०९ साउन २०८३, शनिबार
घनश्याम भुसालको अलमल

घनश्यामको वामपन्थ : ‘गोरु पछाडि, गाडा अगाडि’

पुस ३०, २०७९
घनश्यामको वामपन्थ : ‘गोरु पछाडि, गाडा अगाडि’

नेपाली कम्युनिस्ट आन्दोलन शुरू भएदेखि बहसको विषय बन्ने गरेको ‘वामपन्थी’ को हो ? को होइन ? पछिल्लो पटक यो बहसलाई मार्क्सवादको व्याख्याता वा मार्क्सवादका वैचारिक नेताका रूपमा स्थापित घनश्याम भुसालले सहतमा ल्याएका छन् ।

यसको मुहान कहाँ छ ? भुसालले नै पुष्टि गर्लान् तर वामपन्थी व्यवहारलाई कसरी पुष्टि गर्ने उनीमै अलमल छ ।

सतहमा देखिएका मार्क्सवादी वैचारिक नेताहरूमा औसतमा माथि हुन् घनश्याम तर पछिल्लो उनको कार्यशैलीमा देखिएको वामपन्थको गन्धले धेरै प्रश्न उब्जाएको छ । घनश्यामको नेकपा एस प्रवेश र डा. बाबुराम भट्टराईको माओवादी पुनः गृह प्रवेशको तयारीले वास्तवमै ‘वामपन्थ’भन्दा मार्क्सवादी बुद्धिजीवीहरूलाई कोरोना छेक्नेभन्दा बाक्लो ‘मास्क’ले मुख छोप्ने अवस्था सिर्जना भएको छ ।

घनश्याम मार्क्सवादी गुरुकूल खोलेर सयौं कार्यकर्तालाई मार्क्सवाद पढाए । नेकपा एमालेमा वैचारिक नेताका रूपमा स्थापित भएको परिचय गराए । पार्टीमा २ लाइन संघर्षको परिपाटी बसाले । संघर्ष निरन्तर राखे । पार्टी विभाजनबाट जोगाउन १० बुँदे सहमति गरे । यद्यपि माधव नेपाललाई पार्टी विभाजनसम्म पुर्‍याउने भूमिकामा यो या त्यो अर्थमा घनश्याम एक मुख्य पात्र हुन् ।

तर अन्त्यमा उनी एमालेमै बसे र मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाउने आशमा उनको वामपन्थ अडिएको देखियो । सदस्य एमालेको, टिकट नपाएपछि गठबन्धनको उम्मेदवार । यहीँनेर घनश्यामको वामपन्थ चुकेको देखिन्छ ।

घनश्यामबारे यागेश भट्टराईले टिप्पणी गरेका थिए, ‘माओवादीबारे, मार्क्सवादबारे घनश्यामजीको ठूल्ठूला ठेली पढियो तर व्यवहारमा ठ्याक्कै उल्टो । टिकट पाइएन भनेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्नुभयो ।’

मंसिर ४ गतेको चुनावमा पराजय भोगे घनश्यामले । त्यसयताका दिन उनका सुखद् छैनन् । राजनीतिक कोर्ष नफेरिएको भए अघिल्लो हप्ता नेकपा एसका महासचिव वेदुराम भुसाल उपाध्यक्षमा बढुवा हुने र सरकारमा नेतृत्व गरेर जाने, घनश्याम महासचिव बन्ने तयारी थियो । राजनीतिक कोर्स फेरिएपछि घनश्यामको वामपन्थमा केही बादल लाग्यो । 

त्यसबीचमा उनको बढी हिमचिम भएका पुराना एमाले नेता, कार्यकर्तासँग पनि परामर्श भएका छन् । माओवादीका उपमहासचिव वर्षमान पुन उनका नजिकका हितैषी हुन् । उनीमार्फत माओवादीमा जाने भन्ने एक तहको छलफल पनि भयो तर पुराना एमालेहरूले ‘माओवादको जरैदेखि तपाईंको विमति छ, कसरी जानु हुन्छ ?’ भनेपछि भए बँचेका केही नेता कार्यकर्ता एसमा र अन्य एमालेमै रहे । अन्ततः उनका मार्क्सवादी गुरुकूलबाट उत्पादित रामकुमारीहरूले विरासत जोगाइदिएर एसमा प्रवेश गरे भुसाल ।

भुसालको पार्टी प्रवेश कस्तो भयो भने ‘एक जनाले गौंथलीले घरमा गुँड लगाएर हैरान पारेछ । गौंथली नआउने गराउन उसले गुँडमा आगो लगाएछ । आगोले पूरै घर खरानी भएछ । अन्त्यमा एउटा मादल बाँकी । त्यही मादल बजाएर गौंथलीको गुँड जल्यो बरिलै भनेर ताल झिकेर नाचेछ ।’

सबै सकेर घनश्याम यतिखेर वामपन्थीको नाममा दोष र गुण छुट्याउँदै हिँड्नुले खासै अर्थ राख्दैन ।

वामपन्थ के हो ? 

वामपन्थ शब्द सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिपछि त्यहाँ स्थापना भएको ‘क्रान्तिकारी संसद’को एउटा नयाँ चलनबाट विश्वमा चलनचल्तीमा आएको हो । क्रान्तिपछिको त्यहाँको नयाँ संसद राष्ट्रिय सभामा समाज व्यवस्थाको आमूल परिवर्तन खोज्ने प्रतिनिधिहरूलाई संसदको अध्यक्षता गरिरहेको व्यक्तिहरूलाई बायाँपट्टि बस्ने चलन चलाइयो । नरमपन्थीहरूलाई अध्यक्षको ठीक सामुन्ने भागमा बस्न लगाइयो र आमूल परिवर्तनको विरोध गर्ने कट्टरपन्थीहरूलाई दायाँपट्टि राख्ने गरियो । यही चलनका आधारमा संसारमा पहिलोपटक ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ भनेर बुझ्न लागियो ।

क्रान्तिकारी कम्युनिस्टहरू सबै वामपन्थी हुन् भन्ने एउटा मान्यता छ तर सबै कम्युनिस्ट वामपन्थी हुँदैनन् । समाजमा आधारभूत परिवर्तन चाहने साम्यवादी चिन्तन भएकाहरू पनि वामपन्थी शक्ति हुन सक्छन् । जस्तो चीनमा सनयात्सेनका अनुयायीहरू, भारतमा सुवासचन्द्र बोस र उनका अनुयायीहरूलाई वामपन्थी भन्न सकिन्छ । वाम एकता अनिवार्य, वामपन्थी बिग्रियो । यो आफैंमा विरोधाभाषपूर्ण छ । 

सबै वाम एक ठाउँ हुँदा पनि एमाले ठूलो शक्ति हो तर त्यसलाई माधव र घनश्याम स्वीकार्दैनन् । राजनीति गर्ने जो कोहीले केही स्पेश राख्छ नै । किनकि राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भन्ने मान्यता हो तर घनश्यामको मार्क्सवादीय गुरुकूलबाट उत्पादित नेता–कार्यकर्तालाई यति पर पुर्‍याएइको देखियो कि फर्किने बाटो छैन । 

स्वयं घनश्याम भुसालले ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ पृष्ठ–९१ मा लेनिनवादी संगठनात्मक पद्धतिबारे भनेका छन्, ‘(व्यक्ति कमिटी मातहत, अल्पमत बहुमतको मातहत, तल्ला कमिटीहरू माथिल्ला कमिटीको मातहत र सम्पूर्ण व्यक्ति तथा कमिटीहरु केन्द्रीय कमिटी मातहत रहनुपर्छ ।’ जसले हरेक कम्युनिस्ट पार्टीका संगठन, नीति, योजना र कार्यक्रमलाई निर्देशित गर्ने विषयलाई उनले उठान गरेका छन् ।

तर घनश्यामले व्यवहारमा यी विषयलाई लागू गर्दैनन् । अरुलाई गर्नुपर्छ भन्ने आफू व्याख्या मात्रै । पार्टीमा २ लाइनको सघंर्ष पनि जारी, आवश्यक पर्दा कृषिमन्त्री बन्न तयार तर विरोध जारी । कुरा वामपन्थी तर कम्युनिस्ट सरकार ढालेर चुनाव हराउन बनेका पश्चगामी शक्तिको गठबन्धनको उम्मेदवार । वर्षौं लगाएर मार्क्सवादी गुरुकूल चलाए, कार्यकर्ता–नेता उत्पादन गरे, अन्त्यमा उनी एक्लै । घनश्यामको नेकपा एस प्रवेश अन्तिममा सैद्धान्तिक र व्यावहारिक रूपमै ‘गोरु पछाडि, गाडा अगाडि’ देखियो । यो वामपन्थको मजाक र क्षयीकरणबाहेक अरु केही होइन । 

salt training

कमेन्ट गर्नुहोस्