
काठमाडौं, १६ फागुन– रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् ।
तर रंग अनुहारमा लगाउँदा राम्रो देखिए पनि यसले छालालाई भने असर पु-याउछ । होली खेल्दा आफ्नो छालालाई विशेष ध्यान दिइएन भने, होली पछिका दिनहरु भने रमाइला हुँदैनन् ।
बजारमा पाइने कतिपय रंगहरुमा रसायन मिसाइएको हुन्छ । जसले शरीरमा क्यासरसमेत गराउँछ । त्यसैले पनि होलीमा रंगसँग खेल्दा विषेश ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।
होलीको दिनमा अनुहारमा दलेको रंगले छालामा दिर्घकालिन रुपमा असर पु-याउन सक्ने वीर अस्पतालका छाला रोग विशेषज्ञ डा. निरज पराजुलीले बताए ।
डा. पराजुलीका अनुसार रंगहरुले छालमा यस्तो असर गर्छ
आँखा, कान, मुखमा छिर्न सक्छ ।
छाला रुखो, फुस्रो, कालो हुन्छ ।
छाला चिलाउने, पोल्ने डाबर आउने र सुन्निने समस्या देखिन्छ ।
छालाको पत्र निस्कने रातो हुने घाउ हुने समस्इा देखिन्छ ।
छाला सम्बन्धि समस्या भएकाको समस्या झनै बढाउँछ ।
गुणस्तरहीन रंगको प्रयोगले भविष्यमा छालमा क्यान्सर समेत हुन सक्छ ।
होलीमा रंगको प्रयोग हुने रंगहरुमा मिसाइएको रसायनहरुले छालामा विभिन्न असर पु-याउछ । होलीमा धेरै जस्तो युवाहरुले ग्रिज, बिग्रेको मोबिलमा विभिन्न रङ मिसाएर अनुहारमा लगाउने गर्छन् । यसल तत्कालिन रुपमा छालाकोे पत्र निस्कने, रातो हुने समस्या देखिने र भविष्यमा छालाको क्यान्सर समेत हुन सक्ने डा. पराजुलीले बताए । त्यसैले होली खेल्दा छालाको सुरक्षामा ध्यान दिएर मात्रै खेल्न उनको सुझाव छ ।
‘होलीमा प्रयोग हुने रंगले छालालाई असर गर्छ त्यसैले होलीमा होलीमा सामान्य र सस्तो रङ तथा अबिर भन्दा गुणस्तरीय रङ र अबिरकै प्रयोग गर्नुपर्छ ।’ उनले भने,‘ होलीमा रंगसँग खेल्नु अघि र खेलिसकेपछि छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।’

होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस्
होली खेल्नु अघि अनुहारमा मोस्चराइजर राम्रोसँग लगाउने ।
प्राकृतिक र गुणस्तरीय रंगको प्रयोग गर्नुपर्छ ।
केमीकल मिसाइएको रंग प्रयोग गर्नुहुदैन ।
आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने ।
रंगलाई छालामा धेरै समय रहन नदिने ।
छाला सम्बन्धी समस्या भएकाहरुले सकेसम्म रंगसँग नखेल्ने ।
होली खेलेपछि यसाे गर्नुस्
दिनभरी अनुहारमा दलेको रंगले छालाको प्रकृतिक रुप विग्रिएको हुन्छ । यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ । यस्तो अवस्थामा छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
अघिल्ला वर्षहरुमा पनि होली पछि छालासम्बन्धि समस्या लिएर मानिसहरु आउने गरेको संझदै डा. पराजुलीले भने, ‘होली खेलिसकेपछि राम्रोसँग शरीर सफा गरेर अनुहारमा मोस्चराइजर क्रिमको लगाउनु पर्छ । यसले पनि छालामा हुने संक्रमण र विभिन्न किसिमका असरलाई कम गर्छ ।