पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
१४ औं महाधिवेशनको संघारमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनबारे चुलिएको असन्तुष्टि कम भएको छैन । सभापति शेरबहादुर देउवाइतर नेताहरूको निरन्तरको खबरदारीपश्चात पनि विभागहरूमा भटाभट नियुक्ति गरिरहेका छन् ।
बुधवार मात्रै सभापति देउवाले सूचना, सञ्चार तथा प्रचार विभागमा ४८ जना मनोनयन गरे । देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम बुधबार उनीहरुलाई मनोनित गरेको दाबी गरिए पनि अन्य नेताहरूले त्यसलाई अवैधानिक भनेका छन् ।
आउने फागुनमा महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सभापति देउवाले २८ वटा विभागलाई बढाएर ४७ पुर्याएका थिए । विभाग बढाउने निर्णय गर्दा केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय सदस्यहरू उपस्थित थिएनन् । विभागको संख्या बढाएपछि शुरू भयो नियुक्तिको शृंखला ।
'आफूइतरका नेताहरूलाई नियुक्तिको लोभ देखाएर छिन्नभिन्न पार्ने र महाधिवेशनमा आफ्नो पक्षमा माहोल सिर्जना गर्ने नियतका साथ विभागको संख्या बढाइएको हो, यसको देशैभर विरोध भएको छ,' नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले लोकान्तरसँग भने ।
विभाग पनि अवैधानिक, नियुक्त हुनेहरूमाथि शोषण !
नेता महतसँग हामीले तपाईंहरूले सभापतिको कदमको विरोधबाहेक केही गर्न सक्नुभएको छैन, 'काउन्टर स्ट्राटिजी' खै ? भनेर प्रश्न गरेका थियौं ।
उनले भने, 'यतिबेला कोरोनाको त्रासदी छ । हिँडडुल गर्न सकिएको छैन । हामी फेरि पनि भर्चुअल मिटिङ गरेर देशैभरिका नेता कार्यकर्तासँग जोडिएका छौं । सभापतिको कदमले देशैभर विरोधको आवाज उठाएको छ ।'
उनले यो अवस्थामा विरोधबाहेक केही गर्न नसकिने स्पष्ट पारे । 'विभागहरू बिल्कुलै अवैधानिक छन् र विभागमा नियुक्त हुनेहरूको दुरुपयोग गरिएको छ । नियुक्ति खानेहरूमाथि शोषण भएको भएको छ । भोलि एउटा हदसम्म पुगेर विद्रोहको परिस्थिति पनि बन्न सक्छ,' डा. महतले यसरी आफ्नो आक्रोश पोखे ।
आफ्नो ४ वर्षे कार्यकाल सकिएपछि देउवाले विभागको संख्या बढाएर धमाधम नियुक्ति शुरू गरेका हुन् ।
कांग्रेसको १३ औं महाधिवेशन २०७२ को फागुन २० गते काठमाडौंमा भएको थियो । विधानतः महाधिवेशनबाट चुनिएर आएको नेतृत्वको अवधि ४ वर्षको हो । तर विशेष परिस्थितिमा केन्द्रीय समितिले आफ्नो कार्यकाल १ वर्ष थप्न सक्ने प्रावधान कांग्रेसको विधानमा छ ।
यसरी भएको थियो एकतर्फी रूपमा महाधिवेशनको घोषणा
देउवाको ४ वर्षे कार्यकाल गत सालको फागुनमै समाप्त भएको हो । विधानअनुसार ४ वर्षमै महाधिवेशन गर्नुपर्छ भन्दै देउवाइतर पक्षले जोड दिँदै आएको थियो तर देउवा पक्षले त्यसलाई इन्कार गरिरह्यो । कांग्रेसभित्र विवादको जड पनि त्यतिबेलै देखि शुरू भएको हो ।
देउवालाई एकतर्फी रूपमा महाधिवेशनको मिति घोषणा गरेको आरोप लाग्ने गरेको छ । गत साल पुस ११ गते वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्य अनुपस्थित हुँदा हुँदै देउवाले बहुमतको भरमा महाधिवेशनको मिति तय गराएका थिए ।
त्यतिबेलै देउवाले केन्द्रीय समितिको म्याद पनि २०७७ सालको फागुन १९ गतेसम्मका लागि थपियो जसमा देउवाइतर पक्षको सहमति थिएन ।
त्यही दिन २८ वटा विभागलाई बढाएर ४७ वटा बनाउने निर्णयसमेत भयो । त्यतिबेला पौडेलपक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग गुनासो गरेका थिए, 'महाधिवेशन जस्तो ठूलो पर्वको घोषणा गर्दा पनि हामीलाई उपेक्षा गरियो । नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीमा 'कू' भएको अनुभव भइरहेको छ ।'
महाधिवेशन घोषणा भइसकेपछि केन्द्रीय कार्यसमिति कामचलाउ मात्र भएको संस्थापनइतर पक्षको तर्क छ । 'कामचलाउ केन्द्रीय कार्यसमितिले कुनै विभाग गठन या नियुक्ति गर्न सक्दैन,' डा. महतले लोकान्तरसँग भने, 'त्यस अर्थमा अहिले सबै अवैधानिक कामहरू भएका छन् ।'
यसरी भाँडियो सहमति !
आफ्नो कार्यकाल आफैं बढाएर धमाधम विभागहरूमा नियुक्तिको प्रक्रिया थालेपछि पौडेल पक्षीय नेताहरूले देउवालाई पार्टी कब्जा गर्न लागेको आरोप लगाएका हुन् । तर देउवाले आफूले गरेका नियुक्तिहरूमा कुनै पुनर्विचार गर्ने संकेत देखाएका छैनन् ।
महाधिवेशनको मिति एकतर्फी घोषणा, विभागको संख्या बढाउने निर्णय र विधानका केही धाराहरू निलम्बनको विपक्षमा पौडेल पक्षले निरन्तर संघर्ष गरेको थियो । त्यसपछि कुनै पनि औपचारिक बैठकमा पौडेल पक्ष नजाने निर्णय गर्यो । तर माघ लाग्दा नलाग्दै दुवै समूहबीच सहमतिका लागि अन्तिम प्रयास गरिए । पुसको अन्तिमदेखि सहमतिका लागि चालिएका प्रयासहरूले १३ गते मूर्त रूप लिए ।
माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य अधिवेशनको मिति हेरफेर गर्ने र बहुमतका आधारमा निलम्बन गरिएका धाराहरू फिर्ता गर्ने सहमति गर्यो । त्यसपछि पौडेल पक्षले बहिष्कारको रणनीति त्याग्यो ।
तर पछिल्लो समय क्रियाशील सदस्यताको रडाको पार्टीभित्र घुसेको छ । देउवा पक्षले विधान विपरित ठाउँठाउँमा क्रियाशील सदस्यता दिइरहेको पौडेलपक्षको आरोप छ ।
'सभापति देउवा पार्टी कब्जा गर्न जुनसुकै हदसम्म पनि जान तयार देखिनुभएको छ,' पौडेलपक्षीय एक नेताले भने, 'पार्टीभित्र आन्तरिक लोकतन्त्रको धज्जी उडेको छ ।'
पुनः सभापति बन्न सजिलो छैन देउवालाई !
देउवाका दाहिने हात मानिने उपसभापति विमलेन्द्र निधिले महाधिवेशनमा आफू सभापति लड्ने सार्वजनिक रूपमै घोषणा गरिसकेका छन् । उनले स्वयं देउवालाई पनि आफूलाई सघाउन आग्रह गरिसके ।
यता अर्को पक्षले निधिको उम्मेदवारी घोषणाले केही राहत महसूस गरिरहेको छ । तर निधिलाई सभापति स्वीकार्ने हिम्मत पनि गर्न सकेको छैन । केही दिनअघि लोकान्तरसँगको कुराकानीमा महामन्त्री शशांक कोइरालाले देशैभरि आफ्नो पक्षमा माहोल बनिरहेको दाबी गरेका थिए ।
सभापतिमा निधिको दाबीले कांग्रेसमा देउवाविरुद्ध एउटा घेराको सिर्जना गरेको छ । यद्यपि देउवा आफ्नो दाबी छाड्ने पक्षमा भने छैनन् । 'अबको एक कार्यकाल सभापति देउवालाई नै दिनुपर्छ,' देउवानिकट एक नेताले लोकान्तरसँग भने ।
आफूइतर पक्षमा धेरैको सभापतिमा दाबी हुनु देउवाका लागि सकारात्मक कुरा हो । पौडेलले पनि एक कार्यकाल सभापति चलाउने आकांक्षा राखेका छन् भने कोइराला परिवारका शशांक र शेखर कोइरालाको पनि सभापतिमा दाबी छ । नेता प्रकाशमान सिंहको पनि 'सभापति ग्रन्थी' रसाइरहेको छ । यद्यपि नेताहरूले सहमतिमै सभापतिको उम्मेदवार चयन गर्ने बताउन छाडेका छैनन् ।
'फ्री' र 'फेयर' महाधिवेशन हुनेमा शंका बढ्यो
नेता सिंहले कामचलाउ कार्यसमितिले भटाभट नियुक्ति गर्नु स्वतन्त्र र निष्पक्ष अभ्यास नभएको आरोप लगाएका छन् ।
उनले लोकान्तरसँग भने, 'लोकतन्त्रमा फ्री, फेयर र टाइम्ली निर्वाचन हुनुपर्छ । तर सभापति देउवाले नियुक्ति दिएर नेताहरूलाई रिवार्ड गर्ने र त्यसैका आधारमा पार्टी नेतृत्व कब्जा गर्ने बाटो अंगाल्नुभएको छ, जुन हाम्रा लागि मान्य छैन ।'
उनले विधानविपरीत अवैधानिक रूपमा गठन गरिएका विभाग र नियुक्तिहरू तत्काल खारेज गर्न माग गरे । 'विधानतः ४ वर्षे कार्यकाल सकियो, क्राइसिसलाई मध्यनजर गरेर एक वर्ष कार्यकाल थपिएको हो तर त्यसलाई उपेक्षा गर्ने काम भएको छ,' नेता सिंहले भने, 'महाधिवेशनको तिथिमिति तोकिएपछि स्वतः केन्द्रीय कार्यसमिति कामचलाउमा रुपान्तरण भयो । यस्तो बेलामा मनपरी गर्ने ?'
उनले क्रियाशील सदस्यता समायोजन पनि सही ढंगले नभएको आरोप लगाए । 'आफ्ना गोजीका मान्छेहरूलाई भटाभट सदस्यता वितरण गर्ने गरिएको सुन्नमा आएको छ,' उनले भने, 'अन्य पार्टीबाट प्रवेश गरेको भन्दै यस्तो काम गरिएको हो । यो मान्य छैन ।'
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...