२४ जेठ २०८३, आइतबार
घट्यो बैंकको नाफा

खराब कर्जा बढ्दा र ब्याज आम्दानी घट्दा सुस्तायो बैंकको नाफा, कसले कति कमाए ?

माघ ७, २०८०
काठमाडौं
खराब कर्जा बढ्दा र ब्याज आम्दानी घट्दा सुस्तायो बैंकको नाफा, कसले कति कमाए ?

पछिल्लो आर्थिक मन्दीको प्रभावले बैंकहरूको नाफामा गिरावटमा देखिएको छ ।

चालू आर्थिक वर्षको पुससम्म वाणिज्य बैंकहरूले कमाएको आम्दानी १० प्रतिशतले खुम्चिएको छ भने २० मध्ये ३ वटा बैंकले मात्र नाफाको दर बढाउन सफल भएका छन् ।

खराब कर्जा बढेको, बैंकमा थुप्रिएको तरलताका कारण ब्याज आम्दानी कम भएको र पुरानो ऋण असुली नभएकाले बैंकहरूको नाफा घट्नुको प्रमुख कारण मानिएको छ ।

बैंकहरूको वित्तीय अवस्था सार्वजनिक भएपछि आइतवारको सेयर मार्केट पनि खुम्चिएको छ ।

सेयर बजारमा ३० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका वाणिज्य बैंकहरूको नाफा घटेको विवरण सार्वजनिक भएपछि बढ्ने आशा गरिएको शेयर मार्केट २१ सय ३० दशमलव ८ बिन्दुमा झरेको छ ।

ब्याज कम हुँदै जाँदा कर्जा विस्तार हुने बैंकरहरूको अनुमान थियो । तर, त्यसविपरीत कर्जाको मागमा कमी आयो । पूँजीकोषमा आएको दबाबसँगै कतिपय बैंकहरू ऋण प्रवाह गर्न नसक्ने अवस्थामा छन् ।

नाफा बढाउनेमा नबिल र प्राइम

चालू आर्थिक वर्षको पुससम्म नाफा कमाउनेमा अग्रणी नबिल बैंक देखिएको छ ।

नबिलले ३ अर्ब २० करोड ३० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म नबिलले ३ अर्ब १४ करोड ७६ लाख नाफा कमाएको थियो ।

प्राइम बैंकले पुस मसान्तसम्म २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको ६ महिनामा प्राइमले १ अर्ब ६५ करोड २० लाख ४४ हजार नाफा कमाएको थियो ।

कुन-कुन बैंकको नाफा घट्यो ?

ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रूपैयाँ नाफा कमाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले गरेको २ अर्ब १ करोड ५३ लाख ८८ हजार रूपैयाँ खुद नाफा अघिल्लो आवको तुलनामा ६९ करोड ६४ लाखले कम हो ।

एनआईसी एसिया बैंकको नाफा पनि ४१ प्रतिशतले घटेको छ ।

बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ९० करोड ३८ लाख ७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रूपैयाँ आर्जन गरेको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको नाफा पनि २८ करोड ४३ लाखले घटेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख ४४ हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ७२ करोड ६४ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो सालको नाफा भन्दा ३ करोड कम हो ।

एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले १२ करोड ५१ लाख ४५ हजार रूपैयाँ खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

हिमालयन बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ३९ लाख ७४ हजार ५१७ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५४ करोड ९२ लाख ६९ हजार रूपैयाँ खुद नाफा बढाएको छ ।

एनएमबी बैंक लिमिटेडको खुद नाफामा पनि गिरावट आएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड ११ लाख ५३ हजार रूपैयाँ रहेको थियो जुन ५२ करोड ५१ लाख ६६ हजारले घटेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफा ऋणात्मक रहेको कृषि विकास बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमाससम्म सानिमा बैंकले ‍१ अर्ब १३ करोड ८६ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार ५१६ रूपैयाँ खुद नाफा कमाएको थियो जसमा १४ करोड ६७ लाख ६४ हजार रूपैयाँले घटेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले ६ महिनामा १ अर्ब १३ करोड ६८ लाख २२ हजार ४६५ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको नाफा २ करोड ४३ लाख ७७ हजार रूपैयाँले घटेको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५ करोड ९२ लाख १० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको थियो ।

कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४.३१ प्रतिशतले घटेको हो ।

नेपाल एसबीआई बैंकले ८४ करोड ५ लाख ४१ हजार ५१७ रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३३ करोड ६६ लाख ५२ हजार रूपैयाँले घटेको छ ।

दोस्रो त्रैमासमम्म माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा ८० करोड ५३ लाख ८० हजार रूपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ करोड ९८ लाख रूपैयाँले घटेको छ ।

चालू आर्थिक वर्षको पुस महिनासम्म सिटिजन्स बैंकले ७८ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले ८४ करोड १३ लाख ३३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षामा भने बैंकको खुद नाफा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड ५१ हजार १३४ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा भने बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्