
काठमाडौं– भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनमा उठेको सदस्य राष्ट्रबीचको सैन्य अभ्यासको विषय अहिले विवादित बनेको छ ।
बिमेस्टेकको शिखर सम्मेलन उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बिमस्टेक बहुराष्ट्रिय स्थल सैन्य अभ्यास’ तथा त्यसअघि सदस्य राष्ट्रका स्थल सेनाका प्रमुखहरुको सम्मेलन भारतले आयोजन गर्न लागेको विषय सार्वजनिक गरेका थिए ।
मोदीको उक्त भाषणसँगै राजनीतिक दलका नेतादेखि सुरक्षा विज्ञसम्मले बिमस्टेक सदस्य राष्ट्रबीच हुने भनिएको सैन्य अभ्यासले गतिलो सन्देश नदिने बताएका छन् । साथै नेपालले त्यस्तो सैन्य अभ्यासमा भाग लिन नहुने पनि विज्ञहरुको सुझाव छ ।
बिमस्टेक सम्मेलन सम्पन्न भएपछि मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि संयुक्त सैन्य अभ्यासको विषयमा सांसदहरुले प्रश्न गरे । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र मिनेन्द्र रिजालले बिमेस्ट राष्ट्रबीच हुन लागेको भनिएको सैन्य अभ्यासका विषयमा प्रश्न उठाएका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले बिमस्टेक राष्ट्रबीच सैनिक तालिम आदान–प्रदान मात्रै हुन लागेकोले त्यसलाई सैन्य अभ्यास भन्न नमिल्ने बताउनुभयो । ‘अचम्म त यो सैन्य अभ्यासको कुरा कहाँबाट आयो ? विभिन्न देशबीच सैन्य अभ्यास पहिलेदेखि नै चलेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ट्रेनिङका लागि हाम्रा सैनिक पनि बाहिर जाने गरेका छन् । यहाँ आएर मिलिट्रीको डिग्री लिने पनि छन् । राष्ट्रसंघीय सेनामा पठाउनुअघि पनि यस्तो अभ्यास हुन्छ । भारत, पाकिस्तान, चीन र अमेरिकासँग अभ्यास हुने गरेको छ ।’
सेनाको नजरमा ‘सामान्य कुरो’
कूटनीतिक मामिलाका जानकार तथा सुरक्षा विज्ञहरुले बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गराएर भारतले चीन र पाकिस्तानका अगाडि आफू ‘काजी’ बन्न खोजेको बताएका छन् ।
लोकान्तरसँग कुराकानीमा विभिन्न सुरक्षा विज्ञले बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासका कारण नेपालको अन्तर्राष्ट्रिय छबि धुमिल हुन पुग्ने बताएका छन् ।
तर, नेपाली सेनाले भने बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासलाई ‘सामान्य कुरो’का रुपमा मात्रै बुझेको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैन्य अभ्यास अन्य देशसँग हुने नियमित तालिम आदान–प्रदानजस्तै भएको बताए ।
‘हामीले अन्य देशसँग पनि सैन्य अभ्यास र तालिम आदान प्रदान गरिरहेका हुन्छौं । बिमस्टेक सदस्य (७ राष्ट्रका सेना) बीच हुने सैन्य अभ्यास पनि यस्तै नियमित प्रक्रिया हो,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘यो सामान्य कुरो हो ।’
बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासमा नेपाली सेनाको एक प्लाटुन (३० जना सदस्य) सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिए । बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त अभ्यास हुने छ ।
सैन्य अभ्यास शुरु हुनु अगाडि सदस्य राष्ट्रका स्थल सेना प्रमुखको सम्मेलन समेत हुने छ । भदौ २४ गते सेनापतिको शपथ ग्रहण गरेपछि पूर्णचन्द्र थापा सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नेछन् ।
सेनामा एक महिना अगाडिदेखि नै तयारी
बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच हुने सैन्य अभ्यासका लागि नेपाली सेनाले एक महिना अगाडिदेखि नै तयारी थालिसकेको थियो ।
सैनिक स्रोतका अनुसार भारतीय सेनाको प्रस्तावमा रक्षा मन्त्रालयले सहमति जनाएपछि सेनाले सैन्य तयारीका लागि तयारी थालेको हो ।
बिमस्टेक सदस्य राष्ट्रका सेनाबीचको अभ्यासका लागि भारतीय सेनाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरेको हो । नेपाललाई पनि भारतीय सेनाले नै अभ्यासका लागि पत्र पठाएको थियो । रक्षा मन्त्रालयले सहमति जनाए पछि सेनाले अभ्यासका लागि तयारी शुरु गरेको थियो ।
एक महिना अगाडिदेखि गरिएको तयारीअनुसार सैन्य अभ्यासमा सहभागी हुने ३० जनाको प्लाटुन तयार भइसकेको सैनिक प्रवक्ता भण्डारीले बताए । ‘बिमेस्टेक सदस्य राष्ट्रका सेनाबीच हुने अभ्यासका लागि हामी तयार भइसकेका छौं,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।
यो पनि पढ्नुहोस्