भूकम्पमा भत्केका घरमध्ये अझै ४८ प्रतिशत निर्माण हुन बाँकी

काठमाडौं– २०७२ सालमा गएको विनाशकारी भूकम्पमा क्षति भएका घरमध्ये अझै ४८ प्रतिशत पुनर्निर्माण हुन बाँकी रहेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क अनुसार अझै ४८ प्रतिशत निजी आवास निर्माण हुन बाँकी रहेका हुन् । हालसम्म ४ लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै २ लाख २८ हजार ८ सय ८५ घर निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएका घरको उक्त सँख्या कुल क्षति पुगेका घरको ५२ प्रतिशत रहेको र निर्माणाधीन अवस्थामा रहेका घरको संख्या ३० प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ ।


Advertisement

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका लाभग्राहीमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको जानकारी गराए । त्यस्तै ३० प्रतिशतले घर बनाउँदै गरेको उनले जानकारी गराए । 

निजी आवास पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् । 


Advertisement

सरकारले निजी आवास पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणले अनुदान लिएका लाभग्राहीलाई छिटो घर पुनर्निर्माण थाल्न आग्रह गर्दै आएको छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिले भन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्