
राजधानी काठमाडौंको सडक पैदल यात्रीका लागि निकै असुरक्षित बनेको छ । बढ्दो सवारी चाप र ट्राफिक नियम पालना नगर्ने प्रवृत्तिका कारण पैदल यात्रीहरूले सडकमा असुरक्षित बन्नुपरेको हो ।
त्यसो त पैदल यात्रा गर्नेहरूमध्ये कमैले मात्र ट्राफिक नियमको पालना गर्छन् । आकाशे पुल र जेब्राक्रस हुँदाहुँदै जथाभावी सडक पार गर्ने गरेको देखिन्छ, जसका कारण पनि दुर्घटना निम्तिने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्षमा २०७५/०७६ मा राजधानी काठमाडौंको सडकमा पैदलयात्रा गर्ने ९३ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
चालू आर्थिक वर्षको पहिलो ४ महिनामा यसरी मृत्यु हुने पैदल यात्रीको संख्या २९ पुगिसकेको छ । ‘पछिल्लो ४ महिना (२०७५/७६ को असार मसान्तपछि) मा काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा परी २९ जना पैदल यात्रीको ज्यान गइसकेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले लोकान्तरसँग भने ।
कतिपयले त जेब्राक्रसमै पनि सवारीको ठक्करबाट ज्यान गुमाएका छन् ।
‘सडकमा सवारी चलाउँदा कुनैपनि सवारीले जेब्राक्रसअगाडि गाडीको गति घटाएको देखिँदैन, चालकमा विवेकको कमी छ,’ एसपी पौडेलले भने ।
केही दिनअघि मर्निङवाकमा रहेका सिभिल अस्पतालका डाक्टर प्रभु जोशीको बानेश्वरमा गाडीको ठक्करबाट मृत्यु भएको थियो ।
जनचेतनाका लागि ८ सयभन्दा बढी स्वयंसेवक
उपत्याकामा ट्राफिक जनचेतना कमी देखिन्छ । विद्यालय तथा कलेजबाट ट्राफिक सचेतना फैलाउन महाशाखाले अहिलेसम्म विभिन्न कलेज तथा स्कूलका ८ सय ४० जना स्वयंसेवक खटाएको एसपी पौडलले लोकान्तरलाई जानकारी दिए ।
पहिलो चरणमा वैशाखमा विभिन्न कलेजका ५ सयजना विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाइएको थियो भने पछिल्लो समयमा ३ सय ४० जना विद्यार्थी खटाइएको छ ।
‘कलेजका विद्यार्थीहरूले प्रत्यक्षरूपमा ट्राफिक नियमका बारेमा बारेमा ज्ञान पाऊन् र उनीहरूले अरूलाई पनि सिकाऊन् भन्ने उद्देश्यले विद्यार्थीलाई खटाएका हौं,’ एसपी पौडलले भने ।
काठमाडौं उपत्यकामा दुर्घटनाको अवस्था
काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा २ सय ५४ जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ । ३ सय १७ जना गम्भीर घाइते भएका छन् भने ५ हजार ८ सय ९० जना सामान्य घाइते भएको तथ्यांक छ ।
उपत्यकामा ८ हजार सवारी चालक कारवाहीमा
काठमाडौंमा प्रत्यक्षबाहेक सीसीटीभीको मद्दतबाट पनि दैनिक कयौं सवारी चालक कारवाहीमा पर्ने गरेका छन् ।
आर्थिक २०७५/०७६ को तथ्यांकलाई हेर्ने हो भने २०७४ माघ २५ गतेदेखि २०७६ असार मसान्तसम्म ८ हजार ९ सय ३१ जना सवारी चालक कारवाहीमा परेका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ५१ जना र आर्थिक वर्ष ८ हजार ३ सय ८० वटा सवारी कारवाहीमा परेका छन् । सीसीटीभीबाट २०७४ माघ २५ गतेबाट ट्राफिक प्रहरीले शुरूआत गरेको थियो ।
२०७५ साउनमा २ सय ५६ वटा, भदौमा १ सय ८६, असोजमा २ सय १८ वटा, कात्तिकमा १ सय ६१ वटा, मंसिरमा १ सय ४४ वटा, पुसमा १ सय ४६ वटा, माघमा १ सय ५० वटा, फागुनमा १ सय ६० वटा, चैतमा १ सय ५१ वटा, २०७६ वैशाख १ सय ६५ वटा, जेठमा १ सय ५० वटा र असारमा १ सय १० जना गरी १ हजार ९ सय ९७ वटा सवारीसाधनका चालक कारवाहीमा परेका छन् ।
महानगरीय प्रहरी कार्यालयमा सीसीटीभीबाट रेकर्ड भएको भिडियो फूटेजको आधारमा ट्राफिक प्रहरी महाशाखाले घरबाटै बोलाएर कारवाही गर्ने गरेको एसपी पौडेलले जानकारी दिए ।
महानगरीय प्रहरी कार्यालयले ‘अन द स्पट’ समेत कारवाही गर्ने गरेको छ ।
२०७५ साउनमा ३ सय ६५ वटा, भदौमा १ सय ८४, असोजमा २ सय वटा, कात्तिकमा १ सय ५ वटा, मंसिरमा १ सय ६६ वटा, पुसमा २ सय ७७ वटा, माघमा २ सय २९ वटा, फागुनमा ३ सय ६३ वटा, चैतमा ४ सय ४६ वटा, २०७६ वैशाख ९ सय ९४ वटा, जेठमा ८ सय ५६ वटा र असारमा १ हजार १ सय २९ जना गरी ५ हजार ३ सय १४ वटा सवारी साधनका चालक कारवाहीमा परेका छन् ।
‘सर्भिलियन्स भेहिकल’बाट २०७५ साउनमा १ सय ६ वटा, भदौमा १ सय ५२, असोजमा १ सय ४२ वटा, कात्तिकमा १ सय ५० वटा, मंसिरमा ८२ वटा, पुसमा ९९ वटा, माघमा ९८ वटा, फागुनमा ५७ वटा, चैतमा ५४ वटा, २०७६ वैशाख ५५ वटा, जेठमा ३९ र असारमा ३५ वटा गरी १ हजार ६९ वटा सवारीका चालक कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ ।
ट्राफिक प्रहरीले काठमाडौंमा सीसीटीभी निगरानीलाई २०७४ माघ २५ गतेबाट प्रयोगमा ल्याएको थियो । ‘सर्भिलियन्स भेहिकल’बाट कारवाही गर्ने अभ्यास २०७५ जेठ ११ गतेबाट शुरू भएको हो ।