×

अभियान र समाजसेवाबाट नथाकेका व्यक्ति

आमा–बुवा गुमाएपछि फेरिएका मदनः चिया पसललाई बनाए धूम्रपान निषेधित क्षेत्र !

अशक्त र असहायलाई साहारा, छाडा चौपायाका अन्नदाता

धनगढी | चैत १७, २०८०

कञ्चनपुरस्थित महेन्द्रनगर बजारको सञ्चार चोकमा एउटा चिया पसल छ । चिया पारखी र स्थानीय गन्यमान्य मानिस जम्मा हुने प्रख्यात स्थान हो त्यो चिया पसल । जसका सञ्चालन हुन मदन चन्द । उनको  परिचय त्यत्तिमै सीमित छैन । दिनदुःखी र कोही नहुनेका साहारा पनि हुन् उनी । र, पशुचौपायाका लागि अन्नदाता । । उनको दैनिकी प्रायः चिया पसलमै बित्छ । उनले पसलको एक छेउमा सहयोगका लागि आर्थिक सङ्कलन बक्स राखेका छन् । जहाँ उनी बिहानको पहिलो बोनी (पहिलो बिक्री)बाट आएको रकम राख्ने गर्छन् । ‘सानो डब्बामा सहयोग रकम जम्मा गर्ने गरेको थिएँ । राजेन्द्र शाह सरले मलाई आर्थिक सङ्कलन बक्स सहयोग गर्नुभयो । अहिले मैले आफूले सकेको रकम राख्ने गरेको छु । पसलमा आउने ग्राहकहरूले पनि स्वइच्छाले रकम राख्ने गर्नुभएको छ,’ मदनले भने । 

Laxmi Bank

उनका साथीहरूले अभियानको नामकरण गरिदिएका छन् । उनले पसलमा राखेको दानपत्रमा ‘मदन अभियान’ लेखिएको छ । ‘साथीहरूको जिद्दीले यो नाम लेखिएको हो । यसमा समाजसेवीहरूले जन्मदिन लगायतका विशेष समयमा सहयोग गर्दै आउनु भएको छ । यही सहयोगबाट मैले पशुहरूलाई आहारा र अन्य असहायलाई सहयोग गर्दै आइरहेको छु,’ उनी भन्छन् ।


Advertisment

null


Advertisment

अभियानमार्फत मदनले थुप्रै क्यान्सरपीडित, भूकम्पपीडित र आगलागीपीडितलाई सहयोग गरेका छन् । उनको चिया पसलमा चलचित्र अभिनेता राजेश हमाल, हाँस्यकलाकार धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) राष्ट्रिय आविष्कार केन्द्र प्रमुख महावीर पुन लगायतका व्यक्ति पुगिसकेका छन् ।

उनको पसलमा चिया पारखी र बृद्धीजीवी मात्रै आउँदैनन् । महेन्द्रनगरका बेवारिसे पशु चौपाया पनि आहाराको खोजीमा दैनिक त्यहाँ पुग्ने गर्दछन् । १९ वटा कुकुर, ९–१० वटा गाई र ३ वटा बिरालालाई उनले दीनमा तीनपटक आहारा (बिस्कुट, केरा, दूध) खुवाउँछन् । ‘दैनिक ५०० रुपैयाँको हाराहारी छाडा पशुचौपायामा खर्च गर्ने गरेको छु,’ उनी भन्छन्, ‘राज्यले जिम्मेवारी लिएन । एक गाँसका लागि पशुहरू भौतारिएको म हेर्न सक्दिन । मैले खुवाउने सामान्य आहारले के हुन्छ र ? तर मेरो मनमा भने शान्ति मिलिरहेको छ ।’ 

‘धूम्रपान निषेधित क्षेत्र’को अवधारणा

मदनको चिया पसलमा पुग्ने नयाँ ग्राहक एकछिन त अलमलमा पर्छन् । यो चिया पसल हो या कुनै कार्यालय, उनीहरू सहजै छट्याउन सक्दैनन् । हुन पनि उनले पसललाई यसरी सजाएका छन् कि, झट्ट हेर्दै प्रमाणपत्र मात्रै देखिन्छन् । सामाजिक कार्य गरेबापत उनको प्रशंसा गर्दै मिलेका १०० भन्दा बढी प्रमाणपत्र पसलमा सजिएका छन् । उनको परिचय यतिमै सीमित छैन । उनी धूम्रपान र सुर्तीजन्य पदार्थ निषेधका अभियन्ता पनि हुन् । उनले पसलको बोर्डमा ‘धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र’ प्रष्टसँग लेखेका छन् । उनी चिया पसलमा चुरोट बेच्दैनन् । साथै बाहिरबाट ल्याएकाहरूलाई पनि सेवन गर्न दिँदैनन् । बरु सम्झाइ–बुझाइ गरी खैनी–चुरोट नखाने कसम खुवाएर पठाउँछन् । ‘यहाँ आएर सुर्ती र चुनोट खानेहरू करिब ९० भन्दा बढीलाई मैले कसम खुवाएर पठाएको छु । उहाँहरू  उच्च ओहोदामा भएकाहरू नै हुनुहुन्छ । आफूले खाँदै गरेको चिज यो डब्बामा छोडेर जानुभएको छ,’ एक डब्बामा जम्मा गरेका चुरोट र सुर्ती देखाउँदै उनले भने ।

null

मदन नेपाल प्रहरीका पूर्वएसएसपी वसन्तराज कुँवर नेतृत्वको लागुऔषध  तथा दुर्व्यसनी रोकथाम अभियान नेपालका सुदूरपश्चिम संयोजक पनि हुन् । उनको नेतृत्वमा सुदूरपश्चिम भर विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

‘लागुऔषध दुर्व्यसनी  भयावह बन्दै गएको छ । समाजमा डरलाग्दो चित्र देखिइसकेको छ । निजी प्रयासबाट यसको निर्मूल सम्भव छैन । राज्य पक्ष नै जिम्मेवार ढङ्गले लाग्न आवश्यक छ,’ मदन भन्छन् ।

मदनको पसलमा सामाजिक सेवा गरेबापत मिलेका सय बढी प्रमाणपत्र भएपनि पुरस्कार राशिले सम्मान पाएको क्षण भने उनका लागि बिरलै छन् । केही समयअघि भने उनलाई भीमदत्त नगरपालिकाले ११ हजार रुपैयाँ पुरस्कार राशिले सम्मान गरेको थियो । योबाहेक अन्य पुरस्कार उनले पाएका छैनन् ।

...अनि चुरोट बेच्न छोडे

चिया पसलअघि मदनले अहिलेकै सटरमा किराना पसल चलाइरहेका थिए । विसं २०५० बाट शुरू गरेको पसलमा उनले दैनिक उपभोग्य सामग्रीसँगै चुरोट, बिँडी, सुर्ती र खैनी लगायतका चिजवस्तु बिक्री गर्थे । घरमा आमा–बुवाले पनि तमाखु सेवन गरिरहन्थे । बिस्तारै मदनकी आमालाई दमले च्याप्दै गयो । अन्ततः २०५४ मा दमकै कारण आमाले प्राण त्यागिन् । त्यसको केही समयमा बुवाको पनि ज्यान गयो । आमा–बुवा दुवै अत्यधिक तमाखु सेवनको असरका कारण मृत्यु भएको पुष्टि भयो । धूम्रपान र सुर्तीजन्य पदार्थले आमा–बुवाको प्राण गएपछि चन्दको मनमा गहिरो चोट पर्याे ।

 ‘मैले बेच्ने सामग्रीले अरूका पनि आमा–बुवाको प्राण गयो होला । कतिका छोरा–छोरी टुहुरा भए होलान् ! यस्तै कुरा सोचेर मन बेचैन् भयो । अनि मैले क्रमिक रुपमा किरानाबाट यस्ता चिज बेच्न छोडेँ,’ उनले प्रष्ट्याए ।

null

किराना पसलमा प्रायः चुरोट, सुर्ती किन्ने ग्राहक नै बढी आइरहन्थे । त्यसैबाट उनको रोजीरोटी चलिरहेको थियो । २०५८ बाट भने उनले किराना पसलबाट पूर्णरुपमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण बन्द गरे । अनि  किराना पसललाई चिया पसलमा रुपान्तरण गरे । धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनविरुद्धका अभियन्ता बने ।  मदनले अभियान शुरू गरेको १० वर्षपछि नेपाल सरकारले २०६८ मा बिक्री–वितरण र सेवन गर्न नपाउने विधेयक ल्यायो । यसलाई लिएर उनको खुसीको सीमा नै रहेन । त्यतिबेला उनले पसलमा आउने ग्राहकलाई चिया निःशुल्क गरे भने १० किलो लड्डु किनेर बाँडे पनि ।

मदन चिया पसलमा धूम्रपान, सुर्तीजन्य पदार्थ र मद्यपानजन्य चिजवस्तु बिक्री गर्दैनन् । बाहिरबाट ल्याएर खानेहरूसँग चिया खाएको पैसासमेत लिँदैनन् । यो उनले उनीहरू सुध्रिउन् भनेर प्रतिकात्मक सहयोग गरेका हुन् । उनको अभियानबाट प्रभावित भएर अहिले कञ्चनपुरका सातवटा पसलले पनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न छोडेका छन् । 

विरोधको अनौठो शैली 

मदन एक सामाजिक अभियन्ता पनि हुन् । समाजसेवामा उनले अतुलनीय योगदान दिएको स्थानीयहरू बताउँछन् । उनी राज्यका कुनै उच्च ओहदामा त उनी छैनन् तर उनका क्रियाकलाप हेर्ने हो भने एक साधारण मानिसले गर्नै नसक्ने समाजसेवा उनले गरेका छन् भन्दा फरक नपर्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । हुन पनि उनले जीवनका २५ वर्ष असहायहरूको सेवामा खर्चिएका छन् । उनकै नेतृत्वमा गठन भएको दीपज्योति क्लब हल्दुखाल अहिले पनि समाजसेवामा सक्रिय छ । त्यतिमात्र होइन, २०७० बाट उनकै अग्रसरतामा हेल्प नेपाल संस्थाले नागरिकहरूको सेवा गरिरहेको छ । त्यसको संस्थापक अध्यक्ष उनै हुन् । मदनका कार्यशैली पनि अनौठा छन् । समाजसेवामा तल्लीन उनले आफ्नो बलबुताले सक्दो सहयोग गरिरहेका छन् । अहिलेसम्म राज्यका निकाय र दातृ सङ्घसंस्थाहरूलाई गुहारेका छैनन् । ‘हामीले आफैँ सक्दो सहयोग गरिरहेका छौँ । हेल्प नेपाल स्थापनाको १० वर्ष भइसक्यो अहिलेसम्म हामीले प्रपोजल कहीँ पेश गरेका छैनौँ ।’ समाजसेवी व्यक्तिहरूले स्वइच्छाले गर्ने सहयोग रकम नै आफूले असहायलाई दिने गरेको उनको भनाइ छ ।

null

मदन र उनको टीमको विरोधको शैली पनि अनौठो छ । जनआन्दोलन र अन्य कसैले विरोध प्रदर्शन गर्दा बन्द, हड्ताल अनि तोडफोड हुन्छ । तर उनको टीमले विरोध जनाउँदा रचनात्मक र सकारात्मक कार्य गर्छ ।

‘हामी तोडफोडमा उत्रिँदैनौँ । आफ्ना माग पूरा गर्न अरूलाई हानी–नोक्सानी पुर्याउँदैनौँ । बरु फाइदा हुने काम गर्छौँ । निर्मला पन्तको बलात्कार र हत्यापछि सिर्जित आन्दोलनमा पनि मैले दिनभरि चिया निःशुल्क गरेर आन्दोलनलाई समर्थन गरेको थिएँ,’ उनले भने, ‘भुसिया कुकुरलाई रेबिज सुई लगाएको थिए । विरोधस्वरुप धेरैपटक हेल्प नेपालमार्फत चौतारा निर्माण, सडक ग्राभेल लगायतका काम गरेका छौँ ।’ 

null

हेल्प नेपालबाट मदनकै नेतृत्वमा हालसम्म असहायहरूलाई ७० लाखभन्दा बढीको सहयोग गरिएको छ । आवश्यकता हेरेर कसैको घर निर्माण, कसैको उपचार, पढाइ खर्च, खाद्यान्न लगायतका सहयोग भइरहेका छन् । 

‘हामी अनगिन्ति सहयोग गरेका छौँ । भीमदत्त नगरपालिकास्थित जानकी धामीलाई ६८ हजार रुपैयाँ सहयोग गरेका छौँ । उनी र उनकी छोरी दुवै दृष्टिविहीन हुन् । श्रीमान् भारतमा बेपत्ता थिए । १० कक्षा पास गरेकी छोरीले आर्थिक अभावका कारण पढ्न पाइरहेकी थिइनन् हाम्रो सहयोग पछि धामी परिवारलाई केही राहत भयो,’ उनले भने । 

यो त एक प्रतिनिधि उदाहरण मात्रै हो । धामीजस्ता दर्जनौँ असहायलाई मदनको नेतृत्वमा उद्धार र सहयोग गरिएको छ । 

जनआन्दोलनका घाइते

मदन आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्म लिएर सङ्घर्ष गर्दै आइरहेका छन् । २०२५ असार ५ गते बैतडीको तल्लोसोराड, पञ्चेश्वरमा जन्मिएका मदन आमा–बुवासँगै २०२७ मा कञ्चनपुरस्थित हल्दुखाल बसाइँ सरे । दुई वर्षको उमेरमै तराई आएका उनको बाल्यकाल हल्दुखालमै बित्यो । आर्थिक अवस्था कमजोर भएका कारण उनी साँझ–बिहान अरूको घरमा काम गर्न जान्थे । हलो जोत्ने, खेत खन्ने लगायतका काम गरेबापत आएको रकमबाट उनी स्कूल पढ्थे । २०४६ मा एसएलसी दिएका उनी सामाजिक कार्यमा त्यो बेलाबाटै अग्रसर थिए । त्यो बेलाको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । बनवासा (भारत) बाट उनकै नेतृत्वमा ३ लाख पर्चा भन्सार छलेर नेपाल ल्याइयो । आन्दोलन सफल पार्न उनले ठूलो योगदान दिए । २०५८ मा पसलबाट घर जानेक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रहरीकै कुटपिटबाट उनको दाँत भाँचियो । २०६२–६३ को जनआन्दोलनका पनि उनी घाइते हुन् । संयुक्त सुरक्षा गस्ती (नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरी)ले उनको पसलको ढोका फोडेर नियन्त्रणमा लिएको थियो । बलप्रयोग गर्दा उनको खुट्टामा पनि चोट लागेको थियो ।

null

०४६ सालदेखि परिवर्तनको लगाइँमा रहेका मदन अहिलेसम्म कुनै पार्टीमा भने आबद्ध छैनन् । परिवर्तनको लडाइँमा भने उनी थाकेका छैनन् । व्यवसायमा चिया पसल र पेसामा समाजसेवा अंगाली रहेका उनको आगामी योजना भने केही छैन ।

‘म धागो काटिएको चङ्गा हुँ । मेरो निश्चित गन्तव्य छैन । कुनै योजना पनि छैन । निकै दुःख र सङ्घर्षले हुर्किएको हुँ । अझै पनि परिश्रम गरिरहेको छु । आर्थिक अवस्था कमजोर भएकै कारण १२ कक्षाभन्दा बढी पढ्न सकिनँ । ५० हजार ऋण लिएर पसल खोलेको थिए । ३० वर्षको अवधिमा १५ लाख ऋण छ । आफ्ना लागि केही गर्न सकिनँ । अब केही गर्नु पनि छैन । दिनभरि कमाएर साँझ सुखले खान पाउँ, अरूलाई दिन पाउँ । योभन्दा बढी चाहना छैन,’ लामो सास फेर्दै उनले भने ।

मदन आर्थिक अवस्था अब्बल भएर अभियानमा लागेका होइनन् । सेवाको हुटहुटीले निरन्तर उनी समाज रूपान्तरणमा छन् । ‘म सकेर लागिरहेको छैन । अवस्था कमजोर छ । मुख्य आम्दानीको स्रोत नै यहीँ चिया पसल हो । दुई दशकदेखि थालेको अभियान मैले छोड्न पनि त मनले मान्दैन,’ उनी भन्छन् ।

null

व्यवसाय मात्र होइन छोराछोरीको बिहे पनि ऋण लिएरै गरेको मदनको भनाइ छ । ‘ऋणमै व्यवसाय शुरू गरेँ, ऋणमै छोरा–छोरीको बिहे गरेँ । श्रीमती छोरा–छोरीलाई मिठो खान राम्रो लाउन मन थियो होला त्यो मैले पूरा गर्न सकिनँ कि भन्ने लाग्छ,’ उनी थप्छन्, ‘यसर्थ उनीहरूबाट मप्रति गुनासो भएको पाएको छैन । खुसीको कुरा अहिले उनीहरू पनि मजस्तै सहयोगी भावनाका भइसकेका छन् । उनीहरू छरछिमेकका पशुचौपायालाई सक्दो खुवाउने अनि सहयोग गरिरहन्छन् ।’ 

जस्तै परिस्थितिमा पनि समाजसेवा र लागुऔषधविरुद्धको अभियान नछोड्ने प्रण गरेका मदन आफ्ना अरु कुनै इच्छा नभएको स्पष्ट पार्छन् । ‘मेरा धेरै इच्छा केही छैनन् । देशको राजनीति सुध्रियोस् । चाडवाडमा सबैको घरमा खुसी छाओस् । लागुऔषध दुर्व्यसन कसैका घरमा नभित्रिओस् । धनीमानी छोरा–छोरी नबिग्रिउन्,’ मुस्कुराउँदै उनी आफ्नो दैनिकीतिर लागे ।
 

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x