
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनमा जुट्न आग्रह गरेका छन् ।
मंगलवार बागलुङको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् ।
हिन्दू धर्मावलम्बीका लागि बागलुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पञ्चकोटलगायत थप गन्तव्यहरू लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।
पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि उनले प्रस्ट्याए ।
काठमाडौंमा चन्द्रागिरिको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्यादेवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरादेवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटनमार्फत समृद्धि र रोजगारी सिर्जनामा ठूलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।