
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ ।
रूपन्देहीको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म ‘मृत्युमार्ग’ उपनामले बदनाम सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माण कार्यले गति लिएको हो ।
तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउँपालिका– ३ मा १.१२६ किलोमिटर लम्बाइको सुरुङमार्ग निर्माणको काम अघि बढेको छ ।
सम्पूर्ण ध्यान केन्द्रित गरी निर्माणमा जुटेको आयोजनाले अन्य कुनै अवरोध नभएको अवस्थामा अबको ४ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार हुने जनाएको छ ।
अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरिएको सुरुङमार्ग वि.सं.२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको काम धमाधम भइरहेको छ ।
७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो । विगत दुई महिनादेखि रातिको समयमा सिद्धार्थ राजमार्गमा गाडी बन्द गरेर काम अघि बढाइएको छ ।

आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेसम्म झण्डै १२ प्रतिशत भौतिक प्रगति भएको छ । आवश्यक उपकरण व्यवस्थापन र त्यही अनुसारको जनशक्तिसहित काम भइरहेको ज्ञवालीले बताइन् ।
आयोजनाको काम गत वर्षदेखि शुरू भए पनि वर्षातका बेला पहिरो झरेर ‘टनेल’ निर्माण क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । शुरूआतमा कतिपय क्षेत्रमा पर्ने रूखहरू काट्ने अनुमति नपाए पनि अहिले सबै रूख काटेपछि कामले गति लिएको आयोजनाको भनाइ छ । सुरुङ दुवैतर्फबाट निर्माण भइरहेको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले तीव्र गतिमा काम भइरहेको बताए ।
‘अहिले दुवैतर्फबाट कामले तीवता पाएको छ,’ जैसवाल भन्छन्, ‘मन्दिरतर्फबाट साउथ पोर्टको काम भइरहेको छ । अहिले झण्डै १०० मजदुरले काम गरिराखेका छन् । अहिलेलाई बजेट भुक्तानीको समस्या छैन ।’
इन्जिनीयर जैसवालले थपे, ‘आउँदो वर्षायाममा पनि टनेलभित्र छिरेर काम गर्न सक्नेगरी तयारी गर्दैछौं । अन्य कुनै अवरोध नभए आउँदो चार वर्षमा सुरुङमार्गबाट गाडी चल्नेगरी हामीले काम अघि बढाएका छौं ।’

सुरुङमार्गको काम शुरू हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५०० मिटरको रकनेट (जाली) राखिनेछ । अग्लो भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरो खस्दा ठूलो जनधनको क्षति हुने गरेको छ ।
गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङमार्गको काम कार्यान्वयनमा आएको थियो ।
सुरुङमार्ग बनेपछि सिद्धबाबामा हुने पहिरोको सन्त्रास अन्य हुने आशा लिइएको पाल्पा दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।
‘यो बाटो हामी पाल्पाबासीका लागि मात्र होइन,’ प्राध्यापक समेत रहेका पाण्डेय भन्छन्, ‘यसलै धेरै जिल्लाका बासिन्दाले भोग्दै आएको ठूलो जोखिमलाई कम गर्दै यात्रा गर्दा हुने डरको अन्त्य हुनेछ ।’
बुटवल–पाल्पा सडक वि.सं.२०१८ सालदेखि खन्न शुरू भएको थियो । वि.सं.२०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको हो । सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा सवारीसाधन गुड्छन् ।
यो सडक खण्ड हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँचीसम्म पुग्ने गरिन्छ । धेरै नागरिकको पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुस भएको थियो ।

यहाँ सुरुङमार्गको आवश्यकतालाई विश्लेषण गरेर रूपन्देही क्षेत्र नम्बर २ का सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको पहलमा काम अगाडि बढेको हो ।
एमाले उपाध्यक्ष समेत रहेका पौडेलले 'ड्रिम प्रोजेक्ट'का रूपमा अघि बढेको आयोजना निर्धारित मितिमै सम्पन्न गर्ने गरी काम हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘यो अति आवश्यक आयोजना हो,’ पौडेल भन्छन्, ‘यो आयोजना समयमै बन्नुपर्छ । कुनै अवरोध र बाधा आउनु हुँदैन । आयोजनाका लागि निर्माण सामग्रीदेखि कुनै आर्थिक अभाव हुन दिँदैनौं ।’
सुरुङ मार्गसँगै सिद्धबाबा सडक खण्डको विकल्पमा प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग सञ्चालनमा आउने तयारीमा छन् ।
प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रूपन्देहीको चरङ्गे, मुढाबासबाट चौकीभञ्ज्याङ, ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्ने सडकको पनि बन्दैछ ।

यो सडक ग्राभ्रेल र कालोपत्रे को तयारीमा छ । त्यस्तै बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किलोमिटर लामो ‘ट्रयाक’ पनि खोलिएको छ । सडक नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ ।
वातावरणविद् तथा इन्जिनीयर प्रा.डा. खेटराज दाहालले आवश्यकभन्दा केही सानो सुरुङमार्ग बन्न लागेको बताए । ‘सुरुङ कम्तीमा चिडियाखोलादेखि दोभानसम्म बन्नुपर्ने थियो,’ दाहालले भने, ‘यात्राका क्रममा मानिसहरू बलि चढेका थिए । यति नै भए पनि सरकारले एकदमै राम्रो गर्यो । यो क्षेत्रमा कम्तीमा ४ किलोमिटर लामो सुरुङमार्ग आवश्यकता हो । सानो नै बनेपनि खुसी हुनुपर्छ । सिद्धबाबाको चुरे कमलो छ । अलिकति खोतल्नेबित्तिकै खसिहाल्छ । निर्माण गर्दा सचेत हुनुपर्ने अवस्था पनि छ ।

सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ । सुनौली पोखरा सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गका ठूला घुम्तीहरू कटान भइरहेका छन् । त्यस्तै दुई लेनको यो सडक खण्डलाई बुटवल–नारायणगढ जस्तै चार लेनमा विस्तार गर्ने गरी सरकारले योजना अघि बढाएको छ ।
यो आयोजना यस क्षेत्रका लागि निकै महत्त्वपूर्ण छ । पहाडैपहाड भएको देशमा सुरुङमार्गहरूको विकल्प नभएको विज्ञहरू बताउँछन् ।
यो आयोजना बनेपछि पाल्पाका मानिस कार्यालय भेट्टााउन बुटवल आउन र बुटवलका मानिस सरकारी कामकाजका लागि तानसेनसम्म पुग्न समस्या नहुने विश्वास छ ।
