
नेपाली राजनीतिक इतिहासमा बी.पी. कोइराला बहुगुणबाट स्थापित नाम हो । नेपाली कांग्रेसका संस्थापक कोइरालाको सिद्धान्त, निष्ठा, विचार, आदर्श, संघर्ष र साहित्य सिर्जनाले पुर्याएको योगदानको व्याख्या गरिसाध्ये छैन । प्रजातान्त्रिक समाजवादको बहसलाई यहाँसम्म ल्याएर मान्यता स्थापित गर्नुमा कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक धार र नेतृत्वको भूमिका छ ।
उनले अख्तियार गरेको सिद्धान्त, विचारको के कति विचारधारात्मक व्याख्या, विश्लेषण भए ? बी.पी.का अनुयायीहरू प्रजातान्त्रिक समाजवाद र कांग्रेसलाई अलग बनाएर व्याख्या गर्न सक्दैनन् । उनको वैचारिकी पक्षमा सहमत, असहमत हुने अर्कै पाटो हो ।
नेपाली राजनीतिका शिखरपुरुष बी.पी. कोइरालाको कुन पाटोबाट व्याख्या गर्ने आ–आफ्ना दृष्टिकोणका आधारमा हुन सक्छन् । कोइराला २००७ सालको क्रान्तिको नेतृत्व गरेर १०४ वर्षको राणा शासन फाल्न सफल भए । त्यतिले मात्रै नभई २०१५ सालमा दुईतिहाई बहुमत सरकारको नेतृत्व बी.पी. कोइरालाले नै गरे । उनैले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा डोहोर्याए र आफ्नो प्रधानमन्त्रीकालमा मुलुकबाट सामन्ती प्रथाका थुप्रै अवशेषहरू हटाए ।
उनले आफ्नो १८ महिने कार्यकालमा आर्थिक, सामाजिक र प्रशासनिक विकासका निम्ति सुस्पष्ट खाका कोरे । नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘प्रतीक’ मानिने बी.पी. आधुनिक नेपालमा गएको शताब्दीभित्र अन्तर्राष्ट्रिय पहिचान बनाएका एक राजनीतिक व्यक्तित्व हुन् ।
‘प्रजातन्त्र सफलताका लागि आर्थिक विकास हुनुपर्छ । गरीबी रहेको मुलुकमा विकासका लागि पूँजी चाहिन्छ । जनतालाई परिचालन गर्न प्रजातन्त्र चाहिन्छ । प्रजातन्त्रविना जनता परिचालित हुँदैनन्’, बी.पी.को मुख्य ध्येयप्रति अहिलेसम्म विवेचना हुने गरेको छ ।
प्रजातन्त्रको अभ्यासका लागि वाक् तथा प्रेस स्वतन्त्रता, बहुदलीय व्यवस्था, मानव अधिकारको प्रत्याभूति, नागरिकहरूमा समान अधिकार, बालिक मताधिकार पाउनु हो भन्नेमा बी.पी. सहमत थिए । यी मूलभूत पक्षसँगै आधुनिक नेपालको विकासे अवधारणा बी.पी.कै प्रजातान्त्रिक समाजवादको सेरोफेरोमा उदय भएको देखिन्छ ।
नेपालको विकासे इतिहास के हो त ?
बी.पी.ले अंगालेको प्रजातान्त्रिक समाजवादको धार सँग–सँगै आधुनिक नेपालको सन् १९५० विकासे इतिहास अध्ययन गर्न मानसिव देखिन्छ । सन् १९५० मा नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले नेपालको विकासका सम्भावना र समस्याहरूबारे अध्ययन गर्न स्वीट्जरल्यान्डबाट ‘स्वीस–नेपाल फरवार्ड टीम’ झिकाएका थिए । जुन टीममा टोनी हागन एक सदस्यका रूपमा सहभागी थिए । उनले नेपालको विकास मोडेलसम्बन्धी लामै व्याख्या गरेका छन् ।
प्रधानमन्त्री मोहनशमशेरका छोरा विजयशमशेर र प्रधानमन्त्रीका दूत भीमबहादुर पाण्डेले सन् १९४० को दशकको अन्त्यतिर यूरोपका धेरै मुलुक भ्रमण गरे । विजयशमशेर र पाण्डेले नेपालको विकासे मोडेल स्वीट्जरल्यान्डको जस्तो उपयुक्त हुने सुझाएका थिए । त्यसैको आधारमा ‘स्वीस–नेपाल परवार्ड टीम’ अध्ययनका लागि नेपाल आएको थियो ।
संयोग, पहिलो जननिर्वाचित बी.पी. कोइराला सरकारका अर्थमन्त्री सुवर्णशमशेर राणालाई सन् १९६० मा स्वीट्जरल्यान्ड भ्रमणमा निम्त्याइएको थियो । राणालाई त्यहाँको जलविद्युत् विकासबारे अवलोकन गराइएको थियो । अवलोकनबाट अर्थमन्त्री राणा खुशी भएको हागनले उल्लेख गरेका छन् ।
नेपालको विकासे अवधारणाका क्रममा विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको भूमिका मुख्यरूपमा देखिन्छन् । विश्व बैंकले नेपालको विकासमा सहयोग गरेको सन् १९६९ देखि हो । विश्व बैंक कुन परिस्थितिमा स्थापना भएको थियो ? यसका लगानी र त्यसबाट ‘नव उदारीकरण’ले ऋणी मुलुकहरूको अवस्था कसरी गुज्रिँदै छन् भन्ने विषय अलग छ । तर, नेपालको विकासे अनुभवमा विश्व बैंक पहिलो नम्बरमा आउँछ । उसले नेपालको दूरसञ्चारको क्षेत्रमा पहिलोपटक ऋण प्रवाह गरेको थियो ।
त्यसपछि खानेपानी, सिँचाइ, जलविद्युत्, बाटो, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आयो । बैंकले अघि सारेका पश्चिमावादबाट निर्देशित आर्थिक अवधारणा स्थानीय तहमा सुहाउँदै सुहाएन भन्ने कैयन आरोपहरू छन् । यी आरोपहरू रहँदारहँदै पनि नेपालको विकासे अवधारणा र मानक यसैलाई मानिन्छ । यसैको नेराघेरामा पछिल्लोपटकको आर्थिक पक्षको विश्लेषण हुने गरेको छ । यो विकासे मोडलको गहन अध्येतामध्ये युवा पुस्तामा डा. स्वर्णिम वाग्ले अग्रस्थानमा पर्छन् ।
नव उदारवादका पछिल्लो भेरियन्ट स्वर्णिम
बी.पी.को प्रजातान्त्रिक समाजवादको आलोकमा उदाएका स्वर्णिमको दक्षता, अध्ययन र निष्ठामा कसैले प्रश्न खडा गर्न नसक्ला । भलै उनले लिएको चिन्तन, दर्शन र व्याख्याले नवउदारवादको पछिल्लो व्याख्यता भने हुन् । बी.पी.को प्रजातान्त्रिक समाजवादको अथ्र्याइँ २०४८ यता गठित नेपाली कांग्रेस नेतृत्व सरकारले लिने अर्थ नीति ‘नव उदारवाद’मै केन्द्रित छन् । चार महिना अघिसम्म वाग्ले कांग्रेसले अख्तियार गर्ने सोही नीतिकै व्याख्याकार थिए ।
‘कांग्रेसको मूलमन्त्रः संविधान र लोकतन्त्र
असल शासन, समुन्नति, बलियो अर्थतन्त्र’
यो नारा नेपाली कांग्रेसको २०७९ को चुनावी घोषणापत्रको हो । यसको खाका कोर्ने एक महत्त्वपूर्ण भूमिकामा थिए, स्वर्णिम । यतिखेर उस्तै नारा लिएर रास्वपामा प्रवेश गर्दै तनहूँ– १ को उप–चुनावी मैदानमा छन् । वाग्लेले आफ्नो चुनावी घोषणामा भनेका छन्, ‘जनउत्तरदायी लोकतन्त्र र भ्रष्टाचाररहित राजनीति, रोजगारी र उत्पादन वृद्धिसहितको मजबुत अर्थतन्त्र, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक न्यायसहितको समुन्नति, जलवायु परिवर्तन र वातावरणमैत्री विकास, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित नेपाली छवि ।’
उनी रास्वपामा प्रवेश गर्नु एउटा संयोग मात्रै होइन । कतै कुनै परियोजनाको उद्देश्य प्राप्ति गर्नु पनि हुन सक्छ । यतिखेर विश्वमै नवउदारवादले लिएका नीति ध्वस्त हुने डिलमा पुगिसकेको छ । यही बेला वाग्लेले एक टिकटका लागि एकाएक बी.पी.को फोटोलाई रास्वपाका सभापति रवि लामिछानेको ‘बुख्याचा’मा टाँसेर हेरेका छन्, व्याख्या गरेका छन् ।
नव उदारवादबारे धेरै व्याख्या, टिप्पणी छन् । नवउदारवाद कसरी उदाउँछ भन्ने सोझो हिसाबका उदाहरणहरू अध्ययन गर्न जरुरी छ । नव उदारवादले शहरी केन्द्रहरूको विकास, शहरतर्फको बसाइँसराइ, कृषि उत्पादनबाट औद्योगिक उत्पादनतर्फको फड्को मार्ने जबरजस्त प्रयासमा रहन्छ । त्यसका लागि अन्ततः पूँजी आवश्यक पर्छ । उक्त पूँजीको जोहो तेस्रो विश्वका सरकारहरूले अन्तर्राष्ट्रिय संघसंस्थाहरू र विकसित राष्ट्रहरूसँग प्रचुर मात्रामा ऋण लिनुको विकल्प हुँदैन ।
ऋण शर्तसहित नै लिइन्छ । नव उदारवादका अनुयायीहरू यस कुरामा ध्यान दिँदैनन् कि राष्ट्रको आर्थिक, सामाजिक र राजनैतिक चरित्रसँग यसले मेल खान्छ कि खाँदैन भन्नेमा । ऋणको महत्त्वपूर्ण भाग भ्रष्टाचारको खुराक बन्ने गरेको छ । विकासे परियोजनामा विदेशी सल्लाहकार, योजनाविद्हरूको तलबभत्ता र अनुत्पादक उपभोगमा ऋण लिएको पैसा खर्च हुने गर्दछ । यतिखेर यही नव उदारवादीको चरित्र ठ्याक्कै मुलुकले बेहोर्नुपरेको छ । यसैको नेराघेरामा रहेर वाग्लेले आफ्नो विज्ञता प्रस्तुत गर्छन् ।
डा. स्वर्णिम वाग्लेलाई बाहिरी परिचयमा राख्दा रास्वपाले भनेको छ, ‘उत्कृष्ट क्षमता, स्वच्छ छवि र निष्ठाको राजनीतिमार्फत आर्थिक रुपान्तरणको नेतृत्व गर्ने ध्येय । बुढानीलकण्ठ २०४६ एसएलसी सर्वोकृष्ट द्वितीय (बोर्ड सेकेन्ड), लण्डन स्कूल अफ इकोनिमिक्स (बेलायत), हार्वर्ड विश्वविद्यालय (अमेरिका), अस्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्चशिक्षा प्राप्त । संयुक्त राष्ट्र संघलगायत विश्वको विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय दुई दशकको अनुभव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनिसकेका ।’
उनको यो उचाइप्रति कसैको शंका छैन । तर, विचारधारात्मक हिसाबले शून्य तर एजेन्डाबाट लोकरिझ्याइँमा उम्रेको रास्वपा सभापति रविलाई बी.पी.सरह देख्ने ‘स्वर्णिम’चाहिँ नव उदारवादका पछिल्लो भेरियन्ट मात्रै हुन् ।
मूलधारका दलहरूप्रति पुर्ख्यौली विरासतका आधारमा नयाँ पुस्ताले विश्वास गरेका छैनन् । पछिल्लो जनमतले यसको पुष्टि गरिसकेको छ । स्वर्णिम प्रजातान्त्रिक विचारधाराका युवा हुन् । यसमा कांग्रेसलाई क्षति भयो भनेर नेकपा (एमाले)सहित वामपन्थीहरू खुशी हुने कुनै कारण छैन । दक्षता, क्षमताका हिसाबले स्वर्णिम जति नहुन सक्छन्, तर सयौं उर्जाशील युवाहरूको मोह पुराना दलहरू कांग्रेस, एमाले, माओवादीबाट भंग हुँदै गएको छ ।
‘गतिशील समाजको आवश्यकताअनुसार आफूलाई सुहाउँदो राजनैतिक पद्धतिको विकास गर्नुपर्छ । वंश–परम्पराको आधारबाट मात्र सत्तामा आसीन भएका व्यक्तिले यस गतिशील समाजको नेतृत्व गर्न सक्दैनन्’, यो अंश बी.पी.ले अर्कै प्रसंगमा भनेका छन् । पुरानो ढर्रामा चल्ने दलहरू युवापुस्ताप्रतिको दृष्टिकोण बदल्ने काममा कति अग्रसर हुन्छन्, त्यसले धेरै कुरा निर्धारण गर्नेछ ।