
सवारी चालक अनुमति पत्र (लाइसेन्स)अन्तर्गत काठमाडौं उपत्यकामा रोकिएको प्रयोगात्मक परीक्षा (ट्रायल) सुचारु हुने भएको छ । रोकिएका ५ मध्ये ४ सेन्टरमा ट्रायल परीक्षा सुचारु गर्ने तयारी भएको हो ।
राष्ट्रिय सतर्कता केन्द्रले स्थलगत अनुगमन गरि परीक्षाको पाठ्यक्रम मापदण्डविपरीत ट्रायल सेन्टर सञ्चालनमा रहेको भन्ने प्रतिवेदनका आधारमा उपत्यकाका ५ वटा ट्रायल सेन्टरमा परीक्षा रोकिएको थियो ।
ट्रायल सेन्टरमा पाठ्यक्रम अनुसारका संरचना बनाइएको जानकारीपछि ४ वटा सेन्टरमा ट्रायल शुरू हुने भएको हो । भक्तपुरको राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरबाहेक अन्य चारवटा ट्रायल सेन्टरको परीक्षा सञ्चालन हुने भएको हो ।
भक्तपुरकै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कूल, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर र सुजुकी ड्राइभिङ स्कूल प्रालि एकान्तकुनाको ट्रायल परीक्षा सञ्चालन हुने भएको हो ।
ट्रायल सेन्टर सञ्चालनका लागि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल, बागमती प्रदेश सरकारको यातायात मन्त्रालयका कर्मचारी, यातायात व्यवस्था कार्यालय एकान्तकुना, चावहिल र राधेराधेका कार्यालय प्रमुखसहितको टोली सोमबार सतर्कता केन्द्रमा डेलिगेसन पुगेको थियो ।
'प्रदेश सरकारले समेत छानबिन टोली गठन गरेको थियो । मापदण्डविपरीत बनाइएका गलत संरचना हटाएर मापदण्ड अनुकूलका संरचना तयार भएको भनेर यातायात मन्त्रालयमा प्रतिवेदन समेत बुझाइसकिएको छ,' यातायात व्यवस्था विभागका डीजी रिजाललाई उद्धृत गर्दै सतर्कता केन्द्रका सचिव रामआधार साहले भने ।
साहका अनुसार ट्रायल सुचारु गर्नका लागि उनीहरू केन्द्रमा पुगेका हुन् ।
'केन्द्रको प्रतिवेदन आएलगत्तै ट्रायल सेन्टरमा ट्राफिक प्रहरी जान छाडेपछि ट्रायल रोकिएको थियो । आज २९ दिन भइसक्यो । अब ट्रायल सुचारु हुनुपर्छ भनेर केन्द्रलाई अनुरोध गर्न आएका हौं,' रिजालले भनेका थिए ।
राधेराधेबाहेक अन्य सबै केन्द्रका संरचना सच्याइएको जानकारी आएकाले सोमबार साँझसम्म नै निर्णय हुने उनको भनाइ छ ।
'प्रदेश सरकारले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनबारे हामीलाई पनि २ दिन अघि बोधार्थ आएको थियो । उक्त पत्र आएलगत्तै हाम्रो केन्द्रबाट पुनः टोली खटेर सच्याइएको छ/छैन भनेर हेर्न लगाएका थियौं,' जवाफमा सतर्कता केन्द्रका सचिव साहले भने ।
तर, ट्रायल दिन जाँदा सवारी चालकले आफ्नै निजी सवारी साधन प्रयोग गर्न पाउनुपर्ने व्यवस्था गर्न साहले निर्देशन दिएका थिए ।
एकान्तकुनाका कार्यालय प्रमुखले भने निजी सवारी साधनलाई अनुमति दिँदा उक्त सवारी साधनको परीक्षण गर्न दिनहुँ मेकानिकल इन्जिनियर खटाउनुपर्ने, निर्देशिकाबमोजिमको सवारी साधन मात्र हुनुपर्ने, निजी सवारी साधन दिँदा पार्किङका लागि स्पेस नहुने, कोटाभन्दा बढी परीक्षा हुँदा त्यतिकै भीड हुनेजस्ता समस्याहरू रहेको बताएका थिए ।
केन्द्रले गरेको अनुगमनका क्रममा दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे गाडीसम्मको ट्रायल एउटै सेन्टरमा फरक-फरक रंग राखेर लिने गरिएको पाइएको थियो ।
अनुगमनपछि साहले अलग-अलग ट्रायल सेन्टरमा परीक्षा हुनुपर्ने बताएका थिए ।
'हामीले बागमती प्रदेशको हेटौंडा, चितवनस्थित विभिन्न ट्रायल सेन्टरमा स्थलगत अनुगमन गरेका छौं,' साहले यातायात व्यवस्था विभागका डीजी रिजाललाई भने, 'मोटरसाइकलदेखि हलुका सवारी चालक अनुमतिको छुट्टै ट्रायल सेन्टर हुनुपर्नेमा एकै ट्रायल सेन्टरमा कलर फरक पारेर परीक्षा लिने गरिएको रहेछ ।'
२ पांग्रे र ४ चारपांग्रेको ट्रायल परीक्षा फरक-फरक सेन्टरमा हुनुपर्ने साहले बताएपछि विभागका महानिर्देशक रिजालले पनि विगतमा गलत भएको स्वीकारेका थिए ।