०७ साउन २०८३, बिहीबार
भीम रावलविनाको पार्टी अधिवेशन

एमाले सुदूरपश्चिम अधिवेशन : भीम रावललाई पूरै बेवास्ता, नतिजामा कस्तो पर्ला प्रभाव ?

असोज २३, २०८०
काठमाडौं
एमाले सुदूरपश्चिम अधिवेशन : भीम रावललाई पूरै बेवास्ता, नतिजामा कस्तो पर्ला प्रभाव ?

नेकपा एमालेले नेता भीम रावललाई सुदूरपश्चिमको प्रदेश अधिवेशनमा पूरै बेवास्ता गरेको छ । 

आइतबार कैलालीको धनगढीमा तामझामपूर्ण प्रदेश अधिवेशन उद्घाटन गर्न अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्टसहितका नेता पुगेका थिए । 

तर, त्यहाँ पूर्व उपाध्यक्ष एवं सुदूरपश्चिमका प्रभावशाली नेता रावललाई आमन्त्रण गरिएन । रावललाई उद्घाटनस्थलमा नदेखेपछि नेता कार्यकर्ताले अध्यक्ष ओली बोल्दै गर्दा पनि उनको खोजी गरेका थिए । 

ओलीले सुदूरपश्चिममा एमाले कमजोर भएको र दुई सिटमा मात्रै जितेको प्रसंग निकालेर भाषण गर्दा कार्यकर्ताले रावल खोई भन्दै कार्यक्रममा होहल्ला गरेका थिए । पटक-पटक ‘भीम रावल जिन्दावाद’ उनलाई कार्यक्रममा किन बोलाइएन ? भन्दै प्रश्न गरेपछि ओलीले ‘तपाईंहरू चुप लाग्नुस् साथीहरू’ भनेका थिए । 

ओलीले नाराबाजीपछि रावलको नाम लिएनन् । तर, गल्ती गर्नेलाई क्षमा दिने र पार्टीका गतिविधिमा फर्काउन सकिने बताएका थिए । रावललाई बोलाइएको वा नबोलाइएकोबारे केही बताएनन् । 

null

गत निर्वाचनमा ओलीले रावललाई अछामबाट टिकट दिएका थिएनन् । जसको असर बैतडी र कञ्चनपुर १ मात्र एमाले विजयी भएको थियो । एमालेको विभाजन र रावलसँग दुष्मनी साँध्दा प्रभाव भएका क्षेत्रसमेत एमालेले गुमाएको थियो । 

यी तिनै रावल हुन्, जसले चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओलीलाई सर्वसम्मत हुन दिएका थिएनन् । आफू सर्वसम्मत हुन नसकी रावलसँग भिड्नुपरेपछि ओलीले उनीसँग बदला लिँदै आएका छन् ।

यसै बदला स्वरूप रावलले गत प्रतिनिधिसभा निर्वाचनमा टिकटसमेत पाएनन् । 

एमालेमा एकपछि अर्को चुनौती बढ्दै गएपछि ओलीले गत साउनमा रावलसँग केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा भेटेर मिलेर जान सकिने संकेत गरेका थिए । तर, त्यसपछि पनि उनीहरूबीच सौहार्द सम्बन्ध अगाडि बढ्न नसकेको बताइन्छ । 

सुदूरपश्चिमको अधिवेशनमा रावल उपस्थित नभएपछि तपाईं किन नजानुभएको भन्ने प्रश्नमा उनले नबोलाइएको जानकारी दिए । 

‘म अधिवेशनमा नगएको होइन । नबोलाइएको हो । निमन्त्रणा आउला भनेर अछाममै बसेको थिए । तर आएन । यसैले अधिवेशनमा गइनँ । अछामबाटै धनगढीको अधिवेशन नियालिरहेको छु । म आफूले चाहेर एमालेमा निष्क्रिय भएको होइन, पार्टीले भूमिका नदिएर हो,’ रावलले भने, ‘अब के गर्ने भन्ने तत्काल केही सोचेको छैन । केही दिनमा काठमाडौं जान्छु अनि कसरी अगाडि बढ्ने तय गर्छु । अधिवेशनमा मेरो त्यस्तो केही तयारी र लाइन छैन । बन्दसत्र शुरू हुन लाग्यो भन्ने सुनेको छु ।’

कार्यक्रममा कर्णालीका इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापा बोलाइँदा रावललाई भने पार्टी बोलाउन आवश्यक नठानेको हो । रावललाई किन नबोलाएको हो भन्ने प्रश्नमा सुदूरपश्चिमका इञ्चार्ज छविलाल विश्वकर्माले रावललाई प्रदेश अधिवेशनका विषयमा चासो नहुने जवाफ दिए ।

‘भीम रावल हाम्रो केन्द्रीय नेता हो । उहाँको चासो केन्द्रका पदाधिकारी र सदस्यमा मात्रै हुन्छ । प्रदेश, जिल्ला, क्षेत्र र पालिका र वडामा उहाँलाई चासो छैन,’ गत शनिबार अधिवेशनको तयारीबारे विश्वकर्माले भनेका थिए । 

यसअघि भएका प्रदेश अधिवेशन पनि आफू अनुकूल बनाउन अध्यक्ष र उनको पक्षले इतर पक्षका प्रभावशाली नेतालाई अधिवेशनमा निष्क्रिय राख्ने प्रयास गरेको थियो ।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल, बागमतीमा गोकुल बास्कोटा, कोशीमा सचिव योगेश भट्टराई, कर्णालीमा यामलाल कँडेल र गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई ओलीले निष्क्रिय गराउन हदैसम्मको पहल गरेका थिए । तर, बागमतीमा गोकुल र कोशीमा भट्टराईलाई अधिवेशनमा आफ्नो पक्षमा लगाउनेबाहेक अरू प्रदेशमा नेताहरूको सक्रियता रोक्न ओली असफल भएका थिए । 

सुदूरपश्चिममा पनि प्रभावशाली नेतालाई अधिवेशनबाट बाहिरै राखेर आफू अनुकूलको नेतृत्व चयन गर्ने रणनीति ओलीले लिएको बताइन्छ । एमाले केन्द्रीय सदस्य लालबहादुर थापा भीम रावल किन अधिवेशनमा नआएको भन्नेमा आफूहरू जानकार नभएको बताउँछन् । 

‘उहाँ जत्तिको नेता प्रदेश अधिवेशनको महत्त्वपूर्ण कार्यक्रममा आउनुपर्ने हो । बोलाएको भए आउनुपर्ने हो । नआउनुपर्ने कारण केही थिएन,’ उनी भन्छन्, ‘यसमा हामीले बाहिरबाट भन्ने केही हुँदैन, किन आउनु भएन भन्नेमा आयोजकले नै जवाफ दिनुपर्छ ।’

रावललाई चिढ्दाउँदाको जोखिम कति ? 

सुदूरपश्चिममा अघिल्लोपटक १६ मध्ये १४ वटा सीटमा एमाले विजयी भएको थियो । तर, जब रावलले गत निर्वाचनमा टिकट पाएनन्, तब एमालेको चुनावी नतिजामा त्यसको प्रभाव देखियो । पार्टी जम्मा दुई सिटमा सीमित हुन पुग्यो । 

पार्टी विभाजन भएको बेलामा सुदूरपश्चिममा प्रभाव राख्नै नेता रावललाई बेवास्ता गर्ने र पूर्व माओवादीका लेखराज भट्टलाई धेरै भाउ दिएको मन नपाउने केन्द्रीय सदस्यहरू नै छन् । एमालेका एक केन्द्रीय सदस्य नेता विशेषको विरोधमा सुदूरपश्चिममा नै एमालेलाई अलोकप्रिय बनाउने बाटोमा नेतृत्व हिँड्नुले संकटमात्रै निम्त्याउने बताउँछन् ।

null

‘रावल जब पार्टीमा सक्रिय थिए, १६ मध्ये १४ सिट हात परेको थियो । तर, जब अध्यक्षसँग चुनाव भिडेकै आधारमा रावलले टिकट पाएनन्, तब पार्टी २ सिटमा झरेकोबारे सबै भुक्तभोगी छौं,’ एमालेका ती नेता भन्छन्, ‘तर एउटा जिम्मेवारी नेता रावललाई सामान्य निमन्त्रणा गरेर प्रदेश अधिवेशनमा नबोलाइनु दुःखद् छ । केन्द्रीय नेतृत्वले चाहेअनुसार नेतृत्व चयन गर्ला, तर यस्तैगरी रावललाई तिरस्कृत गरिरहे सुदुरपश्चिममा एमाले झन् कमजोर हुने क्रमलाई कसैले रोक्न सक्दैन ।’ 

पार्टी विभाजन, नयाँ पार्टीको चुनौतीको सामना गर्न एमालेलाई कठिन देखिइरहेको छ । यही बेला पार्टीका प्रभावशाली नेताहरूलाई कर्नरमा पार्न खोज्दा थप संकट निम्तिने उनको भनाइ छ ।

‘पार्टी विभाजनको बेला अर्कोतिर लागेर एमालेमा नरहेको भए यसरी दुस्मनीे र जे गरे पनि हुन्थ्यो । तर, पार्टीलाई विभाजनको बाटोमा लान हुँदैन भनेर साथ दिने नेतालाई यसरी पाइलैपिच्छे बेवास्ता गर्दाको बेफाइदा अरूले भोग्नुपर्दैन’ ती नेता भन्छन्, ‘नेताहरूका अनेक उक्साहटमा अहिले बदला लिएकोजस्तो लाग्ला तर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने नियतले पार्टीको हित हुँदैन ।’

के हुँदैछ सुदूरपश्चिम अधिवेशन ? 

अन्य प्रदेशमा पार्टी संस्थापनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिएका थिए । तर, लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकीमा नेतृत्वको चाहनाविपरीत चुनावबाट नतिजा आइसकेको छ । उपत्यका विशेषमा मात्रै नेतृत्वले चाहे जसरी सहमति भएको छ । सुदूर पश्चिममा पनि अध्यक्ष ओलीले सहमतिमै जोड दिएका छन् । महासचिव पोखरेललाई सहमतिबाटै नेतृत्व चयन गर्न दबाब दिँदै ओली काठमाडौं फर्किएका छन् । 

केन्द्रीय सदस्य लालबहादुर थापा पार्टी नेतृत्वको जोड सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा रहेको बताउँछन् । 

‘केन्द्रीय अध्यक्षले सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्छ भन्नेमा जोड दिनुभएको छ । हाम्रो अधिकतम कसरत पनि सहमति नै हो,’ उनी भन्छन्, ‘तर अमुक सहमतिमात्रै भनेर हुँदैन । न्यायका आधारमा ९ जिल्लाको अपनत्व हुने गरी पदाधिकारीमा सन्तुलन मिलाउनुपर्छ, नभए चुनावबाटै नेतृत्व चयन हुन्छ ।’

सुदूरपश्चिम एमाले अध्यक्षका लागि मुख्य गरी अछामका कृष्णप्रसाद जैसी, बचनबहादुर सिंह र कमल तिमल्सिना दाबेदार रहेको बताइन्छ । यीमध्येबाट नेतृत्वले चुनाव नगरी सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । निर्वाचन हुने अवस्था आए जैसी र तिमल्सिना मुख्य प्रतिस्पर्धी हुने एमालेका नेताहरू बताउँछन् । 

कुनै समय अध्यक्ष ओलीनिकट रहेका कर्णबहादुर थापा जैसीको पक्षमा खुलेर लागेका छन् । तर महासचिव पोखरेलले तिमल्सिनाको पक्षमा लबिङ गरिरहेको बताइन्छ । झपट रावल र गणेश ठगुन्नाले पनि पोखरेल पक्षकै तिमल्सिनाालाई साथ दिने बताइन्छ । बेवास्तामा परेका भीम रावल खुलेका छैनन् । 

उनी पनि जैसीको पक्षमा नभएको बताइन्छ । अध्यक्ष र महासचिवको पेलानले गर्दा उम्मेदवार बदले एउटा कुरा अन्यथा रावलले पनि तिमल्सिनालाई समर्थन सक्ने सक्ने समीकरण बन्ने एमालेका एक नेता बताउँछन् । 

तर, रावलको केन्द्रीय सचिव लेखराज भट्टसँग राम्रो सम्बन्ध छैन । यसैले भट्टले समर्थन गर्ने नेतालाई रावलले समर्थन गर्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् । 

 

salt training

कमेन्ट गर्नुहोस्