
प्रहरीले पूर्वराजदूत केशव झा हत्या प्रकरणको अनुसन्धान फेरि शून्यबाट थाल्ने भएको छ ।
पूर्वराजदूत झाको हत्या भएको ५ वर्ष बितिसक्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि फेरि शून्यबाट अनुसन्धान थाल्न लागिएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले लोकान्तरलाई जानकारी दिए ।
‘हामीले पूर्वराजदूत केशव झा मर्डर केसमा ‘जेरो’बाट अनुसन्धान गर्ने तयारी थालेका छौं,’ एसएपी खत्रीले लोकान्तरसँग भने, ‘मैले केही दिनअगाडि त्यो घरको अवस्था हेरेको थिएँ । ‘क्राइम सीन’ रिकन्स्ट्रक्सन गरेर हेर्दैछु ।’
हत्या भएको समयमा झाकी श्रीमती, कुकुर र काम गर्ने व्यक्ति सानुकान्छा तामाङबाहेक अन्य कसैको आवातजावत भएको देखिएको छैन । उनीहरूका सम्बन्धमा पनि ठोस प्रमाण भेटिएको छैन ।
प्रहरीले २०७६ मा सानुकान्छा तामाङलाई पक्राउ गरेको थियो । केशव झाकी पत्नीको जाहेरीमा तामाङलाई घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
तर, तामाङलाई दोषी करार गर्न मिल्ने प्रमाण प्रहरीले भेट्न सकेन ।
२०७५ भदौ ४ गते आफ्नै घरमा बसिरहेको अवस्थामा पूर्व राजदूत झाको हत्या भएको थियो । ८० वर्षीय झालाई बन्द कोठामा छुरी प्रहार गरेर हत्या गरिएको थियो ।
घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि सुरक्षा गार्ड ४८ वर्षीय सानुकान्छा तामाङ, माली ५३ वर्षीय आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो ।
हत्याकाण्डको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो ।
कुकुरले घरभित्रै हत्या भएकोतर्फ संकेत गरेपछि माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएर पोलियोग्राफदेखि नार्को (औषधिले लठ्ठ पारेर प्रश्न सोध्ने विधि) बाट समेत अनुसन्धान गरिएको थियो । तर उनीहरूले ‘क्लिन चिट’ पाएका थिए ।
सेक्युरिटी गार्ड सानुकान्छा तामाङलाई ललितपुरको पाटन अस्पतालमा लगेर नार्को विधिबाट सोधपुछ गरिएको थियो । तर, अपराध पुष्टि हुने कुनै संकेत भेटिएन ।
परराष्ट्र सेवामा ३४ वर्ष व्यतीत गरेका झा २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सका लागि नेपाली राजदूत थिए । उमेरले ८० पुगिसकेको भए पनि पछिल्लो समय पनि उनी सामाजिक कार्यमा सक्रिय थिए ।
के भएको तत्कालीन समयमा ?
झाको टाउको र गर्धनमा चक्कु प्रहार भएको घाउ देखिएकाले प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको थियो । अपराध अनुसन्धानमा एउटा स्थापित मान्यता छ, अपराधी जतिसुकै शातिर (चलाख) भएपनि ‘क्राइम स्पट’मा केही न केही कमजोरी गरेकै हुन्छ ।
अपराधीको सोही कमजोरीमाथि टेकेर अनुसन्धान गर्ने गरिन्छ । तर, झा हत्या प्रकरणमा भने प्रहरीले ६ वर्ष बितिसक्दा पनि अपराधीको त्यस्तो कुनै ‘कमजोरी’ भेटाएको छैन, जसमाथि टेकेर अनुसन्धानलाई अगाडि बढाउन सकियोस् ।
प्रहरीले झा मृत फेला परेको कोठाबाट रगत लागेको चक्कु, केही पञ्जा, कपडाको टुक्रालगायत बरामद गरेको थियो । भेटाएका सामग्रीको फरेन्सिक परीक्षण पनि गरियो, तर न चक्कुमा कसैको हातको छाप भेटियो, न त पञ्जा र कपडाका टुक्राको परीक्षणबाट अपराधीबारे ‘क्लु’ फेला पार्न सक्यो ।
झा हत्याबारे तत्कालीन समयको महानगरीय अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को टोलीले अनुसन्धान गरेको थियो ।
तत्कालीन प्रहरी उपरीक्षक (एसपी) हाल एसएसपी सोमेन्द्र राठौरले नेतृत्व गरेको अनुसन्धान टोलीले यस प्रकरणमा ३० देखि ३५ जनासँग सोधपुछ गरेको थियो । तर उक्त सोधपुछबाट पनि कुनै ‘क्लु’ फेला परेन । सोही कारण अहिलेसम्म पनि झा हत्याको रहस्य सुल्झिन सकेको छैन ।