
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलवार अपरान्ह नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्तामा उनले सो कुरा बताएका हुन् ।
'आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु', राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए ।
राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए ।
त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए ।
उनले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।
उनले दुई देशबीच बुधवार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास व्यक्त गरे ।
त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए ।