बत्तीमुनिको अँध्यारोलाई उज्यालो बनाउँदै अश्विनकुमार पुडासैनी

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

कनौजे बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।

बत्तीमुनि अँध्यारो मात्र हुन्छ भनेर सुनेका यी कानले ‘बत्तीमुनि उज्यालो’ शीर्षकको किताब फेला पार्दा म स्वयम् शीर्षक किन यस्तो नमिलाएर राखेको होला भनि झुक्किए । यो किताब पढ्दै जाँदा पो थाह भयो समाज र संस्कृति, अर्थ र व्यवस्थापन, राजनीति र कूटनीति खण्ड अन्तर्गत ६२ शीर्षकमा समेटिएका यो पुस्तकका लेखक अश्विनकुमार पुडासैनीले त एक साँच्चिकै सकारात्मक ऊर्जा जगाउने ओजपूर्ण लेखको खुराक पो तयार पारेका रहेछन् ।

सकारात्मक सोचको सञ्चार, प्रशंसनीय खोज, बानी–व्यवहार र धारणाको अभिवृद्धि गर्ने सफलताका कथाले आशा जगाउँदै उज्यालो छर्ने टुकी रहेछ यो पुस्तक ।  


Advertisement

समाज र संस्कृति 

पुस्तकको पहिलो खण्डमा समाज र संस्कृति खण्ड अन्तर्गत २० शीर्षकमा लेखकले प्रकाशको खोजी गर्दै यो जीवनमा जन्मेपछि सबै मानव जातिले आफ्नो सत्कर्ममार्फत समाजमा प्रकाश छर्न सक्षम छन् भनेका छन् । अप्प दिपो भवः अर्थात् तिमी आफैं प्रकाश बन भन्दै युवा पुस्तालाई मार्गनिर्देशन दिन यो पुस्तक सफल भएको छ ।


Advertisement

लेखकले हजुरबाको सीसीटीभी कथामार्फत आफूले गरेका कर्मको निगरानी हुने हुँदा सदा सत्मार्गमा हिँड्ने प्रेरणा पाठकमा भर्न सफल भएका छन् । सकारात्मक  प्रवृत्तिको विकास ४ डी (डिस्कभरी, ड्रीम, डिजाइन र डेलिभरी) अर्थात् सफलता, सपना, योजना र कार्यान्वयन गरेर गर्न सकिन्छ भन्ने धारणामा सहमत हुने ठाउँ प्रशस्त भेटिन्छ । सफलताको इतिहास हेर्नका लागि सकारात्मक आँखा चाहिने आफ्नी धर्मपत्नीबाट प्रेरणा पाएका सकारात्मक सोधखोजका प्रवर्तक डेभिड कुपरराइडरको प्रेरणास्पद कथाले हामीलाई उत्साह प्रदान गर्दछन् । 

शक्तिका स्रोतहरूको पहिचान गर्दै विपश्यना ध्यानले असीमित ऊर्जा प्राप्त भएकाले साना नानीदेखि युवा सबैलाई आफ्नो जीवनको शाश्वत यथार्थ बुझ्न विपश्यनाको अभ्यास गर्न लेखक सुझाउँछन् । ज्येष्ठ नागरिकको प्रतिभा र योगदानको कदर घरपरिवारबाट समय रहँदै शुरू भएमा मात्र युवा पुस्ता उहाँहरूको ज्ञानबाट लाभान्वित हुन सक्छन् भन्ने राम्रो सन्देश दिएका छन् ।

उत्तम ज्ञानको प्रेरणाले प्रगति पथमा लम्किनका लागि सारा नेपालीका साथै प्रत्येक राजनीतिक कार्यकर्तालाई श्रम गरेर उद्यमशीलताको विकासमा लाग्नुपर्ने बताउँछन् । ‘उद्यमशील विना कसरी आउँछ समृद्धि ?’ भनेर सबैलाई भावना जगाउँन सफल भएका छन् लेखक । किताबमुक्त सिकाइले व्यावहारिक भोगाइमार्फत सिकाइबारे आफैं पहिचान हुने हुनाले लेखकले किशोरकिशोरीलाई नयाँ–नयाँ ठाँउ घुमेर ज्ञानको खुला प्रयोगशालामार्फत अघि बढ्न सकिने सुझाव दिन्छन् ।

नयाँ पुस्ताले प्रविधिलाई मालिक होइन सेवक बनाउन पर्ने धारणा व्यक्त गर्दछन् । समृद्ध कार्यसंस्कृतिले मात्र समाजको रुपान्तरण गर्ने हुँदा समृद्धि सूत्र आफैंबाट शुरू हुने तर्क प्रस्तुत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राराताल किनारमा उभिएर हिमाली पर्यटनको उच्च सम्भावनाबारे दिएको अभिव्यक्तिले प्राकृतिक सौन्दर्यको प्रचुर सम्भावना र भविष्यले हामी सबैलाई रोमाञ्चित र आशावादी बनाएको छ ।
 
अर्थ र व्यवस्थापन

यो पुस्तकको ३ खण्डमध्ये मलाई सबैभन्दा महत्त्वपूर्ण लागेको खण्ड हो, अर्थ र व्यवस्थापन । हुन त कुन क्षेत्रलाई बढी महत्त्व दिइन्छ भन्ने कुरा आफ्नो रुचि र कार्यक्षेत्रले पनि प्रभाव पारेको हुन्छ । म स्वयं पनि व्यवस्थापनको विद्यार्थी हुनाले उनको यो खण्ड विशेष लागेको हुन सक्छ । लेखकले शुरूमै एक श्लोकमा योगी योगको वशमा हुन्छ, तपस्वी तपको वशमा हुन्छ, विद्धान विद्याको वशमा हुन्छ, राजनेता समाज र थितिको वशमा हुन्छ र यी सबै चाहिँ पैसाको वशमा हुन्छ भनि अर्थको सर्वव्यापी महत्त्व स्पष्ट पारेका छन् । तसर्थ मुलुकको अर्थव्यवस्था र यसको उचित व्यवस्थापनले सम्पूर्ण सर्वसाधारणको जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही न केही प्रभाव पारेको हुन्छ । 

अर्थ र व्यवस्थापन खण्ड अन्तर्गत १९ शीर्षकमा लेखकले उठाएका अर्थ र व्यवस्थापनका कुरामा नेपालमा पैसाको शुरूवात कसरी भयो ? यसको उचित व्यवस्थापन र प्रयोगको लागि नेपाल बैंकको स्थापनाले खेलेको भूमिका, वित्तीय साक्षरता र देशव्यापी वित्तीय पहुँचका लागि सुझाउनुभएका रणनीतिहरू साँच्चिकै आर्थिक समृद्धिको आधारशिला हुने विश्वास गर्न सकिन्छ । 

बैंकिङ पहुँच बढाउन गर्नुपर्ने अभियानको लागि बैंकरको एजेण्डालाई राजनीतिक एजेण्डा बनाउन नहुने तर्क राख्छन् । भारतमा मोदीले जसरी अर्थशास्त्री, व्यवस्थापनविद् र बैंकरको सहयोगमा बनाएको पेपरलेस बैंकिङ एजेण्डालाई भारतमा एकै वर्षमा कार्यान्वयन गर्न सफल भए, त्यसैगरी नेपालमा पनि बैंकिङ पहुँच, वित्तीय साक्षरता बढाउँदै नगदरहित अर्थतन्त्र बनाउन सबै अर्थशास्त्री, लेखक, मिडिया र स्थानीय तहका जनप्रतिनिधिले भूमिका खेल्नुपर्ने बताउँछन् ।

सर्वसाधारणलाई नगदरहित अर्थतन्त्रको प्रयोगले एकातर्फ नोट छाप्ने खर्च जोगिएर राज्यको ढुकुटी बच्ने र अर्कोतर्फ अर्थतन्त्र पारदर्शी र औपचारिक बन्ने जसका कारण कालोबजारी, भ्रष्टाचार र सम्पति शुद्धीकरण नियन्त्रण गर्न सकिने लेखकको भनाइमा सहमत हुन सकिन्छ । यो नै समृद्धि र सुशासनको आधार बन्नेछ ।

समृद्धिको लागि वित्तिय क्षेत्रको आफ्नै भुमिका दर्साउँदै लेखकले अर्कोतर्फ सरकारका आवधिक विकास योजना  र बजेटको विशेष महत्त्व औंल्याएका छन् । हाम्रा विकासका मोडल र बजेट अरुको देखासिकीमा बन्ने भएकाले योजना बन्ने र कार्यान्वयन नहुने समस्या वर्षौंदेखि दोहोरिँदै आएका छन् । यसलाई हटाउन लेखकले अबको योजना ४ वर्षे योजना बनाउनुपर्ने र धेरै कनिके योजना नभई आगामी ४ वर्ष ऊर्जाको वर्ष, औद्योगिक विकासको वर्ष, भौतिक पूर्वाधारको वर्ष वा कृषिको आधुनिकीकरणको वर्ष भनि कुनै एक कुरामा फोकस हुनुपर्ने रणनीति सुझाएका छन् । जुन निकै सान्दर्भिक र मननयोग्य छन् । हरेक बजेट आवधिक योजनासँग नमिल्ने, बजेट उत्पादनमुखीभन्दा वितरणमुखी भएको, फितलो कार्यान्वयन साथै पारदर्शिता, सुशासन र खर्चको सुनिश्चितता नभएकोमा लेखकले दुःख व्यक्त गर्दै यो हटाउन २५ बुँदे सुझाव समेत यस खण्डमा चर्चा गरेका छन् । बजेटले गरेको व्यवस्था हेर्दा जनप्रतिनिधिलाई करारको कर्मचारीको संज्ञा दिएका लेखकले आफ्नो स्वास्थ्यको पनि बेवास्ता गर्दै देश बनाउन संघर्षरत रहेका भिजनरी प्रधानमन्त्रीले जसरी सबै नेता, कार्यकर्ताका साथै कर्मचारीले एकलयमा काम गर्ने हो भने नयाँ युगको आर्थिक क्रान्तिको आधारशिला बन्ने बताउँछन् ।

लेखकले देश र विदेशमा रहेका नेपाली युवालाई आफ्नै देशमा उद्यमशीलता गर्न प्रेरणा दिने सफलताका कथा, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको सफलताका आधार र स्वास्थ तथा शिक्षा क्षेत्रको गुणस्तर बढाउन रामकण्ठ माकजुको मोडल  रोचक रूपमा व्याख्या गरेका छन् ।

दोस्रो विश्वयुद्धपछि विकासको लागि जापानले जापानिज व्यवस्थापन मोडलमा सफलता पाए जस्तै नेपालले आफ्नै मोडल बनाएर सार्वजनिक प्रशासन सुधार्दै विद्युत् उत्पादन र पर्यटन विकासमा जोड दिन सके हाम्रै पुस्ताले नेपालको समृद्धि देख्न सक्नेमा उनी विश्वस्त देखिन्छन् ।

राजनीति र कूटनीति

पुस्तकको तेस्रो खण्डमा राजनीति र कूटनीति खण्ड अन्तर्गत २३ शीर्षकमा लेखकले नेपालमा नयाँ आधुनिक युगको शुरूआत २०७२ असोजबाट भएको र प्रधानमन्त्री केपी ओली नेपालको आधुनिक राजनीतिक इतिहासका सर्वशक्तिमान प्रधानमन्त्री भएको बताएका छन् । प्रधानमन्त्रीले भारतको नाकाबन्दीमा देखाएको आत्मविश्वासलाई जनताले साथ दिएको शाश्वत् सत्यको वर्णन गरेका छन् । प्रधानमन्त्रीले लिएको भूपरिवेष्टित मुलुकको विदेश नीति समसामिप्यताको विचारधारामा आधारित रहि कूटनीतिमा ‘प्याराडाइम शिफ्ट’ भएको हुनाले उनको यो विदेशनीतिलाई ‘ओली डक्ट्रिन’ भन्न सकिने लेखकको तर्कसँग सहमत हुने आधार यस पुस्तकमा प्रशस्त छन् । ओलीको कूटनीतिक अभ्यासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपतिलाई समेत नेपालको ओजिलो भ्रमण गराइ अन्तर्राष्ट्रिय जगतमा नेपालको छिमेकी सम्बन्धको उचाइमा सकारात्मक प्रभाव पार्न सफल विदेशनीति ‘ओली डक्ट्रिन’लाई लेखकले एक माइलस्टोन मानेका छन् । यी २ महत्त्वपूर्ण भ्रमणमा भएका दुवै छिमेकीसँगका सम्झौता, समझदारी र प्रतिवद्धताले नेपालको विकासका लागि थुप्रै अवसर खुलेकोमा दुईमत छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी पश्चात् गरेको भ्रमणले ‘नेपाल–भारत सम्बन्ध नयाँ युगमा नयाँ शिराबाट’ भन्ने भनाइलाई लेखकले नेपालमाथि गरेको नाकाबन्दीको कोर्स करेक्सनको रूपमा व्याख्या गरेका छन् ।

प्राध्यापक डा. जयराज आचार्यद्वारा लिखित पुस्तक ‘यदुनाथ खनालः जीवनी र विचार’ केही महिनाअघि पढेकी हुनाले वर्तमान कठिन चुनौतीको परिप्रेक्ष्यमा नेपालको विदेशनीतिलाई बौद्धिकीकरण गर्न यस पुस्तकमा उल्लेखित ‘ओली डक्ट्रिन’को भूमिका कालान्तरमा कति रहला भन्ने सकारात्मक सोचाइले भने मलाई उत्साहित बनाइरह्यो ।

मध्यपुस्ताको विचारमा ‘गाउँघर युथलेस र टुथलेसमा बदलिएको’ परिप्रेक्ष्यमा यो संस्कृतिको अन्त्य नभएसम्म समृद्धि सम्भव नहुने कुरा यथार्थ लाग्छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षमा नेपाल मानिस र प्रकृतिले संयुक्त रूपमा सिर्जना गरेको एक भू–स्वर्ग हुने परिकल्पनालाई साकार पार्न हरेक क्रियाकलापको मापन गर्ने थ्योरी अफ चेन्जमा जोड दिँदै सरकारका कामको अनुगमन गरेर स्वस्थ सुझाव, सरसल्लाह दिनुपर्ने बताउँछन् । 

सरकार सञ्चालनमा थिंक–ट्यांकको महत्त्व हुने तर थिंक–ट्यांक अलि स्वाभिमानी र अलि बढी अभिमानी हुनाले सही चयन गर्नुपर्ने मापदण्ड पनि सुझाएका छन् । यसलाई भजनमण्डली भने बनाउन नहुने तर्क व्यक्त गर्दछन् । आर्थिक बेथितिको अन्त्य गर्दै सुशासनको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गरेकको स्थिर सरकारले सेवा प्रवाहमा जोड दिनुपर्ने जसले जनतामा सकारात्मक सन्देश जाने सुझाउँछन् । 

राजनीतिक नियुक्तिका सन्दर्भमा इमान्दारिता, क्षमता, सिर्जनशीलताले प्राथमिकता पाउनुपर्ने बताउँछन् । समग्रमा कोरोना महामारीको प्रत्यक्ष साक्षी भएर अघि बढेको हाम्रो पुस्ताले शिक्षा, स्वास्थ्य र श्रमको सम्मानका साथै आर्थिक विकास प्रतिको प्राथमिकतालाई अवसरका रूपमा लिएर नेपालको उज्यालो भविष्यको रेखा कोर्न सकिने आत्मविश्वास हामी सबैलाई जगाउन लेखक सफल भएका छन् । 

यस पुस्तकमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा व्यक्त शुभकामना सन्देशमा नेपालले स्वाभिमानका साथ अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न यो पुस्तक सहयोगी हुने धारणा प्रकट गरेका छन्, जसले यो कृतिको महत्त्व अझ उजागर गरेको छ । आगामी दिनमा यस्ता खालका पुस्तकहरू प्रकाशित हुँदा कुनै एक विधामा केन्द्रित भएर त्यसैमा अझ गहन विचारहरू आउनेछन् भन्ने आशा गर्न सकिन्छ । यो पुस्तकले पाठकलाई आफ्नो समय र पैसाको सही मूल्य पाएको महसूस गराउने छ भन्ने मेरो विश्वास छ । दिव्य देउराली प्रकाशनले ४२५ रुपैयाँ राखेर प्रकाशित गरेको यो पुस्तकको सामान्य शीर्षकले कति ठूलो अर्थ र महत्त्व बोकेको रहेछ भन्ने थाह पाउन पनि ‘बत्तीमुनि उज्यालो’ एक पटक हामी सबैले पढ्नै पर्ने हुन्छ ।​

[email protected]

सविता कनौजे न्यौपाने
सविता कनौजे न्यौपाने

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्