
मितव्ययिता अपनाउने भन्दै मन्त्रालयको संख्या घटाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्री नै नभएका मन्त्रालयमा भने स्वकीय सचिवको ओइरो लगाएका छन् ।
कार्की पुस २५ गते मुख्य मन्त्री भएका थिए । उनले दुई चरणमा गरेर मन्त्री मण्डल विस्तार गरेका थिए ।
दुई चरणमा मन्त्री मण्डल विस्तार गरेका कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैसँग राखेका छन् ।
दुई वटै मन्त्रालयमा चार जना स्वकीय सचिव तथा अन्य कर्मचारी नियुक्त गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रतीक ढकाल र खेमराज अधिकारीलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका छन् ।
यस्तै आर्थिक मामिला मन्त्रालयमा भने कार्यालय सहयोगीसहित ४ जना नियुक्त गरेका छन् ।
एक जना कार्यालय सहयोगी एक जना सूचना प्रविधि सहायक र दुई जना स्वकीय सचिव नियुक्त गरेका छन् । मनिस सिग्देललाई सूचना प्रविधि सहायकमा नियुक्ति गरेका छन् भने खगेन्द्र फुयाँललाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् ।
कमल पौडेललाई भने प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । पौडेल मुख्यमन्त्री कार्यालयमै बस्छन् । कार्की प्रदेश सभा सदस्य हुँदा पनि उनी स्वकीय सचिव थिए ।
मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा भने जीवन कार्की र प्रेस सल्लाहकारमा महेन्द्र विष्टलाई नियुक्त गरेका छन् ।
अन्य नियुक्त गरेका स्वकीय सचिव तथा अन्य कर्मचारीको नाम भने उनले सार्वजनिक गरेका छैनन् ।
मन्त्रीले आफ्नो सचिवालयमा ४ जनालाई नियुक्त गर्न पाउँछन् । ३ जना स्वकीय सचिव र एक जना कार्यालय सचिवलाई नियुक्ति गर्न पाउने कानुनी व्यवस्था छ । प्रमुख स्वकीय सचिव अधिकृतस्तरको हुन्छ भने एक जना नासु र एक जना खरिदार सोसरहको हुन्छन् ।
खर्च कम गर्न १२ वटा मन्त्रालयबाट घटाएर ९ वटा मन्त्रालय बनाएको भन्दै भाषण गर्ने मुख्यमन्त्री कार्कीले भने मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्ताहरूलाई भर्ती गरेका हुन् ।
मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा समेत प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले कुनै चासो देखाएका छैनन् ।