
इटहरी, २९ पुस — धरानको एउटा व्यस्त चोकमा एउटा बोर्ड राखिएको छ । बोर्डमा लेखिएको छ, ‘रेल्वे चोक’ । त्यही बाटो हुँदै पुगिन्छ, हिन्दूहरूको प्रसिद्ध धामहरू चतरा र वराहक्षेत्र । त्यही चोकबाट थोरै माथि लागेपछि आउँछ अर्को विश्वप्रसिद्ध हिन्दू तीर्थस्थल विष्णुपादुका । तर यी सबै गन्तव्यमा पुग्न रेलको सुविधा छैन । तर चोकको नाम भने रेल्वे चोक छ ।
रेल्वे चोकबाट पूर्वतर्फ तीन मिनेटको चारपांग्रे यात्रामा आउँछ पूर्वकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । त्यही रेल्वे चोकबाट सात मिनेट हाराहारीमा आउँछ धरानको मुख्य चोक भानुचोक । तर यी कुनै पनि ठाउँमा पुग्न रेलको सुविधा छैन । न त काठमाडौंमा जस्तो मेट्रो रेलको सर्भे वा सञ्चालनको सरकारी कार्यक्रम नै छ । मात्र छ त रेल नकुद्ने रेलवे लाइन । रेल नदेखिने रेलवे चोक ।
धराने रेलवेको इतिहास
बेल नपाइने मोरङको बेलबारी र पान नपाइने सुनसरीको पानबारी जस्तै रेल नपाइने धरानको चोकको नाम रहेको छ रेल्वे चोक । रेल्वे लाइन र रेल्वे चोक भनेर धरानमा प्रसिद्ध भएको यो ठाउँ त्यत्तिकै रेलवे चोक भने भएको हैन । यही ठाउँ भएर छुकछुक रेल कुदेकै कारणले यसको नाम रेल्वे हुन गएको धराने इतिहास छ ।
सन् १९५८ सालदेखि १९६२ सालसम्म धरानमा मालवाहक रेल चल्थ्यो । धरानको फुस्रेबाट घिर्लिङ्ग (रोपवे)ले ल्याएका ढुंगाहरूलाई हालको रेल्वेनजिक झारिन्थ्यो । त्यहाँ झारिएका राम्रा र दह्रा ढुंगाहरू रेलमा हालिन्थ्यो । त्यो रेलको गन्तव्य हुन्थ्यो सुनसरी र सप्तरीको सिमानामा पर्ने भीमनगर । भीमनगर अर्थात् सप्तकोशीको ब्यारेज भएको ठाउँ । हो, त्यही ठाँउमा झारिन्थे धराने ढुंगाहरू ।
नेपाल र भारतले गरेको कोशी परियोजनाको सम्झौता अनुसार उक्त ढुंगाहरू लगिने कुरा कोशी परियोजना सम्झौतामा पढ्न सकिन्छ । नेपालको तर्फबाट महावीर शमशेर तथा भारतको तर्फबाट गुल्जारीलालले गरेको कोशी परियोजनाको सम्झौता बीपी कोइराला प्रधानमन्त्री भएको समयमा भएको हो ।
कोशी परियोजना सम्झौताको धारा तीनको उपधारा चारमा लेखिएबमोजिम आयाजनालाई चाहिने ढुंगा, गिटीको लागि धरानको फुस्रेडाँडासम्म रेल ल्याउने सम्झौता भयो । सम्झौता अनुसार सन् १९५८ देखि १९६२ सम्म अर्थात् विक्रम सम्वत् २०१६ देखि २०२० आसपाससम्म धरानमा रेल चल्थ्यो । ढुंगा बोक्ने रेल भएकोले ढुंगेरेल भनेर त्यसबेला चिनिएको रेलले सर्दु खोला हुँदै घिर्लिङ्गबाट आएका ढुंगाहरू रेलमा हालेर भीमनगर पु–याउँथ्यो ।
धराने ढुंगेरेलका प्रत्यक्षदर्शी हुन भोजपुरका मनकुमार राई ।
विसं २००१ साले राईले त्यसबेला धरानमा भोजपुरबाट नुन लिन आउँदा आफूले रेल देखेको सुनाए । ‘लामो रेल थियो, गाडीभन्दा धेरै लामो’, तन्नेरी हुँदा देखेको रेलबारे बोल्दै हाल धरान–८ मा बस्ने राईले भने, ‘धेरै भीड हुन्थ्यो रेल आउने ठाउँमा । कोही ढुंगा हाल्ने र कोही हेर्ने ।’

भोजपुर जन्मिएर विगत दश वर्षयता धरानमा बसेका मनकुमार राईको जस्तै धराने रेलको बाल्यकालीन अनुभव छ धरानमै जन्मिएका हरेराम कर्माचार्यको । धरान तीनमा २००६ सालमा जन्मिएका कर्माचार्यले बाल्यकालमा धरानमै रेल देखेका थिए । ‘हामी साना केटाकेटी गुरुरु कुदेर ढुंगे रेल हेर्न जान्थ्यौं र त्यसबेलाको रेल अहिलेको पाँचवटा लामा ट्रक जत्रो हुन्थ्यो’, ‘धरानका प्रथम : हिजो र आज’ भन्ने धरानको इतिहासबारेको पुस्तकका लेखकसमेत रहेका कर्माचार्य भन्छन्, ‘ढुंगेरेलमा घिर्लिङ्गबाट फुस्रे हुँदै आएका ढुंगाहरू रेलमा चढाउने सयजना जत्ति कामदारहरू हुन्थे तर हेर्ने त कत्ति हो कत्ति ।’
विराटनगर–धरान कच्ची सडक हुँदै कुद्थ्यो धरानमा रेल
त्यसबेला धरानदेखि भीमनगरसम्म रेल कुद्थ्यो जतिबेला विराटनगरदेखि धरानसम्म आउने हालको पक्की सडक कच्ची मात्रै थियो । त्यसबेलै धरानमा दैनिक तीनपल्ट रेल ओहोरदोहोर गर्थ्यो जबकि विराटनगरदेखि धरानसम्म एउटा मात्रै दैनिक गाडी चल्थ्यो । यस्तो विगत प्रत्यक्ष देखेका छन् हरेराम कर्माचार्यले । त्यसबेला धरान बल्ल–बल्ल शहरी क्षेत्र हुन लागेको थियो ।
तर घोपा पञ्चायत नामको आफ्नै परिचय भएको हालको रेलवे क्षेत्रमा रेल कुदिसकेको हो । ‘रेल गुडेको बेला यताको धरानभन्दा उता रेलवेको चहलपहल धेरै थियो’, कर्माचार्य भन्छन्, ‘आजकल ठीक उल्टो छ ।’
धराने रेल्वेले धरानबाट लग्यो मात्रै, केही दिएन
५३ वर्षअघि लगातार पाँच वर्ष धरानमा चलेको रेलले धरानलाई केही दिएको इतिहास छैन । छोटो समयका लागि केही कामदारहरूले रोजगारी पाएको र अस्थायी चहलपहल बढाउनुबाहेक धरानमा कुदेको रेलले धरानलाई केही पनि दिएको देखिँदैन । यसबेला जस्तो आदिवासी जनजातिका आइएलओ १६९ का मुद्दाहरू नउठेको त्यसबेला घिर्लिङ्गले फुस्रे डाँडाबाट लाखौं क्विन्टल सग्ला ढुंगा लगेर फुस्रे डाँडालाई थप फुस्रे बनायो ।
धरानको फुस्रे डाँडाको ढुंगा उक्काएर भीमनगरको कोशी ब्यारेज बनायो । व्यापक चुरे क्षेत्रको दोहन भएर वनेको भीमनगरको पुल उभ्याउन धराने भूगोल र श्रमले ठूलो गुन लगायो । तर कोशी परियोजनाले धरानलाई केही पनि दिएन । धरानका भित्ता उक्काएर बनेको कोशी परियोजनाले धरानप्रति केही नदिएको महसूस हरेराम कर्माचार्यले पनि गरेका छन् ।
‘कोशी परियोजनाले यहाँका भागवत प्रसाद श्रेष्ठ र लक्ष्मी प्रसाद श्रेष्ठलाई देशकै क वर्गका ठेकेदार बनायो तथा केही सय मजदुरहरूलाई तत्कालीन समयमा केही रोजगारी पनि दियो’, धराने ढुंगे रेलको इतिहास कोट्याउँदै कर्माचार्य भन्छन्, ‘यसबाहेक धरानबाट ढुंगे रेलले ढुंगा लानेबाहेक केही पनि गरेन । आउँदा रित्तो आउने र जाँदा रेलभरि ढुंगा लगेर धरानलाइ रित्तो पार्नेबाहेक केही गरेन ।’
धराने रेलले केही समय धरानलाई चहलपहलको केन्द्र बनाएर सर्लक्कै स्थानीयलाइ केही नदिइकन गयो । यसबारेमा ऊबेलै स्थानीयहरू निराश भएको बताइन्छ । रेलले चोकनजिकै घर भएका अग्रज पत्रकार तथा आदिवासी अभियन्ता जनकऋषि राई ढुंगे रेलबारे स्थानीयको गुनासो गीतबाटै सुनेको स्मरण गर्छन् ।
‘मैले आजभन्दा बीस वर्षअगाडी एकजना साठी वर्षे बाजेको मुखबाट धराने ढुंगे रेलबारे गीत सुनेको थिएँ’, राई सम्झन्छन्, ‘.....मनै उडायो ढुंगै रेलैले’ भन्ने मात्रै याद भयो । शायद ती बाजे पनि आज जीवित हुनुहुन्न ।’
‘धरानमा मेट्रो रेल या पूर्व–पश्चिम रेलवेको ट्रान्जिट’
ढुंगै बोक्ने भएपनि धरान नेपालको रेलवे इतिहास बोकेको प्राचीन शहर हो । त्यसबेलै रेलवे चलेको धरानमा हाल न पुरानो रेलवेको अवशेष नै छ । न त आधुनिक रेलवेको सम्भाव्यताको अध्ययन नै भएको छ । काठमाडौं–केरुङ्ग–लुम्बिनी रेलवे चलाउने कुरा यतिबेला उठेको छ ।

पूर्व–पश्चिम रेलवेको प्रारम्भिक सर्भेसमेत यहीबेला भएको छ । अझ राजधानीमा मेट्रो रेल चलाउने व्यापक चर्चा हुँदैछ । ठीक यतिबेला धरानमा भने पुरानो रेलको इतिहास बचाउने वा नयाँ मेट्रो रेलवे सञ्चालनको बारेमा केही पनि बहस भएको छैन ।
धराने रेलवेको इतिहासका जानकार केही स्थानीय युवाहरू भने धरानमा जसरी पनि रेलवे सञ्चालन हुनुपर्ने बताउँछन् । ‘गाउँ पञ्चायतबाट नगरपालिका हुँदै धरान अब उपमहानगरपालिका भइसकको छ तर गाउँ पञ्चायतमा चलेको रेलको इतिहास उपमहानगर हुँदा पनि नहुनु यहाँको दुःखद पक्ष हो’, धराने रेलबारे जानकार धरान ८ का कुन्दन अधिकारी बताउँछन् । कि त पूर्व–पश्चिम रेलवेको ट्रान्जिट वा धरानमै बेग्लै मेट्रो रेलवे सञ्चालन हुनैपर्ने उनको भनाइ छ ।
धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा मानविकीका विद्यार्थी अधिकारी भन्छन्, ‘त्यसबेला धरान सुनसान हुँदा धरान रित्याएर ढुंगा लाने रेलवे बन्नसक्छ भने उपमहानगरपालिका भएको धरानमा बढ्दो संख्याका यात्रुहरू बोक्ने आधुनिक मेट्रो रेलवे सरकारले चाहँदा किन बन्दैन ?’