मध्यनेपालकै आकर्षक धार्मिक पर्यटकीय स्थलका रूपमा उदाउँदै शाश्वतधाम

मन्दिरमा कलाको उत्कृष्ट समिश्रण, गुरूकुलमा भविष्य कोर्दै बालबालिका

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

नवलपुर – तत्कालीन राजा वीरेन्द्रलाई अभिषेक दिन आउने क्रममा भारतको कान्छी मठका जगतगुरू शंकराचार्य जयन्त सस्वस्वतीजी महाराज २०५४ सालमा एकरात नवलपरासीमा बसे । देवचुलीको दुम्कौलीमा हाल शाश्वतधाम रहेकोभन्दा केही पर प्रगतिनगरको पशुपति सांगवेदमा बसेका शंकराचार्यलाई त्यो ठाउँ मन पर्‍यो ।

नारायणहिटी दरबारमा स्व. राजा वीरेन्द्रको अभिषेक सकिएपछि शंकराचार्य पशुपतिमा अभिषेक लिन गएका थिए । शंकराचार्यकोे नेपाल भ्रमणको चाँजोपाँजो मिलाएका मारबाडी समुदायका अगुवा लुनकरणदास चौधरी (उद्यमी विनोद चौधरीका पिता) ले शंकराचार्यलाई आफ्नो घरमा बोलाए ।


Advertisement

चौधरी परिवारले देवचुली पहाड नजिक रहेको स्थानमा आफूहरूको उद्योग रहेको जानकारी गराएपछि शंकराचार्यले शिवको मन्दिर र ऋषि आश्रम बनाउन आशिर्वाद दिएका थिए । 


Advertisement

पशुपतिको दर्शन गरेर मात्र आफ्नो दैनिक काम शुरू गर्ने लुनकरणदास चौधरीले नवलपुरमा शिवमन्दिर र गुरूकुल बनाउने वचन शंकराचार्यलाई दिए । ‘नेपालमा मठ–मन्दिर धेरै भएपनि असल कर्मकाण्ड गर्नेको कमी देखिएकाले गुरूकुल स्थापना गर्नू’ शंकराचार्यले आशिर्वाद दिएका थिए ।  

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को देवचुलीमा आकर्षक डिजाइनमा देखिने शाश्वतधाम त्यही हो, जुन गुरू शंकराचार्यले दिएको आशिर्वाद र सुझाव अनुसार बनेको छ ।

२०७३ फागुन २४ गते भव्य कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शाश्वतधामको उद्घाटन गरेकी हुन् । सन् २००२ मा निर्माण शुरू भएर शाश्वतधाम निर्माण गर्न १५ वर्ष लागेको थियो । 

शाश्वतधाम उद्घाटन गर्दै राष्ट्रपति भण्डारी

शाश्वतधाम उद्घाटन कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक गुरू रविशंकरले शाश्वत जीवन देख्न शाश्वतधाम आउनुपर्ने बताएका थिए । शाश्वतधाम यही ठाउँमा बन्नुको पनि कारण छ । 

महाभारत रेञ्जको १९ सय ३६ मिटरको अग्लो पहाडको नाम देवचुली हो, जुन शाश्वतधामको उत्तरपट्टि पर्छ । देवचुली पहाडको उत्तरतर्फ बग्ने कालीगण्डकी नारायणीमा मिसिएर पूर्व र दक्षिण भएर बग्छ ।

यही ठाउँमा कौरव र पाण्डवबीच महाभारत युद्ध भएको धार्मिक विश्वास छ ।

‘यो पवित्र तपोभूमि हो, केही न केही शक्ति भएकोले नै यति धेरै धार्मिक पर्यटन आएका हुन्,’ स्थानीय ८० वर्षे बोधराज पौडेलले भने ।

बोधराज पौडेल

हिन्दू र बौद्ध धर्मको संगमस्थल

नवलपुरको देवचुली नगरपालिकामा रहेको शाश्वतधाम मध्य नेपालको चर्चित धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिन थालेको छ । घुमघाम र बिदा मनाउन हेटौंडा, चितवन, पोखरा, बुटवल र दाङबाट समेत पर्यटकहरू यस स्थलमा आउने गरेका छन् । पर्यटकहरू बढेका कारण शाश्वतधाम आसपासमा होटल तथा लजहरू खुलेका छन् । शाश्वतधाम भित्रको महादेवको मन्दिरमा हरेक सोमवार भीड लाग्ने गरेको छ । 

भारतका विभिन्न तीर्थस्थलदेखि पाकिस्तानको बलुचिस्तानको माता भुल्चुलाज र बंगालदेशको माता सुनन्दादेवी मन्दिरको माटो शाश्वतधाममा राखिएको छ । २०७३ फागुनमा मन्दिर उद्घाटन भएको दिनदेखि नै स्थानीय वृद्धवृद्धाको सहभागितामा अखण्ड भजन चलिरहेको छ । शाश्वतधाममा मूल मन्दिरसहित यज्ञ कुण्ड र विभिन्न मठहरू निर्माण भएको छ ।

सनातन धर्म संस्कृतिको बारेमा युवालाई जानकारी दिन शाश्वतधामकोे मूल मन्दिरको तल्लो तलामा कम्प्युटरमार्फत जानकारी दिने व्यवस्था गरिएको छ । 

शाश्वतधाममा साँझको आरती

हिन्दू मात्र नभई बौद्ध धर्मावलम्बीका लागि पनि शाश्वतधाम आस्थाको केन्द्र बनेको छ । बौद्ध धर्मसँग सम्बन्धित विभिन्न जानकारी र तस्वीरहरू सहितको संग्रालय अहिले बुद्धधर्मप्रति आस्था राख्नेका लागि जानकारी र अध्ययनको थलो बनेको छ । यहाँ रहेको बौद्ध चैत्यमा श्रीलंका सरकारले पठाइदिएको २६ सय वर्ष पुरानो बुद्धको अस्तु राखिएको छ । 

शाश्वतधाम घुम्नका लागि मात्र होइन, ध्यान गर्नका लागि पनि मध्य नेपालको गन्तव्य बन्दैछ । रवीशंकर संस्थापक रहेको आर्ट अफ लिभिङको शाखा पनि शाश्वतधाम परिसरमा रहेको छ । आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक किसन अग्रवालको सहजीकरणमा तनावपूर्ण जीवनलाई सहजपूर्ण तरिकाले जीउने कला सिक्न आवासीय ध्यान कक्षा सञ्चालन गर्न लागिएको हो । 

मध्य नेपालको धार्मिक पर्यटकीय स्थल

चितवनको नारायणगढबाट २१ किलोमिटर पश्चिममा रहेको शाश्वतधाम मध्य नेपालको नयाँ पर्यटकीय स्थलको रूपमा विकास हुँदै गइरहेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गतवर्ष शाश्वतधामलाई उत्कृष्ट पर्यटकीय स्थलको रूपमा सम्मान गरेको थियो ।

बिदा मनाउनका लागि पनि आसपासका जिल्लाबाट शाश्वतधाम आउने गरेको सीजीआईपीका कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी म्यानेजर रामचन्द्र धितालले जानकारी दिए । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समेत शाश्वतधाम पुगिसकेका छन् ।

शाश्वतधाममा प्रचण्ड

पूर्वपश्चिम राजमार्गमा पर्ने भएकोले यात्रामा गर्नेहरू योजना विना नै शाश्वतधाममा पसेर मन्दिरको दर्शन गर्ने गरेका छन् । ‘काठमाडौंबाट फर्किंदै गर्दा हामी राम्रो मन्दिर देखेर यहाँ पस्यौं,’ उत्तर प्रदेशका रामचन्द्र तिवारीले भने ।

पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने भारतीय तीर्थालुहरू शाश्वतधाममा पस्ने गरेका छन् । धाम बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहन्छ । 

धितालका अनुसार सञ्चालनमा आएको २५ महिनामा २५ लाख दर्शनार्थीले भ्रमण गरेका छन् । ‘हामीले दैनिक रेकर्ड राख्ने गरेका छौं, औसतमा मासिक एक लाखले भ्रमण गर्ने गरेका छन्,’ धितालले भने ।

सरसफाइमा विशेष ध्यान दिइएको छ । विशेष बत्ती जडान गरिएका कारण रातिको समयमा गरिने आरतीले शाश्वतधामलाई मोहक देखाउँछ । 

चलचित्र र म्युजिक भिडियोको सुटिङका लागि पनि यो उत्कृष्ट स्थल बन्दैछ । चलचित्र छक्का पञ्जा ३ को ‘पछि कालै पल्किन्छ’ बोलको गीत शाश्वतधाममा खिचिएको छ । 

पछिल्ला वर्षमा चितवन र नवलपरासीको सबैभन्दा ठूलो तीज गीत प्रतियोगिता शाश्वतधाम अगाडि हुँदै आएको छ ।

गत वर्ष शाश्वतधाम परिसरमा आयोजित तीज गीत प्रतियोगिता

‘यसपटक पनि हामी यहाँ तीज गीत प्रतियोगिता गर्दैछौं, विगत वर्षमा तीजमा यस क्षेत्रकै सबैभन्दा ठूलो जमघट यहीँ भएको थियो,’ तीज गीत प्रतियोगिताका संयोजक एवं ह्यप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले भने । 

टुप्पी कसेर पढ्दै, महाराज बन्ने धोको ! 

शाश्वतधामको उत्तर पश्चिम कुनामा छ, वैदिक कर्मकाण्ड गुरूकुल ।

शाश्वतधामले सञ्चालन गरेको गुरूकुलमा कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथै नेपाल सरकारद्वारा निर्धारित पाठ्यक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । 

हुम्लादेखि झापासम्मबाट आएका ४५ जना विद्यार्थीहरूले अहिले निःशुल्क संस्कृत पढिरहेका छन् । गुरूकुलका विद्यार्थीहरूको सम्पूर्ण खर्च चौधरी ग्रुपले गर्ने गरेको छ । 

अहिलेका आधुनिक पुस्ताका बालकहरू गुरूकुलकै समयको बस्त्रमा क्यारेमबोर्ड खेलिरहेका छन् । कोही कम्प्युटरको किबोर्ड चलाइरहेका छन् भने कोही कक्षा कोठामा टुप्पी कसेर पढिरहेका छन् ।

विद्वान बन्ने उद्देश्य सहित महेन्द्र नगरका आयुष आचार्य संस्कृत पढ्न आएका छन् । ‘भविष्यमा पण्डित बनेर कथा वाचन गर्ने रहर छ,’ आयुष भन्छन् । 

नवलपरासी चोरमाराका प्रज्ज्वल पोखरेलका बुवाआमा दुवैजना शिक्षक हुन्, उनी कक्षा ८ मा पढ्छन् ।

‘संस्कृत पढ्न मन लागेर यहाँ आएको हुँ, भविष्यमा धन्याञ्चल यज्ञको कथावाचक बन्ने रहर छ,’ उनले भने । प्रज्ज्वलका बुवा बुद्धि पोखरेल कलेज पढाउँछन् भने संगीता स्कूलमा पढाउँछिन् । 

चितवनका घनश्याम पौडेलको संस्कृतबाटै आचार्य गर्ने धोको छ । ‘सनातन धर्म संस्कृतिको संरक्षणका लागि संस्कृत पढेको हुँ, आचार्य गरेर भविष्यमा कथावाचक बन्नु हो,’ उनले भने । 

नवलपुर कावासोतीका वासु न्यौपाने अहिले कक्षा ८ मा पढ्दैछन् । ‘संस्कृतको धेरै भविष्य छ । संस्कृत पढेर महाराज बन्ने हो,’ उनले भने ।

संस्कृत पढ्नकै लागि कर्णालीको मुगुबाट मनोज आचार्य गुरूकुलमा आएका छन् । ‘हाम्रो बुवाले पनि कर्मकाण्ड पेशा गर्नुहुन्छ, त्यही पेशा धान्नका लागि संस्कृत रोजें,’ उनले भने । 

गुरूकुलका विद्यार्थीले बिहान–बेलुका वेद पाठ गर्छन् । बिहानमा वेद र कर्मकाण्ड तथा साँझको समयमा सामाजिक शिक्षा लगायत सरकारी कोर्षको पढाइ हुन्छ । 

वेद पढ्दै गुरूकुलका बटुकहरू

हिन्दू मन्दिरको बुट्टा कोर्ने मुस्लिम 

ईस्लाम धर्मावलम्बी इमरान हुसेन शेखले शाश्वतधामको मन्दिरको बाहिरी बुट्टा कुँदे । भारतको गुजरातबाट नेपाल आएका इमरानले मन्दिरका बुट्टा कुँद्न १४ वर्ष लागेको सुनाउँछन् ।

काठमाडौं गोठाटारको कृष्णप्रणामी मन्दिर, नवलपुरकै दुम्किबास र कावासोतीको अकलादेवी मन्दिरमा बुट्टा भर्ने काम गरे ।

‘मेरो हजुबुवा र बुवाले भारतका प्रख्यात मन्दिरमा बुट्टा भर्ने काम गर्नुभएको थियो,’ इमरानले भने, ‘पुर्खाबाट सिकेको पेशा आफूले नेपालमा आएर गर्न पाएकोमा खुशी लागेको छ ।’

शाश्वतधाममा आउनेहरूले मन्दिर बाहिरको बुट्टा र कलाको प्रशंसा गर्दा आफूलाई खुशी लाग्ने गरेको उनले बताए । 

‘सिमेन्ट मसलाको काम भएकाले निश्चित बुट्टाको काम नसकिएसम्म खाजा खान पनि जान मिल्दैन । धेरै मेहेनत परेको छ, यो आकर्षक मन्दिर बन्नुमा,’ उनी भन्छन् ।

इमरान

शाश्वतधाम परिसरमा केही साना मन्दिर बन्ने क्रम रहेकोले उनी बालबच्चा सहित सपरिवार नेपालमै बसिरहेका छन् ।

‘नेपाल बहुत प्यारो लाग्छ, अहिले त भाषा पनि सिकें, साथीभाइ पनि धेरै भइसके,’ इमरान भन्छन् ।

भविष्य खोज्दै शाश्वतधाममा !

गुल्मी हर्मिचौरका बोमलाल पाण्डेले ६ वर्षसम्म दुबईको होटलमा काम गरे । वैदेशिक रोजगारीबाट थाकेपछि उनी स्वदेशमै केही गर्ने भनेर फर्किए ।

पाण्डे परिवार गुल्मीबाट रूपन्देहीको भूमही झर्‍यो । आफ्नै उद्यम गर्ने सोचमा बोमलालले नवलपुरको देवचुलीमा रहेको शाश्वतधाम अगाडिपट्टि आएर होटल शुरू गरे । 

‘२०७४ सालमा यहाँ आएर होटल शुरू गरें, अहिले व्यापार राम्रो चलिरहेको छ,’ पाण्डे भन्छन् ।

उनको अनुभवमा अहिले यो क्षेत्र मध्यनेपालकै चर्चित र चहलपहल भएको क्षेत्र हो । 

‘शाश्वतधाम स्थापना भएपछि यहाँको जग्गाको मूल्य अकाशियो, एक धुर जग्गाकै ५ लाख भन्न थाले,’ पाण्डे भन्छन् । 

देवचुलीकै स्थानीय भक्तबहादुर राना मगर पनि वैदेशिक रोजगारीबाट फर्किएर शाश्वतधाम अगाडि होटल गरिरहेका छन् ।

‘आफ्नै ठाउँमा अरूले आएर कमाइरहेका छन्, हामीले किन नगर्ने भनेर होटल शुरू गरेका हौं, कमाई अहिले ठीकै छ, भदौ लागेपछि सिजन शुरू हुन्छ,’ भक्तबहादुरकी पत्नी मनकुमारी थापाले भनिन् ।

मनकुमारी पनि यहाँको जग्गाको मूल्य छोइनसक्नुभएको बताउँछिन् । 

अर्घाखाँची छत्रगञ्जका कृष्णचन्द्र पोखरेल शाश्वतधाम अगाडि किराना पसल र दूधको व्यापार गर्छन् ।

‘धेरै वर्ष मैले अर्घाखाँचीमै होटल र व्यापार सञ्चालन गरें, भर्खरै मात्र यहाँ आएको, व्यापार राम्रै छ,’ पोखरेल भन्छन् ।

शाश्वतधामको चहलपहल देखेरै आफू अर्घाखाँचीबाट नवलपुरसम्म आइपुगेको उनी बताउँछन् ।
‘सीजी र शाश्वतधामका कारण यस क्षेत्रमा आर्थिक चहलपहल बढेको मात्र होइन, जग्गाको मूल्य समेत आकाशियो ।’

कमेन्ट गर्नुहोस्