
कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पार्ने सकारात्मक तथा नकारात्मक असरबारे लेखिएका लेख खोजिरहेको थिएँ ।
भूकम्पले हल्लाएपछि तत्काल लोकान्तर डट्कमका कार्यकारी सम्पादक सुशील पन्त सरलाई फोन गरें । गूगलमा ‘सर्च’ गरेर हेर्दा नेपाल–भारतलगायतका क्षेत्रमा भूकम्प गएको देखायो । भूकम्प मापन केन्द्रको आधिकारिक वेबसाइटमा त्यतिबेलासम्म नयाँ तथ्यांक आइसकेको थिएन ।

यूएस जियोलोजिकल सर्भे ‘यूएसजीएस’को तथ्यांक स्क्रिन शर्ट गरेर अफिस ग्रुपमा पठाएँ । काठमाडौंमा मात्रै हल्लाएको होला भन्ठानेर आफ्नै काममा लागें । राति करिब साढे १२ बजेतिर सुतें । १८ गते बिहान पौने ५ बजे उठेर करिब ६ किलोमिटर ‘रनिङ’ गरी साढे ५ बजे कोठमा आइपुगेको थिएँ । अन्य समयजस्तै त्यतिबेला बल्ल सामाजिक सञ्जाल फेसबूक स्क्रोल गरें । ‘जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु’ शीर्षकमा समाचार आउन शुरू गरिसकेको रहेछ ।

तत्कालै प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतलाई फोन गरेर केही अपडेट लिएँ । अफिसमा बिहानी शत्रमा विनोद देवकोटा डेस्कमा हुनुहुन्थ्यो । जाजरकोटमा ४२ जना र रुकुम पश्चिममा ३२ जनाको मृत्यु भएको समाचार विनोदजीले बनाउनुभयो । मैले कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाललाई पनि फोन गरें । उनले आफू मुगुमा भएको हत्याको अनुसन्धानका लागि आएको र तत्कालै जाजरकोट जान हिँडेको भन्दै केही अपडेट दिए ।

शनिवारको दिन थियो । सामान्य अवस्थामा मेरो साप्ताहिक बिदा पनि । तर, पत्रकारलाई के बिदा ? अफिस जाने तयारीमा जुटेँ । बिहान करिब सवा ७ बजेको थियो, सम्पादक विमल गौतमको फोन आयो– ‘हेलो गगन, कहाँ छौ ?’ मैले जवाफ फर्काएँ, ‘सर म घरमै छु ।’ ‘फिल्ड रिपोर्टिङका लागि जाजरकोट जान तिमी तयार भइहाल, कसलाई लिएर जान्छौ ?’ ६ वर्षयता लोकान्तरमा काम गर्दा यस्ता विपत्तिसहित हरेक खालका घटनामा फिल्डमा गएको अनुभव छ । कहिले विपत्ति, कहिले चुनावका शिलशिलामा पूर्वमा इलामदेखि पश्चिममा डडेल्धुरासम्म पुगेको छु ।
लोकान्तरले यस्ता घटना हुँदा तत्कालै फिल्डमा पठाउने गरेको छ । विमल सरको दोस्रो फोन आयो, ‘को जाने भयो तिमीसँग ?’ मैले सोच्न भ्याइसकेको थिइनँ । ड्रोन क्यामेरा समेत लैजाने भनेपछि ड्रोन चलाउने प्रकाश बुढाथोकीजीलाई लैजाने सल्लाह भयो । प्रकाशजीसँग सम्पर्क भएर कुराकानी हुँदा बिहान साढे ८ भइसकेको थियो ।

अफिसमा आएर सामान लिई एयरपोर्टतर्फ लाग्यौं । सुर्खेतका लागि प्लेनको टिकट नपाएपछि नेपालगञ्ज जानुपरेको थियो । त्यहाँ पनि टिकट प्याक भयो । केही मिनेटको अन्तरमै टिकटको शुल्क दोब्बर भएको थियो ।
बल्लतल्ल एउटा बुद्ध एयर र अर्को श्री एयरको टिकट मिल्यो । पौने १० बजे विमानस्थल प्रवेश गर्न भनिएकोमा मध्याह्न १२ बजे मात्र विमान चढियो । करिब ४५ मिनेट विमानभित्र कुरेपछि नेपालगञ्जतर्फ उडियो । १ घण्टाको उडानमा म नेपालगञ्ज पुगेको १० मिनेटमै श्री एयरलाइन्सबाट प्रकाशजी पनि आइपुग्नुभयो ।
जाजरकोट जानका लागि गाडी खोज्दा कतै पाइएन । सीमित नेपाली मिडिया र केही विदेशी मिडियाका फोटो पत्रकारहरू पनि गाडी खोजिरहेका थिए ।
गाडीको समस्या हुन सक्छ भनेर मैले बाँके प्रहरी प्रमुख एसपी सुवाचन्द्र बोहोरालाई भाडामा एउटा स्कोर्पियो खोजिदिन भनेको थिएँ । उनले पनि मिलाउँदै छु भनेका थिए, तर खाना खाइसक्दा पनि गाडी पाइएन ।

कसरी जाजरकोट पुग्ने भन्ने चिन्ता थपियो । बल्लबल्ल एउटा स्कोर्पियो पाइयो । १५ हजारभन्दा कममा हुँदैन भनेपछि के गर्ने भन्ने अन्योल थियो । अन्ततः अन्य मिडियाका केही साथीहरूलाई समेत समेटेर जाने कुरा भयो । एसपी बोहोराले भनेपछि करिब ३ बजे गाडी आयो । राहत लिएर जाने र भीआईपीहरूले बूकिङ गरेकाले स्कोर्पियो पाउन यति मुस्किल परेको रहेछ ।
सवा ३ बजे नेपालगञ्जको राँझा एयरपोर्टबाट ४ जना हिँड्यौं । कोहलपुर गएर केही ‘ड्राइ फूड’ किनेपछि जाजरकोट लाग्यौं । नेपालगञ्जबाट २०४ किलोमिटरको यात्रा भेरी नदीको किनार हुँदै अगाडि बढ्यो । स्कोर्पियोले ६ घण्टामा जाजरकोट सदरमुकाम खलंगानजिकै पुर्यायो । हामीलाई भूकम्पले क्षति पुर्याएको ठाउँमा गएर रिपोर्टिङ गर्न हतार थियो । नलगाड पुग्न कति छ भनेर सोध्दा ४० किलोमिटर भन्ने जवाफ आयो ।

खलंगासम्मको मात्र भाडाको कुरा भएका कारण ड्राइभरले अतिरिक्त ८ हजार लाग्ने बताए । रातिको समय थियो । नौलो ठाउँ पनि । हामीसँग अरू कुनै विकल्प थिएन । ड्राइभरले भनेअनुसार नै सहमति गरेर नलगाडतर्फ लाग्यौं ।

रातिको समय भएकाले सडकको अवस्था कस्तो थियो, भूगोल कस्तो थियो अनुभव गर्न पाएनौं । करिब १ घण्टापछि भेरी नगरपालिका– १ रिम्ना पुग्दा घरहरू भत्किएको देखियो । मानिसहरू सडक छेउमा खुला आकाशमुनि सुतेका थिए । सग्लो रहेका घरभित्र छिर्ने हिम्मत पनि अधिकांशको देखिएन । अन्नपात सबै पुरिएकाले उनीहरू चाउचाउको भरमा थिए ।
त्यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको स्थानीय विवश रानाले बताए । कात्तिकको चिसो र शीतमा खुला आकाशमुनि उनीहरूको रात बित्दै थियो । सबैको आँखामा डर प्रस्टै झल्किन्थ्यो । ‘मर्न नलेख्या भएर ढुंगा छल्दै बाहिर निस्कियौं । साथमै सुतेकी ५ वर्षकी छोरीलाई बल्लबल्ल तान्न भ्याएँ,’ लक्ष्मी नाम बताउने एक महिलाले भनिन् ।
त्यहाँ सडकको आसपास देखिने सबै घर भत्केका थिए । रातिको समयमा केही तस्वीरहरू लिएर समाचार संयोजक रामचन्द्र भण्डारीलाई टिपाएँ । फोन गर्नका लागि पनि स्थानीयको सहयोगमा नेटवर्क आउने ठाउँ खोज्दै हिँड्नुपरेको थियो । केही तस्वीरहरू पनि पठाउने अवसर जुर्यो ।
समाचार टिपाएर नलगाडतर्फ लाग्यौं । खानेबस्ने कुनै टुंगो थिएन । गाडी चालक पनि पहिला एकदुईपटक मात्र आएका रहेछन् । कच्ची सडकमा करिब सवा घण्टाको यात्रापछि नलगाड नगरपालिका– ४ कालिमाटी भन्ने बजारमा पुग्यौं । पक्की घर सग्ला देखिए पनि कच्ची घर सबै भत्किएका थिए ।
विनाशकारी भूकम्पको पछिल्लो रात हामीलाई पनि घरभित्र बस्ने खासै हिम्मत थिएन । चालकले नलगाड नदीको पल्लोपट्टि नगरपालिकाको कार्यालयनजिकै होटलहरू रहेको बताए ।
रातिको करिब ११ बज्न लागेको थियो । नलगाड– ४ कै दल्ली बजारमा भत्केका घरबाहिर बसेका मानिसहरूसँग कुराकानी गर्न लाग्यौं । प्रकाशजीले केही तस्वीर लिनुभयो ।

‘खुला आकाशमुनि भूकम्पपीडितको बासः भत्केको घर र तारा हेर्दै कट्यो रात’शीर्षकमा एउटा सामाचार बन्यो । यो समाचार बनाउनुभन्दा अगाडि इलाका प्रहरी कार्यालय दल्लीका इन्स्पेक्टर माधव चौधरीसँग कुराकानी गरिसकेको थिएँ । त्यहाँको अवस्थाको बारेमा लगभग अपडेट लिइसकेका थियौं ।
समस्याको कुरा त फोनको नेटवर्क थिएन । भूकम्पसँगै गएको बिजुली हामी पुग्दा आइपुगेकाले होटलमा इन्टरनेट चलेको थियो । ल्यापटप अन गरेर सामाचार लेखें । प्रकाशजीलाई फोटो छानेर पठाउन भनें । करिब ७ सय शब्दको सामाचार पठाउँदा राति पौने १२ बज्न लागेको थियो ।

खाना खाएर डराउँदै–डराउँदै सुत्यौं । थकाइले हुनसक्छ, निद्रा यति छिटो लाग्यो कि पत्तै पाएनौं । बिहान ५ बजे उठ्दा ३/४ वटा पराकम्प गइसकेका थिए । १९ गते बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारकर्ताहरू उद्धारमा थिए । रिपोर्टिङका लागि पुगेका अन्य सञ्चारमाध्यमका साथीहरू पनि त्यही होटलमा थिए, किनकि सबैलाई त्यही होटल अलि सुरक्षित लागेको थियो । पत्रकारको रूपमा काठमाडौंबाट पहिले त्यहाँ पुग्ने हामी नै थियौं । स्थानीयले घटनाबारे जानकारी गराए ।
दल्ली बजारमै ५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएर गएका थिए ।

एउटै घटनास्थलमा अन्य मिडियाका पत्रकारहरू पनि गएपछि सकेसम्म फरक प्रस्तुति दिने चुनौती पत्रकारलाई हुन्छ । सबैको ध्यान दल्ली बजारमै देखेपछि म १३ जनाको मृत्यु भएको अर्को गाउँबारे सोधखोजमा लागें । प्रहरीलाई सोध्दा सडक भत्किएकाले हिँडेरै जानुपर्ने र एक घण्टा लाग्ने कुरा आयो । प्रकाशजी र म १ घण्टा हिँड्न तयार भयौं । दल्ली बजारबाट करिब ४५ मिनेट हिँडेपछि नलगाड नगरपालिका– १ स्थित चिउरी गाउँमा पुगियो ।
त्यहाँ पुग्दा दृश्य हृदयविदारक थियो । सबै घर ढलेका थिए । पालमुनि १३ वटा शव लस्करै राखिएको थियो । कसैका आँखा ओभाना थिएनन् । ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन, लैजाऊ भगवान्,’ एक किशोरी चिच्याउँदै थिइन् । कोही ‘मेरो बाबुलाई किन यस्तो भयो’ भनेर रोइरहेका थिए । कसैलाई सन्तान गुमाएको शोक, कसैलाई अभिभावक गुमाएको पीडा, त्यो क्षण शब्दमा बयान गर्नै मुस्किल पर्छ ।

आफ्नो छोराबुहारी गुमाएकी एक आमा कहिले आफ्नो छोरा पुरिएको माटो निधारमा लगाउँथिन्, कहिले नाति र बुहारीको कपडा सम्हालेर राख्थिन् । यसबीचमा हामीले रुक्मिणी घेतमाल, दिनेश विकलगायतसँग कुराकानी गर्यौं ।
त्यहाँ अमृत कामीले नयाँ घर बनाउन आएको छोरा गुमाउँदाको पीडा सुनाउँदा आँसु नझार्ने कोही थिएन । ‘ग्राउण्ड जिरोः बुढो बाबुको काँधमा तरुण छोराको शव-भूकम्पले ढल्यो घर, चितासँगै जल्यो सहारा’ शीर्षकमा उनको पीडाबारे समाचार छापिएको छ ।
करिब डेढ घण्टाको तयारीपछि अन्तिम संस्कारको तयारी शुरू भयो । कोही आफ्नो छोराछोरी, कोही बुहारी, कोही दूधे बालक त कोही अभिभावको अन्तिम बिदाइका लागि तयारीमा थिए । महिलाहरू सम्हालिएर माला उन्न थाले । तिहारका लागि लगाएको फूल शवमा चढाउनुपर्ने अवस्था आयो ।
१३ वटा शव एकैपटक निकाल्दा शंखको भन्दा चर्चो आवाज आफन्त गुमाएकोहरूको चिच्याहटको सुनियो । मुटु नै कटक्क पार्ने दृश्य थियो त्यो । हाम्रो मन पनि रोएको थियो ।

शवको ताँतीसँगै महिलाहरू पनि दाउरा बोकेर घाटतर्फ लागे । वैदेशिक रोजगारीका कारण गाउँमा पर्याप्त पुरुष थिएनन् । १३ वटा शव जलाउने दाउरा बोकेर महिलाहरू घाटसम्म पुगेका थिए ।
पुरुष, महिला, बालबालिका सबैले भेरी नदीमा पुगेर आफन्तको शव जलाएको र बचेको खरानी पानीले पखालेको दृश्य नियालिसकेपछि हामी होटलमा फर्किँदा करिब २ बजेको थियो ।
होटलको कोठामा छिर्नै लाग्दा साहुसाहुनी सुनपानी लिएर छर्किन आइपुगे । म अलमल्लमा पर्दापर्दै उनीहरूले सुनपानी छर्किएर भ्याए । खासै थप प्रश्न गर्ने अवसर जुरेन । खाना पनि नभनी समाचार तयार पारें । त्यसपछि ३ बजे होटलको चिसो दालभातसँग भेट भयो ।

खाना खाएपछि आसपासका व्यक्तिहरूसँग भेटेर थप कुराकानी भयो । साँझ होटलमा फर्किँदासम्म पनि एउटा प्रश्न मनमा गढिरहेको थियो, हामीलाई किन सुनपानी छर्किएको होला ?
बेलुका होटल साहुकी छोरी मुना (थर नसोधेको)सँग भेट हुँदा त्यो जिज्ञासा राखें । उनले जवाफ दिइन्, मलामी गएको र दलित बस्तीमा पुगेकाले त्यसो गरिएको रहेछ । मन खिन्न भयो ।
त्यसको भोलिपल्ट कात्तिक २० गते राहतका विषयमा रिपोर्टिङमा जुटियो । भूकम्पपछिको ३ रात पुग्दा पनि पीडितले राहत पाएका थिएनन् । अधिकांश खुला आकाशमुनि नै थिए । नलगाड नगरपालिकाको कार्यालयमा पाल, कम्बल र खाद्यन्नहरू थुप्रिएका थिए, तर चिउरी गाउँमा राहतको एउटा चाउचाउ पनि पुगेको थिएन ।

राहतका विषयमा नगरपालिकामा बुझ्दा भौगोलिक अवस्थाका कारण पुर्याउन नसकेको भनेर मेयर डम्बरबहादुर राउतले जवाफ दिए, तर उनले भनेजस्तो पुग्नै नसकिने ठाउँ थिएन । नेताका आफन्त र पहुँचवालाले राहतमा कब्जा जमाएको स्थानीयको गुनासो थियो । केहीले त नगरपालिकामै आएर पाल लगेको पनि देखियो ।
बेलुका रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका केही स्थानमा रिपोर्टिङ गर्यौं । त्यहाँ पनि अधिकांश घरहरू भत्किएका थिए । मानिसहरूको बास खेतबारीमै थियो । १५ दिनकी सुत्केरी पनि बाहिर थिइन् । सदरमुकामबाट टाढा रहेको आठबीसकोट जाजरकोटबाटचाहिँ नजिक पर्ने रहेछ । त्यहाँ पनि राहतको उपलब्धता निकै न्यून थियो ।

रुकुमपश्चिमबाट नलगाड फर्किएर केही समाचार लेख्यौं । अर्को दिन अर्थात २१ गते जाजरकोट सदरमुकाम खलंगा गएर रिपोर्टिङ गर्ने निधो भयो । करिब १२ बजे खलंगातर्फ लाग्यौं । नलगाडबाट, आठबीसकोट, रिम्ना हुँदै भेरी नगरपालिकाको रावल गाउँ पुगियो । त्यहाँ सडकनजिकै मल्ल परिवारका ५ जनाको भूकम्पमा परी मृत्यु भएको थियो । त्यसबारे धेरैतिर समाचार आइसकेका थिए । नयाँ विषयवस्तुको खोजीमा कुराकानी गर्दै थिएँ, रावल गाउँमै एउटा सानो कार आएर रोकियो ।
गाडीबाट निकालेर एकजनाले ‘लगेज’ बोके अनि अन्य ४ जना पछिपछि लागे । को हुन्, किन आएका भनेर स्थानीयलाई सोध्दा परिवार गुमाएपछि मलेसियाबाट फर्किएका युवा हुन् भन्ने थाहा भयो ।

पच्छ्याउँदै उकालो लाग्दा थाहा भयो उनीहरू भेरी नगरपालिका– १ का उदय कामी र उनका भाइ मनोज रहेछन् । करिब २० मिनेट हिँडेपछि उनीहरूको भत्किएको घरमा पुगियो ।
उदयले वैदेशिक रोजगारीमा गएर घर बनाएका रहेछन् । त्यही घर भत्किँदा २ छोरी, १ छोरा, श्रीमती र भाञ्जीको मृत्यु भएको रहेछ । मनोजले पनि छोरी गुमाएका रहेछन् ।
घर पुगेपछि उनीहरूले एक अम्खरा पानी खाए । बोल्न आवाज निस्किएन । एकपटक घरमा फेरि रुवाबासी चल्यो । उदयले आफ्नो छोराछोरी र श्रीमतीको अनुहार अन्तिमपटक हेरे ।
छोरालाई अंगालो हालेर केहीबेर भक्कानिए । श्रीमतीलाई अन्तिमपटक सिन्दुर लगाइदिए । त्यसपछि अन्तिम संस्कारका लागि शव लिएर भेरीको किनारतर्फ लागे । साना बच्चाको शव जलाउने चलन रहेनछ । नाबालक छोराको शव खाल्डोमा हाल्दा उनी सम्हालिन सकेनन् ।

अन्तिम संस्कारकै क्रममा फेरि भूकम्प आयो । मलामीहरूको भागाभाग भयो । चर्किएर बाँकी रहेका आसपासका केही घर भत्किए । त्यहाँको रिपोर्टिङ सकेर हामी खलंगातर्फ लाग्यौं । खलंगा पुग्दा साँझको करिब ७ बजेको थियो ।

त्यहाँ होटल पाउन मुस्किल पर्यो । सुरक्षित मानिएका होटलहरू प्याक भएछन् । पत्रकार भनेपछि अन्तिममा एउटा होटलमा जसोतसो कोठा मिल्यो । २२ गते बिहान प्रकाशजीले खलंगा बजारका केही तस्वीर ड्रोन क्यामेरामा कैद गर्नुभयो ।मैले रिपोर्टिङ गरें । विकट भएका कारण नलगाडमा राहतको समस्या भएको हुनसक्छ भन्ने ठानेको थिएँ, तर खलंगामा झन् समस्या देखियो । त्यहाँ राहत नआएर हैन, पहुँचवालालाई मात्र बाँडेर समस्या भएको थियो । निमुखाहरू एउटा त्रिपाल समेत नपाएपछि खुला आकाशमुनि रात बिताउन बाध्य थिए ।

समस्या बुझ्न जिल्ला प्रहरी कार्यालयमा पुग्दा प्रहरीहरू नै खुला आकाशमुनि थिए । जिप्रकाका ८ मध्ये ७ वटा भवनमा भूकम्पले क्षति पुर्याएको रहेछ । प्रहरी प्रवक्ता इन्स्पेक्टर मिलन विश्वकर्मासँग कुराकानी गरेपछि भूकम्पपीडितहरू बसेको ठाउँ कस्तुरी सेकेन्डरी स्कूलको प्रांगणमा पुग्दा अवस्था झन् नाजुक देखियो ।
४ दिनका सुत्केरी समेत चाउचाउ, चिउरा र समोसा खाएरबसेका थिए । भेरी नगरपालिका– ४ की गौरी विक ४ दिनको सुत्केरी रहिछन् । परिवारका सदस्य समेत गुमाएकी उनी त्रिपालमुनि चिसोमा रात बिताउन बाध्य थिइन् ।
उनीसँगै विमला तिरुवा पनि सुत्केरी अवस्थामा थिइन् । उनले बच्चालाई जन्म दिएको ८ दिन भएको रहेछ । विमला र गौरी दुवैका श्रीमान खाना खोज्न गएका थिए ।
विद्यालय प्रांगणमा १२० जनाका लागि त्रिपाल व्यवस्था गरिएको शिक्षक गोविन्द गौतमले बताए । उनले अर्को एउटा रहस्य पनि खोले, ‘राति १२ बजे एउटा पार्टीका मान्छेहरू आएर आफ्नालाई राहत दिएर गए । अर्का पार्टीका मान्छेले बिहान २ बजे छानीछानी राहत बाँडे, तर यी सुत्केरीलाई कसैले केही दिएनन् ।’
शिक्षक प्रेमप्रकाश चन्दले आफूले पाएको राहत सुत्केरीलाई दिएको बताए । घर नभत्किएकाहरूले समेत त्रिपालमा कब्जा जमाउँदा धेरैको बास खुला आकाशमुनि थियो । गुनासो धेरैले गरे, तर विचरा निमुखाको कुरा कसले सुन्थ्यो र ? जहाँ पुग्दा पनि पहुँचवालाकै हालिमुहाली देखियो । यी सबै कुरा देखेपछि ५ दिनको बसाइ सकेर हामी साँझ करिब ६ बजे नेपालगञ्जतर्फ लाग्यौं ।
जाजरकोट र रुकुम पश्चिमको स्थलगत रिपोर्टिमा देखेको अर्को गम्भीर विषय हाम्रा प्रहरीहरू विपद्सँग जुध्न पर्याप्त स्रोत साधन नहुँदा निरीह बन्नुपरेको रहेछ ।
नलगाड र खलंगामा प्रहरी इन्स्पेक्टरहरूसँग कुरा गर्दा उनीहरू दुवैले यस्तै प्रतिक्रिया दिएका थिए । भत्किएका घरमा पुरिएकाहरूलाई निकाल्न समेत सशस्त्र प्रहरी र नेपाली सेनाका उपकरणहरू कुर्नुपरेको उनीहरूले सुनाए ।










