
काठमाडौं – आफ्ना छोराको ‘हत्यारा’लाई कारवाहीको माग गर्दै आमरण अनशनमा बस्दै आएकी गोरखा फुजेलकी गंगागामाया अधिकारीका जेठा छोरा नुरप्रसाद अधिकारी ‘बेपत्ता भएको’ लामो समयपछि काठमाडौंमा फेला परेका छन् ।
कान्छा छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति अनशनमै रहेका बेला नुरप्रसाद भने २०७० सालमा बेपत्ता भएका थिए ।
६ असोज २०७१ सालमा अनशनमै रहेका बेला बुबा नन्दप्रसाद अधिकारीको मृत्यु हुँदा समेत नुरप्रसाद सम्पर्कमा आएका थिएनन् ।
लामो समयदेखि बेपत्ता रहेका छोराको खोजी गरिदिन आग्रह गर्दै गंगामायाले प्रहरीलाई अनुरोध गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
६ वर्षदेखि परिवार र आफन्तसमेतको सम्पर्कमा नरहेका अधिकारी ललितपुरको सानेपामा फेला परेका हुन् । उनलाई आइतवार साँझसम्ममा आमा गंगामाया अधिकारीसँग भेट गराउने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले लोकान्तरलाई जानकारी दिए ।
बुवासँग कुरा नमिलेपछि बेपत्ता भएका थिए नुरप्रसाद
कान्छा भाइ कृष्णप्रसाद अधिकारीको ०६१ सालमा तत्कालीन विद्रोही ‘माओवादीका कार्यकर्ता’ले ‘हत्या’ गरेपछि अधिकारी परिवारले चितवन प्रहरीमा किटानी जाहेरी दर्ता गरेको थियो । तर उजुरी दिएको लामो समयसम्म पनि ‘हत्यामा संलग्न’लाई पक्राउ नगरिएको भन्दै अधिकारी दम्पत्तिले आमरण अनशन शुरु गरेको थियो ।
आमा–बुवाले अनशन थाल्दा सँगै रहेका नुरप्रसाद बीचमा भने एक्कासि सम्पर्कविहीन भएका थिए । बेपत्ता भएकै अवस्थामा केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका अधिकारीले मानवअधिकारकर्मीहरूका कारण आफ्नो र आमा–बुवाबीचको सम्बन्ध बिग्रिएको बताएका थिए ।
नन्दप्रसादको मृत्युअगाडि मानवअधिकारकर्मीकै पहलमा अनशन तोडाउने प्रयास हुँदा नुरप्रसादले विरोध समेत गरेका थिए । अनशन तोडाउने प्रयास भए आफूले समेत विद्रोह गर्ने भन्दै उनले अधिकारकर्मीमाथि नै हतियार ताकेको विषय त्यतिबेला चर्चामा आएको थियो ।
अदालतले म्यादा टाँस्दा समेत उपस्थित भएनन्
कृष्णप्रसादका ‘हत्यारा’लाई कारवाही गर्न भन्दै जाहेरी दिनेमा नुरप्रसाद पनि थिए । चितवन जिल्ला अदालतले गत फागुनमा कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाका जाहेरवाला नुरप्रसादलाई अदालत उपस्थित हुन आदेश जारी गरेको थियो । तर नुरप्रसाद त्यतिबेला अदालतमा उपस्थित भएनन् । जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो ।
आदेशअनुसार नुरप्रसाद नभेटिएपछि अदालतले गोरखाको गण्डकी गाउँपालिका– ३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी तामेली पत्र समेत टाँसेको थियो ।
तामेली पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन मिति तोकिएको थियो । तर नुरप्रसाद तोकिएको समयमा अदालतमा उपस्थित भएनन् ।
वि.सं. २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।
जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । पछि सर्वोच्च अदालतले १३ जना अभियुक्तमध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारवाही किनारा गर्नू भन्ने आदेश दिएको थियो ।
सर्वोच्चको आदेशअनुसार पौडेलले गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । आफैं अदालतमा उपस्थित भएका पौडेललाई सर्वोच्चले मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको थियो ।
पौडेल कारागार चलान भएपछि गंगामायाले केही दिनका लागि भन्दै आमरण अनशन स्थगित गरेकी थिइन् ।