
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकको विवाह सकिएको झण्डै एक साता हुन लाग्यो, तर गोकर्ण फोरेस्ट रिसोर्टका कर्मचारीको एउटा खुल्दुली अझै मेटिएको छैन । कर्मचारीहरूबीच गाइँगुइँ चलिराख्छ, बिल बन्यो त ? कति आउँछ हाम्रो ‘कमिसन’ ?
गोकर्ण रिसोर्टले कर्मचारीलाई तलब र अन्य सुविधाबाहेक प्रतिइभेन्ट ६ प्रतिशत प्रोत्साहन रकम दामासाहीले बाँड्ने गरेको छ । कर्मचारीहरूले त्यसैलाई ‘कमिसन’ भन्ने गरेका हुन् । दामासाहीले पाउने रकम त्यति ठूलो नभए पनि कर्मचारीहरूको दैनिकीमा त्यसको ठूलो महत्त्व रहने गरेको छ ।
यसअघि होटल तथा रेस्टुरेन्टहरूले सेवा शुल्क भनेर १० प्रतिशत अतिरिक्त रकम लिँदै आएका थिए । तर, २०७९ माघमा सर्वोच्च अदालतले सेवा शुल्क लिने व्यवस्था खारेज गरिदिएपछि होटल सञ्चालकले मूलदर (प्रतिप्लेट मूल्य)मै सेवा शुल्क जोडेर हिसाब निकाल्ने तथा बिल तयार पार्ने गरेका छन् ।
यसपटक प्रधानमन्त्रीकी नातिनीको विवाहको बिल औपचारिक च्यानलमा नआउँदा तथा सिस्टममा पेमेन्ट नदेखिँदा कर्मचारीहरू अन्योलमा छन् । गोकर्ण रिसोर्टमा ‘कमिसन’को किस्सा निकै गज्जबको छ । अलि पहिले साहुकै छोरीको विवाह हुँदा पनि कर्मचारीहरूले ‘कमिसन’ छाडेका रहेनछन् ।
‘साहुजी (सोनाम शेर्पा)की छोरीको विवाह हुँदा पनि हिसाबकिताब सिस्टममा चढेको थिएन । कर्मचारीले आवाज उठाएपछि कमिसनका लागि ७ लाख रुपैयाँ छुट्ट्याइयो । ६ प्रतिशतका दरले कमिसन बाँड्दा ४ लाखले पुग्यो, बाँकी ३ लाख फिर्ता भयो,’ रिसोर्टस्थित विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, ‘यहाँ कमिसनको विषय पेचिलो छ, होटलमा पैसा आओस्, नआओस्, कर्मचारीले आफ्नो कमिसन छाड्दैनन्।’
वैकल्पिक ‘भेन्यु’ र तीन ट्रक फूलको कहानी
प्रधानमन्त्री प्रचण्डकी नातिनी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल (बुवा अर्जुन पाठक)की छोरी प्रतिभाको विवाहका लागि दाहाल–पाठक परिवारले शुरूमा राजधानीकै अन्य केही पाँचतारे होटल बूक गर्न प्रयास गरेको रहेछ । तर, मंसिरको अन्तिम–अन्तिम लगन भएकाले प्रायः पाँचतारे होटल बूकिङ भइसकेका थिए । सोहीकारण अन्तिम समयमा मात्र दाहाल–पाठक परिवार गोकर्ण फोरेस्ट रिसोर्ट पुगेको थियो ।
विवाहका लागि जम्मा ९ दिन बाँकी थियो । गोकर्ण रिसोर्ट पनि एउटा मारवाडी परिवारले मंसिर २८, २९ र ३० गतेका लागि बूक गरिसकेको थियो । भेन्युका विषयमा कुरा हुँदा मूल चौर बूकिङ भइसकेको रिसोर्टले जानकारी गरायो । दाहाल–पाठक परिवारले वैकल्पिक भेन्यु भए पनि हुन्छ भनेपछि रिसोर्टको आँगनको स्पेस प्रयोग गर्ने तय भयो ।
भेन्यु फिक्स भएपछि विषय मेन्युमा प्रवेश गर्यो । हार्ड ड्रिंक्स नराख्ने विषय शुरूमै आयो । रिसोर्टका हेड शेफको उपस्थितिमा मेन्यु तय गरियो– चिकेन, मटन, पनिरसहितको खाना सेट, मःम, आलु फ्राइ, बदामसहितको स्न्याक्स, पेप्सी, डिउसहितको सफ्ट ड्रिंक्स र मिठाइ र दहीसहितको डिजर्ट रहने गरी ।
खाना कति जनाका लागि तयार पार्ने भन्ने कुरा भयो । प्रधानमन्त्री परिवारका तर्फबाट जवाफ आयो, ८०० जनाको हाराहारीमा हुन्छ होला । त्यसपछि होटलका हेड शेफले न्यूनतम् मूल्य तय गरे, प्रतिप्लेट ४ हजार रुपैयाँ । ‘सामान्य अवस्थामा ६ हजार रुपैयाँ पर्ने मेन्यु प्रधानमन्त्री परिवारका लागि ४ हजार रुपैयाँसम्ममा उपलब्ध गराउन सकिन्छ भनेर मूल्य तय भएको थियो,’ रिसोर्टको उच्च तहका एक कर्मचारीले भने ।
मेन्यु र पैसामा सहमति भएपछि पेस्की दिएर सम्राट दाहालको नाममा बूकिङ गरियो ।
अहिले कर्मचारीहरू त्यही मूल्यका आधारमा २ हजार १३ जनाले खाना खाँदा ८० लाख ५२ हजार हुने हिसाब गरेर बसेका छन् । त्यसको ६ प्रतिशत हिसाब गर्दा ४ लाख ८२ हजार १२० हुन आउँछ ।
गोकर्ण रिसोर्टमा स्थायी तथा अस्थायी गरी २४० को हाराहारीमा कर्मचारी छन् । उनीहरूलाई दामासाहीले बाँड्दा २ हजारदेखि २२ सयसम्म एक जनाको भागमा पर्ने कर्मचारीहरूको मोटो हिसाब छ ।
कमिसनको कुरालाई यहीँ छाडेर विषयवस्तुतर्फ अगाडि बढौं:
गोकर्ण रिसोर्टका कर्मचारीका लागि मंसिरको अन्तिम साता निकै व्यस्त रह्यो । त्यसबीचमा ‘हाई–प्रोफाइल’ र ‘हाइ पेड’ इभेन्टलाई एकसाथ सम्हाल्नु चुनौतीको विषय थियो । ‘हाइ पेड’ इभेन्टचाहिँ एउटा मारवाडी परिवारले ३ दिनका लागि रिसोर्ट बूकिङ गरेको थियो । त्यसबापत उनीहरूले १ करोड ४० लाख रुपैयाँको बिल बुझाएका थिए ।
फूलको विषय झन् रोचक रहेको पाइयो । प्रधानमन्त्रीकी नातिनी प्रतिभाको भन्दा ठ्याक्कै अगाडि अर्को एउटा मारवाडी परिवारको विवाह भएको रहेछ, त्यही गोकर्ण रिसोर्टमा । उनीहरूले ३ ट्रक फूल ल्याएर सजावट गरेका रहेछन् । विवाह सकिएपछि उक्त परिवारले छाडेर गएको त्यही सजावट प्रतिभाको बिहेमा समेत काम आएको रहेछ ।
‘मारवाडी परिवारले ३ ट्रक फूल ल्याएर सजावट गरेको थियो । उनीहरूको इभेन्ट सकिए पनि फूल त्यहीँ थियो । तत्कालै प्रधानमन्त्री परिवारको इभेन्ट भएकाले होटल व्यवस्थापनले नै दुवै पक्षको मञ्जुरीमा त्यो सजावट प्रयोग गरियो,’ होटलका एक कर्मचारीले भने, ‘सजावटबापत थर्ड पार्टी भेन्डरलाई मारवाडी परिवारले नै पैसा तिर्यो, प्रधानमन्त्री परिवारले तिर्नुपरेन । त्यही सजावटमा ३ वटा बिहे (३ दिनका लागि बूकिङ गर्ने अर्को मारवाडी परिवारसमेत) सम्पन्न भयो ।’
जब तीन गुणा पुगे पाहुना
पाँचतारे स्तरको डिलक्स रिसोर्टसँग कुनै पनि इभेन्टमा २/४ सय अतिरिक्त पाहुनालाई खाना खुवाउन पुग्ने स्टक सधैं हुन्छ । तर, प्रतिभाको बिहेमा तोकिएको भन्दा निकै माथि पुग्न गयो ।
अर्डरभन्दा धेरै प्लेट खपत भइसकेको थियो । खाना खाने मानिस अझै निकै बाँकी थिए । अर्डरभन्दा बढी प्लेट खपत भएको कुरा प्रधानमन्त्री परिवारलाई जानकारी गराइयो । ‘आएका पाहुनालाई भोकै फर्काउने कुरा हुँदैन, म्यानेज गर्नुस्’ भनेपछि जसोतसो म्यानेज गरियो ।
‘भनेको भन्दा तीन गुणा बढी पाहुना आएपछि हामीले आफ्नो स्तर कायम राख्न सकेनौं, तर पाहुनालाई भोकै नपठाउनु हाम्रो मुख्य चुनौती थियो,’ व्यवस्थापन पक्षका एक उच्च कर्मचारीले भने ।
भोलिपल्टको बिहेका लागि भनेर स्टकमा राखिएको सामान सबै सोही दिन खपत भएको उनले बताए । नपुगेको खरिद गरेर ल्याइयो । उनका अनुसार सो दिन खसीको मासु मात्र २५० केजी खपत भएको थियो ।
च्यानलमा कहिले आउँछ बिल ?
कम्युनिस्ट नेता भएर तामझामसहित बिहे गरेको भन्ने विषय सामाजिक सञ्जालमा आलोचनाको केन्द्रमा छ । सोही कारण औपचारिक च्यानलबाट तिर्दा बिल सार्वजनिक भएर थप आलोचित हुनुपर्ने हो कि भन्नेमा प्रधानमन्त्री परिवार चिन्तित भएको हुनसक्ने आशंका कर्मचारीले गरेका छन् ।
त्यसो त विवाह सकिएपछि रिसोर्टका मालिक सोनम शेर्पाले खपत भएको प्लेट संख्याबारे निकै चासो दिएका थिए । उनले निर्देशन दिएपछि मात्र बिल बन्ने चर्चा कर्मचारी वृत्तमा छ ।
‘पैसा सिधै माथिल्लो च्यानलमा आउने देखिएको छ, सोहीकारण अहिलेसम्म बिल बनेको छैन,’ अर्का एक कर्मचारीले लोकान्तरसँग भने ।
तर, कतिको बिल बन्छ भन्नेमा कर्मचारीहरूको खुल्दुली मेटिएको छैन । होटलको इतिहासमा अहिलेसम्म न्यूनतम् २२०० सम्मको बिल बनेको छ । मेन्यु तय गर्ने समयमा हेड शेफले तय गरेको मूल्य ४ हजार रुपैयाँ छ । यसको बीचमै कुनै एक मूल्यमा बिल बन्ने सम्भावना रहेको ती कर्मचारीले बताए ।
पढ्नुहोस्, यो पनि :
प्रचण्डकी नातिनीको 'हाइ-प्रोफाइल' बिहेको हिसाबकिताब– २ हजार १३ पाहुना, कति उठ्यो बिल ?