
मादक पदार्थ सेवन (मापसे) गरी आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए ।
प्रहरीका अनुसार परियारले मापसे गरी आइतवार राति आफू बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ ।
अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।
घरमा आगो लागेपछि अलपत्र परेकी रेखबहादुरकी श्रीमती सीता परियारलाई आज जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराएको छ ।
त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।