सरकारले शासन गर्न खोज्यो, अब कांग्रेस जाग्नुपर्छ : देउवा

फाइल फोटो
बैशाख ७, २०७६

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । 

कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले शनिवार राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT

'सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले  शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ,' उनले भने । निर्मला पन्तको हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको भनाइ थियो । 

पार्टीभित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारवाही गरिनेमा जोड दिँदै उनले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए । 'पार्टीभित्रको गुठ उपगुठ अन्त्य गरेर यसलाई एकताबद्ध नगरेसम्म कांग्रेस पहिलो पार्टी बन्न सक्दैन,' उनले भने, 'वर्तमान सरकार संघीयतामा विश्वास गर्दैन विश्वास गर्ने भए प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्‍थ्यो ।' 

सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । 

बैशाख ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार