कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडाैं | असार १, २०८०
सिन्धुपाल्चोकको हेलम्बुका ६५ वर्षीय बाबुराम भण्डारी घरायसी काममा व्यस्त हुन्थे । छोरा माधव भण्डारीले पीठो पिँध्ने मिल सञ्चालन तथा भैंसीपालन सहितका कृषिजन्य व्यवसाय गर्ने भएकाले उनलाई सघाउनु बाबुरामको दैनिकी थियो ।
बस्नलाई हेलम्बु बजारमै साढे दुई तल्लाको घर थियो, अर्को एउटा पुरानो घर त छँदै थियो । घरनजिकै ८ रोपनी जग्गा पनि थियो । मेलम्ची खोलाबाट सिञ्चाइ हुने भएकाले उब्जनी पनि राम्रो थियो । श्रीमती बालकुमारी, कमाउने छोरो, जाँगरिली बुहारी साथमा ४ वर्षको नाति, बाबुरामको परिवार निकै खुशी थियो । बाबुरामले ठानेका थिए, ‘अब दुःखका दिन सकियो ।’
तर सोचेको जस्तो कहाँ हुन्थ्यो र, बाबुरामको जिन्दगीमा अर्को एउटा अध्याय बाँकी नै रहेछ । कहिल्यै नसोचेको पीडा भोग्नुपर्यो, २०७८ असार १ गते राति ।
असर १ को त्यो रात
दिनभरी पानी परिरहेको थियो । गर्मी महिनामा पानी पर्दा शीतल पनि भयो । कतिले रमाइलो पानी माने । रात छिप्पिँदै जाँदा पानी पनि बढ्दै गयो । मेलम्ची खोलाको सतह बढ्दै गयो । छेउमा धेरै स्थानीयको माछा पालन पनि थियो । स्थानीय माछालाई जोगाउन लागि परे ।
त्यतिकैमा राति ८ बजेतिर हेलम्बु गाउँपालिकामा रहेको प्रहरीचौकी नजिक एउटा घरमा पानी पस्यो । घरमा पानी पसेको कुरा बाबुरामका छोरा माधवले प्रहरीलाई खबर गरे । माधव पनि उद्धारमा खटिए । तर, त्यो घरमा मान्छेले ‘हामीलाई केही हुन्न’ भनेपछि माधवसहितको टोली फर्कियो ।
बाबुराम र माधव घरको पहिलो तलामा कुरा गरेर बसिरहेका थिए । माछा जोगाउन गएकाहरू अझै नफर्किएको भन्ने विषयमा कुराकानी भइरहँदा माधव उनीहरूलाई लिन जान्छु भनेर घरबाट निस्किन तयार भए । मोबाइल भिज्छ भनेर बुवालाई राख्न दिएर तल ओर्लिएका माधव क्षणभरमै बाढीमा हराए ।
‘पानीले भिज्न सक्छ भनेर छोराले मलाई मोबाइल राख्न दियो । उनीहरूलाई फर्काएर ल्याउँछु भनेर छोरो निस्कियो, मैले मोबाइल लिएँ,’ त्यो अकल्पनीय क्षणको स्मरण गर्दै बाबुरामले भने, ‘छोरो २० पाइला पनि अघि बढेको थिएन, कता हरायो कता ?’
उनले थपे, ‘तलबाट पानी उम्लिएको हो कि माथिबाट बर्सिएको हो, एक्कासि ठूलो बाढी आयो । छोरो क्षणभरमै हरायो । सोच्दै नसोचेको कुरा भयो ।’
हेलम्बु क्षेत्रमा बाजेको पालादेखि नै उनीहरूको जग्गा थियो । पाँच भाइलाई भाग लगाएर बाबुरामको भागमा ८ रोपनी जग्गा परेको थियो । खेती गर्न सजिलो होस् भनेर उनीहरू २०४५ सालमा फाँटमा झरेका हुन् ।
‘त्यति बेला यहाँ घर थिएनन्, खेती गर्न सजिलो हुने हुँदा हामी यहाँ झरेका हौं,’ उनी भन्छन्, ‘पछि मेलम्ची खानेपानी आयोजनाले बाटो निर्माण गरेपछि यो क्षेत्रको मुहार फेरिन थाल्यो । माथिका मान्छेहरू पनि यहाँ झर्न थाले । विस्तारै शहरजस्तै हुँदै थियो ।’
बाबुरामले पनि धेरै मिहिनेत गरे । छोरालाई हुर्काए, पढाए पनि । ३१ वर्षको उमेरमा माधवले बुबालाई विश्राम दिँदै व्यवहार आफ्नै जिम्मामा लिए । माधवले साढे दुई तल्लाको घर बनाए । मिल खोले । भैँसी फार्म खोले । जग्गाहरूमा राम्रो उब्जनी हुन्थ्यो । उनी आफ्नो व्यवसायलाई विस्तार गर्ने सोचमा थिए । गाउँका जो कोहीलाई परे पनि सहयोग गर्न तत्पर हुन्थे, माधव । तर, जिन्दगी लामो समय जान सकेन ।
बाबुरामको जीवनभरको कमाइ क्षण मै बगरमा परिवर्तन भयो । बुढेसकालको सहारा एवं भविष्यको आशा भरोसा गुमाए । ‘छोरो मात्रै बाँचेको थियो भने पनि हामीलाई केही पीडा हुँदैनथ्यो । हामीसँग अहिले बुढीऔंला जति पनि जग्गा बाँकी छैन ।’
भक्कानिँदै उनले थपे, ‘त्यतिखेर हामीचाहिँ कसोकसो गरी बाँच्यौं, बरु उमेर पुगेका हामीलाई लगेको भए हुन्थ्यो, जो बाँच्नुपर्ने उसलाई चाहिँ लग्यो ।’
छोरो हराएपछि आमा बालकुमारी बेहोश भइन् । होश आउनै तीन दिन लाग्यो । छोराको यादमा आजसम्म पनि उनका आँखा रसाइरहन्छन् ।
‘छोरा गुमाउँदाको पीडा कस्तो हुन्छ, हामी भोग्नेलाई थाहा हुन्छ । हामीले सबैथोक गुमायौं । म मुटुरोगी छु । भएको छोराले छाडेर गयो । नातिलाई पढाउन पनि गाह्रो छ,’ बालकुमारीले भनिन् ।
अहिले उनीहरूले हेलम्बु गाउँपालिका अगाडि एउटा टहरोमा आश्रय लिएका छन् ।
‘हामी यही छाप्रोमा बसिरहेका छौं । वर्षको पाँच हजार भाडा तिर्नुपर्छ । आफ्नो भन्ने त एक टुक्रो जग्गा पनि बाँकी रहेन,’ बाबुरामले भक्कानिँदै भने, ‘केही मेरो हैन रहेछ, छोरो पनि मेरो होइन रहेछ, सम्पत्ति पनि मेरो होइन रहेछ, जति दुःख गरें, जति पसिना बगाएँ, त्यो केही मेरो होइन रहेछ ।’
यति ठूलो समस्यामा पर्दा पनि राज्यका तर्फबाट कुनै सहयोग नभएको उनीहरूको गुनासो छ ।
‘बाढी जाँदा संघ–संस्थाले दुईचार बोरा चामल ल्याएर दिए, हामीले पाएको त्यही हो । अहिले न छोरो छ, न राहत छ’, यति भन्दै गर्दा उनको आँखामा बलिन्द्र आँसु थियो ।
घर बनाउनका लागि राज्यले ५ लाख रुपैयाँ दिने भन्ने सुनेका छन्, तर बनाउने जग्गा बाँकी नरहँदा रनभुल्लमा छन् ।
ठूल्ठूला ढुंगा थुप्रिएर बगर बनेको जग्गा बोटविरुवा रोप्न मिल्ने खालको मात्र बनाइदिए पनि हुन्थ्यो भन्ने उनीहरूको अपेक्षा छ । ‘कम्तीमा रुख रोप्न मात्र पाए पनि त केही वर्षपछिलाई सहारा हुन्थ्यो,’ बाबुरामले भने ।
०००
सिन्धुपाल्चोकको भ्रेमाथाङमा गएको पहिरोका कारण मेलम्ची खोलामा बाढी आयो । वर्षायाम शुरू हुन लाग्दा मेलम्ची खोला छेउमा बस्नेहरू त्राहिमाम् भए । ६६३ परिवारले करोडौं मूल्य बराबरको सम्पति गुमाए ।
घर, होटल, माछा पोखरी, पशुचौपाया जे थियो सबै बग्यो । हेलम्बु क्षेत्रमा बाढी आउँदैछ भन्ने भरपर्दो सूचना समयमै नपाउँदा धेरैले ज्यान गुमाए । तल्लो भेगमा भने मानवीय क्षति कम भयो ।
यता सडक संरचना, विद्यूत आपूर्ति, पुल लगायतका संरचनामा पनि ठूलो क्षति भयो । घटना भएको दुई वर्ष पुगेर तेस्रो वर्षमा लाग्दै गर्दा पीडितहरूले राहत महसूस गर्न पाएका छैनन् ।
सरकारी कदमप्रति मेलम्ची नगरपालिका क्षेत्रका स्थानीय भने निकै रुष्ट छन् । सरकारले दिने भनेको रकम पनि अपर्याप्त रहेको उनीहरूको गुनासो छ ।
‘सरकारले पाँच लाख दिने भनेको छ, हामीलाई घर बनाउन ३० लाख लाग्छ,’ मेलम्चीका स्थानीय लक्ष्मीप्रसाद श्रेष्ठ भन्छन्, ‘७ लाख रुपैयाँ त बाढीले पुरेको घर खोल्नै लाग्यो ।’ यहाँ ९० प्रतिशत पीडितले घर बनाएका छैनन् ।
फेरि पनि त्यस्तै बाढी आउने हो कि भन्ने त्रासमा उनीहरू छन् । ‘बाढी आयो भने भाग्न तयार रहनुपर्ने हुन्छ, वर्षा लागेपछि त्रसित हुन्छौं ।’
मेलम्चीका मेयर भन्छन्, ‘गर्नुपर्ने धेरै काम गरिसकेका छौं’
स्थानीयले सरकारको आलोचना गरिरहँदा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ भने आफूले गर्नुपर्ने काम गरिरहेको बताउँछन् ।
‘निर्माणको ८० प्रतिशतसम्म काम सकिसकेका छौं । असारसम्म सबै काम सक्छौं । बजेट एक अर्ब ७८ करोड खर्च गरेको छौं,’ उनी भन्छन्, ‘बाँकी काम त प्राविधिक प्रतिवेदन आएपछि मात्रै थाहा हुन्छ ।’
उनले बाढीमा परेका जग्गाहरूको मूल्यांकन गर्नु आवश्यक नरहेको बताए । ‘हामीले कति जग्गा परेका छ भनेर मूल्यांकन गरेका छैनौं । आवश्यक पर्नेले आएर मूल्यांकन गराएका छन् । बैंकहरूमा राखिएका घरको मूल्यांकन पनि भएको छ ।’
स्थानीयले धेरै काम बाँकी रहेको बताइरहँदा मेयर भन्छन्, ‘जे होस्, हामीले गर्नुपर्ने काम गरिसकेका छौं ।’
‘...नत्र हामी मेलम्चीको पानी रोकिदिन्छौं’
यता हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने स्थानीयको मुद्दामा निकै सचेत देखिए ।
‘हामी स्थानीय तहले सक्ने जति काम गरेका छौ । त्योभन्दा माथि प्रदेश तथा संघीय सरकारको ध्यान यो क्षेत्रमा छैन । यति ठूलो क्षति भएको छ । नागरिक पीडामा छन् । व्यवसायी डुबेका छन्,’ उनी भन्छन्, ‘तर बजेटले यहाँको समस्या देखेन ।
प्रधानमन्त्री, अर्थमन्त्री तथा कांग्रेस सभापतिका क्षेत्रमा मात्रै बजेट गएको गुनासो गर्दै उनले यहाँका सोझासाझालाई हेप्ने काम भए काठमाडौं जाने मेलम्चीको पानी रोकिदिने चेतावनी दिए ।
‘काठमाडौंका नेताहरूले मेलम्चीको पानी देखाएर चुनाव जिते, तर यहाँ यति ठूलो आपत्ति पर्दा हेरेनन् । तेस्रोपटक बजेट आउँदा पनि यो क्षेत्र प्राथमिकतामा परेन,’ उनले थपे ।
भौतिक प्रगति सुस्त
मेलम्चीदेखि अम्बाथानसम्म जाने बाटोको कच्चीबाटो निर्माण भएको छ । खोलाको दायाँबायाँ करीब १० किलोमिटर अस्थायी तारजाली लगाइएको छ ।
खोला गहिर्याउने कार्य जारी छ भने रातो पुलमा बेलिब्रिज निर्माण र मेलम्ची बजारमा भत्किएको पुल निर्माणको प्रक्रिया जारी छ ।
यस्तै सुस्त गतिमा काम हुने हो भने मेलम्ची बजार र हेलम्बु क्षेत्र पुरानै अवस्थामा फर्किन वर्षौं लाग्ने देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार दुई वर्षअघि गएको बाढीका कारण मेलम्ची नगरपालिकामा २७१ परिवारले केही न केही सम्पत्ति गुमाए । त्यस्तै हेलम्बु गाउँपालिकामा ३९२ जना पीडित छन् । तथ्यांकअनुसार दुवै स्थानीय तहमा गरी कुल ६६३ परिवार लाभग्राही रहेका छन् ।
हेलम्बुमा १२२ लाभग्राहीले सरकारले दिने भनेको पाँच लाख लिएर आफ्ना घर पुनिःनिर्माण गरेका छन् । यता मेलम्चीमा भने जम्मा १५ जना लाभग्राहीले मात्रै पुनःनिर्माण गरेका छन् । यसरी अझै ५२६ लाभग्राही पुनःनिर्माणको प्रतीक्षामा छन् ।
मेलम्चीमा ७ र हेलम्बुमा ४ परिवारका लागि घर बनाउन जग्गा खरिद गर्नुपर्ने देखिएको जिल्ला प्रशासनको तथ्यांक छ । तर बाबुरामजस्ता पीडित भने जग्गा खरिदको लाभबाट वञ्चित भएका छन् । सरकारले जग्गा खरिदका लागि ५४ लाख खर्चे पनि कतिपय वास्तविक लाभग्राही छुटेका छन् ।
हेर्नुहोस्, भिडियो :
हेर्नुहोस्, थप तस्वीरहरू :
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...