चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए ।
भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे । यता बागमतीका गौतम केसी एक्लैले ५ विकेट लिए ।
बिहीवार दुवै टीम जित निकाल्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा एपीएफसँग भिड्ने छ ।
यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
रासस