×

लोकान्तर खोज

नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]

काठमाडाैं | चैत ६, २०७४

जनकपुरधाम, ६ चैत- के तपाईंलाई स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र चाहिएको छ, त्यो पनि नेपालकै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयबाट ? छ भने जनकपुर आउनुस्, प्रमाणपत्र प्राप्त गर्न सक्नुहुन्छ । त्यसका लागि ठूलो मेहनत गर्नुपर्दैन, मात्र जनकपुरमा आएर परीक्षा दिए पुग्छ ।

तपाईंलाई विषयको ज्ञान नभए पनि परीक्षामा विशिष्ट वा प्रथम श्रेणीमा उत्तीर्ण गराउने जिम्मेवारी जनकपुरका क्याम्पस प्रशासन, विद्यार्थी नेता तथा क्याम्पसमा काम गर्ने कर्मचारीहरूले लिनेछन् ।


Advertisment

सुन्दा अपत्यारिलो लाग्यो होला, तर विश्वास गर्नुस् जनकपुरमा यस्तै भइरहेको छ ।


Advertisment

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरमा परीक्षाको नाममा अमर्यादित क्रियाकलापले हद नाघेको छ । अहिले स्नातक तह चौथो वर्षको परीक्षा राराब क्याम्पससँगै जनकपुरमा रहेका निजी क्याम्पसहरूमा सञ्चालन भइरहेको छ । तर यहाँ हुने परीक्षा परीक्षाजस्तो हुँदैन ।

केहीले बाहिरैबाट उत्तरपुस्तिका भरेर बुझाउँछन् भने केहीले परीक्षा हलमै खुलेआम 'डकैती' गरिरहेका छन् । डकैती यस मानेमा कि परीक्षामा विद्यार्थीहरूले चिट चोर्ने होइन, आफूसँग रहेको किताब, टीयू सोलुसन तथा गाइड र गेस पेपर निर्धक्क साथ डेस्कमा राखेर नक्कल गर्छन् । गाइड र गेस पेपरमा उत्तर जस्ताकोतस्तै भेटिएन भने परीक्षा हलबाटै फोन गरेर बाहिरबाट उत्तर प्राप्त गर्ने सुविधा पनि छ ।

वस्तुगत प्रश्नहरूको उत्तर एसएमएसमार्फत् मोबाइलमै उपलब्ध हुन्छ ।

यदि तपाईं यसरी परीक्षाहलमा उपस्थित हुने र तोकिएको अवधिमा बसेर प्राप्त उत्तर सार्ने धैर्यता पनि गर्नुहुन्न भने अलि मोटो रकम खर्चिनुस्, अरू नै कसैले उत्तर लेखिदिएर चाहेको नम्बरसहित पास गराउने व्यवस्था पनि छ ।

यो जनकपुरवासीका लागि नौलो कुरा होइन, किनभने यहाँ विगत ११ वर्षदेखि यस्तै भइरहेको छ । स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेका बेला मंगलबार राराब क्याम्पस पुग्दा यस्तै गतिविधि देख्न पाइयो । परीक्षार्थीहरूबीच चिट चोर्ने मात्र होइन, किताब र गाइड सार्ने प्रतिस्पर्धा नै चलिरहेको थियो ।

परीक्षा हलमा देखिएको बेथितिबारे क्याम्पस प्रमुख प्राध्यापक विजयकुमार लाल दाससँग जिज्ञासा राख्दा उनले ‘यहाँ मात्र नभएर दैशैभरी यस्तै भइरहेको जवाफ दिए ।’

‘विगतमा जस्तो खुलेआम बाहिरबाट कापी लेखाएर ल्याउन त दिएका छैनौं,’ उनले भने, ‘चीटलाई पनि पूर्णरूपमा नियन्त्रण गर्न सकिएको छैन ।’

उनले आफ्नो लाचारी प्रस्तुत गरे, ‘के गर्ने देशमा विभिन्न किसिमका आन्दोलनहरू भए, विद्यार्थीहरू चीट चोर्न पाउनुलाई आफ्नो अधिकार ठान्छन् । कसलाई रोक्ने ? प्रहरी, पत्रकार, नेता सबैले जाँच दिइरहेका हुन्छन्, त्यसैले पनि कडाइ गर्न गाह्रो भएको छ ।’

परीक्षा हलमा हुने अनियमितता रोक्न नसकिएको सोही कलेजमा अध्यापनरत प्राध्यापक डाक्टर नविन मिश्रा पनि स्वीकार्छन् । ‘पहिलाजस्तो गङ्गा नै बगिरहेको छ भनेर त म भन्दिनँ, तर चोरी भइरहेको कुरा यथार्थ हो ।’

गिरोहको चलखेल

क्याम्पसमा अध्यापनरत अर्का एक प्राध्यापक परीक्षालाई अमर्यादित बनाउन ठूलै गिरोह सक्रिय रहेको बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘परीक्षा जानेरै अमर्यादित बनाइन्छ, किनभने त्यसबापत संस्थागतरूपमै गिरोहहरूले विद्यार्थीबाट पैसा उठाउँछन् र एकआपसमा भागबण्डा गर्छन् ।’

उनका अनुसार त्यस काममा विद्यार्थी नेता, क्याम्पसका कर्मचारी र विद्यार्थी सबैको मिलेमतो हुन्छ । ‘यस्तै परीक्षामा पैसा कमाएर केही विद्यार्थी नेताले जनकपुरमा महङ्गो जमिन किनेर घरसम्म बनाउन भ्याएका छन्, उनीहरूका महङ्गा मोटरसाइकल, मोबाइल, साँझ परेपछि रेस्टुरेन्ट र विलाशी जीवन पनि त्यसैको उपज हो,’ ती प्राध्यापकले भने ।

रोक्न छैन नैतिक बल

कलेजमा खासै पढाइ हुँदैन । शिक्षकहरूले हाजिरी गरेरै जागिर खाएका छन्, सोही कारण पनि यस्ता अनियमितता रोक्ने नैतिक बल कसैसँग नभएको एक विद्यार्थी नेता बताउँछन् । ‘कलेजमा कहिल्यै पढाइ हुँदैन, शिक्षकले आएर हाजिरी गरेर जाने काम मात्रै गर्छन्, त्यसकारण परीक्षामा चोरी रोक्ने नैतिक मनोबल क्याम्पस प्रशासनसँग छैन,’ उनले भने ।

‘क्याम्पस प्रमुख नै आर्थिक अनियमितता तथा भ्रष्टाचारमा चुर्लुम्म डुबेका हुन्छन्, जसले गर्दा विद्यार्थी नपढाउने प्राध्यापकलाई क्याम्पस प्रमुखले कारबाही गर्न सक्दैनन्, त्यसैले पनि चोरी रोक्ने साहस कसैसँग हुँदैन,’ उनले थपे ।

मधेस आन्दोलनपछि बढ्यो अनियमितता

क्याम्पस प्रमुख दासले माथि विभिन्न आन्दोलन भनेर संकेत गर्न खोजेको २०६३ सालमा भएको मधेस आन्दोलनलाई हो । त्यसयता जनकपुरका परीक्षा यसैगरी चलिरहेका छन् ।

यहाँ त जनकपुरका मात्र होइन, देशका विभिन्न ठाउँबाट परीक्षाका लागि मात्र आउने विद्यार्थीले समेत तीन/तीन विषयमा डिग्री लिइसकेका छन् । जसमा सामान्य प्रहरी जवानदेखि एसपीसम्म, खरदारदेखि उपसचिवसम्म र नेताहरूसमेत छन् ।

‘यस शैक्षिकशत्रमा राराबबाट परीक्षामा सहभागी करीब ५ सयमध्ये २ सयमात्र जनकपुरका छन्, बाँकी ३ सय जनाजति देशका विभिन्न भू–भागका त्यस्तै विद्यार्थी हुन्, जसले परीक्षाका लागि मात्र जनकपुरलाई रोजेका हुन्,’ एक निरीक्षकले भने ।

मन्त्री जानुभन्दा एक दिनअघि नै क्याम्पस प्रमुखलाई फोन !

यसक्रममा सोमबार प्रदेश नम्बर २ को प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले राराब कलेजमा परीक्षाको निरीक्षण गरे । मन्त्री पुग्दा एकदमै मर्यादित वातावरणमा परीक्षा सञ्चालन भयो .

परीक्षा खटिएका एक निरीक्षकका अनुसार मन्त्रीले म आउँदैछु भनेर अघिल्लो दिन नै क्याम्पस प्रमुखलाई फोन गरेका थिए । ‘अघिल्लो दिन नै फोन गरेर जानकारी गराएकाले मन्त्री आउँदा १० मिनेट जति कडाइ गरिएको हो,’ उनले भने ।

निजीमा झनै भद्रगोल

अझै निजी क्याम्पसहरूको सेटिङ त झनै गज्जबको छ । एउटा कलेजको विद्यार्थीलाई जुन परीक्षा केन्द्रमा राखिएको छ त्यही केन्द्रका विद्यार्थीहरूको परीक्षा ठीक उही कलेजमा भइरहेको छ । उदाहरणका लागि राजर्शी जनक क्याम्पस जनकपुरका विद्यार्थीको परीक्षा केन्द्र मोडल मल्टिपल क्याम्पस जनकपुरमा तोकिएको छ, मोडल मल्टिपलका विद्यार्थीले राजर्शी जनकमा परीक्षा दिइरहेका छन् ।

यस्तोमा निजी कलेज सञ्चालकहरूले सहमतिमै एकअर्को कलेजका विद्यार्थीलाई परीक्षामा जे गर्न पनि छुट दिएका छन् । सञ्चालकहरूको मिलेमतोमै परीक्षालाई अमर्यादित बनाइएको छ ।

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x