट विमुख हुनु हो ।
सत्ताबाहिर रहनु पर्दा कांग्रेसको संस्थापन पक्षमा यतिखेर ठूलो बेचैनी छाएको छ । ‘पावर पोलिटिक्स’का लागि शेरबहादुर देउवा चर्चित नाम हो । तर मुखैको सत्ता गुमाउनुपरेपछि उनले नसोचेको झट्का बेहोरे । यो झट्काबाट उठ्न देउवा यतिखेर धुम्बाराहीको भाडाको घरमा बसेर रणनीति बनाउन व्यस्त छन् ।
देउवा समूहमै बेमेल !
संस्थापनइतर पक्ष धेरै चिरामा विभाजित हुँदा र जतिसुकै कठिन परिस्थितिमा पनि देउवा पक्ष एकढिक्का थियो । तर गठबन्धन बनाएर चुनाव जिताएको माओवादीलाई आफूसँगै राख्न नसकेपछि सम्भवतः पहिलोपटक देउवा समूहमा देखिने गरी चिरा परेको छ । कतिसम्म भने चुनावपछिको पहिलो सरकारको नेतृत्व कांग्रेसले गर्ने कि माओवादीलाई अघि सार्ने भन्ने विवाद बढ्दै जाँदा देउवा पक्षका नेता नै आपसमा हात हालाहालको अवस्थासम्म पुगे ।
चुनावमा गएको तत्कालीन सत्ता गठबन्धन नै फेरि बहुमत जुटाउनबाट मात्रै २ सीटले पछि थियो । केन्द्रमा मात्रै होइन अधिकांश प्रदेशमा तत्कालीन सत्ता गठबन्धनले सहजै सरकार बनाउन सक्ने अवस्था थियो । तर शुरूमै प्रधानमन्त्री बन्ने देउवाको हठ र उनको टीमको गलत सल्लाहका कारण यी सबै सत्ताबाट कांग्रेस विमुख भयो । सोही कारण देउवाको टीममा यतिखेर सबैभन्दा बढी उकुसमुकुस छ । यो पक्ष रक्षात्मक अवस्थामा पुगेको छ ।
आफूपछिको सर्वमान्य नेतृत्व स्थापित गर्नुपर्ने बाटोमा रहेका देउवालाई टीमभित्रैको यो झगडाले चिन्ता थपेको छ । टीम मिलाउन नसके आफूपछि श्रीमती आरजू राणालाई स्थापित गर्नसमेत सहज नहुने बुझाइ देउवाको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलो चरणमा सत्ताको नेतृत्व गर्न दिएर गठबन्धन जोगाउनुपर्छ भन्ने धेरैको मान्यता थियो । नेता रामचन्द्र
पौडेल, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताले माओवादीलाई पहिलो कार्यकाल दिएर भए पनि कांग्रेसले सत्ताको साँचो हातमा लिनुपर्ने सुझाव दिएका थिए । तर डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र आरजू राणासहितका नेता त्यसको विपक्षमा उभिँदा नेताहरूबीच हात हालाहालको स्थिति उत्पन्न हुन पुग्यो ।
न देउवा बोल्छन्, न अरू
सत्ता र शक्तिको प्रतिस्पर्धामा जित्दा नेताहरूबीच जस लिन र प्रतिक्रिया दिन तँछाडमछाड नै चल्ने गर्छ । तर हार र कमजोरीमा भने नेताहरूबीच ‘खामोसी’ छाउने गरेको छ । अप्रत्याशित रूपमा सत्ता गुमाउनुपरेपछि सभापति शेरबहादुर देउवादेखि उनीपक्षीय नेता चुपचाप छन् । यसअघिका प्रचलनलाई नपछ्याएका देउवा कुनै सम्बोधन नगरी बालुवाटारबाट बाहिरिए ।
अप्रत्याशित सत्ता छाड्नुपरेको पीडामा रहेका देउवामा छटपटी र बैचैनी प्रचण्डले प्रधानमन्त्रीमा शपथ लिएदेखि नै देखिएको थियो । शपथग्रहण शुरू भइसकेपछि सुरक्षाकर्मीले इशारा गरेर देउवालाई आफ्नो कुर्सीबाट उठाउनु परेको थियो । शपथपछि प्रचण्डलाई कुर्सी हस्तान्तरण गरेलगत्तै देउवा समारोहस्थलबाट बाहिरिएका थिए । त्यसयता उनी न औपचारिक कार्यक्रममा देखिएका छन्, न बोलेका छन् ।
देउवाको मनमा तत्काल सत्ता छाड्नुपर्छ भन्ने कत्ति पनि नलागेको उनको पछिल्लो अवस्थाले देखाउँछ । सत्ताबाट बाहिरिनुपरेपछि देउवाको बुढानिलकण्ठस्थित निवासको मर्मत र सम्भारको कामको रफ्तार अगाडि बढाइएको थियो । यसैले बालुवाटारबाट बहिर्गमनपछि उनी धुम्बाराहीस्थित भाडाको घरमा बस्न पुगेका छन् ।
सभापति देउवा नै प्रतिक्रियाविहीन भएपछि उनीपक्षीय नेताहरू चुपचाप देखिएका हुन् । सार्वजनिक रूपमा अभिव्यक्ति नदिए पनि देउवा केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफलमा भने जुटेका छन् । धुम्बाराहीस्थित निवासमा देउवा नेताहरूसँग संवादमा रहेको उपसभापति खड्काले बताए ।
फेरि सत्ता फर्काउने प्रणमा देउवा
देउवा नेपाली सत्ता र शक्तिको राजनीतिका लागि परिचित अनुहार हुन् । राजा वा गणतन्त्रको समयमा अप्ठ्यारो परिस्थितिमा आफू नै प्रधानमन्त्री हुनुपर्ने भाष्य उनले निर्माण गरेका छन् । २०५९ र २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीका रुपमा रोजे ।
२०७४ को चुनावमा कांग्रेस केन्द्र र प्रदेश सबैतिर प्रतिपक्षमा पनि कमजोर अंकगणितमा थियो । नेकपा विभाजनपछिको उतारचढावपूर्ण राजनीतिमा बहुमत पुर्याएपछि सर्वोच्च अदालतले दिएको परमादेशपछि देउवा प्रधानमन्त्री भए । केपी ओलीले संसद् विघटन गरेको घटनाक्रमले देउवालाई २०७८ मा प्रधानमन्त्री दिलायो । प्रतिपक्षीका रूपमा कमजोर देखिएको कांग्रेसले केन्द्र र प्रदेशसम्मै आफूलाई सत्ताको नेतृत्वमा उभ्याएको थियो ।
देउवा समूहका नेता फेरि त्यस्तै अवस्था दोहोरिने आशामा छन् । भेटका क्रममा देउवाले प्राविधिक रूपमा कांग्रेस यसपटक सत्ताबाट विमुख भए पनि सधैँ बाहिर नरहने बताउने गरेका छन् ।
‘२०७४ सालको चुनावपछि हामी कमजोर प्रतिपक्ष थियौं तर परिस्थितिले अप्ठ्यारोमा कांग्रेस नै चाहिने देखायो । जुन परिस्थिति २०५९ र २०६१ मा पनि बनेको थियो,’ देउवासँग नियमित संवादमा रहेका एक नेता भन्छन्, ‘चुनाव जित्न हामीसँग मिल्ने तर सत्ताका लागि अरूसँगै जाने स्वार्थी दलका कारण अहिलेको परिस्थिति बनेको हो । यसपटक कांग्रेस संसद्मा सबैभन्दा ठूलो दल हो । अनेक स्वार्थ समूह मिलेकाले अहिले हाम्राविरुद्ध बहुमत पुगे पनि ढिलोचाँडो देशलाई निकास दिन कांग्रेसले नै नेतृत्व लिनुपर्ने अवस्था आउँछ भन्ने बुझाइ सभापतिमा देखिन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिएपछि सत्तारुढ दलबीच नै तिक्तता बढेर बहुमत नगुमाएको स्थितिमा कम्तीमा दुई वर्षसम्म कांग्रेसले यो सरकारलाई हटाउने कसरत गर्न पाउने छैन ।
कुनै अस्वाभाविक घटनाक्रम देखिएको अवस्थामा बाहेक सत्ताको जोडघटाउमा कांग्रेस कम्तीमा २ वर्ष बाहिरै रहने परिस्थिति छ । तर देउवाको पखाई अस्वाभाविक घटनातर्फ हुनेछ ।
कसले बिगार्यो माहोल ?
हरेक विषयमा सम्झौतापरस्त छवि भए पनि मुखैमा आएको सत्ताबाट विमुख भएपछि देउवा क्याम्पमा निक्कै खैलाबैला मच्चियो । अघिपछि हरेक विषयमा एकढिक्का हुने यो समूहमा त्यसपछि भने चरम बेमेलको अवस्था छ । मुख्यगरी विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की मुख्य निशानामा रहेको एक नेता बताउँछन् ।
‘विमलेन्द्रले राष्ट्रपति र प्रधानमन्त्री हाम्रो बटमलाइन हो भनेर प्रचण्डसँग बारम्बार दोहोर्याउनुभयो । तर सभापतिलाई दुवै पदमा दाबी गरेर हुन्न भन्ने बुझाउन सक्नुभएन । ज्ञानेन्द्र कार्कीमा मैले राष्ट्रपतिदेखि सबैथोक मिलाएको छु भन्ने भयो । महतले पनि प्रचण्ड लत्रिएरै आउँछन् भनेर सभापतिलाई अरू विकल्प सुझाएनन्,’ देउवानिकटका ती नेता भन्छन्, ‘पछिल्लो समय बालकृष्ण खाण हारेपछि देउवाले पनि उनलाई धेरै भरोसा गरेनन् । अरू निकटकाले गुमराहमा राख्दा र जोखिमको ख्याल नगर्दा कांग्रेसको हातबाट सत्ता गुमेको हो ।’
महत र कार्कीको छवि कार्यकर्तामा राम्रो नभए पनि नेतालाई चाकरी गरेर शक्ति हत्याउने गरेको आरोप ती नेताले लगाए ।
‘कार्यकर्तामा नजाने, उनीहरूका आवाज नसुन्ने तर नेताको दैलोमा हामीले सबै मिलाएका छौं भनेर बारम्बार पुग्ने अभ्यासले यस्ता कमजोरी हुन्छन्,’ ती नेता भन्छन्, ‘नेतृत्वले पनि आफैं विवेक नदेखाउने र आँखा चिम्लेर विश्वास गर्ने गर्दा यस्ता दुर्घटनाको साक्षी बस्नुपर्छ ।’
ती नेताका अनुसार नेता निधि चुनावपछि भारत गएर ‘सबै मिलाएर फर्किएको छु’ भन्दै आएका थिए । तर आईजीपी प्रकरण, कांग्रेस सभापतिमा उम्मेदवारी प्रकरण, प्रदेश २ मा टिकट वितरणमा गरिएको बेवास्ता आदि कारले निधिले देउवासँग यसपटक बदला लिएको हुनसक्ने चर्चा पनि देउवा क्याम्पमा हुने गरेको छ ।
‘आफू पटक-पटक अपमानित भएको महसूस निधिले गरेको हुनुपर्छ,’ ती नेता भन्छन्, ‘त्यसैले उनले देउवासँग एकैपटक बदला लिए ।’
के होला केन्द्रीय समितिमा ?
चुनावी समीक्षा बैठक २२ पुसमा बस्ने गरी बोलाइएको छ । यसअघि दुवै पक्ष तयारी छलफलमा जुटिरहेका छन् । तर देउवा सहजै गल्ने अवस्थामा छैनन्, किनकि २०७४ मा कमजोर हुँदा पनि कांग्रेसले सरकारको नेतृत्व गरेको थियो । यसपटक स्थानीय तह, प्रदेश र संघको चुनाव आफ्नै नेतृत्वमा गराएर सबैभन्दा ठूलो दलको रूपमा कांग्रेसलाई पुर्याएको हिसाब देखाउने मनस्थितिमा देउवा छन् ।
‘सत्ता र शक्ति फरक विषय हुन् । प्राविधिक रूपमा कांग्रेसले यसपटक सत्ता गुमाएको छ तर हामी केन्द्र, प्रदेश र स्थानीय तहमा बलियो शक्तिका रूपमा उभिएका छौं,’ देउवा पक्षका नेता भन्छन्, ‘यसैले सत्ता गुम्यो भन्दैमा सभापतिले राजीनामा दिने, विशेष महाधिवेशन बोलाउने भन्ने विषय कुनै पनि हिसाबले सान्दर्भिक देखिँदैन । जसको नेतृत्वमा पार्टी ठूलो बनेको छ, उसैले हतारिएर राजीनामा दिने भन्ने हुँदैन । कहाँ कसको कमजोरी भयो भनेर समीक्षा भने गर्न सकिन्छ ।’ चुनावबाट ठूलो बनेको पार्टीमा नेतृत्वलाई खुइल्याउन नहुने भन्दै ती नेताले कमजोरी भए सुधारेर जानुपर्ने बताए ।
एमाले र माओवादी मिल्दै गरेको सूचना आफूहरूसँग रहेको भन्ने महामन्त्री थापाको भनाइको खरो प्रतिवाद गर्ने तयारीमा देउवा पक्ष छ । पार्टीविरुद्ध हुँदै गरेको घेराबन्दीको सूचना नदिने र सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै हिँड्ने भन्दै महामन्त्रीहरूको कार्यशैलीको आलोचना गर्ने तयारीमा उनीहरू छन् । सरकार गठनअघि उपत्यका नछाड्न भनिए पनि सांसदसमेत रहेका महामन्त्रीद्वय राजधानी छोडेर पोखरा पुगेकोमा पनि उनीहरूले आलोचना गरेका छन् ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले लिखित रूपमा माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । तर इतर पक्ष महाधिवेशन भएकै वर्ष विशेष महाधिवेशन बोलाउने गरी अगाडि बढ्ने मनस्थितिमा भने देखिएको छैन । १४ औं महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा डा. शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए । तर, सो पक्ष केन्द्रीय समितिमा त्यो भन्दा कमजोर हैसियतमा छ ।
देउवाविरुद्ध मोर्चा कस्दै गगन–विश्वप्रकाश
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देउवामाथि थप दबाब बढाउने रणनीतिमा छन् ।
संसदीय दलको नेतामा गगन थापा पराजित भएपछि नै यी दुई नेताले आफूहरू सरकारमा नजाने भन्दै सरकार नबन्दै देउवामाथि दबाब बढाएका थिए । देउवाको हठले कांग्रेस सत्ताबाट विमुख हुनु परेपछि यी दुई नेताले खुलेरै देउवाको विरोध गरिरहेका छन् ।
आफूहरूलाई सम्भावित संकटको सूचना भए पनि सभापतिले छलफलका लागि नबोलाएको जिकिर उनीहरूले सञ्चारमाध्यममा गर्दै आएका छन् ।
यतिमात्रै होइन १६ पुसको मेलमिलाप दिवसमा पार्टी सभापतिले कुनै औपचारिक विज्ञप्ति जारी गरेनन्, तर महामन्त्रीद्वयले ठूलो दल बनेर पनि प्रतिपक्षीमा पुग्नुपर्ने अवस्था आउनाले पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु स्वाभाविक भएको भन्दै विज्ञप्ति जारी गरेका छन् । ५ बुँदे विज्ञप्तिमार्फत उनीहरूले विनाआग्रह र पूर्वाग्रह आत्मसमीक्षा र आत्ममूल्यांकन गर्नुपर्ने बताएका छन् ।
अब जिम्मेवार प्रतिपक्ष भएर राजनीति र जनचासोका विषयमा कांग्रेसले नेतृत्वदायी अग्रसरता लिनुपर्ने, पार्टीको शुद्धीकरण र पुनर्जागरणमा लाग्नुपर्ने बताएका छन् ।
१४ औं महाधिवेशनले नेतृत्वमात्रै चयन गरेको भन्दै महामन्त्रीद्वयले विधानबमोजिम नीति महाधिवेशनको विषयलाई उठाएका छन् । २२ पुसमा बस्ने केन्द्रीय समितिको बैठकमा यो विषयलाई प्राथमिकताका साथ उठाउने तयारी उनीहरूको छ ।
प्राविधिक हिसाबमा संस्थापन इतरको नेतृत्वमा डा. शेखर कोइराला छन् । तर संसदीय दलको चुनावमा कोइरालाले आफ्नो समूहका तर्फबाट थापालाई अघि सारेपछि युवा नेताहरू थप उत्साही भएका छन्, किनकि पार्टीमा रुपान्तरण र पुस्तान्तरणको मुद्दा उनीहरूले उठाउँदै आएका थिए ।
युवा नेताहरू आक्रामक देखिँदै गर्दा शेखर भने संयम देखिएका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि उनले अरूले जस्तो सबै दोष सभापतिलाई थोपरेनन्, बरु आफ्नो शक्तिमा विश्वास गरेर अघि बढ्नुपर्ने बताए, जसले उनलाई परिपक्व र थप जिम्मेवार देखाएको छ । देउवाविरुद्ध फेरि पहिले जस्तै मोर्चाबन्दी गरेर जाने वातावरणका लागि शेखरलाई युवा नेताहरूले विश्वासमा लिनुपर्ने पनि देखिन्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...