
अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेका आफ्ना साझेदारहरूसँग चीनको ‘घेराबन्दी’ का विषयमा खुलमखुला कुरा गर्न थालेको छ ।
जनवरी ८ मा फाइनान्सियल टाइम्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको चीन रणनीतिका विषयमा खबर दिएको थियो । जापानका लागि अमेरिकी मरिन कोर्प्सका सर्वोच्च कमान्डर लेफ्टिनेन्ट जनरल जेम्स बिएरम्यानले युक्रेन र ताइवानबीच ‘अनेकौं कुरा समान रहेको’ बताए अनि अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर ‘चीनको प्रतिकार गर्ने युद्धस्थल’ का रूपमा ताइवानलाई तयार पारिरहेको स्वीकार गरे ।
‘अमेरिकी र जापानी सशस्त्र बलहरूले आफ्नो कमान्ड संरचनालाई द्रुत गतिमा एकीकृत गरिरहेका छन् । ताइवानका लागि हुन सक्ने युद्धले चीनसँगको द्वन्द्व चर्किने सम्भावनका बीच एसियाली साझेदारहरूसँग मिलेर वाशिङटन डीसीले तयारी गरिरहेको जापानमा रहेका शीर्ष मरिन कोर्प्स जनरलले बताए,’ फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
जापान साँच्चिकै थप सक्रिय बनिरहेको छ र दोस्रो विश्वयुद्धपछि टोक्योले अभ्यास गर्दै आएको अर्थतन्त्र–केन्द्रित नीतिलाई नयाँ सरकारले परित्याग गर्ने निर्णय लिएको छ । यस ऐतिहासिक परिवर्तनमा पुनः सैन्यीकरण मात्र नभई चीन, उत्तर कोरिया र रुस यी तीन क्षेत्रीय शक्तिसँगको बढ्दो शत्रुता पनि समाविष्ट छ ।
सैन्य तटस्थता छोड्नुका अतिरिक्त टोक्योले आफ्नो रक्षा बजेट व्यापक रूपमा वृद्धि गरेको छ । जापानले अमेरिकासँगको संयुक्त सैन्य कारवाही गर्ने भूमिकालाई कैयौं गुणा बढाएको यूएसएमसी लेफ्टिनेन्ट जनरल बिएरम्यानले पुष्टि गरे ।
कूटनीतिक मर्यादालाई परित्याग गर्दै अमेरिकी जनरलले निकै ठाडो तरिकाले बोले । विशेषगरी ताइवानलाई अहिलेसम्म दिँदै आएको सहयोगका बारेमा टिप्पणी गर्दै उनले सन् २०१४ देखि युक्रेन सरकारलाई अमेरिकाले रुसविरुद्ध कसरी तयार पारिरहेको थियो भन्ने कुरालाई ताइवानको तयारीसँग तुलना गरे । उनको भनाइ यसप्रकार छ ः
‘युक्रेनमा हामीले कसरी यत्ति भए पनि सफलता पायौं ? सन् २०१४ र २०१५ मा रुसले आक्रामकता देखाएपछि हामीले भविष्यमा हुन सक्ने द्वन्द्वको तयारी गम्भीरतापूर्वक थाल्यौं । त्यसक्रममा हामीले युक्रेनीहरूलाई तालिम दिने, सैन्य सामग्रीलाई यथास्थानमा राख्ने, सहयोगात्मक कारवाही गर्न सकिने स्थानको पहिचान गर्ने र कारवाहीलाई निरन्तरता दिने काम गर्यौं । त्यसलाई हामी युद्धस्थल निर्माण भन्ने गर्छौं । र अहिले हामी जापान, फिलिपिन्स तथा अन्य स्थानमा युद्धस्थल निर्माण गर्दैछौं ।’
बिएरम्यानको यो अन्तर्वार्ता विवादास्पद छ । चीनलाई उत्तेजित बनाउने बाहेक यसको अरू कुनै लक्ष्य छैन । अमेरिकी जनरलले ताइवान र युक्रेनलाई स्पष्ट रूपमा तुलना गरी चीनलाई चिढ्याउने प्रयास गरेका हुन् । पश्चिमले शुरूमा द्वन्द्व सिर्जना गर्ने अनि त्यसलाई खुला युद्धमा परिणत गर्ने काम कसरी गर्छ भन्ने विषयको यो राम्रो उदाहरण हो ।
थर्ड मरिन एक्सपिडिसनरी फोर्स तथा यूएसएमसी फोर्सेस जापानका कमान्डरको हैसियतमा बिएरम्यानले दिएको यस्तो बयान त्रासद र भयानक छ । अमेरिकासँग सम्बन्ध सुधार गर्न खोजिरहेको चीनका लागि यो खतरनाक संकेत हो ।
युक्रेन सरकारलाई रुससँग लडाइँका लागि वर्षौंदेखि तयार पारेको (अनि बाहिर चाहिँ ‘शान्तिपूर्ण समाधानको प्रयास गर्नु’) भनी बिएरम्यानले खेलाँचीका साथ भने । त्यसैले ताइवानका विषयमा उनले गरेको टिप्पणीलाई चीनले निकै गम्भीरतापूर्वक लिनेछ ।
पश्चिमको मूलधारे मिडिया फाइनान्सियल टाइम्स स्वयंले पनि ताइवानलाई युक्रेनसँग तुलना गर्ने बिएरम्यानको भनाइ ‘असाधारण रूपमा स्पष्टवादी’ भएको स्वीकार गरेको छ । बिएरम्यान त्यतिमा मात्र रोकिएनन् र उनले थप विवादास्पद ‘ठाडा कुरा’ गरे । उनका थप भनाइ यसप्रकार छन् ः
‘उनीहरू (चिनियाँ) ले ताइवानमाथि आक्रमण गर्नका लागि चलाउने कारवाहीको जटिलता तथा आकारको कुरा गर्दा त्यसका संकेत र चेतावनीहरू हामीले भेट्नेछौं । अनि भूगोल र समयका सवालमा विभिन्न पक्षहरू रहेका छन् जसले हामीलाई उच्च तयारीको अवस्थामा राख्न सहयोग गर्छन् । चिनियाँ दुश्मनसँग हाम्रो भिडन्तको अवस्थामा हामीले नियन्त्रणमा लिनुपर्ने, सुरक्षित पार्नुपर्ने, प्रतिरक्षा गर्नुपर्ने र फाइदा उठाउनुपर्ने महत्त्वपूर्ण भूभागको पहिचान गर्नुपर्छ ।’
यी माथि उल्लेख गरिएका तयारीमा फिलिपिन्सलाई पनि समावेश गरिएको छ । मनिलाले अमेरिकी सैनिकहरूलाई दोब्बर हतियार तथा बन्दोबस्तीका सामान आफूकहाँ राख्न दिन खोजेको छ । अहिले फिलिपिन्सका पाँचवटा सैन्य अड्डाका अतिरिक्त पेन्टागनले थप पाँच अड्डामा पहुँच पाउनेछ ।
यो सबै ‘चीनको घेराबन्दी’ को एक अंग हो । बिएरम्यानले ‘चिनियाँ सेनालाई चाहिने भन्दा बढी शक्तिशाली नसोच्न’ क्षेत्रीय साझेदारहरूलाई सुझाव दिएका छन् । ‘चिनियाँ जनमुक्ति सेनालाई १० फीट अग्लो मानेर डराउनुपर्दैन’ भनी उनले दाबी गरे ।
यस्ता बयान बिएरम्यानले स्वेच्छाले दिएका हैनन् भन्ने कुरा स्पष्ट छ । एसिया–प्रशान्त क्षेत्रमा बढिरहेको तनाव घटाउन पेन्टागनले अस्वीकार गरिरहेको संकेत यसबाट पाइन्छ । वाशिङटन डीसीले यस्ता किसिमका आक्रामक चीनविरोधी नीतिलाई जारी राखेमा बेइजिङ चुप लागेर बस्ने सम्भावना न्यून छ ।
चीनले ताइवानसँगको विवाद शान्तिपूर्वक समाधान गर्न खोजेको छ र त्यो उसको आधिकारिक अडान मात्र नभई स्पष्ट रूपमा परिभाषित लक्ष्य नै हो । कूटनीतिक तथा आर्थिक माध्यमले यसलाई हासिल गर्न बेइजिङले लगातार कोशिश गरिरहेको छ । दशकौंसम्म उसले ताइवानलाई व्यापक स्वायत्तता दिएर सम्बन्ध सुधारमा भारी लगानी गरेको छ ।
अर्कातर्फ, अमेरिकाले चाहिँ ताईपेईलाई चीनसँग कुनै पनि सम्झौता गर्नबाट निरुत्साहित पारिरहेको छ । चीनको केन्द्रीय प्राथमिकता आर्थिक विकास भए पनि ताइवानलाई थप सशस्त्र बनाउने लगायत रणनीतिक रूपमा महत्त्वपूर्ण आकस्मिकताका सन्दर्भमा चीनले सैन्य तयारी पनि गर्नुपरेको छ । अनि हालैका दशकमा ताइवानमा (अमेरिकी समर्थनमा) चर्किरहेको स्वतन्त्रता अभियानलाई पनि चीनले विचार गर्नुपर्ने स्थिति छ ।
चीनले कूटनीतिक समाधानलाई परित्याग गरिसकेको छैन र ताइवानका सन्दर्भमा ‘सफ््ट पावर’ दृष्टिकोणका साथ अझै पनि काम गरिरहेको छ । तर अमेरिकाले त्यस क्षेत्रमा पारेको विनाशकारी प्रभावलाई कम गर्न चीनले थप काम गर्नुपर्ने आवश्यकता छ ।
साउथफ्रन्ट डट्ओआरजीमा प्रकाशित स्वतन्त्र भूराजनीतिक तथा सैन्य विश्लेषक ड्रागो बोस्निचको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।