
पछिल्लो २० दिनयता देशका विभिन्न ७ सय ५९ स्थानमा आगलागीका घटना भएका छन् ।
गत चैत १९ देखि यही वैशाख ९ गतेसम्म आगलागीमा परेर १६ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगोले जलेर ३२ करोड ६३ लाख १७ हजार चार सय ७५ रुपैयाँ बराबरको क्षति भएको छ ।
वन डढेलो र घर तथा गोठ आगलागीमा परेर एक हजार ८ घर परिवार प्रभावित भएका छन् । जसमा दुई सय ७७ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने दुई सय ७८ घरमा आंशिक क्षति पुगेको छ ।
प्राधिकरणका सूचना अधिकृत डा. डिजन भट्टराईका अनुसार आगोले जलेर ५ सय ८८ वटा पशु चौपाया मरेका छन् ।
प्राधिकरणका अनुसार ७७ जिल्लामध्ये ६९ वटा जिल्ला आगोबाट प्रभावित बनेका छन्। जसमध्ये सबैभन्दा धेरै मोरङमा ३४ स्थानमा वन डढेलो तथा घरमा आगो लागेको छ ।
त्यसपछि क्रमशः ओखलढुङ्गामा २९, दाङमा २७, बर्दियामा २७, प्यूठानमा २६, रौतहटमा २६, पर्सामा २६, कपिलवस्तुमा २६, बारामा २५, सर्लाहीमा २३, सिरहामा २२, रुपन्देहीमा २१, खोटाङमा १४, सोलुखुम्बुमा १४, अर्घाखाँचीमा १९, पाल्पामा १७ वटा आगलागीका घटना भएका छन् ।
काठमाडौंमै २० ठाउँमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ । वन डढेलो सल्केर वस्तीमा पस्दा घरहरू जलेको प्राधिकरणले जनाएको छ । ‘ आगलागी नियन्त्रणका लागि प्रयासहरू जारी छन्, सुरक्षा निकायसँगै स्थानीयले पनि तदारुकता देखाउनुभएको छ', भट्टराईले भने, ‘सकभर मानवीय क्षति नहुनेतर्फ सचेत रहन निर्देशन दिइएको छ । सर्वसाधारणलाई चेतना अभिवृद्धि गराउने काम पनि सँगसँगै भइरहेको छ ।’