×

NMB BANK
NIC ASIA

जाजरकोटबाट फर्केपछि..

रिपोर्टर्स डायरीः विनाशकारी भूकम्पलाई पच्छ्याउँदै जाजरकोट पुग्दा

काठमाडाैं | मंसिर २, २०८०

NTC
Premier Steels

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पार्ने सकारात्मक तथा नकारात्मक असरबारे लेखिएका लेख खोजिरहेको थिएँ ।

Muktinath Bank

भूकम्पले हल्लाएपछि तत्काल लोकान्तर डट्कमका कार्यकारी सम्पादक सुशील पन्त सरलाई फोन गरें । गूगलमा ‘सर्च’ गरेर हेर्दा नेपाल–भारतलगायतका क्षेत्रमा भूकम्प गएको देखायो । भूकम्प मापन केन्द्रको आधिकारिक वेबसाइटमा त्यतिबेलासम्म नयाँ तथ्यांक आइसकेको थिएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

यूएस जियोलोजिकल सर्भे ‘यूएसजीएस’को तथ्यांक स्क्रिन शर्ट गरेर अफिस ग्रुपमा पठाएँ । काठमाडौंमा मात्रै हल्लाएको होला भन्ठानेर आफ्नै काममा लागें । राति करिब साढे १२ बजेतिर सुतें । १८ गते बिहान पौने ५ बजे उठेर करिब ६ किलोमिटर ‘रनिङ’ गरी साढे ५ बजे कोठमा आइपुगेको थिएँ । अन्य समयजस्तै त्यतिबेला बल्ल सामाजिक सञ्जाल फेसबूक स्क्रोल गरें । ‘जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु’ शीर्षकमा समाचार आउन शुरू गरिसकेको रहेछ ।

Vianet communication

null

तत्कालै प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतलाई फोन गरेर केही अपडेट लिएँ । अफिसमा बिहानी शत्रमा विनोद देवकोटा डेस्कमा हुनुहुन्थ्यो । जाजरकोटमा ४२ जना र रुकुम पश्चिममा ३२ जनाको मृत्यु भएको समाचार विनोदजीले बनाउनुभयो । मैले कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाललाई पनि फोन गरें । उनले आफू मुगुमा भएको हत्याको अनुसन्धानका लागि आएको र तत्कालै जाजरकोट जान हिँडेको भन्दै केही अपडेट दिए । 

null

शनिवारको दिन थियो । सामान्य अवस्थामा मेरो साप्ताहिक बिदा पनि । तर, पत्रकारलाई के बिदा ? अफिस जाने तयारीमा जुटेँ । बिहान करिब सवा ७ बजेको थियो, सम्पादक विमल गौतमको फोन आयो– ‘हेलो गगन, कहाँ छौ ?’ मैले जवाफ फर्काएँ, ‘सर म घरमै छु ।’ ‘फिल्ड रिपोर्टिङका लागि जाजरकोट जान तिमी तयार भइहाल, कसलाई लिएर जान्छौ ?’ ६ वर्षयता लोकान्तरमा काम गर्दा यस्ता विपत्तिसहित हरेक खालका घटनामा फिल्डमा गएको अनुभव छ । कहिले विपत्ति, कहिले चुनावका शिलशिलामा पूर्वमा इलामदेखि पश्चिममा डडेल्धुरासम्म पुगेको छु । 

लोकान्तरले यस्ता घटना हुँदा तत्कालै फिल्डमा पठाउने गरेको छ । विमल सरको दोस्रो फोन आयो, ‘को जाने भयो तिमीसँग ?’ मैले सोच्न भ्याइसकेको थिइनँ । ड्रोन क्यामेरा समेत लैजाने भनेपछि ड्रोन चलाउने प्रकाश बुढाथोकीजीलाई लैजाने सल्लाह भयो । प्रकाशजीसँग सम्पर्क भएर कुराकानी हुँदा बिहान साढे ८ भइसकेको थियो ।

null

अफिसमा आएर सामान लिई एयरपोर्टतर्फ लाग्यौं । सुर्खेतका लागि प्लेनको टिकट नपाएपछि नेपालगञ्ज जानुपरेको थियो । त्यहाँ पनि टिकट प्याक भयो । केही मिनेटको अन्तरमै टिकटको शुल्क दोब्बर भएको थियो ।

बल्लतल्ल एउटा बुद्ध एयर र अर्को श्री एयरको टिकट मिल्यो । पौने १० बजे विमानस्थल प्रवेश गर्न भनिएकोमा मध्याह्न १२ बजे मात्र विमान चढियो । करिब ४५ मिनेट विमानभित्र कुरेपछि नेपालगञ्जतर्फ उडियो । १ घण्टाको उडानमा म नेपालगञ्ज पुगेको १० मिनेटमै श्री एयरलाइन्सबाट प्रकाशजी पनि आइपुग्नुभयो ।

जाजरकोट जानका लागि गाडी खोज्दा कतै पाइएन । सीमित नेपाली मिडिया र केही विदेशी मिडियाका फोटो पत्रकारहरू पनि गाडी खोजिरहेका थिए । 

गाडीको समस्या हुन सक्छ भनेर मैले बाँके प्रहरी प्रमुख एसपी सुवाचन्द्र बोहोरालाई भाडामा एउटा स्कोर्पियो खोजिदिन भनेको थिएँ । उनले पनि मिलाउँदै छु भनेका थिए, तर खाना खाइसक्दा पनि गाडी पाइएन ।

null

कसरी जाजरकोट पुग्ने भन्ने चिन्ता थपियो । बल्लबल्ल एउटा स्कोर्पियो पाइयो । १५ हजारभन्दा कममा हुँदैन भनेपछि के गर्ने भन्ने अन्योल थियो । अन्ततः अन्य मिडियाका केही साथीहरूलाई समेत समेटेर जाने कुरा भयो । एसपी बोहोराले भनेपछि करिब ३ बजे गाडी आयो । राहत लिएर जाने र भीआईपीहरूले बूकिङ गरेकाले स्कोर्पियो पाउन यति मुस्किल परेको रहेछ ।

सवा ३ बजे नेपालगञ्जको राँझा एयरपोर्टबाट ४ जना हिँड्यौं । कोहलपुर गएर केही ‘ड्राइ फूड’ किनेपछि जाजरकोट लाग्यौं । नेपालगञ्जबाट २०४ किलोमिटरको यात्रा भेरी नदीको किनार हुँदै अगाडि बढ्यो । स्कोर्पियोले ६ घण्टामा जाजरकोट सदरमुकाम खलंगानजिकै पुर्‍यायो । हामीलाई भूकम्पले क्षति पुर्‍याएको ठाउँमा गएर रिपोर्टिङ गर्न हतार थियो । नलगाड पुग्न कति छ भनेर सोध्दा ४० किलोमिटर भन्ने जवाफ आयो ।

null

खलंगासम्मको मात्र भाडाको कुरा भएका कारण ड्राइभरले अतिरिक्त ८ हजार लाग्ने बताए । रातिको समय थियो । नौलो ठाउँ पनि । हामीसँग अरू कुनै विकल्प थिएन । ड्राइभरले भनेअनुसार नै सहमति गरेर नलगाडतर्फ लाग्यौं ।

null

रातिको समय भएकाले सडकको अवस्था कस्तो थियो, भूगोल कस्तो थियो अनुभव गर्न पाएनौं । करिब १ घण्टापछि भेरी नगरपालिका– १ रिम्ना पुग्दा घरहरू भत्किएको देखियो । मानिसहरू सडक छेउमा खुला आकाशमुनि सुतेका थिए । सग्लो रहेका घरभित्र छिर्ने हिम्मत पनि अधिकांशको देखिएन । अन्नपात सबै पुरिएकाले उनीहरू चाउचाउको भरमा थिए ।

त्यो गाउँमा एकै परिवारका २ सहित ८ जनाको मृत्यु भएको स्थानीय विवश रानाले बताए । कात्तिकको चिसो र शीतमा खुला आकाशमुनि उनीहरूको रात बित्दै थियो । सबैको आँखामा डर प्रस्टै झल्किन्थ्यो । ‘मर्न नलेख्या भएर ढुंगा छल्दै बाहिर निस्कियौं । साथमै सुतेकी ५ वर्षकी छोरीलाई बल्लबल्ल तान्न भ्याएँ,’ लक्ष्मी नाम बताउने एक महिलाले भनिन् ।  

त्यहाँ सडकको आसपास देखिने सबै घर भत्केका थिए । रातिको समयमा केही तस्वीरहरू लिएर समाचार संयोजक रामचन्द्र भण्डारीलाई टिपाएँ । फोन गर्नका लागि पनि स्थानीयको सहयोगमा नेटवर्क आउने ठाउँ खोज्दै हिँड्नुपरेको थियो । केही तस्वीरहरू पनि पठाउने अवसर जुर्‍यो ।

समाचार टिपाएर नलगाडतर्फ लाग्यौं । खानेबस्ने कुनै टुंगो थिएन । गाडी चालक पनि पहिला एकदुईपटक मात्र आएका रहेछन् । कच्ची सडकमा करिब सवा घण्टाको यात्रापछि नलगाड नगरपालिका– ४ कालिमाटी भन्ने बजारमा पुग्यौं । पक्की घर सग्ला देखिए पनि कच्ची घर सबै भत्किएका थिए ।

विनाशकारी भूकम्पको पछिल्लो रात हामीलाई पनि घरभित्र बस्ने खासै हिम्मत थिएन । चालकले नलगाड नदीको पल्लोपट्टि नगरपालिकाको कार्यालयनजिकै होटलहरू रहेको बताए ।

रातिको करिब ११ बज्न लागेको थियो । नलगाड– ४ कै दल्ली बजारमा भत्केका घरबाहिर बसेका मानिसहरूसँग कुराकानी गर्न लाग्यौं । प्रकाशजीले केही तस्वीर लिनुभयो । 

null

खुला आकाशमुनि भूकम्पपीडितको बासः भत्केको घर र तारा हेर्दै कट्यो रातशीर्षकमा एउटा सामाचार बन्यो । यो समाचार बनाउनुभन्दा अगाडि इलाका प्रहरी कार्यालय दल्लीका इन्स्पेक्टर माधव चौधरीसँग कुराकानी गरिसकेको थिएँ । त्यहाँको अवस्थाको बारेमा लगभग अपडेट लिइसकेका थियौं । 

समस्याको कुरा त फोनको नेटवर्क थिएन । भूकम्पसँगै गएको बिजुली हामी पुग्दा आइपुगेकाले होटलमा इन्टरनेट चलेको थियो । ल्यापटप अन गरेर सामाचार लेखें । प्रकाशजीलाई फोटो छानेर पठाउन भनें । करिब ७ सय शब्दको सामाचार पठाउँदा राति पौने १२ बज्न लागेको थियो । 

null

खाना खाएर डराउँदै–डराउँदै सुत्यौं । थकाइले हुनसक्छ, निद्रा यति छिटो लाग्यो कि पत्तै पाएनौं । बिहान ५ बजे उठ्दा ३/४ वटा पराकम्प गइसकेका थिए । १९ गते बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारकर्ताहरू उद्धारमा थिए । रिपोर्टिङका लागि पुगेका अन्य सञ्चारमाध्यमका साथीहरू पनि त्यही होटलमा थिए, किनकि सबैलाई त्यही होटल अलि सुरक्षित लागेको थियो । पत्रकारको रूपमा काठमाडौंबाट पहिले त्यहाँ पुग्ने हामी नै थियौं । स्थानीयले घटनाबारे जानकारी गराए ।

दल्ली बजारमै ५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएर गएका थिए ।

null

एउटै घटनास्थलमा अन्य मिडियाका पत्रकारहरू पनि गएपछि सकेसम्म फरक प्रस्तुति दिने चुनौती पत्रकारलाई हुन्छ । सबैको ध्यान दल्ली बजारमै देखेपछि म १३ जनाको मृत्यु भएको अर्को गाउँबारे सोधखोजमा लागें । प्रहरीलाई सोध्दा सडक भत्किएकाले हिँडेरै जानुपर्ने र एक घण्टा लाग्ने कुरा आयो । प्रकाशजी र म १ घण्टा हिँड्न तयार भयौं । दल्ली बजारबाट करिब ४५ मिनेट हिँडेपछि नलगाड नगरपालिका– १ स्थित चिउरी गाउँमा पुगियो ।

त्यहाँ पुग्दा दृश्य हृदयविदारक थियो । सबै घर ढलेका थिए । पालमुनि १३ वटा शव लस्करै राखिएको थियो । कसैका आँखा ओभाना थिएनन् । ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन, लैजाऊ भगवान्,’ एक किशोरी चिच्याउँदै थिइन् । कोही ‘मेरो बाबुलाई किन यस्तो भयो’ भनेर रोइरहेका थिए । कसैलाई सन्तान गुमाएको शोक, कसैलाई अभिभावक गुमाएको पीडा, त्यो क्षण शब्दमा बयान गर्नै मुस्किल पर्छ ।

null

आफ्नो छोराबुहारी गुमाएकी एक आमा कहिले आफ्नो छोरा पुरिएको माटो निधारमा लगाउँथिन्, कहिले नाति र बुहारीको कपडा सम्हालेर राख्थिन् । यसबीचमा हामीले रुक्मिणी घेतमाल, दिनेश विकलगायतसँग कुराकानी गर्‍यौं ।

त्यहाँ अमृत कामीले नयाँ घर बनाउन आएको छोरा गुमाउँदाको पीडा सुनाउँदा आँसु नझार्ने कोही थिएन । ​‘ग्राउण्ड जिरोः बुढो बाबुको काँधमा तरुण छोराको शव-भूकम्पले ढल्यो घर, चितासँगै जल्यो सहारा’ शीर्षकमा उनको पीडाबारे समाचार छापिएको छ ।

करिब डेढ घण्टाको तयारीपछि अन्तिम संस्कारको तयारी शुरू भयो । कोही आफ्नो छोराछोरी, कोही बुहारी, कोही दूधे बालक त कोही अभिभावको अन्तिम बिदाइका लागि तयारीमा थिए । महिलाहरू सम्हालिएर माला उन्न थाले । तिहारका लागि लगाएको फूल शवमा चढाउनुपर्ने अवस्था आयो ।

१३ वटा शव एकैपटक निकाल्दा शंखको भन्दा चर्चो आवाज आफन्त गुमाएकोहरूको चिच्याहटको सुनियो । मुटु नै कटक्क पार्ने दृश्य थियो त्यो । हाम्रो मन पनि रोएको थियो ।

null

शवको ताँतीसँगै महिलाहरू पनि दाउरा बोकेर घाटतर्फ लागे । वैदेशिक रोजगारीका कारण गाउँमा पर्याप्त पुरुष थिएनन् । १३ वटा शव जलाउने दाउरा बोकेर महिलाहरू घाटसम्म पुगेका थिए ।

पुरुष, महिला, बालबालिका सबैले भेरी नदीमा पुगेर आफन्तको शव जलाएको र बचेको खरानी पानीले पखालेको दृश्य नियालिसकेपछि हामी होटलमा फर्किँदा करिब २ बजेको थियो । 

होटलको कोठामा छिर्नै लाग्दा साहुसाहुनी सुनपानी लिएर छर्किन आइपुगे । म अलमल्लमा पर्दापर्दै उनीहरूले सुनपानी छर्किएर भ्याए । खासै थप प्रश्न गर्ने अवसर जुरेन । खाना पनि नभनी समाचार तयार पारें । त्यसपछि ३ बजे होटलको चिसो दालभातसँग भेट भयो ।

null

खाना खाएपछि आसपासका व्यक्तिहरूसँग भेटेर थप कुराकानी भयो । साँझ होटलमा फर्किँदासम्म पनि एउटा प्रश्न मनमा गढिरहेको थियो, हामीलाई किन सुनपानी छर्किएको होला ?

बेलुका होटल साहुकी छोरी मुना (थर नसोधेको)सँग भेट हुँदा त्यो जिज्ञासा राखें । उनले जवाफ दिइन्, मलामी गएको र दलित बस्तीमा पुगेकाले त्यसो गरिएको रहेछ । मन खिन्न भयो ।

त्यसको भोलिपल्ट कात्तिक २० गते राहतका विषयमा रिपोर्टिङमा जुटियो । भूकम्पपछिको ३ रात पुग्दा पनि पीडितले राहत पाएका थिएनन् । अधिकांश खुला आकाशमुनि नै थिए । नलगाड नगरपालिकाको कार्यालयमा पाल, कम्बल र खाद्यन्नहरू थुप्रिएका थिए, तर चिउरी गाउँमा राहतको एउटा चाउचाउ पनि पुगेको थिएन ।

null

राहतका विषयमा नगरपालिकामा बुझ्दा भौगोलिक अवस्थाका कारण पुर्‍याउन नसकेको भनेर मेयर डम्बरबहादुर राउतले जवाफ दिए, तर उनले भनेजस्तो पुग्नै नसकिने ठाउँ थिएन । नेताका आफन्त र पहुँचवालाले राहतमा कब्जा जमाएको स्थानीयको गुनासो थियो । केहीले त नगरपालिकामै आएर पाल लगेको पनि देखियो ।

बेलुका रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका केही स्थानमा रिपोर्टिङ गर्‍यौं । त्यहाँ पनि अधिकांश घरहरू भत्किएका थिए । मानिसहरूको बास खेतबारीमै थियो । १५ दिनकी सुत्केरी पनि बाहिर थिइन् । सदरमुकामबाट टाढा रहेको आठबीसकोट जाजरकोटबाटचाहिँ नजिक पर्ने रहेछ । त्यहाँ पनि राहतको उपलब्धता निकै न्यून थियो ।

null

रुकुमपश्चिमबाट नलगाड फर्किएर केही समाचार लेख्यौं । अर्को दिन अर्थात २१ गते जाजरकोट सदरमुकाम खलंगा गएर रिपोर्टिङ गर्ने निधो भयो । करिब १२ बजे खलंगातर्फ लाग्यौं । नलगाडबाट, आठबीसकोट, रिम्ना हुँदै भेरी नगरपालिकाको रावल गाउँ पुगियो । त्यहाँ सडकनजिकै मल्ल परिवारका ५ जनाको भूकम्पमा परी मृत्यु भएको थियो । त्यसबारे धेरैतिर समाचार आइसकेका थिए । नयाँ विषयवस्तुको खोजीमा कुराकानी गर्दै थिएँ, रावल गाउँमै एउटा सानो कार आएर रोकियो ।

गाडीबाट निकालेर एकजनाले ‘लगेज’ बोके अनि अन्य ४ जना पछिपछि लागे । को हुन्, किन आएका भनेर स्थानीयलाई सोध्दा परिवार गुमाएपछि मलेसियाबाट फर्किएका युवा हुन् भन्ने थाहा भयो ।

null

पच्छ्याउँदै उकालो लाग्दा थाहा भयो उनीहरू भेरी नगरपालिका– १ का उदय कामी र उनका भाइ मनोज रहेछन् । करिब २० मिनेट हिँडेपछि उनीहरूको भत्किएको घरमा पुगियो ।

उदयले वैदेशिक रोजगारीमा गएर घर बनाएका रहेछन् । त्यही घर भत्किँदा २ छोरी, १ छोरा, श्रीमती र भाञ्जीको मृत्यु भएको रहेछ । मनोजले पनि छोरी गुमाएका रहेछन् ।

घर पुगेपछि उनीहरूले एक अम्खरा पानी खाए । बोल्न आवाज निस्किएन । एकपटक घरमा फेरि रुवाबासी चल्यो । उदयले आफ्नो छोराछोरी र श्रीमतीको अनुहार अन्तिमपटक हेरे ।

छोरालाई अंगालो हालेर केहीबेर भक्कानिए । श्रीमतीलाई अन्तिमपटक सिन्दुर लगाइदिए । त्यसपछि अन्तिम संस्कारका लागि शव लिएर भेरीको किनारतर्फ लागे । साना बच्चाको शव जलाउने चलन रहेनछ । नाबालक छोराको शव खाल्डोमा हाल्दा उनी सम्हालिन सकेनन् ।

null

अन्तिम संस्कारकै क्रममा फेरि भूकम्प आयो । मलामीहरूको भागाभाग भयो । चर्किएर बाँकी रहेका आसपासका केही घर भत्किए । त्यहाँको रिपोर्टिङ सकेर हामी खलंगातर्फ लाग्यौं । खलंगा पुग्दा साँझको करिब ७ बजेको थियो ।

null

त्यहाँ होटल पाउन मुस्किल पर्‍यो । सुरक्षित मानिएका होटलहरू प्याक भएछन् । पत्रकार भनेपछि अन्तिममा एउटा होटलमा जसोतसो कोठा मिल्यो । २२ गते बिहान प्रकाशजीले खलंगा बजारका केही तस्वीर ड्रोन क्यामेरामा कैद गर्नुभयो ।मैले रिपोर्टिङ गरें । विकट भएका कारण नलगाडमा राहतको समस्या भएको हुनसक्छ भन्ने ठानेको थिएँ, तर खलंगामा झन् समस्या देखियो । त्यहाँ राहत नआएर हैन, पहुँचवालालाई मात्र बाँडेर समस्या भएको थियो । निमुखाहरू एउटा त्रिपाल समेत नपाएपछि खुला आकाशमुनि रात बिताउन बाध्य थिए ।

null

समस्या बुझ्न जिल्ला प्रहरी कार्यालयमा पुग्दा प्रहरीहरू नै खुला आकाशमुनि थिए । जिप्रकाका ८ मध्ये ७ वटा भवनमा भूकम्पले क्षति पुर्‍याएको रहेछ । प्रहरी प्रवक्ता इन्स्पेक्टर मिलन विश्वकर्मासँग कुराकानी गरेपछि भूकम्पपीडितहरू बसेको ठाउँ कस्तुरी सेकेन्डरी स्कूलको प्रांगणमा पुग्दा अवस्था झन् नाजुक देखियो । 

४ दिनका सुत्केरी समेत चाउचाउ, चिउरा र समोसा खाएरबसेका थिए । भेरी नगरपालिका– ४ की गौरी विक ४ दिनको सुत्केरी रहिछन् । परिवारका सदस्य समेत गुमाएकी उनी त्रिपालमुनि चिसोमा रात बिताउन बाध्य थिइन् ।

उनीसँगै विमला तिरुवा पनि सुत्केरी अवस्थामा थिइन् । उनले बच्चालाई जन्म दिएको ८ दिन भएको रहेछ । विमला र गौरी दुवैका श्रीमान खाना खोज्न गएका थिए ।

विद्यालय प्रांगणमा १२० जनाका लागि त्रिपाल व्यवस्था गरिएको शिक्षक गोविन्द गौतमले बताए । उनले अर्को एउटा रहस्य पनि खोले, ‘राति १२ बजे एउटा पार्टीका मान्छेहरू आएर आफ्नालाई राहत दिएर गए । अर्का पार्टीका मान्छेले बिहान २ बजे छानीछानी राहत बाँडे, तर यी सुत्केरीलाई कसैले केही दिएनन् ।’

शिक्षक प्रेमप्रकाश चन्दले आफूले पाएको राहत सुत्केरीलाई दिएको बताए । घर नभत्किएकाहरूले समेत त्रिपालमा कब्जा जमाउँदा धेरैको बास खुला आकाशमुनि थियो । गुनासो धेरैले गरे, तर विचरा निमुखाको कुरा कसले सुन्थ्यो र ? जहाँ पुग्दा पनि पहुँचवालाकै हालिमुहाली देखियो । यी सबै कुरा देखेपछि ५ दिनको बसाइ सकेर हामी साँझ करिब ६ बजे नेपालगञ्जतर्फ लाग्यौं ।

जाजरकोट र रुकुम पश्चिमको स्थलगत रिपोर्टिमा देखेको अर्को गम्भीर विषय हाम्रा प्रहरीहरू विपद्सँग जुध्न पर्याप्त स्रोत साधन नहुँदा निरीह बन्नुपरेको रहेछ । 

नलगाड र खलंगामा प्रहरी इन्स्पेक्टरहरूसँग कुरा गर्दा उनीहरू दुवैले यस्तै प्रतिक्रिया दिएका थिए । भत्किएका घरमा पुरिएकाहरूलाई निकाल्न समेत सशस्त्र प्रहरी र नेपाली सेनाका उपकरणहरू कुर्नुपरेको उनीहरूले सुनाए ।

null

null

null

null

null

null

null

null

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २९, २०८०

पुरानो सम्झौता रद्द गरी गौशाला खाली गर्न पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुनः मारवाडी सेवा समितिलाई नै जिम्मा दिने तयारी गरेका ...

बैशाख २६, २०८१

‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...

साउन ३२, २०८०

मितिः १७ फागुन २०७४ ।​ स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​ समयः मध्याह्न ।  सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...

माघ १५, २०८०

गत वर्ष झण्डै एक करोड रुपैयाँमा ठेक्का लागेको पोखरा महानगरपालिका वडा नम्बर– ३३ स्थित चमेरे घाटमा यसपटक विनाठेक्का अवैध उत्खनन् भइरहेको छ ।  पारिपट्टि वडा नम्बर २७ मा पर्ने मोरेखरे घाटमा ढुंगाबाल...

कात्तिक १४, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि तीन हप्ताको समय बाँकी रहँदा देशभर चुनावी रौनक बढेको छ । कात्तिक १७ गतेदेखि मात्र उम्मेदवारले झण्डा लिएर औपचारिक रूपमा घरदैलो शुरू गर्न पाउने भए प...

माघ २१, २०८०

प्याथोलोजिस्ट डा. अञ्जन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा ब्लड क्यान्सरको उपचार गर्दै आएका छन् । अस्पतालको प्याथोलोजी विभाग प्रमुख समेत रहेका डा. श्रेष्ठ क्यान्सर तथा रगतसम्बन्धी रोग...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x